विकासन्युज

तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी

काठमाडौं । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।  इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहबी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । 

१८ जेठदेखि मनसुन सुरू भएर असोज १४ गतेसम्म रहने, १ हजार ५०० मिलिमिटर बढी पानी पर्ने

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले स्थानीय वडासम्मै मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको बताएका छन् ।  मन्त्रालय अन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा वडासम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्ने गरी विभागले काम गरिरहेको बताए ।  ‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हो, त्यसका लागि मन्त्रालय र विभागले काम गरिरहेको छ,’ मन्त्री खड्काले भने ।  विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए । उनले गण्डकी तथा लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदर भन्दा बढी वर्षा हुने जानकारी गराए ।  महानिर्देशक जोशीले कृषकका लागि साप्ताहिक रुपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आएको बताए । उनले यो वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको समेत उल्लेख गरे । उनले वर्षाबाट हुने क्षति न्यूनीकरणका लागि समयमै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गराउँदै आएको बताए ।  विभागको कार्यालयमा स्थलगत रूपमा पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकोमा उनले खुसी व्यक्त गरे । महानिर्देशक जोशीले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने समेत बताए । अवलोकनका क्रममा उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडी लगायतको सहभागिता रहेको थियो ।                    

दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर, मोबाइल एप्स र मोबिलिटी तालिम

काठमाडौं । नेत्रहीन युवा संघ  काठमाडौंले १५ जना दृष्टिविहीनलाई कम्प्युटर, मोबाइल एप्लिकेसन तथा मोबिलिटी तालिम दिएको छ । नेत्रहीन युवा संघ काठमाडौंले गत वैशाख २६ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन गरेको कार्यक्रम मंगलबार समापन भएको छ । कार्यक्रम १५ दिनसम्म चलेको थियो ।  समापन कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघ नेपालका अध्यक्ष शिशिर खनालले पुर्खाहरूले दृष्टिविहीन व्यक्तिहरूको हक अधिकार लागि संघर्ष तथा चरणवद्ध आन्दोलन गर्दै नेत्रहीन युवा संघ नेपाल स्थापना भएको बताए । उनले समग्र दृष्टिविहीन व्यक्तिहरूको आधार स्तम्भ नै नेपाल नेत्रहीन युवा संघ भएको दाबी गरे। संघसँग परियोजना नहुँदा समेत काम गरिरहेको उनी बताउँछन् । अध्यक्ष खनालले भने, ‘परियोजनामार्फत दृष्टिविहीनको अधिकार समावेशीकरण, पुनःस्थापना समावेशी शिक्षा, वकालत, पैरवीलगायतका कामहरू हामीले गरिरहेका छौं । संगठनले दृष्टिविहीनहरूलाई संगठित हुन मात्रै होइन एक अर्कामा अन्तर्निहित हुन सहयोग पुर्याउँछ । यदि आजको दिनमा नेत्रहीन संघ नभएको भए यति धेरै यहाँ व्यक्तिहरू जमघट हुने थिएनन् । यो हाम्रो पिर बिसाउने चौतारी हो । हामीलाई कसैले हप्कायो, दप्कायो, हेला गर्यो भने सतिसाल झै उभिएर प्रतिवाद गर्ने दृष्टिविहीनको अधिकार प्राप्त गराउने संस्था हो ।’   उनले हालसम्म नेत्रहीन युवा संघले ५२ जिल्लामा शाखा विस्तार गरिसकेको बताउँदै तीन हजार ५ सयभन्दा बढी सदस्य रहेको जानकारी दिए । उनले यो संख्या ज्यादै न्यून भएको भन्दै नेत्रहीनले थोरै जिल्लाहरू शाखा विस्तार गरेकोमा अब यो संख्या बढ्ने बताए ।  उनका अनुसार सुरु सुरुमा जिल्लामा १५० देखि १७० जनासम्म मात्रै हुने र त्यसमा पनि फारम भर्नुपर्ने अवस्था थियो । तर अब त्यस्तो नभएको बताउँदै सबै जिल्लाहरूमा संघको शाखा विस्तार गर्नुपर्नेमा जोड दिए ।  उनले चाँडै अनिवार्य रुपमा नेत्रहीनको सदस्य बन्ने अभियानमा आजदेखि लाग्न आग्रह गरे । संघले यसअघि इन्स्टिच्युटको तिर्दै आएको पैसा अब उपत्यकाभित्र रहेका दृष्टिविहीनको पैसा संघले तिर्ने नसकिने बताउँदै उनले शिक्षक सेवा तथा लोकसेवामा २५/३० जनालाई सुविधा उपलब्ध गराउने जानकारी दिए । नेत्र युवा संघले पछिल्लो समय महत्वपूर्ण काम गरिरहेको उनको दाबी छ ।  सन् १९७८ देखि दिँदै आइरहेको छात्रवृत्ति महिनामा ४४ जनालाई २५ सयका दरले दिँदा एक वर्षको १३ लाखभन्दा बढी हुन आउने उनको भनाइ थियो ।  ‘सानो लगानीमा जीविकोपार्जनका लागि बिउविजन उपलब्ध गर्ने सूचना नै प्रकाशित गरेर आवेदन मागेका छौं । यति मात्रै होइन नेपालमै दृष्टिविहीन व्यक्तिहरूका लागि कम्प्युटर सिकाउने संस्था नेपाल नेत्रहीन मात्रै हो । हामीले वर्षको तीन पटक विद्यार्थीलाई कम्प्युटर सिकाउने गरिरहेका छौं ।  दृष्टिविहीनहरुको संरक्षण, विकास तथा विभिन्न क्षेत्रमा रोजगारी पाउन तथा स्वरोजगार बन्न कम्प्युटरको पाटो महत्वपूर्ण हुँदो रहेछ । हामीले सिकाएको कम्प्युटरमा पूर्णता छैन पर्याप्तता छैन् । तर हामीले भोक जगाउने काम गरेका छौं,’ उनले भने ।     उनले पालिकाहरुबाट ल्यापटप किनि दिनका लागि चार वर्षअगाडि माग गरेको र संघले सिफारिस गरेको तथा पालिकाले उपलब्ध गराएको बताउँदै यसका लागि अबका दिनमा पनि संघबाट हुने सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । संघले विभिन्न सवालहरू तथा मुद्धाहरुमा काम गरिरहेको उनको भनाइ छ । स्थापनाकालदेखि नै अधिकारको वकालत र नेत्रहीनहरूको गुणस्तरीय जीवनका लागि संघर्षरत यो संस्थाले दृष्टिविहीनहरूका क्षेत्रमा अनेक महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनले सुनाए ।  संघको सहयोगमा धेरै नेत्रहीन शिक्षक, कर्मचारी, डाक्टर, वकिल लगायतका विभिन्न क्षेत्रमा रोजगारी पाउन तथा स्वरोजगार बन्न सफल भएका उनको भनाइ थियो ।  यस्तै १५ दिनसम्म चलेको आधारभुत कम्प्यूटर मोबाइल एप्लिकेसन तथा मोबिलिटी तालिममा दृष्टिविहीन विद्यार्थीहरुको लागि कम्प्यूटर मोबाइल एप्लिकेसन सञ्चालनका आधारभूत ज्ञान प्रदान गर्नुको साथै दृष्टिविहीनरुले चलाउने कम्प्युटर सफ्टवेयर मोबाइल एप्लिकेसन तथा मोबिलिटी बाटोमा हिँड्दा कसरी हिँड्ने लगायत विषयमा समेत तालिम प्रदान गरिएको थियो।  नेपाल नेत्रहीन युवा संघ काठमाडौंका अध्यक्ष शिव अग्रवालका अनुसार तालिममा १५ जना दृष्टिविहीन विद्यार्थीहरूको सहभागिता रहेको थियो । तालिममा एसइइ दिएर घरमै बसेका विद्यार्थी तथा स्नातक अध्ययन गरिरहेका दृष्टिविहीनलाई तालिम दिइएको हो ।  कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरु सहभागी थिए । वागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा भएको तालिम नेपाल नेत्रहीन युवा संघको कार्यालयको भवनमै भएको थियो । तालिममा माईक्रोसफ्टव वर्ड, पेजमेकर, एक्सल, पावर पोईन्ट, ईमेल इन्टरनेट, मोबाइल एप्लिकेसनमा एआईको प्रयोग मोबिलिटीमा बाटोमा कसरी हिँड्ने लगायतका बारेमा शिक्षा प्रदान गरिएको थियो । दृष्टिविहीन विद्यार्थीहरूले कम्प्युटर तालिम आवाज सुनेर सोही अनुसारको मार्गदर्शन अनुसार सिक्दै आएका समेत अध्यक्ष अग्रवालको भनाइ थियो । उनले आागामी दिनहरुमा पनि संघले दृष्टिविहीनहरुको हकहित तथा अधिकारका विषयमा आवाज उठाइरहने समेत बताए । उनले भने, ‘नेत्रहीन युवा संघ काठमाडौंमा हामीले हाल थुप्रै कामहरु गरिरहेका छौं । यसअघि नेत्रहीन युवा संघ काठमाडौं नविकरण नै भएको थिएन् । हाम्रो नयाँ टिम आइसकेपछि यसलाई नविकरण गरेका छौं । दृष्टिविहीनहरुको आवाज बनेर विभिन्न कामहरु गरिरहेका छौं । आगामी दिनहरुमा पनि यी र यस्तै कार्यक्रमका लागि थप पहल गर्ने छौं ।’  यस्तै, उनले कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।

रासायनिक मल कारखाना स्थापनाको विकल्प खोज्दै सरकार

काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।  ‘आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यस्तै, बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको विस्तृत अध्ययन, विकास तथा सञ्चालन–व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई ‘स्विस च्यालेञ्ज’ अवधारणा अनुरूप प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको छ । साथै  विभिन्न मुलुकसँग हालसम्म गरिएका दोहोरो कर उन्मुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताका सम्बन्धमा अध्ययन गरी थप मुलुकसँग उक्त सम्झौता गर्नेबारे बोर्ड समक्ष प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको छ ।  यसैगरी, बैठकबाट ‘डिप सिबेड माइनिङ’ परियोजनाको सम्बन्धमा प्राप्त प्रस्ताव उपर प्रचलित अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय नीति तथा कानुनी व्यवस्थासहित आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्न अर्को समितिसमेत गठन गरिएको छ ।  नेपालमा ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्ताव अनुरूप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णयसमेत बैठकले गरेको छ । लगानी बोर्डको कार्यालयको काम कारबाहीलाई थप छिटोछरितो तथा प्रभावकारी ढङ्गले अघि बढाउन बोर्डमा रहेका केही अधिकार प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन   गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ । साथै, निर्माणाधीन अरुण-३ जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको प्रावधानअनुसार ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण पेश गरिने, मन्त्रीले उत्तर दिने

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ ।  यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने छन् । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।  यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने छिन् ।  युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए ।  त्यस्तै, राष्ट्रिय सभाको बैठक अपरान्ह १ः१५ मा बस्दैछ । राष्ट्रिय सभामा पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  राष्ट्रिय सभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । 

देशका अधिकांश भागमा बदली हुने, एक/दुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।

ट्रेड टावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । ट्रेड टावरले आज जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरि बाँडफाँट पश्चात् सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए जेठ २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

५० हजारभन्दा बढी बङ्गलादेशी नागरिकको रोजगारी गुम्यो

काठमाडौं । बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी) की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् ।   एक लिखित वक्तव्य पढेर सुनाउँदै उनले यी परियोजना र सम्बद्ध परियोजनाहरूमा संलग्न ५० हजारभन्दा बढी पेशेवरहरूले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताएकी हुन् ।  उनले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग पनि गरिन् । यूएसएआईडी बङ्गलादेशले जनवरी २५ मा आफ्ना परियोजना कार्यान्वयन साझेदारहरूलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य देशहरूसँगै एजेन्सीले बङ्गलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरणहरू अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ ।’  यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय युएसएआइडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरेका थिए । एजेन्सी