आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 'जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,' प्रधानमन्त्री ओलीले भने, 'दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा होस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।' अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए । उनले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गरे ।
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र समन्वय समूहले आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे । 'शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ,' उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए । सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने उनको भनाइ छ । 'समय सापेक्ष कानुन संशोधन गर्दै जाने हो, युगको आवश्यकताअनुसार सम्बोधन गर्दै जानुपर्छ,' उनले भने । संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने माग सम्बोधन हुने उनको भनाइ छ । 'जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा नौ बुँदे सहमति नगद हो भनेको थिए, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ,' शिक्षामन्त्री पन्तले भने, 'उहाँहरुका जायज माग सम्बोधन हुन्छ ।' मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्न सक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले उल्लेख गरे । 'प्रारम्भिक बाल विकासलाई शिक्षा प्रणालीभित्र कसरी समावेश गर्ने र सम्रग बालबालिकाको विकासलाई कसरी नीतिगत रुपमा समावेश गर्नेभन्ने कुरामा हामी पहिला प्रष्ट हुनुपर्छ,' उनले भने । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्मरबहादुर थापाले प्राथमिकताको आधारमा शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले सरकारले बालबालिकाको प्रारम्भिक विकाससँगै अन्य विषयमा पनि ध्यान दिनुपर्ने धारणा राखे । नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियारले बालबालिकाको विकासको निम्ति प्रारम्भिक बालविकाससँगसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने विषयमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराए ।
'बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने'
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने धारणा अर्थतन्त्रका जानकारहरूले व्यक्त गरेका छन् । नेपाल बुद्धिजीवि संगठन काठमाडौं जिल्ला समितिले आज यहाँ आयोजना गरेको ‘बजेट २०८२/८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा वक्ताहरुले असहज अवस्थामा प्रस्तुत बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने टिप्पणी गरेका हुन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलले दुई ठूला दल मिलेर बनेको दुई तिहाइको सरकारले ल्याएको बजेटबाट अर्थतन्त्र सुधारको ठूलो गुञ्जायस नदेखिएको बताए । ‘प्राविधिक रुपबाट हेर्दा आगामी आवको बजेट धेरै विवादित देखिँदैन, तर यो सरकारले बजेटमार्फत नीतिगत फड्को (पोलिसी डिपार्चर) गर्ने मौका गुमाएको छ’, उनले भने, ‘अहिले सरकार र बजेटप्रति मान्छेको विश्वास घटेको बेला त्यो विश्वास बढाउने गरी बजेट आउन पर्ने थियो । गर्न सकिने काम मात्र बजेटमा राख्ने हो भने नागरिकको विश्वास आफै बढ्थ्यो ।’ राजस्वतर्फ पनि सरकारले प्रगतिशील कर नीति अबलम्बन गर्न नसकेको डा. पौडेलको भनाइ छ। आगामी आर्थिक वर्षको बजेटमार्फत गैरकरको हिस्सा बढाउन सक्नुपर्नेमा त्यसो हुन नसकेको, आयकर लाग्ने आम्दानीको रकम नबढेको, पुँजीगत लाभकरको दर बढ्न नसकेको जस्ता विषय उनले उठाए । सरकारले लिएको कर नीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम वर्गीय सहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिती रहने डा. पौडेलको भनाइ छ । अहिले अनौपचारिक अर्थतन्त्रको हिस्सा निकै ठूलो रहेकामा त्यसलाई औपचारिक प्रणालीमा ल्याउन तथा राजस्व चुहावट नियन्त्रण गर्नका लागि सरकारले कुनै स्पष्ट योजना ल्याउन नसकेको आरोप पनि पौडेलको छ । अर्थविद् प्राडा सूर्य थापाले रोजगारी सिर्जना र गरिबी निवारण गर्ने भनेर बजेटका प्राथमिकतामा राखिएको भए पनि त्यसलाई समर्थन गर्नेगरी योजना आउन नसकेको बताए । यद्यपि आगामी आर्थिक वर्षको बजेटको आकार, आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्य धेरै महत्वाकांक्षी नभई वास्तविकतामा आधारित जस्तो देखिएको उनको भनाइ छ । ‘सरकारले राम्रोसँग काम गर्न सक्ने हो भने रू १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयन गर्न सकिन्छ र ६ प्रतिशतको आर्थिक वृद्धिदर तथा साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सकिन्छ’, उनले भने । बजेटमा जलविद्युत् आयोजनामा ‘टेक एन्ड पे’ ल्याइनु राम्रो नभएको थापाको भनाइ छ । योजना आयोगका पूर्वसदस्य डा. चन्द्रकान्त पौडेलले यथास्थितिवादी बजेट आएको र विद्यमान समस्या समाधानका लागि कुनै स्पष्ट कार्ययोजना आउन नसकेको बताए । ‘सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ठूलो पनि छैन र वास्तविक पनि छैन । तोकिएको राजस्व लक्ष्य उठाउन सक्ने गरी कुनै आधार बजेटमा देखिँदैन र पुँजीगत खर्च बढाउने कुनै स्पष्ट कार्ययोजना पनि आएका छैनन्’, उनले भने । दोस्रो चरणको आर्थिक सुधार तत्काल थालिनुपर्ने आवश्यकता पनि उनले औंल्याए । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि वित्त नीति र मौद्रिक नीतिबीचको सामन्जस्यता कायम गर्न आवश्यक रहेको धारणा पनि पौडेलले राखे । मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न नसक्ने हो भने मुलुकको अर्थतन्त्रमा ठूलो समस्या आउने उनको भनाइ छ । डा. नरविक्रम थापाले आगामी आवको बजेट यथास्थितिवादी रहेको उल्लेख गर्दै यसले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नसक्ने बताए । ‘बजेटमा ठूलो परिवर्तन छैन, करका दरमा खासै ठूलो परिवर्तन छैन । अर्थतन्त्रमा सुधारका क्षेत्र के हुन् भनेर स्पष्ट पहिचान गर्न सकिएको छैन । यस अर्थमा बजेट यथास्थितिवादी छ’, उनले भने । बजेटको स्रोतमा देखिएको चाप र कार्यान्वयनमा देखिएको न्यून प्रभावकारिता प्रमुख समस्या रहेको उनको भनाइ छ । त्यस्तै, आयातमुखी राजस्व र वितरणमुखी अर्थ प्रणालीलाई बदल्नका लागि बजेटमार्फत कुनै ठोस पहल नचालिएको थापाले बताए । हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाको मर्मअनुसार बजेट आउन नसकेको, छरिएका योजना र कार्यक्रममा बजेट हालिएको, चालू खर्च घटाउन नसकिएकोलगायत विषय उनले उठाए । त्यस्तै, घुमाउरो तरिकाले सांसद विकास कोष बजेटमा राखिएको आरोप उनले लगाए । सरकारले आगामी आर्थिक वर्षका लागि राखेको आय र व्यय दुवैको अनुमान यथार्थपरक नरहेको थापाको बुझाइ छ ।
हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रुपमा लिइएको स्थानीयबासीको भनाई छ ।
वैश्विक खाद्य मूल्यमा सामान्य गिरावट, मासु तथा दूधजन्य वस्तुको मूल्यमा वृद्धि
रोम । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जानकारी दिएको अनुसार मे महिनामा विश्वव्यापी खाद्य मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ । यो कमी विशेष गरी तरकारी तेल तथा चिनीको मूल्यमा आएको उल्लेखनीय गिरावटका कारण भएको हो । एफएओका अनुसार अन्न तथा अन्नजन्य वस्तु, जुन सूचकाङ्कको सबैभन्दा ठूलो हिस्सा हो, त्यसमा १.८ प्रतिशतको गिरावट आएको छ । अर्जेन्टिना र ब्राजिलमा राम्रो मकै उत्पादन हुनुका साथै गहुँको माग घटेकाले मूल्य घटेको हो । यद्यपि, इन्डिका चामलको माग वृद्धि तथा अमेरिकी डलर कमजोर भएकाले चामलको मूल्य भने केही वृद्धि भएको देखिएको छ । मासु तथा दूधजन्य वस्तुको मूल्यमा वृद्धि मासुको मूल्य १.३ प्रतिशतले बढेको एफएओले जनाएको छ । गाई, सुँगुर र भेडाको मासुमा माग बढे पनि कुखुराको मासुको मूल्य केही घटेको हो, जुन केही बजारहरूमा पन्छी रुघाखोकीका कारण चिन्ता बढेकाले भएको हो । जर्मनीका उत्पादनकर्ताहरूमा लागेको रोग नहटेसँगै उनीहरू फेरि निर्यात बजारमा फर्किएका छन्, जसका कारण सुँगुर मासुको मूल्यमा वृद्धिको देखिएको हो । दूधजन्य वस्तुहरूको मूल्यमा पनि ०.८ प्रतिशतले वृद्धि भएको छ । एसियाबाट भएको उच्च मागले घ्यू, चिज तथा सम्पूर्ण दूध पाउडरको मूल्यमा उचालो आएको छ । तरकारी तेल र चिनीमा सबैभन्दा धेरै गिरावट तरकारी तेलको मूल्य ३.७ प्रतिशतले घटेको छ, यद्यपि यो अघिल्लो वर्षको तुलनामा अझै पनि १९.१ प्रतिशतले माथि छ । पाम, तोरी, सोया र सूर्यमुखी तेलहरूको उत्पादन वृद्धि तथा केही देशहरूमा माग घटेका कारण मूल्यमा कमी आएको हो । यसैगरी, चिनीको मूल्य २.६ प्रतिशतले घटेको छ । विश्वव्यापी व्यापारको अनिश्चित अवस्थाका कारण खाद्य तथा पेय पदार्थ उद्योगमा माग घट्दा चिनीको मूल्यमा कमी आएको एफएओले जनाएको छ । रासस
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
रौतहट । रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे । त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो । पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्ड पूरा गरेको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ । मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । गत वर्षको माध्यामिक शिक्षा परीक्षामा मौलापुर नगरपालिकाका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आम जनता पार्टीकी नेत्री साह दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन् । समग्रमा मधेस प्रदशेमा एसइई उतीर्ण प्रतिशत ३० मात्रै रहकेो छ । मौलापुरले लिएको शून्य कर नीतिको देशव्यापीरुपमा चर्चा हुँदै आएको छ । नगरपालिकाले कृषि तथा घरायसी प्रयोजनका लागि विद्युत् र पानीको महसुस निःशुल्क बनाएको छ । रासस
अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, सेयर बजारमा उछाल
काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो । रोजगारी प्रतिवेदनले आशा देखायो अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ । आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ । रासस
पहिरोले नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।