विकासन्युज

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौं । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणको माध्यमबाट नेपाललाई आकर्षक गन्तव्यका रूपमा ब्राण्डिङ गरिने घोषणा गरे । छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष योजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्यस्थलमा पर्यटक लक्षित सेवा विस्तार गरिने बजेटमा भनिएको छ । प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको बजेटमा स्थलमार्गबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिने समावेश गरिएको छ । पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । राष्ट्रिय निकुञ्ज, आरक्षण तथा संरक्षण क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या पर्यटन विकासमा जोड दिइनेछ । निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजिकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गको विकास गरिनेछ । शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, लुम्बिनी, मुक्तिनाथ, सौराहा, गोसाइँकुण्ड, जनकपुरधाम, कालिञ्चोक, कोशीटप्पु, सगरमाथा, केचनाकवच, पाथिभरा पदयात्रा सञ्चालन गरिनेछ । हिमाल आरोही तथा पद्यात्रीको सुरक्षा र आकस्मिक उद्धारका लागि भरपर्दो व्यवस्था मिलाइनेछ । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगको मान्यता सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिएको छ । त्यस्ता उद्योगका लागि आयकर तथा विद्युत् महसुलमा छुट दिइने बजेटमा घोषणा गरिएको छ । होटल, रेस्टुरेन्ट तथा जङ्गल सफारीमा कार्यरत श्रमिकलाई प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने जनाइएको छ ।  यस्तै सगरमाथा, पशुपति, लुम्बिनी, स्वर्गद्धारी, रारा, खप्तडलगायत प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्यमा पूर्वाधार निर्माण गरिनेछ । बजेटमा स्वयम्भुनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ क्षेत्रमा सन्ध्याकालिन पदमार्गको विकास गरिने भनिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गका आकर्षकस्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिनुका साथै कर्णाली, भेरी, गण्डकी, त्रिशुलीलगायत नदिमा र्याफटिङको व्यवस्था मिलाइनेछ ।  

वर्षमा एक पटक केवाइसी भर्नुपर्ने

काठमाडौं । वर्षमा एक पटक केवाइसी भर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाउँमा केवाईसी विवरण भर्नुपर्ने बताए ।  साथै उक्त केवाइसी विवरणलाई राष्ट्रिय परिचय पत्रमा अद्यावधिक गरिने व्यवस्था मिलाइने उनको भनाइ छ । केवाईसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।  

खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा, न्यूओ बैंक पनि खोल्ने

काठमाडौं । सरकारले बैंक् तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्न एसेट म्यानेज्मेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । यस्तै उनले न्यूओ बैंक पनि खोल्ने घोषणा गरेका छन् ।   

तराईका २८० अधुरा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिने

काठमाडाै‌ । सरकारले आगमी आव २०८२/८३ मा तराई, मधेसका २८० अधुरा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिने भएकोे छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले  काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गर्न ६ अर्ब ३७ करोड बजेट विनियोजन गरेको बताएका छन् । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिने भएको छ ।  विपद्बाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत तथा पुनःस्थापना गर्न ४१ करोड विनियोजन गरिएको छ ।   

सडक, पुल र यातायात पूर्वाधार विस्तारका लागि १ खर्ब ५२ अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।  बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक र पुल यातायात पूर्वाधार विस्तारमा जोड दिएको घोषणा गरे । 

नेपालको संविधानलाई संशोधन गर्ने घोषणा

काठमाडौं । सरकार नेपालको संविधानलाई संशोधन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।

विद्यार्थीलाई सातामा २० घण्टा काम, २० लाखसम्म विनाधितो कर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिइने भएको हो । साथै सरकारले सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने पनि जनाएको छ । उनले विद्यार्थीहरुलाई उद्यममा प्रोत्साहित गर्न २ लाखदेखि २० लाखसम्म विना धितो कर्जा उपलब्ध गराउने घोषणा गरेका छन् ।

स्वास्थ्य सुरक्षा कार्यक्रमको लागि १३ अर्ब ८२ करोड विनियोजन

काठमाडौं । सरकारले गर्भवती सुत्केरी तथा नवजात शिशूको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि ‘स्वास्थ्य सुरक्षा’ कार्यक्रम सञ्चलन गर्ने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रमका लागि १३ अर्ब ८२ करोड रकम विनियोजन गरिएको बताए ।