विकासन्युज

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६औं वर्षमा प्रवेश, उद्योगलाई आर्थिक मेरुदण्ड बनाउन जोड

काठमाडौं । लघु, घरेलु तथा साना उद्योग नेपालको आत्मनिर्भर अर्थतन्त्रको आधारभूत संरचना भएको भन्दै यसको प्रवर्द्धन अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एनएफएसईआई) स्थापना भएको ३६औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आयोजित स्थापना दिवस समारोहमा बोल्ने वक्ताहरूले स्वरोजगार, स्थानीय रोजगारी, महिला र युवाको सशक्तीकरण तथा आयात प्रतिस्थापनका लागि यस्ता उद्योगहरूलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका हुन् । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योगहरू बिना समावेशी, दिगो र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताउँदै भने, 'नेपालमा ठूलो उद्योग सञ्चालन गर्न पूँजी, पूर्वाधार र भौगोलिक चुनौती छन्, त्यसैले साना उद्योग नै हाम्रो आर्थिक मेरुदण्ड हुन सक्छ ।' उनले यस्ता उद्योगहरूलाई नीतिगत, वित्तीय र प्रविधिगत सहयोग आवश्यक रहेको उल्लेख गरे । पूर्व अध्यक्ष श्याम गिरीले व्यवहारमा लघु उद्योगलाई अर्थतन्त्रको इञ्जिनका रूपमा बुझ्न नसकिएको गुनासो गर्दै महासंघ स्थापना पछि देशभरका उद्यमीहरूको साझा संस्थाको रूपमा विकसित भएको बताए । कार्यक्रममा महासंघका सल्लाहकार, उपाध्यक्षहरू, महासचिव, महिला उद्यमी समितिका प्रतिनिधि, प्रदेश अध्यक्षहरू तथा अन्य पदाधिकारीहरूले पनि आ-आफ्ना मन्तव्य राख्दै लघु, घरेलु तथा साना उद्योगको विकासले समग्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने धारणा व्यक्त गरे । स्थापना दिवसकै अवसरमा महासंघका प्रदेश, जिल्ला र पालिकास्तरीय इकाइहरूले पनि विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आइतबार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ ।  निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 

प्रधानमन्त्रीसँग भूमि समस्या समाधान आयोगका पदाधिकारीबीच के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबीच हालसम्मको कामको प्रगतिबारे आइतबार छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो ।  भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुकुम्बासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवाद/कमोद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भए काम गर्न थप सहज हुने आयोगका पदाधिकारीको भनाइ रहेको छ ।  प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । नेपाल सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको थियो ।

स्वावलम्बन लघुवित्तको सिन्धुलीमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिकामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सदस्य, अभिभावक तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य कर्जा तथा बचत व्यवस्थापनको ज्ञान प्रदान गर्दै कर्जाको सदुपयोग, उद्यमशीलताको विकास र स्थानीय स्रोत-साधनको प्रयोगमार्फत न्यून आय भएका वर्गको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिका–९ का वडा अध्यक्ष विनोद प्रधानले सहभागीहरूलाई विभिन्न संस्थाबाट अनावश्यक ऋण नलिई, उपलब्ध कर्जाको उत्पादनमूलक उपयोग गरी उद्यमशील बन्न सुझाव दिए । विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपक कुमार पोखरेलले कर्जाको सदुपयोग गर्न प्रेरित गर्दै यदि कुनै गुनासो वा समस्या भएमा संस्थामै जानकारी गराई समाधान खोज्न सुझाव दिए । कार्यक्रममा सहभागी ग्राहक सदस्यहरूले स्वावलम्बनले आफूहरूलाई उद्यमशील बन्न सहयोग गरेको उल्लेख गर्दै संस्थालाई भविष्य निर्माणको आधारको रूपमा लिएको बताए । उनीहरूले थप सहज सेवा प्रवाहको अपेक्षा पनि व्यक्त गरे । शाखा प्रबन्धक जानकी कुमारी बानियाँले ग्राहकलाई सहज कर्जा प्रवाहका साथै उद्यम गर्न आवश्यक परामर्श प्रदान गर्दै आएको जानकारी दिइन् । उनले आगामी दिनमा थप नवीन सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । कार्यक्रममा कर्जा बीमा रकमको भुक्तानी तथा एसइइ परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने सदस्यका सन्तानलाई छात्रवृत्तिस्वरूप नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नाडेप लघुवित्तको १०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा सम्पन्न भएको जनाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितका आर्थिक वर्ष २०८०/ ८१ सम्मको वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस बमोजिम तयार गरिएको बार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले वित्तीय संस्थाको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीक्षक बिदुर एसोसियट्स पुनः नियूक्तीको लागि योग्य हुने प्रस्ताव पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशन १० /०८१ (१३) मा भएको व्यवस्था बमोजिम शेयर संरचना परिवर्तन सम्वन्धमा छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरेको छ । यस वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्विजिसन सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, यस संस्थाको केन्द्रीय कार्यालय धादिङ्ग जिल्लाको धुनिबेशी वार्ड नं ६ थार्के बजारमा स्थानान्तरण उपर छलफल गरी सभाले पारित गरेको छ । सभाले उल्लेखित प्रस्ताव उपर नियमनकारी निकायबाट फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रही कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

हिमालयन बैंकको नयाँ ‘ठमेल शाखा’ सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा - २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका-२७, ठमेलस्थित संचय कोष भवनमा ‘ठमेल शाखा’ नामबाट बैंकिङ सेवा सुरु गरेको छ । जेठ २५ गतेदेखि नयाँ स्थानबाट सम्पूर्ण सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ । ठमेल शाखाको औपचारिक उद्घाटन हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रमको अवसरमा बैंकका उच्चपदस्थ कर्मचारी तथा विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थियो । बैंकले शाखा स्थानान्तरणसँगै ग्राहकलाई अझ सहज, सुरक्षित र स्तरीय सेवा प्रदान गर्न नयाँ स्थान छनोट गरिएको जनाएको छ । हिमालयन बैंकले देशभर आफ्ना शाखा सञ्जालमार्फत आधुनिक, सरल र पहुँचयोग्य सेवा प्रवाह गर्दै आएको छ।

नेपालमा पहिलोपटक कजारियाको एचडि पोलिस्ड टायल सार्वजनिक

काठमाडौं । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै पहिलो र एक मात्र एचडि पोलिस्ड टायल सार्वजनिक गरेको छ । ६०×१२० सेमी आकारको यो प्रिमियम टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिको समिश्रणमार्फत लक्जरी फ्लोरिङमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधिबाट निर्मित यो टायल विशेषगरी भित्री सतहको लागि डिजाइन गरिएको हो । ऐनाजस्तै चम्किलो फिनिश, उच्च गुणस्तरीय प्रिन्ट, घिसावट प्रतिरोधी संरचना र न्यून जलशोषण क्षमताका कारण यो टायल पाँचतारे होटल, लक्जरी मल, अपार्टमेन्ट र उच्चस्तरीय शोरूमहरूका लागि उपयुक्त भएको बताइएको छ । 'यो केवल टायल होइन, विलासिताको अनुभव हो,' कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले बताए । 'नेपालमा यस्ता विश्वस्तरीय टायल पहिलोपटक ल्याउन पाउँदा हामी गर्वित छौं । यो टायल शहरी क्षेत्रमा लोकप्रिय भइसकेको छ र अब हामी आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूलाई नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं,' उनले थपे । टायल उद्योगमा विश्वस्तरीय मापदण्ड र नवप्रवर्तनको उदाहरण बनाउँदै कजारियाले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ । कम्पनीले हाल ३,००० भन्दा बढी विशेष डिजाइनका टायलहरू उपलब्ध गराउँदै आधुनिक सजावटप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै आएको छ । नेपालको टायल बजारमा कजारियाको नयाँ एचडि पोलिस्ड टायल प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्दै गएको कम्पनीको दाबी छ । यसले कजारियालाई गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिका आधारमा अग्रणी स्थानमा उभ्याएको छ ।   

