बदलाको भावनाले म माथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतिको सामना गर्छु : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताए । पार्टीको भुमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताए । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । आफूमाथिको चुनौतिको सामना गर्ने जानकारी दिए । अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भुमिका महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भुमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन् । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु । कोही मानिसहरु मैदान छोडेर चुनौति देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन ।’ अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गरे । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गरे । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले विश्व वातावरण दिवस २०२५ को सन्दर्भमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमलाई वृहत वृक्षारोपण अभियानमार्फत समापन गरेको छ । उक्त अभियान कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रमअन्तर्गत बैंकका ३५० भन्दा बढी कर्मचारी सहभागी भई २० भन्दा बढी जातका ७०० भन्दा बढी फलफूल, फूलफुल्ने र छायाँ दिने विरुवा रोपिएका थिए । यस अभियानले हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा दीर्घकालीन वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । साथै, गत वर्ष रोपिएका बिरुवाहरूको समेत सफाइ र हेरचाह गरिएको थियो । वृक्षारोपण कार्यक्रमको औपचारिक सुरुआत बैंकका सीईओ गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र र विद्यालयका उप-प्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरे । कार्यक्रम अघि बैंकले वातावरण संरक्षण, जलवायु लचिलोपन र दिगोपनका विषयमा जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरेको थियो ।
इनड्राइभको आधिकारिक कार्यालय उद्घाटन, चालकका लागि सपोर्ट सेन्टरसहितका सुविधा
काठमाडौं । राइड-हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा पहिलोपटक आफ्नो आधिकारिक कार्यालय सञ्चालनमा ल्याएको छ । सेवा विस्तार र चालक साझेदारहरूसँगको प्रत्यक्ष सम्पर्कलाई प्रोत्साहन गर्न ललितपुरको कुपन्डोलमा कार्यालय स्थापना गरिएको हो । नयाँ कार्यालयमार्फत चालकहरूसँग प्रत्यक्ष समन्वय, प्रशिक्षण, सुरक्षा-केन्द्रित कार्यक्रम सञ्चालन तथा स्थानीय बजारअनुकूल सेवा सुधारमा काम गरिने इनड्राइभले जनाएको छ । इनड्राइभका एपीएसी क्षेत्रीय निर्देशक मार्क टोलीले भने, 'यो कार्यालय केवल कार्यस्थल होइन, सफल चालक साझेदार तयार पार्ने सपोर्ट सेन्टर पनि हो ।' इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाललाई कम्पनीका लागि एक प्रमुख बजारको रूपमा उल्लेख गर्दै ललितपुरमा कार्यालय खोलिनु स्थानीय चालकहरूप्रति प्रतिबद्धता भएको बताइन् । कार्यालय उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्दै राइड-शेयरिङ सेवाको नियमन र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, 'राइड-शेयरिङ प्रविधि र प्रतिस्पर्धाको युगमा रोक्ने होइन, सहयोग गर्ने माध्यम हो । यसलाई व्यवस्थित गर्न छिटो कानुन ल्याउन आवश्यक छ ।'
विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले चोभारमा रोप्यो १ हजार बढी विरुवा
काठमाडौं । बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शनिबार काठमाडौंको कीर्तिपुर नगरपालिका–१४, चोभारस्थित मञ्जुश्री पार्कमा आयोजित कार्यक्रममा करिब १ हजार २८५ विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन, बैंकका उच्च व्यवस्थापन टोली तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले भने, 'हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौं, र हरेक वर्ष ‘स्मार्ट बचत खाता - १ खाता, १ रुख’ अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौं ।' सिटिजन्स बैंकले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, मठमन्दिर तथा सार्वजनिक संरचनामा सहयोग गर्दै आएको छ।
शुभकालिकामा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन, ६ करोडको लगानीको आयोजना अन्तिम चरणमा
कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ । चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो । सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको रु एक करोड ३० लाख र ऊर्जा प्रवर्द्धन केन्द्रको रु दुई करोड ९२ लाख रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए । ‘परियोजनामा जम्मा रु छ करोड २५ लाख खर्च भएको छ’, उनले भने, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ ।’ गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए। ‘गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन’, उनले भने, ‘यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।’ सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए। ‘यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ’, उनले भने, ‘यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।' रासस
सदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण
बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् । त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए । उनले भने 'शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।' यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोट, ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार रुपैयाँ क्षति भएको बताए । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख रुपैयाँ क्षति भएको पाइएको छ । यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख रुपैयाँ, छत्र थापाको एक करोड ५० लाख रुपैयाँ र धनबहादुर साउदको एक करोड ५० लाख रुपैयाँ क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए । आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ । शुक्रबार अपराह्न ३ः३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् । 'स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो', पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरुका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ ।