एशियन लाइफको ५.३६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले ५.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको ५.१० प्रतिशतका दरले १७ करोड ३३ लाख ९१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ९१ लाख २५ हजार रुपैयाँ नगद लाभांश गरी कुल ५.३६ प्रतिशतका दरले १८ करोड २५ लाख १७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित बनेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव प्रकाश सिंह कठायतले जानकारी दिए ।
यी ६ जनाले दिए सहकारी प्राधिकरणको अध्यक्षका लागि आवेदन, पूर्वसचिव पोखरेलको सम्भावना बढी
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आह्वान गरेअनुसार अध्यक्षका लागि ६ जनाको आवेदन परेको हो । प्राधिकरणको अध्यक्षका लागि पूर्वसचिव तथा प्राधिकरणको अध्यक्षका रुपमा पनि काम गरिसकेका अर्जुन प्रसाद पोखरेल, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल, राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपाल, बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कुन)का निवर्तमान अध्यक्ष परितोष पौड्याल, तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगेन्द्र शर्मा र बोर्डकै पूर्वकर्मचारी अनिल पौडेलको आवेदन परेको छ । पोखरेल सचिवबाट गत वैशाख २ गतेमात्रै अवकाश भएका हुन् । त्यतिबेला उनी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा कार्यरत भएकोले प्राधिकरणको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । धेरैले उनलाई अबको सम्भावित अध्यक्षको रूपमा पनि हेरेका छन् । यस्तै, लामो समय राष्ट्र बैंकमा काम गरेका नारायण पौडेलले पनि राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । उनले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी पनि पाएका थिए । राष्ट्र बैंककै निर्देशक डा. नेपाल पनि एक विज्ञ तथा अध्येताका रूपमा परिचित छन् । उनले मनि लाउण्डरिङमा विद्यावारिधि गरेका हुन् । यस्तै, आवेदक परितोष पौडेलले पनि लामो समय नेफ्स्कुनमा रहेर काम गरेकोले पनि बचत तथा ऋण सहकारी संस्थाको हरेक विषयवस्तुसँग नजिकबाट जानकार छन् । डा. शर्माले पनि तत्कालीन सहकारी विकास बोर्डको सदस्य सचिवका रूपमा काम गरिसकेको अनुभव छ भने बाेर्डका पूर्व कर्मचारी पौडेलसँग पनि सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव भएको बुझिएको छ । सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि यही जेठ ११ गते दरखास्त आव्हान गरेको थियो । जेठ २५ गतेसम्म आवेदन दिन सकिने प्रावधान सिफारिस समितिले राखेको थियो । अध्यक्षसँगै विज्ञ सदस्यमा पाँच जनाको आवेदन परेको छ । बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न बनेको प्राधिकरणको सञ्चालक समितिले अहिलेसम्म पूर्णता पाउन नसकेको हो । गत माघमा प्राधिकरणको स्थापना भएको थियो । अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् । हाल प्राधिकरणको सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र मन्त्रालयको सहकारी क्षेत्र हेर्ने सहसचिव मदन कोइराला छन् । अब समितिले मन्त्रिपरिषद् समक्ष सर्टलिष्ट गरेर नाम पठाएपछि मन्त्रिपरिषदले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ ।
कृषिमा नाम मात्रैको आधुनिकीकरण, आधा बजेट मलमै खर्च
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि क्षेत्रमा चालु भन्दा १९ करोड बढीको बजेट ल्यायो । चालु आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रमा छुट्याइएको ५७ अर्ब २८ करोड विनियोजन गरेकोमा आगामी वर्षका लागि ५७ अर्ब ४८ करोड छुट्यायो । बजेट केही बढेर आए पनि कृषकका लागि कुनै नयाँ कार्यक्रम छैनन्, नयाँ कार्यक्रम लागि बजेट नै नरहेको तथ्यहरूले देखाएको छ । कृषि मन्त्रालयको बजेट हेर्दा विनियोजित बजेटको आधा भन्दा बढी रासायनिक मल खरिदमा खर्च हुने देखिएको छ । आगामी वर्षका लागि मलका लागि मात्रै सरकारले २८ अर्ब ८२ करोड रकम छुट्याएको छ । चालु वर्षमा मल खरिदका लागि सरकारले २७ अर्ब ८५ करोड विनियोजन गरेको थियो । सरकारले आगामी वर्ष रासायनिक मलको आपूर्ति वृद्धि गर्दै ६ लाख मेट्रिक टन ल्याउने बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण बदनाम भएपछि सरकारले आगामी वर्षका लागि नाम फेरेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम भनेर ३ अर्ब ५० करोड