आइसीयू र सिसीयूमा उपचाररत १७ बिरामी, लाइट बालेर जोगाए
काठमाडौं । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला ? बिरामीको ज्यान जान पनि सक्ला । तर, नारायणी अस्पताल अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिब २ घण्टा ३० मिनेट विद्युत सेवा अवरुद्ध हुँदा कुनै पनि विरामीको अकालमा ज्यान गएन । सो अस्पतालको सो कक्षमा शुक्रबार राति १०ः३० देखि शनिबार बिहान १ बजेसम्म विद्युत् सेवा आपूर्ति विच्छेद भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । सो समयमा अस्पतालको आइसीयू र सिसीयू श्ययमा १७ बिरामी उपचाररत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा ती बिरामी जोगिएका थिए । विद्युत् अवरुद्ध भएपछि हुँदा चिकित्सक र नर्सले मोबाइलबाट ‘लाइट’ बालेर उपचार गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आइसीयू र सिसीयू जस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरता पूर्वक चासो लिएको छ । प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्य्राइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्ट्रिसियनलगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि कडा निर्देशन दिए । ‘अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो,’ प्रजिअ अर्यालले भने, ‘तपाईँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो । हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु। जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।’ प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्ट्रिसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउनका लागि पनि अनुरोध गरे । अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा उपलब्ध नहुनु पनि गम्भीर विषय हो । ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने बताए । नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्र रञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले सो घटना भएको दाबी गरे । ‘अस्पताल प्रशासनले आइसीयूमा भएका दुई जना सिकिस्त प्रकृतिका बिरामीलाई अर्को अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन,’ उनले भने । रासस
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाइँदै
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका-४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पद मार्गको प्रवेश विन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हीरक महोत्सव शुभारम्भ गरिएको छ । आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण-४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए । माथिएस हर्गोजसँग आउनुभएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए । उनहिरूले यही जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आएको अन्नपूर्ण-४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए । उनका अनुसार नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै यही जेठ १९ गते चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रा टोलीमा करिब २ सय जना सहभागी छन् । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । ‘आरोहणको ७५ वर्षपछि पहिलोपटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हर्षित भएका छौँ,’ पदयात्रा टोलीलाई स्वागत गर्दै उनले भने, ‘हर्जोगको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तरराष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो ।’ यसअघि काठमाडौं र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्ख्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा आधार शिविरमा राखिएका आरोहीका सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन, नारच्याङ बेँसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । जेठ २० गते हुने आधार शिविरबाट नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकले नाम दर्ता गराएका छन् । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ । २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घ द्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रम तय भएको छ । अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सह आयोजक भएर महोत्सव गर्न लागिएको हो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ।रासस
निफ्राको ५ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला, ६ प्रतिशत ब्याज दिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आज जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ बिक्री गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्तालाई १९ लाख कित्ता बिक्री गरिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिनुपर्नेछ । साथै बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले जेठ २१ गते भित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार १ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
कोशीमा मनसुनी वायुको प्रभाव, मधेस, बागमती र गण्डकीमा मध्यम वर्षा हुने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हवाई इन्धनको मूल्य २२ डलर घट्यो, २ रुपैयाँ बढ्यो पेट्रोल
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४०.५० रुपैयाँ, १४२ रुपैयाँ र १४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १५६.५० रुपैयाँ, १५८ रुपैयाँ र १५९ रुपैयाँ तोकिएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ११८ रुपैयाँ कायम भएको छ । अन्तर्राष्‍ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर ९०१, पोखरामा ७२१ र भैरहवामा ७०६ तोकेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, आज उपत्यका बिदा
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब १ हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाका महासचिव युविका भण्डारीले शनिबार विज्ञप्ति जारी गरी सरकारद्वारा सार्वजनिक गरिएको आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 'दुई वर्षदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतःराष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष पनि सो कर कायम राखिएकामा पर्यटनसम्बद्ध सरोकार भएका सबैलाई स्तब्ध बनाएको छ', विज्ञप्तीमा भनिएको छ । प्रस्तुत बजेटले पर्यटन क्षेत्रका विभिन्न पक्षमा सकारात्मक नीति र व्यवस्था ल्याएको देखिएको बताउँदै महासचिव भण्डारीले नेपाल प्रवेशको सुरुआती चरणमा पर्ने हवाई सेवामा प्रत्यक्ष असर गर्ने भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रबन्धले पर्यटकको आवागमनमा निरुत्साहित गरेको धारणा राखे । 'पर्यटकको सम्पूर्ण भ्रमण खर्चको तीन चौथाइभन्दा बढी हवाई यात्रामा खर्च हुने अवस्था सिर्जना भएको छ । पर्यटकको यथेष्ट आवागमनबिना बजेटमा पर्यटन प्रवर्द्धनसम्बन्धी उल्लेख गरिएका सकारात्मक पक्ष ओझेलमा पर्नसक्ने र तिनको कार्यान्वयनमा प्रत्यक्ष अवरोध आउने सम्भावना रहन्छ । जसले गर्दा ती व्यवस्था केवल घोषणामा सीमित रहने सम्भावना प्रबल देखिन्छ', महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाट्टाले अर्थमन्त्री, पर्यटनमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक मञ्चमा हवाई भाडामा लाग्ने भ्याट अत्यन्त अनुचित रहेको, यसले अन्तरराष्ट्रिय मूल्य मान्यतासँग मेल नखाने, पर्यटन प्रवर्द्धनमा प्रतिकूल असर पार्ने र भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नेपालीको हवाई पहुँचमा बाधा पुर्याउने भन्दै भ्याट खारेजीका पक्षमा धारणा राख्दै आएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । हवाई भाडामा लगाइएको भ्याट खारेजीको प्रक्रिया नथाल्नुले सरकार पर्यटन उद्योगप्रति उदार र गम्भीर नदेखिएको नाट्टाले जनाएको छ । नाट्टाले आव २०८०/८१ देखि निरन्तर रूपमा हवाई भाडादरमा लागू भ्याट हटाउनका लागि पहल लिँदै आएको छ ।
काँग्रेसमा देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छेहरू छन् : महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताएका छन् । ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताए । संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने बताए । अहिलेको बहस नेपालमा की राजतन्त्र रहन्छ की गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताए । राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन चुनौति दिए । राजतन्त्र आएपछि हुन्छ के ? भन्ने प्रश्नको जवाफ चाहिने जानकारी दिए । महामन्त्री थापाले भने, ‘म लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लरहरु छ,यसैबाट अघि बढ्ने भन्नेकुरालाई खालि यो ट्याक्टिल कुरा मात्रै होइन, विश्वासका साथ मान्दै आएको राजनीतिक दल भयौँ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ । म के विश्वास गर्दछु भने उहाँ भन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’ महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्तिहरू काँग्रेसमा दर्जनौँ रहेको जानकारी दिए ।