दुर्लभ धातुमा चीनको केही देशलाई अनुमति, भारतलाई उपेक्षा

काठमाडौं । चीनले केही रेयर अर्थ मेटल्स (दुर्लभ पृथ्वी धातुहरू) को निर्यात स्वीकृति दिएको छ । यो कदम अमेरिका र चीनबीच हुन लागेको वार्ताको पूर्वसन्ध्यामा लिइएको हो । दुबै देशका प्रतिनिधिमण्डलहरू सोमबार युकेमा व्यापार वार्तामा सहभागी हुँदैछन् । यसबाट दुई देशबीचको तनाव कम हुन सक्ने अनुमान गरिएको छ । चीनको वाणिज्य मन्त्रालयले केही निर्यात आवेदनहरूलाई स्वीकृति दिएको जानकारी दिएको छ । तर मन्त्रालयले कुन देश वा उद्योगहरूलाई यो अनुमति दिइएको हो भन्ने कुरा भने स्पष्ट गरेको छैन । मन्त्रालयका अनुसार रोबोटिक्स र इलेक्ट्रिक सवारीसाधन (ईभी) का क्षेत्रमा यी खनिजहरूको माग तीव्र रूपमा बढिरहेको छ । मन्त्रालयले अझै पनि नियम पालना गर्ने अन्य आवेदनहरूको समीक्षा र स्वीकृति प्रक्रिया जारी राख्ने बताएको छ । के हो रेयर अर्थ मेटल्स ? रेयर अर्थ मेटल्स भन्नाले १७ प्रकारका रासायनिक तत्वहरूको समूहलाई जनाइन्छ । यी तत्वहरूको प्रयोग मोबाइल फोन, कम्प्युटर, इलेक्ट्रिक सवारीसाधन लगायतका प्रविधियुक्त सामग्रीहरू बनाउनमा गरिन्छ । यी सामग्रीहरूमा रेयर अर्थ म्याग्नेट (दुर्लभ पृथ्वी चुम्बक) पनि समावेश छन् । चीन विश्वको सबैभन्दा ठूलो उत्पादक मुलुक हो, जसका कारण चीनका निर्णयहरूको असर विश्वव्यापी व्यापारमा पर्छ । अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व चलिरहेको अवस्थामा चीनको यो कदम दुवै देशबीचको सम्बन्ध सुधार गर्न सहायक हुन सक्छ । भारतलाई उपेक्षा भारतमा अटोमोबाइल उद्योगहरू हाल रेयर अर्थ म्याग्नेटको अभावसँग जुधिरहेका छन् । यी म्याग्नेटहरू इलेक्ट्रिक गाडीहरू र उच्च-प्रविधि उद्योगका लागि अत्यावश्यक मानिन्छन् । ब्लूमबर्गको रिपोर्ट अनुसार चीनले भारततर्फ जान लागेका यस्ता म्याग्नेटको कम्तिमा दुई निर्यात आवेदन अस्वीकार गरिसकेको छ । यसले भारतमा चाँडै नै अटोमोबाइल उत्पादनमा रुकावट आउन सक्ने डर देखिएको छ । उद्योग र सरकारी अधिकारीहरूका अनुसार एउटै अन्तर्राष्ट्रिय कम्पनीका जर्मनी र अमेरिका शाखाहरूका लागि त निर्यात अनुमति दिइएको छ, तर त्यसै कम्पनीको भारतीय शाखाका लागि भने सोही अनुरोध अस्वीकार गरिएको छ । ब्लूमबर्गको रिपोर्टअनुसार भारत सरकारद्वारा समर्थनप्राप्त कम्तिमा ३० वटा भारतीय आवेदनहरू अझै पनि चीनबाट स्वीकृतिको प्रतीक्षामा छन्, जबकि अन्य मुलुकका १० भन्दा बढी आवेदनहरूलाई अनुमोदन दिइसकिएको छ । ४ अप्रिलदेखि चीनले सातवटा रेयर अर्थ मेटल्सको निर्यातमा कडा नियम लागू गरेपछि भारतीय अटो पार्ट्स उत्पादकहरूको सामग्री चिनियाँ बन्दरगाहहरूमा अड्किएको  छ। नयाँ नियम: ४५ दिनको प्रक्रिया नयाँ नियमअनुसार आयातकर्ताहरूले यी म्याग्नेटहरू कुनै पनि सैन्य प्रयोजनमा प्रयोग नहुने र अमेरिका वा तेस्रो मुलुकमा पुनः निर्यात नगर्ने स्पष्ट लिखित प्रमाण दिनुपर्नेछ । यो सर्टिफिकेसन प्रोसेसमा कम्तिमा ४५ दिन लाग्न सक्ने बताइएको छ र हाल यो प्रक्रिया विश्वभरका देशहरूमा ढिलो भइरहेको छ । चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी