विकासन्युज

राजस्व नबुझाएर बन्द गरिएका तामाखानी उत्खननको पुनः तयारी

बागलुङ । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्‍याएको छ । तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय यस्तो देख्न पाइएको छैन । जैमिनी–१०, राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको जानकारी दिए ।   'बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो', स्थानीय वृद्ध श्रीसले भने, 'पाखैभरि तामा खनेका डोबहरू छन्, चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्, हामी सुरुङमा हिँडेका छौँ । तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिराले पुरिएको अवस्था छ, उत्खननमा सरकारले जोड दिन आवश्यक छ ।' बागलुङको राङ्खानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङका प्वाल छन् । जसमध्ये केही सुरुङका प्वाल मेटिन थालेका छन् । राङ्खानीको डाँडाखानीलगायत क्षेत्रमा एक सय २० वर्षभन्दा अघिसम्म उत्खनन गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेको छैन ।  तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बमबहादुर श्रीसले जानकारी दिए । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको उनले बताए । अहिले पनि तामाका अवशेष रहेकाले सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयले खानी सञ्चालनमा ल्याउँदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने बताएका छन् । खानीबाट स्थानीयवासीले आफ्नै सीप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकोमा पछिल्लो प्रविधिको विकासले ठूलो मात्रमा तामाखानी निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए । खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले ठूलो मात्रमा तामा रहेको अनुमान गरिएको छ ।  खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले संघीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए । दमेक र राङ्खानी क्षेत्रमा खानीको जैमिनी नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । तामा उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाले यस ठाउँको नाम नै राङ्खानी राखिएको भन्ने चलन छ । तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रको खानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट अनुमतिप्राप्त भए पनि एकिन तथ्याङ्क आउन सकेको छैन । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुन सकेका छैनन् । रासस

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा सञ्चालन

भोजपुर । वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।  कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताए । विगतमा यहाँका चारवटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको  छ ।  यहाँका आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी परामर्श, वैदेशिक रोजगारीका सिलसिलामा ठगिएकालाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका तथा मृत्यु भएकाहरूलाई क्षतिपूर्तिका लागि पहल गरिदिनेलगायतका काम  भइरहेको छ । त्यस्तै विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको  जनाइएको छ ।    सरकारको ७० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको हो ।   वैदेशिक रोजगारलाई सुरक्षित बनाएर आयआर्जनमा वृद्धि गर्दै भविष्यमा सहज जीविकोपार्जनका लागि कार्यक्रमले टेवा पुर्याएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए । वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले यसलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ ।  जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रबाट  ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिलालाई  सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको जनाइएको छ । जिल्लाबाट गत आर्थिक वर्षमा  सात हजार २४२ जना वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ ।  

चाँगुनारायण नगरपालिकाले आफ्नै स्रोतबाट स्तरोन्नति गर्दै भक्तपुर-नगरकोट सडक

काठमाडौं । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर-नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी भक्तपुर-नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो । नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्ने गरी बोलपत्र आह्वान गर्दै १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो ।  एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको ११ वर्षमा १०औँ पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड रुपैयाँ पुर्याउँदा पनि विभिन्न बाहान गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । नगर प्रमुख खत्रीले भने, ‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्र नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता गरी अब आसप्लान्ट पिच (कालोपत्र) गर्न बेस बिछाउने काम सुरु गरेका छौँ ।’  सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पूरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भाेगेकाले यो सडकलाई पूरा गर्न भक्तपुर-नगरकोट सडकको स्तरोन्नति आवश्यक रहेको उनले बताए । केन्द्रीय सरकारले यो सडक पुनः स्तरोन्नति गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैंले कालोपत्र गर्न लागेको नगर प्रमुख खत्रीले बताए ।  उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग छलफल गरेरै काम थालनी गरेका हौँ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौँ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्ने गरी छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेका हौं ।’ शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटबाट सडकको लेबल मिलाएर ग्राभेल हाल्दै बेस मिलाउने काम सुरु भइसकेको र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने बताए । एक महिनाभित्र सडकका सबै निर्माण सम्पन्न गरिने उनको भनाइ छ । त्यसैगरी बागमती प्रदेश सरकारको ५९ करोड रुपैयाँको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौंको साँखु ९ किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।   

अडिट रिपोर्टमा प्रश्न उठ्नु सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको सङ्केत हो : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न उठ्न नसक्ने गरी अडिट गर्नुपर्ने बताए ।  ‘लेखापरीक्षण प्रक्रियाको गुणस्तर, निष्पक्षता र पारदर्शिताप्रति राष्ट्रिय चासोलाई प्रतिबिम्बित गर्छ । अडिट रिपोर्टहरूमा प्रश्न उठ्नु भनेको रिपोर्टको असक्षमता मात्र होइन, सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको सङ्केत हो । त्यसैले लेखापरीक्षकहरूले तथ्यमा आधारित र व्यापक अडिट प्रक्रिया अपनाउनुपर्छ,’ उनले भने ।  सार्वजनिक खर्चमा निगरानीको आवश्यकता रहेको बताउँदै उनले सार्वजनिक विद्यालय र खरिद प्रणालीमा भएको खर्चको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘सरकारको बजेट र नीति कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने मूल्याङ्कन अडिट प्रणालीमार्फत गर्न सकिन्छ र यो प्रक्रिया थप मजबुत बनाउनुपर्छ ।’  

आइसीयू र सिसीयूमा उपचाररत १७ बिरामी, लाइट बालेर जोगाए

काठमाडौं । अस्पतालको  अति संवेदनशील स्थान ‘आइसीयू’ र  ‘सिसीयू’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला ? बिरामीको ज्यान जान पनि सक्ला । तर, नारायणी अस्पताल अस्पतालको  आइसीयू र सिसीयू कक्षमा करिब २ घण्टा ३० मिनेट विद्युत सेवा अवरुद्ध हुँदा कुनै पनि विरामीको अकालमा ज्यान गएन ।  सो अस्पतालको सो कक्षमा शुक्रबार राति १०ः३० देखि शनिबार बिहान १ बजेसम्म विद्युत् सेवा आपूर्ति विच्छेद भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ ।  सो समयमा अस्पतालको आइसीयू र सिसीयू श्ययमा १७ बिरामी उपचाररत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा ती बिरामी जोगिएका थिए ।  विद्युत् अवरुद्ध भएपछि हुँदा चिकित्सक र नर्सले मोबाइलबाट ‘लाइट’ बालेर उपचार गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आइसीयू र सिसीयू जस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरता पूर्वक चासो लिएको छ । प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्य्राइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्ट्रिसियनलगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि कडा निर्देशन दिए । ‘अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो,’ प्रजिअ अर्यालले भने, ‘तपाईँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो । हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु। जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।’ प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्ट्रिसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउनका लागि पनि अनुरोध गरे । अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा उपलब्ध नहुनु पनि गम्भीर विषय हो । ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने बताए । नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्र रञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले सो घटना भएको दाबी गरे ।  ‘अस्पताल प्रशासनले आइसीयूमा भएका दुई जना सिकिस्त प्रकृतिका बिरामीलाई अर्को अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन,’ उनले भने । रासस

‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाइँदै

काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको  छ । ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका-४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पद मार्गको प्रवेश विन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हीरक महोत्सव शुभारम्भ गरिएको छ । आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण-४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए । माथिएस हर्गोजसँग आउनुभएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए । उनहिरूले यही जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आएको अन्नपूर्ण-४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।  उनका अनुसार नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै यही जेठ १९ गते चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रा टोलीमा करिब २ सय जना सहभागी छन् । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा  जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । ‘आरोहणको ७५ वर्षपछि पहिलोपटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हर्षित भएका छौँ,’ पदयात्रा टोलीलाई स्वागत गर्दै उनले भने, ‘हर्जोगको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तरराष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो ।’ यसअघि काठमाडौं र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्ख्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा आधार शिविरमा राखिएका आरोहीका सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन, नारच्याङ बेँसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।  जेठ २० गते हुने आधार शिविरबाट नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकले नाम दर्ता गराएका छन् । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ । २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घ द्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।   अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सह आयोजक भएर महोत्सव गर्न लागिएको हो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ।रासस    

निफ्राको ५ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला, ६ प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आज जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ बिक्री गरेको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्तालाई १९ लाख कित्ता बिक्री गरिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिनुपर्नेछ । साथै बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले जेठ २१ गते भित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार १ गतेसम्म लम्बिनेछ ।  बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।   

कोशीमा मनसुनी वायुको प्रभाव, मधेस, बागमती र गण्डकीमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।