बजेट छुट्याएको छ । यो कार्यक्रमका लागि चालु वर्षमा २ अर्ब ९८ करोड बजेट छुट्याइएको थियो । छुट्याइएको बजेट समेत चालु वर्षमा प्रभावकारी खर्च हुन सकेको छैन । तर पनि बजेट बढाएर यो कार्यक्रमलाई सरकारले अघि बढाउन खोजेको छ । तर गत वर्षको जेठ १५ मा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको चालु वर्षको बजेटमा कृषि क्षेत्रको रूपान्तरण गर्ने उद्घोष गरिएको थियो । बजेटमा पुनले कृषिमा लगानी दशक घोषणा गरे पनि यस वर्ष यो कार्यक्रम हटाइएको छ । त्यतिबेलाका अर्थमन्त्री पुनले ल्याएको बजेटमा भनिएको थियो, ‘कृषिको व्यावसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिनेछ । सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’ तर आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमा यो कार्यक्रम राखिएको छैन । बजेट पनि यसका लागि कुनै शिर्षकमा छुट्टाएको देखिँदैन । बरु आगामी बजेटमा कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने घोषणा गरिएको छ तर यथेष्ट बजेट छुट्याइएको छैन । यो केबल कागजमा मात्रै सिमित हुने खतरा छ । त्यस्तै आगामी वर्षको कृषि क्षेत्रको बजेटमा सामूहिक, सहकारी र निजी फर्ममार्फत खेतीयोग्य भूमिको अधिकतम उपयोग गरिने, प्रमुख खाद्यान्न, तरकारी, फलफूल, दुध र मासुजन्य उत्पादनमा आत्मनिर्भर हुनेगरी ठोस कार्यक्रम सञ्चालन गरिने घोषणा गरिए पनि ती क्षेत्रको विकासका लागि यथेष्ट बजेट सरकारले छुट्याएको छैन । आगामी वर्ष माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ४० करोड रुपैयाँ राखिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने र यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्नेसम्मको सरकारी योजना छ । तर पर्याप्त बजेट नछुट्याइएका कारण यी योजना पूरा हुनेमा संशय छ । आगामी वर्षको बजेटमा नश्ल सुधारका कार्यक्रममार्फत ८ लाख ५० हजार कृत्रिम गर्भाधान गराई पशुपालनको उत्पादकत्व वृद्धिदेखि पशुपंक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रण गर्न आगामी आर्थिक वर्षमा ५ करोड ५० लाख डोज खोप उत्पादन गरिने सरकारले घोषणा गरेको छ । उक्त आर्थिक वर्षमा ४ करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण गरिने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयतर्फको बजेटबाटै खर्च गरिने हो । बजेटको आधा भन्दा बढी रकम रासायनीक मलदेखि चालु खर्चसम्ममा खर्च हुने भएपछि नयाँ कार्यक्रम अघि बढाउनै नसक्ने अवस्था रहेको कृषि मन्त्रालयका अधिकारीहरु पुगेका छन् । प्रत्यक्ष रुपमा लाभ लिन सक्नेगरी कृषिको बजेट नआउँदा यसवर्ष किसान निराश बन्ने निश्चित छ । कृषिमन्त्री रामनाथ अधिकारी पनि कृषि क्षेत्रमा कम बजेट आएको स्वीकार्छन् । उनका अनुसार मुलुकमा रहेको आर्थिक संकुचनका कारण बजेट व्यवस्थापन गर्न नसकिएको हो । प्रयत्न गर्दागर्दै पनि अहिले चलिरहेका कार्यक्रममा पनि राज्यले ठूलो बजेट छुट्याउन नसकेको उनको भनाइ छ । मन्त्री अधिकारीले आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भने, ‘हाम्रो आर्थिक संकुचनका कारण सबै ठाउँमा बजेट व्यवस्थापन गर्न सकेका छैनौं । हामीले प्रयत्न गरेका हौं । अहिले चलिरहेका कार्यक्रममा राज्यले आफ्नो अवस्थाअनुसार पैसा छुट्याएको छ । क्याबिनेटको मिनिस्टर भएकाले मैले धेरै कुरा गर्न मिल्दैन । आवश्यकताअनुसार पैसा आएको छ । तर त्यसले कृषिजन्य उत्पादनको उत्पादन वृद्धि गर्न र आफ्नो खुट्टामा उभिन सक्ने किसिमको वातावरण त्यतिले मात्रै हुँदैन ।’ उनका अनुसार कृषिजन्य वस्तुको बजार व्यवस्थापन गर्न पनि अहिले सरकारसँग बजेट छैन । अहिले सरकारले ११ ठाउँमा मात्रै व्यवस्थापन गर्न सकेको छ । कृषिजन्य वस्तुको बजार व्यवस्थापनका लागि सरकार सबै ठाउँमा जानुपर्ने भएपनि सरकार जान सकेको छैन ।
विश्व वातावरण दिवसमा सिटिजन्स बैंकले धनुषामा गर्यो वृक्षारोपण, 'बिट द प्लास्टिक' नाराको प्रवर्द्धन
काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको धनुषा जिल्लामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणि मण्डप परिसरमा विभिन्न प्रजातिका १०० भन्दा बढी विरुवा रोपेको हो । कार्यक्रममार्फत सिटिजन्स बैंकले वातावरणीय सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन सामाजिक योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ। बैंकका अनुसार वृक्षारोपणको माध्यमबाट स्थानीय वातावरण संरक्षण, जलवायु सन्तुलन तथा प्राकृतिक स्रोतको दीगो उपयोगमा टेवा पुग्ने विश्वास लिएको छ । सिटिजन्स बैंकले विगतमा पनि स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोग गर्दै आफ्नो सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका निभाउँदै आएको छ । बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिँदै सामाजिक तथा वातावरणीय क्षेत्रमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
व्यापार युद्धपछि पहिलो चरणको ठोस वार्ता आज हुँदै, लन्डनमा ठूला सम्झौताका संकेत
काठमाडौं । अमेरिकी अर्थसचिव स्कट बेसन्ट र ट्रम्प प्रशासनका दुई अन्य अधिकारीहरू सोमबार लन्डनमा आफ्ना चिनियाँ समकक्षहरूसँग नवीकृत व्यापार वार्ताका लागि भेटघाट गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो जानकारी दिएका हुन् । बेइजिङसँग सम्झौता गर्न प्रशासनको प्रयासको नेतृत्व गरिरहेका बेसन्टसँग वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर पनि सहभागी हुने ट्रम्पले बताए । 'यो बैठक निकै राम्रो हुने अपेक्षा गरिएको छ,' राष्ट्रपति ट्रम्पले शुक्रबार दिउँसो ट्रुथ सोशलमा लेखे, 'यस मामिलामा ध्यान दिनुभएकोमा धन्यवाद !' चीनका उपप्रधानमन्त्री हे लिफेङले आइतबारदेखि शुक्रबारसम्म बेलायत भ्रमणका क्रममा अमेरिकासँग पहिलो चरणको व्यापार र आर्थिक वार्ता गर्ने चीनको विदेश मन्त्रालयले शनिबार जनाएको छ । उनले गत महिना स्वीट्जरल्याण्डमा वाशिङ्टनसँगको द्विपक्षीय वार्तामा बेइजिङको प्रतिनिधित्व गरेका थिए र अहिले चीनका प्रमुख व्यापार वार्ताकार हुन् । ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो फोन वार्ता गरेपछि थप व्यापार वार्ता हुने कुरा पहिलो पटक सार्वजनिक गरेका थिए । वार्ता तालिका घोषणा अमेरिका र चीनबीचको लामो समयदेखि जारी व्यापार युद्धको बीचमा आएको हो, जसले दुबै आर्थिक महाशक्तिहरूलाई असर पुर्याएको छ । गत वर्ष दुई देशबीचको कुल वस्तु व्यापार ५८२ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको थियो । स्वीट्जरल्याण्डको जेनेभामा भएको द्विपक्षीय वार्तापछि दुबैले एकअर्काका अधिकांश वस्तुहरूमा लगाइएको शुल्क अस्थायी रूपमा घटाएका थिए। तर त्यसयता चीनले अमेरिका माथि बारम्बार त्यस प्रगतिलाई कमजोर बनाएको आरोप लगाउँदै आएको छ । अमेरिकी वाणिज्य विभागले चिप उद्योगलाई चिनियाँ अर्धचालक ९सेमिकन्डक्टर० प्रयोग नगर्न चेतावनी दिएपछि बेइजिङले आपत्ति जनाएको थियो । ट्रम्प प्रशासनले केही चिनियाँ विद्यार्थीहरूको अमेरिकी भिसा रद्द गर्ने घोषणा पनि गरेको थियो । यता ट्रम्प प्रशासनले भने जेनेभामा चीनले दिएको प्रतिबद्धताअनुसार महत्त्वपूर्ण ‘रेयर अर्थ’को अमेरिकी निर्यात स्वीकृतिमा ढिलासुस्ती गरेको आरोप लगाएको छ । ट्रम्पले बिहीबारको फोन वार्तापछि लेखे, 'अब ‘रेयर अर्थ’ उत्पादनहरूको जटिलता सम्बन्धी कुनै शंका हुनु हुँदैन ।' तर उनले त्यसको स्पष्ट व्याख्या भने गरेनन् । चीनको वाणिज्य मन्त्रालयले शनिबार भनेको छ कि रेयर अर्थमा लगाइएका प्रतिबन्धहरू अन्तर्राष्ट्रिय अभ्यासअनुसार छन् र थप निर्यात अनुमति स्वीकृतिका लागि प्रक्रिया तीव्र पारिने पनि संकेत दिएको छ । चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए । उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
लुम्बिनी केबलकार चढ्न पुगे साढे ३ लाख पर्यटक, वसन्तपुरमा पर्यटकीय पूर्वाधारले बढायो आकर्षण
काठमाडौं । दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्वी र भारतीय पर्यटकको आकर्षण बढेको छ । लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ । दशकौंसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिव एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्वीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् । केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघ,संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए । वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका अपरेशन म्यानेजर सैंजूले बताए । धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको उनले जानकारी दिए । केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ । यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् । आइतबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।