आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं । । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मर्स्याङ्दी जलविद्युत् जोगाउन मुग्लिन–पोखरा सडकको संरचना परिवर्तन गरिने
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ । राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो । आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका-२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले बताए । ‘पुल पार गरेर पुनःसडक मुग्लिन बजारमा जोडिनेछ’, ढकालले भने । जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।
निजामती सेवापछि नियुक्तिमा कुलिङ पिरियड आवश्यकताबारे बहस, बहालवाला र पूर्वसचिवबीच फरक मत
काठमाडौं । नेपाल सरकारका बहालवाला सचिव तथा पूर्वसचिवहरूले ‘कुलिङ पिरियड’ राख्ने विषयमा फरकफरक धारणा राखेका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले सोमबार आयोजना गरेको ‘प्रशासनिक सङ्घीयता कार्यान्वयनका सवालमा अन्तरसरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवाल’ विषयक कार्यक्रममा सहभागीले फरक धारणा राखेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड सबै क्षेत्रमा लागूहुनुपर्ने धारणा राखे । ‘कुलिङ पिरियड सबैमा लागू हुनुपर्छ, निमाजमती कर्मचारीमा मात्र होइन,’ उनले भने, ’राजनीतिक दलका नेता राजनीतिबाट अगल हुनेवित्तिकै दुई वर्ष नपुगी राजदूत हुन पाउने गरेको देखिन्छ ।’ सापकोटाले कुलिङ पिरियडका कारण कतिपय स्थानमा विषय विज्ञताको अभाव देखिन सक्ने हुनाले प्राविधिक विषयमा दुई वर्ष कुलिङ पिरियड राख्न नहुने धारणा राखे । पूर्वमुख्यसचिव विमल कोइरालाले मुलुक र समग्र निजामती प्रशासनको हिसाबले कुलिङ पिरियड राख्नु नै उपयुक्त हुने बताए । ‘कुलिङ पिरियड नहुँदा स्वार्थ बाझिन्छ, ठूला कर्मचारीले आफू पदमा बहाल हुँदै गर्दा अनावश्यक सम्झौता गरेर पद लिने परिपाटीको विकास भयो’, उनले भने, ‘अघिल्लो दिन राजीनामा दिएर पछिल्लो दिन नयाँ पद लिने प्रवृत्ति बढ्यो, कसैले त उही दिन हाताहाती चिठी बुझ्ने गरेको पनि देखियो ।’ पूर्वमुख्यसचिव कोइरालाले कर्मचारीले संसदीय समितिले पारित गरेको कुरामा हुलका हुल बाँधेर यसलाई उल्ट्याउछु भनेर लाग्नु सुहाउँदो कुरा नभएको बताए । साथै, एक दुईवर्ष कुलिङ पिरियड राख्दा स्वभाविक देखिने र निजामती सेवापछि हुने बदनामीबाट जोगिने भनाइ उनको थियो । पूर्वसचिव डा दामोदर रेग्मीले कुलिङ पिरियड कतिवर्ष राख्नेभन्दा पनि योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा जिम्मेवारी दिंदा उपयुक्त हुने धारणा राखे । यस विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले कर्मचारी अवकाश भइसकेपछि तिनको योग्यता र प्रतिस्पर्धाको आधारमा छनोट तथा जिम्मेवारी दिनुपर्ने बताए। पूर्वसचिव लक्ष्मीराम पौडेलले कुलिङ पिरियड राख्नुभन्दा पनि नियुक्ति प्रक्रिया प्रतिस्पर्धाका आधारमा दिनुपर्ने र सिधै आफूलाई सहज हुने मानिसलाई नियुक्ति दिन नहुने धारणा राखे । पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले विषयवस्तुमा निपूर्ण भएको व्यक्तिलाई कुलिङ पिरियडको आवश्यकता नपर्ने तर नियुक्ति दिँदा त्यो विषयमा योग्य व्यक्ति हुनेपर्ने बताए । पूर्वसचिव कृष्णहरि बास्कोटाले अवकास प्राप्त कर्मचारीलाई कुलिङ पिरियड राख्न आवश्यक भएको धारणा राखे । तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलगाईले समसामयिक विषयमा छलफलका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सुनाए । सरकारले निजामति सेवा विधयेक संशोधन गर्दा अवकास प्राप्त कर्मचारीका लागि कुलिङ पिरियड राख्ने विषयमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमा सहमति भएको थियो । कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो ।
अलपत्र योजना पूरा गर्न प्राथमिकता, ‘पपुलिस्ट’ बजेट नआउने : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताएका छन् । सोमबार आयोजित लमजुङको दोर्दी गाउँपालिकाको प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमका लागि सुझाव सङ्कलन एवं अन्तरक्रियामा मन्त्री गुरुङले चर्चा मात्रै हुने कार्यान्वयन गर्न नसकिने बजेट निरुत्साहित गरिने बताएका हुन् । उनले ‘पपुलिस्ट’ बजेट नआउने बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुप्रै छन्, त्यस्ता अलपत्र योजना पूरा गर्न बजेटले प्राथमिकता पाउँछ ।’ कुनै ‘स्टिमेट’ नगरी बनेका योजना बजेटको प्राथमिकतामा नपर्ने उनले बताए । राष्ट्रिय गौरवका योजना सफल पार्न भने सरकारले जोड दिने मन्त्री गुरुङले जानकारी दिए । पाँच/छ वटा राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने काममा सरकार केन्द्रित रहेको उनको भनाइ छ । उनले दोर्दी गाउँपालिकाले गरेको राम्रा कामको प्रशंसा गर्दै स्थानीय तहले बजेट बनाउँदा त्यहाँका बासिन्दाको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि ल्याउने र गरिबी निवारण गर्ने योजनामा केन्द्रित हुन सुझाव दिए। ‘सडक र बाटोघाटो जस्ता ठूला योजना सङ्घीय सरकारले गर्छ’, उनले भने, ‘स्थानीय सरकारले गरिबी हटाउने र रोजगार सिर्जना गर्ने योजना बजेटको प्राथमिकतामा राख्नुपर्छ ।’ सूचना प्रविधि युगको समयमा विद्युतीय सुशासन कार्यशैली प्रभावकारी बनाउन स्थानीय तहमा डिजिटल पहुँच विस्तारमा मन्त्रालयले जोड दिएको उनले उल्लेख गरे । पालिकाले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको थियो भने कृषि, रोजगार, स्वास्थ्य, शिक्षा क्षेत्रमा सफलता हासिल गरेको प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो ।
नेपाललाई शिक्षाको हब बनाउनुपर्छ: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी विद्यार्थीका लागि नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । कांग्रेस शिक्षा विभागले सोमबार आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा ल्याउनुपर्ने बताए । देउवाले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धता समेत जनाए । सभापति देउवाले सबै आमाबाबुको इच्छा छोरा छोरीलाई राम्रो शिक्षा दिने भएकाले त्यो पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने धारणा राखे । उनले शिक्षा सभ्यता पनि भएकाले यसले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउने बताए । विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए ।
व्यापारीको लगानी बैंकमा हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन : विनोद चौधरी
काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गरे । उनले भने, ‘जुन ट्रेण्डमा विश्व गइरहेको छ । विश्वको अर्थतन्त्र गइरहेको छ । त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दापनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन ? भन्ने ठाउँमा मात्र पुगेको महशुस गरिरहेको छ । आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरूको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ ।’ विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनैपनि योजना सफल हुन नसकेको जानकारी दिए ।
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गरेका हुन् । अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमानाकाहरुमा पर्यटकलाई प्रवेशमा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उनले सार्वजनिक खरिद ऐन र अन्य नियमहरूमा व्यवसाय र काम गर्नका लागि कुनै बाधा छ भने परिवर्तन गर्न सरकार तयार रहेको पनि स्पष्ट गरे । 'हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोशिश गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएको छ । नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौं राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएको छ । किमाथांका नाकामा पुल बन्दैछ', प्रधानमन्त्री ओलीले भने, 'केही पनि नभएका ठाउँमा एकै पटक सबैथोक गर्न पर्दा समय लाग्छ । केही पनि भएन भनेर आत्मश्लाघा लिनुपर्ने अवस्था छैन । सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रुपमा पर्यटनलाई अघि बढाऔँ ।' प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) राखिएकामा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । छलफलमा काडमाडौं–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौं–धुलिखेललगायत मुख्य सडकहरु समयमै निर्माण, सीमानाकाहरुबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाइ सम्पर्क, विश्वमञ्चमा नेपालको ब्राण्ङिङ, पर्यटन प्रवर्द्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनःसंरचना, सगरमाथा संवाद पश्चातको कार्यान्वयन, गुणस्तरीय लगानी, जनशक्ति व्यवस्थापन, कर तथा मुद्रा सटहीमा सहजता, हिमालयहरुको सफाइ, डिजिटल क्षमता विस्तार र अन्तर निकाय समन्वय वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । सङ्घका सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पर्यटन हेर्ने मन्त्रीहरू, उच्चाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधनका उपायबारे निजी क्षेत्रसमेतबाट प्राप्त सुझावको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो ।
