विकासन्युज

जेठ १५ गतेको राजावादी आन्दोलन शान्तिपूर्ण हुने दाबी, २ हजार बढी स्वयम् सेवक परिचालन गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ । राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आज आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गरे । उनले भने, ‘तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ ।’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए । उनले भने, ‘शान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ ।’ राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पु¥याउन सबैसँग अनुरोध गरे ।  आन्दोनल परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अंहिसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाए । उनले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।  –––

प्रधानमन्त्री ओलीले मौसम विभाग पुगेर सोधे : यो वर्ष जनधनको क्षति हुने अवस्था के छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् ।  यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान/सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा उनले चासो लिएका हुन् । विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने गरी सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशन चुस्तदुरुस्त अवस्थामा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिनेतर्फ सचेत रहन उनले आग्रह गरे ।  विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने जानकारी दिँदै गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए । विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकामा खुसी व्यक्त गर्दै उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।  अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्च अधिकारी सहभागी थिए । 

गृहमन्त्रीको राजीनामाको विपक्षीको मागबारे एमाले : ‘धान काट्ने मुसा दोष पाउने भ्यागुता ?’

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गरेका छन् ।  मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गरेका हुन् ।  उनले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उनको भनाइ छ । प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाए ।  उनले भने, ‘पटक पटक सरमार बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो । यो एकदमै दुःखद् कुरा छ । त्यसकारण जहाँ समस्या छ त्यही हिट गरौँ । धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्ति ल्याएर हामी जान हुँदैन ।’ गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबारको सभाको बैठकमा नाराबाजी गरेका थिए ।  

मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । मकरी गाड हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ जारी गर्न लागेको छ ।  कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ५९ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५९ लाख ४० हजार कित्ता साधारण सेयर जारी गर्न लागिएको हो । यस सन्दर्भमा मकरी गाड हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मकरी गाड हाइड्रोपावर लिमिटेडले दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका–५ स्थित मकरी खोलाको पानी उपयोग गरी १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

‘नालायक गृहमन्त्री राजीनामा दे’ नारासहित माईतीघरमा युवाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।  अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । 

सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौंस्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाडौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सहकार्य

काठमाडौं । आईपीओ निष्कासनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।  एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलबार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे । कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । ६३ करोड चुक्तापूँजी भएको सो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।  

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं पुनः नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंको नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । हुमागाईं यसअघि पनि सोही बोर्डको चार वर्षसम्म नेतृत्व सम्हाली सकेका व्यक्ति हुन् ।