विकासन्युज

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक र दोलखाको जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शाबाट विशेष छुट सुविधा पाउने भएका छन् । होटल यार्शा जिरी नगरपालिकामा अवस्थित एक शान्त र सुन्दर गन्तव्य हो । जसलाई सगरमाथाको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा कोठा बुकिङमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । प्रभु बैंकले यस किसिमको सहकार्य पर्यटन प्रवर्द्धनमा समेत सहयोगी हुने विश्वास व्यक्त गरेको छ । बैंकका अनुसार गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ छुट अफर ल्याइएको हो । सम्झौताले जिरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने र होटल व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

कियोसाकी भन्छन्– चाँदीमा लगानी गर्नूहोस्, यो वर्ष मूल्य दोब्बर हुन्छ

काठमाडौं । रोबर्ट कियोसाकी ‘रिच ड्याड पुअर ड्याड’ किताबका लेखक हुन् । उनले लगानीकर्ताहरूलाई बेलाबेलामा चेतावनी दिँदै आएका छन् । उनले हालै भनेका छन् कि ‘नक्कली पैसा’ बचाउन छोड ।  कियोसाकी चाहन्छन् कि मानिसहरूले चाँदी, सुन र बिटकोइनमा लगानी गरून् ।  यस वर्ष चाँदीको मूल्य दोब्बर हुन सक्ने उनको विश्वास छ । कियोसाकीले धेरै वर्षदेखि सुन, चाँदी र बिटकोइन किन्ने सल्लाह दिँदै आएका छन् । चाँदीको मूल्य अहिले ३५ डलर प्रति औंस पुगेको छ । उनको भनाइमा चाँदी अहिले सबैभन्दा राम्रो डिल हो । उनलाई लाग्छ, चाँदीको मूल्य दोब्बर भएर यसै वर्ष ७० डलर प्रति औंस पुग्न सक्छ । चाँदी राम्रो लगानी कियोसाकी लामो समयदेखि चाँदीलाई एक उत्कृष्ट लगानीका रूपमा हेर्छन् । यो सुन वा बिटकोइनभन्दा सस्तो छ । चाँदी अझै पनि आफ्नो ऐतिहासिक उच्च मूल्यभन्दा धेरै तल छ । उनले अप्रिलमा चाँदीलाई ुआजको सबैभन्दा राम्रो लगानीु भनेका थिए । त्यसबेला उनले भविष्यवाणी गरेका थिए कि २०२५ मा चाँदी ७० डलर प्रति औंस पुग्नेछ । तर, शुक्रबारको पोस्टमा उनले यो समयसीमा झन् छोटो बनाएका छन् । उनका अनुसार यो धातुको मूल्य यसै वर्षको अन्त्यसम्म दोब्बर हुन सक्छ । के हो ‘नक्कली पैसा’? चाँदी अझै पनि कियोसाकीको पहिलो रोजाइमा छ । उनले यस हप्ताको सुरुमा लेखेका थिए, 'राम्रो खबर यो हो कि चाँदी अझै पनि आफ्नो उच्च मूल्यभन्दा ६० प्रतिशत तल छ । यो अझै पनि करिब ३५ डलरमा छ । जबकि सुन र बिटकोइन भने आफ्ना उच्चतम मूल्यहरूमा छन् वा नजिक छन् ।' कियोसाकी ‘नक्कली पैसा’ लाई अस्वीकार गर्छन् । उनी कागजी मुद्रालाई ‘नक्कली पैसा’ भन्छन् । उनी मानिसहरूलाई आफ्ना बचतलाई सुन, चाँदी र बिटकोइनजस्ता सम्पत्तिमा रूपान्तरण गर्न आग्रह गर्छन् । 

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने इला होटल्स एण्ड रिसोट्र्सबिच छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात जुन १, देखि डिसेम्बर ३१ सम्म बागलुङ स्थित इला कम्फर्ट र मौलाकालीस्थित इला होटेल्स एंड रिसोर्टसमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्  । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।  एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ ।  यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।  एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड प्राप्त गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय प्रभावले सुनको भाउमा गिरावट, तोलामा ३ हजारले घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ रुपैयाँले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमरूले जनाएका छन् ।   

देशभरका कर्मचारीले गरे अनिश्चितकालीन आन्दोलन, संघीय ऐन जारी गर्न माग

काठमाडौं । संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका राष्ट्रसेवक कर्मचारीहरू आइतबारदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिले गरेको हो । यो समितिमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी निकटका कर्मचारी संगठनहरूका साथै स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् । निर्देशक समितिको जेठ २० गतेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीका अनुसार सोही निर्णय अनुसार आजदेखि कर्मचारीहरूले आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो । यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ । यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ । यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुरयाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ । यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए । 'यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ', उनले भने । वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताए । यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उनको भनाइ छ । 'यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिन्छ', उनले भने । रासस

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी । मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । मालिका -३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको छ । भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ । भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार ७७२ को लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७९/८० र २०८०/८२ मा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताए । चालु आर्थिक वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो । भवन परिसरमा चालु आवमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर (प्रसूतिगृह) भवन निर्माणाधीन छ । भवनको दोस्रो तला ढलान सकिएको छ । सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका –३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताए । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ । रासस

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले ११ वैशाख २०८२ मा सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छ भने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ । विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धिकर दर्ता निलम्बन गरिएको उनले जानकारी दिए । निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेस गर्नुपर्छ । जिल्लामा १० हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । मूल्य अभिवृद्धि करदातासहित जिल्लामा ७२ हजार बढी करदाता छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो । उनले भने, 'करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन ।' कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्छ भन्ने शिक्षा करदातालाई पुर्‍याउनुपर्ने समय आएको उनले बताए । विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।