प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निर्देशन, दुईपक्षबीच जम्काभेट हुन नदिने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जन प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा २०८२ जेठ १५ गते काठमाडौंमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमनसमेत गर्नेछ । उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरे । जन प्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्यमान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको छ । छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा-व्यवधान नआओस् भन्ने तर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्तिसुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकापसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चार गृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा नागरिकको सुरक्षालाई दृष्टि गत गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरूले बताए ।
आज गणतन्त्र दिवसः वंशीयतन्त्रलाई जनताले जितेको दिन
काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रका विरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जन निर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूति सहित गरिबीको अन्त्यसँगै विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ । जन अपेक्षा र जन भावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । यसैबिच, १८ औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल लगायत विशिष्ट व्यक्ति सहभागी हुने छन् । त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चितता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपाली जनले जेल नेल र यातना सहन परेको थियो । लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उहाँहरूको छ । आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ । जनादेश, मतादेश र संविधान प्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ । समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।
बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ । अपरान्ह ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिए । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि प्रतिनिधिसभाको अपरान्ह १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । त्यसैगरी राष्ट्रिय सभाको अपरान्ह १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/८३ को आर्थिक सर्वेक्षण’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
पत्रकारसँग गृहमन्त्रीले मागे न्याय
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने प्रष्ट पार्दै आफूले पनि न्याय पाउनु पर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा नदिने र आफूले पनि न्याय पाउनुपर्ने माग गरे । संविधानले अधिकार प्रदान गरेको निकायले राष्ट्र सेवक कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा अनुसन्धानले पूर्णता नपाई मन्त्रालयको नेतृत्वलाई जोडेर प्रचार प्रसार गरिनु राम्रो नभएको लेखकले बताए । ‘यदि पार्टीको एक कार्यकर्तामाथि अनुसन्धान भयो भने पार्टी अध्यक्ष वा सभापतिले राजीनामा गर्नुपर्ने ? सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्यो भने स्थिति के हो ? कुनै विषय उठ्न सक्छ त्यसलाई गम्भीरता पूर्वक लिएर निष्कर्षमा पुग्नुपर्छ,’ उनले भने । उनका अनुसार विगतमा पनि विभिन्न विषयमा सञ्चार माध्यममा समाचार आएका र केहीले अख्तियारले अनुसन्धान गरी अभियोजन समेत गरेकाे अवस्था थियो । तर, त्यस्तो अवस्थामा नेतृत्वले पद त्याग गरेका छैनन् । ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि । कि न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरो विरुद्ध कुनै उजुरी छ ? कहीँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनु पर्ला नि । यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला । मैले कसैमाथि दोषारोपण गरेको छैन,’ उनले भने । उनका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि रहेको उनले जानकारी दिए । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । आफू विरुद्ध नियोजित र षड्यन्त्र पूर्वक ढंगले आक्रमण गरिएको यो आक्रमण राजनीतिक पुर्वग्राहले प्रेरित भएको र यो क्रम जारी रहेको बताए । ‘सबैभन्दा पहिलो जसरी यो विषय मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हो, यो बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा निवेदन गर्न चाहन्छु,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थ राज भट्टराई २०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेर काम गरिरहेको उनले बताए । आफूले गृहमन्त्रालयमा अन्तबाट सरुवा गरेर नल्याएको र तोकिएको जिम्मेवारीभन्दा अरूले धेरै जिम्मेवारी दिएका व्यक्ति रहेको उनको भनाइ छ । ‘उहाँ निरन्तर २०७७ सालेदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ । अत्यन्तै महत्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो,’ गृहमन्त्री लेखकले भने ।