भारत र चीनमा तीव्र रुपमा फैलिँदै कोरोना, नेपालमा त्रास
काठमाडौं । भारत, चीन लगायत दक्षिण एसियामा केही दिन यता कोभिड १९ संक्रमण फैलिएको छ । छिमेकी देशमा तीव्र रुपमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि त्रास बढेको छ । खुला सीमाका कारण आवत जावतमा रोकतोक नहुँदा नागरिक त्रसित बनेका हुन् । अहिले भारतका १६ राज्य यो संक्रमण तीव्र रुपमा फैलिएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘नेपालमा अहिले कोरोना संक्रमण भएको व्यक्ति भेटिएको छैन, भोलि पर्सी देखिन्छ कि त्यो हेर्दै जानुपर्ला तर, नेपालमा हाम्रो अस्पतालमा कोरोना संक्रमण भएको हामीले फेला पारेका छैनौं,’ डा. पुन भन्छन्, ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना भने रह्यो नै, यसका लागि तयारी व्यक्ति आफैंबाट गर्नुपर्छ ।’ भारतमा देखिएको कोरोना नेपालमा फैलिएको छ या छैन भनेर यत्तिकै भन्न सकिने अवस्था छैन । यसका लागि सिक्वेन्सिङ गर्नुपर्छ । तर नेपालमा यो सिक्वेन्सिङ गरिएको छैन । डा. पुन भारतमा देखिनु भनेकै नेपालमा सर्तक रहनुपर्ने अवस्था भएको बताउँछन् । अहिले अस्पतालमा कोरोनाको जाँच गर्न कुनै व्यक्ति जाँदैनन् । कुनै दीर्घ रोगीलाई त्यस्तै लक्षण देखापर्यो कोरोनाको आशंका लागेमा मात्र जाँच गर्ने चलन छ । बिरामीले कोरोना जाँच गर्न छोडेसँगै नेपालमा कोभिडका एक जना पनि बिरामी छैनन् । भारत लगायत दक्षिण एसियामा देखिएको कोरोना खासै घातक नभएको डब्लुएचओले जनाएको छ । डा. पुन यसका लागि सबै नागरिक आफै सचेत रहनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले सम्म घातक छैन भनिएको छ भोलिपर्सि के हुन्छ भन्न सकिँदैन, कुनै रोग लाग्न दिनुभन्दा लाग्नै नदिनु भनेजस्तै सबैले सचेत चाहिँ रहनै पर्छ ।’ नेपालमा तयारी के हुँदैछ अहिले घातक नदेखिएको कोरोनाले भेरियन्ट परिवर्तन गर्दा भोलि घातक हुन सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. पुन विगतमा नेपालले कोरोनाबाट ठूलो जनको क्षती पुर्याइरहेको अवस्थामा सामान्य छ भन्दैमा हलका रूपले लिन नहुने बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियामा देखिएको कोरोनालाई मध्यनजर गर्दै कुनै तयारी नगरे पनि संक्रामक जन्य रोग नियन्त्रणका लागि कसरी अघि बढ्ने भन्ने विषयमा भने आइतमात्र छलफल गरेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त बहादुर केसीले बताए । उनी भन्छन्, ‘हामीले कोरोनाकै लागि भनेर केही तयारी गर्न सकेका छैनौं, अहिले भारत चीनमा कोरोना तीव्र रुपमा फैलिरहेको भन्ने कुरा आएको छ, अब यसको लागि पनि कसरी अघि बढ्ने भन्ने विषयमा भोलि पर्सी छलफल हुन सक्छ ।’ उनले यसमा छलफल गरेर यो यो काम यसरी गर्ने भन्ने यकिन कार्ययोजना भनेर सरकारले नबनाएको बताए । सीमा नाकामा हेल्थडेस्कको बिजोग कोभिड १९ को महामारीका बेला नेपालले सिमानाकामा हेल्थ डेस्क निर्माण गरेको थियो । कोरोना संक्रमण सेलाएसँगै नाकामा रहेका हेल्थ डेस्कको अवस्था पनि बिजोग भएको छ । लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका हेल्थ डेस्क अहिले अलपत्र अवस्थामा छन् । सूचना अधिकार डा. केसी हेल्थ डेस्क पहिलेदेखिनै रहेकाले तिनैलाई प्रयोग गरी सीमामा कडाइ गर्ने योजना मन्त्रालयले गर्न सक्ने बताउँछन् । सरकारले नेपाल भारत १४ वटा सीमामा हेल्थ डेस्क स्थापना गरेको थियो भने चीन र नेपालको सीमामा दुईवटा हेल्थडेस्क सञ्चालनमा ल्याएको थियो । हेल्थ डेस्कको मुख्य उदेश्य सिमानाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नु थियो । यसो गर्दा कोभि १९ संक्रमतिको संख्या कम गर्न सकन्छ । भारत चीनमा देखिएको कोराना कस्तो हो ? अहिले भारत चीन लगायत दक्षिण एशियामा देखिएको कोभिड १९ को एनबी.१.८.१ र एलएफ.७ भेरियन्ट हो । यी भेरियन्ट भारतमो तमिलनाडु, गुजरात, महाराष्ट्र, र केरलामा देखिएको छ । भारतमा मात्र १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा मात्र १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । एनबी.१.८.१ भेरियन्टमा ए४३५एस, भी ४४५एच र टी४७८आइ जस्ता स्पाइक प्रोटिन म्युटेसनहरू छन् । एलएफ.७ भेरियन्ट पनि जेएन.वान समूहको उपभेरियन्ट हो । यसले पनि संक्रमणदर वृद्धि गरिरहेको छ । चीनमा पनि एनबी.१.८.१ भेरियन्ट देखिएको छ । त्यहाँ पनि संक्रमणदर वृद्धि भइरहेको छ । भारत र चीन दुवै देशमा संक्रमण दर वृद्धि भएपनि घातक भने त्यति नरहेको समाचारहरूमा जनाइएको छ ।