विद्यार्थीलाई सातामा २० घण्टा काम, २० लाखसम्म विनाधितो कर्जा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिइने भएको हो । साथै सरकारले सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने पनि जनाएको छ । उनले विद्यार्थीहरुलाई उद्यममा प्रोत्साहित गर्न २ लाखदेखि २० लाखसम्म विना धितो कर्जा उपलब्ध गराउने घोषणा गरेका छन् ।
स्वास्थ्य सुरक्षा कार्यक्रमको लागि १३ अर्ब ८२ करोड विनियोजन
काठमाडौं । सरकारले गर्भवती सुत्केरी तथा नवजात शिशूको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि ‘स्वास्थ्य सुरक्षा’ कार्यक्रम सञ्चलन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रमका लागि १३ अर्ब ८२ करोड रकम विनियोजन गरिएको बताए ।
बजेटमा परे सुरुङमार्ग, रेलमार्ग र मानो रेलको योजना
काठमाडौं । सरकारले सुरुङमार्ग, रेल तथा मोनो रेल निर्माणलाई प्राथमिकता दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यातायात क्षेत्रको सुधारका लागि रेलमार्ग, सुरुङमार्ग निर्माणमा प्राथमिकता दिने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइने, काठमाडौंमा मेट्रो र मोनोरेल
काठमाडौं । सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश स्तरबाट सवारी चालक अनुमति पत्र वितरण हुने व्यवस्था मिलाइने बताए । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न मेट्रो रेल, मोनोरेल सञ्चालन विकल्पको सम्भाव्यता अध्ययन गरिने उनले बताए । साथै, अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन, ठूला सवारी साधनमा भन्सार लागेपछि प्रदेश र स्थानीय तहले थप शुल्क वा महसुल लिन नपाउने उनको भनाइ छ ।
आँबुखैरनी–पोखरा सडकखण्ड निर्माणाका लागि ८ अर्ब विनियोजन
काठमाडाै । सरकारले २०८/८३ मा आँबुखैरनी पोखरा सडकखण्ड चारलाइन स्तरोन्नति काम सम्पन्न गरिने भएको छ । त्यसको लागि ८ अर्ब ५२ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बताएका छन् ।
सरकारले देशभर फोरजी सेवा विस्तार गर्ने
काठमाडौं । सरकारले देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले काठमाडौंसहित ठूला सहरमा फाइभजी सेवा सुरु गरिने जानकारी दिए ।
मुलपानीसहित चार रङ्गशाला निर्माण गर्न एक अर्ब ३२ करोड रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले खेल पूर्वाधारका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनले मुलपानी रङ्गशाला, मोरङको गिरिजाप्रसाद रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताए । मन्त्री पौडेलले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए । सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद आयोजना सम्पन्न गर्न ५४ करोड रुपैयाँ विनियोजन मन्त्री पौडेलले जानकारी दिए ।
अब प्रदेश सरकारबाट नै सवारी लाइसेन्स पाइने
काठमाडौं । अब सरकारले प्रदेश सरकारबाट नै सवारी लाइसेन्स पाउने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।