नागढुंगा र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्न २ अर्ब ६० करोड रुपैयाँ बजेट
काठमाडौं । सरकारले नागढुंगा-नौबिसे र सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै रकम विनियोजन गरेका हुन् । उनले दुवै सुरुमार्ग आगामी वर्ष निर्माण सम्पन्न हुने बताए ।
पोडवेको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन
काठमाडौं । सरकारले रोपवेको सट्टा पोडवेको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पोडवेले यातायातको नयाँ आयाम दिने बताएका हुन् ।
ऊर्जा मन्त्रालयका लागि ८८ अर्ब १ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ८८ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा क्षेत्रको विकास, विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरणका लागि मन्त्रालयमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने
काठमाडौं । सरकारले कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गर्ने जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अन्तराष्ट्रिय बजारमा कार्बन व्यापारका लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरे । यसैगरी उनले पग्लिँदै गएका हिमाल र सुक्दै गएका हिमनदी संरक्षणका लागि आवश्यक व्यवस्था गरिने बताए । उपप्रधानमन्त्री पौडेलले संरक्षण क्षेत्रका जग्गामा आयोजना निर्माणमा आवश्यक सहजीकरण गर्ने उल्लेख गरे । सरकारले कृषिमा हानी-नोक्सानी गर्ने वन्यजन्तुको व्यवस्थापन गरी मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने र सहअस्तित्वका लागि आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । सरकारले आगामी आवमा वन तथा वातावरण मन्त्रालयका लागि रु १८ अर्ब ६१ करोड विनियोजन गरेको छ ।
स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाइ कुल बजेटको ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेका हुन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ८६ अर्ब २४ करोड रुपैयाँ पाएको थियो । जुन कुल बजेटको ९४.६६० रहेको थियो ।
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने सरकारको नीति
काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताए । यसैगरी कृषिमा आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गरिने, कृषिमा आश्रित जनशक्तिलाई तालिम, प्रशिक्षण दिइने बजेटमा उल्लेख छ । मल, बीउको पर्याप्त व्यवस्था गरिने, सुपर जोन र जोन क्षेत्रमा विभाजन गरी कृषि र पशुपालनका लागि विशेष व्यवस्था गरिने उनले जानकारी दिए । खाद्यान्न, तरकारी, मासुमा आत्मनिर्भर हुने व्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ । माटोको उर्बरा शक्ति कायम राख्न कार्यक्रमको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले उल्लेख गरे । प्राङ्गारिक मलको प्रवद्र्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने छ । विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, नीलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवद्र्धन गरिने भएको छ । गुणस्तरीय बीउबीजनको व्यवस्था गरिने, मासु निर्यात प्रवद्र्धन गरिने कार्यक्रमलाई सरकारले बजेटबाट अघि बढाउन लागेको छ । चार करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले बताए । अलैँची, चिया, कफीको निर्यात प्रवद्र्धन गरिने पनि सरकारले जनाएको छ ।
प्रसारण लाइन विस्तारका लागि १३ अर्ब १८ करोड रुपैयाँ विनियोजन
काठमाडौं । प्रसारण लाइन विस्तार र वितरण आयोजनाका लागि १३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिए ।
अब एसईई प्रदेशबाट सञ्चालन हुने
काठमाडाैं । सरकारले उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन प्रदेश सरकारबाट गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अहिले संघीय सरकारबाटै यो परीक्षा सञ्चालन हुँदै आएको थियो ।