विकासन्युज

मन्त्रिपरिषद् बैठकले गर्यो ४ जना सचिवको सरूवा

काठमाडौं । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा सचिवहरूको जिम्मेवारी हेरफेर गर्दै सरुवा गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयमा प्रदेश सरकारका सचिव महादेव पन्थलाई ल्याउने निर्णय पनि गरिएको छ । साथै, मन्त्रिपरिषद्ले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शीतल निवासमा बजेट ब्रिफिङ, राष्ट्रपति र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को  बजेटका बारेमा ब्रिफिङ गरेका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही  बजेटका बारेमा  मन्त्री पौडेलले मंगलबार  राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

बागमतीको प्रति प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ६०२ डलर पुग्यो, पुछारमा मधेश

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को प्रदेशहरूको कुल गार्हस्थ उत्पादन अनुमान सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ ।  गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदूरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।  चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन यू. एस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ । 

हार्वर्डको अनुदान रकम ट्रेड स्कुलहरूलाई पठाउने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हार्वर्ड विश्वविद्यालयबाट अर्बौं अनुदान डलर अन्यत्र सार्ने र ती रकम संयुक्त राज्य अमेरिकाभरका ट्रेड स्कुलहरूलाई दिने चेतावनी दिएका छन् । ट्रम्प प्रशासनले पहिले नै कोष फ्रिज गर्ने र अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको क्षमतालाई रोक्ने निर्णय गरिसकेको छ ।  जसलाई राष्ट्रपतिले आइभी लिग विश्वविद्यालय र अन्यले यहूदी विरोधीतालाई दबाउन असफल भएको बताएका छन् । हार्वर्ड ५३ अर्ब अमेरिकी डलरको अनुदान भएको सबैभन्दा पुरानो र धनी अमेरिकी विश्वविद्यालय हो । हार्वर्ड ट्रम्पको अभियानमा अग्रपंक्तिमा रहेको छ । प्रशासनले पहिले नै २.६ अर्ब अमेरिकी डलरभन्दा बढी संघीय अनुसन्धान रकम निलम्वन गरिसकेको छ । 

अब खोटाङमै उपचार सम्भव : जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति, स्थानीयमा खुसी

खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट पारित गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरिएको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका स्वाथ्यमन्त्री राईले जानकारी दिए। प्रदेश सरकारको निर्णयसँगै अब जिल्ला अस्पतालमा ११औँ तहको विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम भएको उनले उल्लेख गरे। यसअघि आठौँ तहको विशेषज्ञ डाक्टरसहित ३० जना स्वास्थ्यकर्मीको दरबन्दी थियो । जिल्ला अस्पताललाई ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णयपछि जिल्लावासी हर्षित भएका छन् । अस्पताल ५० शय्यामा स्तरोन्नति भएसँगै सबै प्रकारका बिरामीको उपचार सेवा यहाँ उपलब्ध गराउनेगरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको स्वास्थ्यमन्त्री राईले बताए । 'अब उपचार नपाएर खोटाङवासीको अकाँलमा मृत्यु हुनेछैन । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पताल पठाएर स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्ने मार्ग खुलेको छ', उनले भने । दश स्थानीय तह रहेको जिल्लामा आवश्यक भौतिक पूर्वाधार तथा विशेषज्ञ स्वास्थ्यकर्मी र उपकरण अभावका कारण सामान्य किसिमका स्वास्थ्य समस्यामा पनि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता थियो । सङ्घीय सरकारले चार वर्षअघि देशभरका जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर सुविधा थप गर्ने निर्णय गरे पनि दरबन्दी स्वीकृतलगायत विषयमा निर्णय गर्न बाँकी थियो । सङ्घीय सरकारको निर्णयअनुसार सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामार्फत रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले अस्पतालको भवन निर्माणको ठेक्का लिएको थियो । तीस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८० पुस २४ गते निर्माण सम्पन्न गर्नुपर्नेमा म्याद नाघेपछि ११ महिना थप गरिएको थियो । थपिएको म्याद पनि सकिएपछि निर्माणाधीन अस्पताल अलपत्र परेपछि भवन सम्पन्न गराउन पुनःअसार मसान्तसम्मको म्याद थप गरी कामलाई अगाडि बढाइएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । रासस

जैमिनी नगरका तीन सडकमा एकैपटक कालोपत्र : पाँच किलोमिटर सडकको लागत ८ करोड नाघ्यो

गलकोट । जैमिनी नगरपालिकामा तीनवटा सडक अहिले धमाधम कालोपत्र भइरहेको छ । नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छ, भने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । कालोपत्र गरिने तीनवटै सडकको लम्बाइ जम्मा पाँच किलोमिटर छ । तीनवटै सडकको लागत रु आठ करोड १८ लाख छ । जैमिनी नगरपालिका, सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा तीनवटा सडक एकसाथ कालोपत्र भइरहेको जैमिनी नगरपालिकाले जनाएको छ । बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने गरी टाकुरी खण्डमा रु एक करोड २६ लाख ६७ हजार लागतमा एक किमी सडक कालोपत्र भइरहेको छ । बागलुङ–१२ अमलाचौर र जैमिनी–१ कुश्सिेराको सिमानाको एक किमी सडक स्तरोन्नति सकेर कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र भएपछि बागलुङ बजारबाट सिधै कुश्मिसेरा पक्की सडकबाट पुग्न सकिने छ । बागलुङ बजारबाट कुश्मिसेरा खण्डअन्तर्गत सो ठाउँबाहेक अन्यत्र कालोपत्र भइसकेको थियो । उक्त सडक स्तरोन्नतिका लागि २०८० चैतमा गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको साझेदारीमा स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । जैमिनी नगरपालिका–१ जैमिनीधामको कालीगण्डकी करिडोरबाट पालिकाको केन्द्र कुश्मिसेरासम्मको सडक धमाधम कालोपत्र भइरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोड्न एक किमी सडक कालोपत्र गरिएको छभने थप एक किमी कालोपत्रको चरणमा पुगेको छ । जैमिनीधामबाट पहिलो खण्डको झण्डै एक किमी काम कालीगण्डकी करिडोरले कालोपत्रका लागि स्तरोन्नति सम्पन्न भइसकेपछि त्यहाँसमेत कालोपत्र गर्ने तयारीमा छ । निर्माण कम्पनीले रु तीन करोड २० लाखमा उक्त सडकको स्तरोन्नतिसँगै कालोपत्र गरिरहेको छ । यस्तै कुश्मिसेराबाट सकुर्वा हुँदै ब्याडथाल सडकको मौलाछ खण्डको दुई किलोमिटर सडक सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा कालोपत्र गर्ने तयारीमा रहेको छ । जैमिनीको समपूरक तथा सहरी विकास मन्त्रालय तथा गण्डकी प्रदेशको गरी जम्मा रु तीन करोड ७२ लाखमा उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने चरणमा पुगेको उपप्रमुख शर्माले जानकारी दिए । 'सरङ्गी–जैमिनी सडकको टाकुरी खण्ड एक किमी, करिडोरबाट कुश्मिसेरा दुई किमी र कुश्मिसेराबाट मौलाछमा दुई किमी गरी असारसम्म पाँच किमी सडक कालोपत्र भइसक्ने छ, अहिले दुईवटा सडकको तीन किमी कालोपत्र अन्तिम चरणमा छभने मौलाछमा दुई किलोमिटर सडक कालोपत्रको तयारी छ' उपप्रमुख शर्माले भने । तीनवटै सडक चौडा पार्ने, पानी जमेको स्थानमा ढलान गर्ने, नाली निर्माण गर्ने र आवश्यक स्थानमा ग्यावियन जाली लगाउने कामपश्चात कालोपत्र गारिएको छ । रासस

गाग्री बोकेर खोलातिर जानुपर्ने बाध्यता सकियो, घरमै आइपुग्यो पानी

देउखुरी । दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ । घरछेउमा बनेको ट्याङ्कीबाट घरघरमा पानी आउन थालेपछि चौधरीको दैनिकी अहिले फेरिएको छ । सहज रूपमा खानेपानी पाउन थालेपछि दैनिकी सहज बनेको भन्दै उनले खुसी व्यक्त गरिन् । 'धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ । करेसाबारीमा तरकारीखेती गरेर घरमा खान पुग्ने उत्पादन भइरहेको छ', उनले भनिन् । सोही ठाउँकी बुधनी चौधरीले घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन सजिलो भएको बताइन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत एक वर्षअघि खानेपानी योजना निर्माण सम्पन्न भएपछि घरघरमा पानीको सुविधा पुगेको हो । बुधनीले भनिन्, 'खानेपानीका लागि गाउँभरिमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तछाडमछाड भएर झगडा हुन्थ्यो । घरमा नयाँ धारा बनेसँगै अब यो समस्या सधैँलाई समाधान भएको छ । गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीका लागि गाग्री बोकेर खोलाखोला हिँड्नुपर्ने सास्ती हटेको छ ।' दङ्गीशरण–६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप विस्तार गरी घरघरमा पानी वितरण भइरहेको जानकारी दिए । दैनिक दुई घण्टा पानी वितरण गर्दै आइएको भन्दै उनले पानी भण्डारण गर्ने ट्याङकी नहुँदा केही समस्या भएको बताए । 'दुई सय परिवारले पानीका लागि निवेदन दर्ता गरेका छन्, अहिले एक सय ८६ परिवारले सुविधा लिइरहेका छन् भने अरु प्रक्रियामा छन् । मिटर जडान नगरिएकाले मासिक रु दुई सय उपभोक्ताले महसुल तिर्ने गरेका छन्', अध्यक्ष वलीले भने । दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्‍याइएको बताए । 'चुनावमा एक घर एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पु¥याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ', उनले भने । सङ्घ र प्रदेश सरकारले संरचना निर्माणमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने वडाध्यक्ष शाहको भनाइ छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पुर्‍याउने पहल गरिएको बताए । 'केही खानेपानी आयोजना स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाइएको र केहीमा बजेट अभावका कारण समयमा काम हुन सकेको छैन', उनले भने । बहुवर्षीय योजना निर्माणमा बढी समय, जनशक्ति लाग्ने भएकाले तत्काल सबैलाई पानी पुर्‍याउन नसकिएको न्यौपानेले बताए । ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै सबैलाई स्वच्छ पानी पुर्‍याउने लक्ष्यसहित अघि बढेको उनको भनाइ छ । रासस

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन । रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा पाण्डेले भने, 'रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।' एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए । यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलार्ई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ । रासस