करछली प्रकरणमा सुन्दर प्लाईउड इन्डष्ट्रिजविरुद्ध राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले ठूलो परिमाणमा मूल्य कम देखाएर वस्तु आयात गरी कर छली गरेको आरोपमा रुपन्देहीस्थित सुन्दर प्लाईउड इन्डष्ट्रिज विरुद्ध उच्च अदालत, तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । बुटवल भन्सार कार्यालयमार्फत भारतबाट ल्याइएको मालसामानको वास्तविक मूल्य लुकाएर भन्सार मूल्य कम देखाई कर छली गरिएको पाइएको विभागले जनाएको छ । कम्पनीका प्रोप्राइटर अशोक अग्रवालले गोप्य बैंक खाताको प्रयोग र कागजातमा हेरफेर गरी नियोजित रूपमा फर्जी कारोबार मार्फत कर छली गरेको प्रमाणसहित कारवाही प्रक्रिया अगाडि बढाइएको छ । विभागका अनुसार करछली, जरिवाना र अन्य शीर्षकमा कुल ३९ करोड ७ लाख ५६ हजार रुपैयाँभन्दा बढी असुल गर्न माग गरिएको छ । साथै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(६) अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो । विभागले राजस्व चुहावट नियन्त्रण गर्न निरन्तर अनुगमन, अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।
जन्म कैदको सजाय पाएका कांग्रेस नेता आलमले उच्च अदालतबाट पाए सफाइ
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ । उनीसहित चार जनालाई अदालतले सफाइ दिएको हो । न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन् । यसअघि जिल्ला अदालत रौतहटले उनीहरुलाई दोषी ठहर गरेको थियो । उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको अभियोग थियो । रौतहट जिल्ला अदालतबाट मोहम्मद अफताव आलम सहितलाई जन्मकैदको सजाय भएको थियो ।
गृहमन्त्रीले आफूलाई चोख्याउन पत्रकार सम्मेलनमा गरेका ७ तर्क
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार एक्कासि पत्रकार सम्मेलनको आयोजना गरे । भिजिट भिसा प्रकरणमा मुछिएका उनको राजीनामा माग गर्दै अहिले प्रतिनिधिसभा बैठक अवरुद्ध छ । मंगलबारदेखि अवरुद्ध बैठक बुधबार पनि चल्न सकेन । गृहमन्त्री लेखकले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखे पनि प्रतिपक्ष दलले उनको निरन्तर राजीनामा माग गरिरहेका छन् । यही बिचमा लेखकले बुधबार एक्कासि पत्रकार सम्मेलन कार्यक्रम राखे । धेरैले अब उनले राजीनामा दिन सक्ने अनुमान गरेका थिए । तर, उनले आफूमाथि अन्याय भएको धारणा राख्दै न्यायको माग राखे । ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रह, प्रतिसोध र नियोजित ढंगले प्रेरित छ,’ उनले भने । अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका विषयप्रति दुःख व्यक्त गर्दै उनले आफ््नो कुनै संलग्नता नभएको धारणा राखे । उनले पत्रकार सम्मेलनमा बोल्दै केही महत्वपूर्ण विषय उठान गरेका छन् । उनले उठान गरेको पहिलो विषय हो, ‘एक जना कर्मचारीले गरेको गलत कार्य र अपराधमा विभागीय मन्त्री नै जिम्मेवार हुनुपर्ने तथा राजीनामा दिनुपर्ने हो भने यो देशमा कत्ति मन्त्री चाहिएलान् ।’ उनले फेरि अहिले बाहिरिएको कर्मचारी आफू मातहतको नरहेको सुनाए । यस्तै, उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेको विषय उठान गर्दै उनीविरुद्द जाहेरी परेकोले संसदीय छानबिन समितिको माग गरेको र राजीनामा माग नगरेको सुनाए । उनले भने, ‘उहाँको विरुद्द प्रहरीमा जाहेरी परेको थियो, उहाँ स्वयम् नै संलग्न हुनुहुन्थ्यो तर अहिले कर्मचारीले गरेको गल्तिमा मलाई मुछ्न मिल्दैन, राजीनमा माग गर्द उचित हुँदैन ।नमा माग गर्द उचित हुँदैन ।’ उनले आयोग एउटा संवैधानिक निकाय भएकोले सो निकायले मेरो आफूले भनेको नटेर्ने र स्वतन्त्र भएर काम गर्ने भएकोले अनुसन्धानमा पनि कुनै असर र प्रभाव नपर्ने जानकारी दिए । उनले विगतको उदाहरण पनि सुनाउँदै भने, ‘यसअघि अख्तियारले अध्यागमन विभागकै महानिर्देशकमाथि अनुसन्धान गरेको थियो । तर, मन्त्रीले राजीनामा दिनु परेन ।’ उनले मन्त्रीले सरुवा गरेकै आधारमा कर्मचारीले गरेको अपराध मन्त्रीले बोक्ने नसक्ने धारणा राखे । ‘लोकसेवा आयोगले सयौं कर्मचारी सरुवा गर्छ, खटाउँछ त्यसको कुनै कर्मचारीले अपराध गर्यो भने आयोगले जिम्मेवारी लिन्छ र, उनले भने, ‘जसले अपराध गर्छ, उसैले जिम्मेवारी बहन गर्छ । उसको अपराध अरुले बोक्दैन ।’ संवैधानिक निकायको अनुसन्धानको निश्कर्षमा हामी सबैले पर्खिनु पर्ने उनको धारणा छ । उनले संसदमा आफ्नो कुरा राख्ने समय नदिएकोले अब सञ्चारकर्मीले न्याय दिने अपेक्षा रहेको सुनाए ।
सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र बौद्धस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका प्लेटिनम डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पामा सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यो सहकार्यले ग्राहकहरूलाई सेवा शुल्कमा राहत दिने मात्र होइन, नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ । बैंकले यस्तो किसिमको सहकार्य डिजिटल बैंकिङको प्रवर्द्धन, ग्राहक सुविधा विस्तार र डिजिटल कारोबारको संस्कृति निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ ।