विकासन्युज

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

दाङ । किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका उनको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो । उनले घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीबाट दाङको घोराही उपमहानगरपालिका–६ मा बसाइँ सरेका बुढाले आम्दानी गर्नकै लागि विदेश जानु नपर्ने बताए । 'हामीले धेरै पैसा कमाउन भनि बाहिरी देश जान्छौं तर, काम गर्न सके आफनै देशमा पनि आन्दानीका प्रशस्त स्रोत रहेका छन्', उनले भने,'आफ्नै ठाउँमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।' उनले गेमी साला भेना उखु र्फममार्फत आफनो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उमेरले ४३ वर्ष पुग्नुभएका बुढाले उखुको व्यावसायिक खेती गर्दै आएको क्षेत्र पछिल्लो समय उखु बारी भनेर समेत परिचित हुँदै गएको छ । उखु व्यवसाय गरेदेखि जीविकोपार्जनको लागि अन्य काम खोज्नु नपरेको उनी बताउँछन्। 'आजभोलि गर्मी समय पनि भएको हुँदा बिक्री पनि राम्रो हुने गरेको छ, उखुको जुस बिक्रीमा समस्या छैन', उनले भने’ 'जुनसुकै पेसा व्यवसायलाई निरन्तरता दिन सकियो भने एक दिन उपलब्धि हासिल गर्न सकिने उहाँसँग अनुभव रहेको छ ।' किसान बुढाले तीन बिघा १५ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा उखुको खेती गर्दै आएका छन्। जसको वार्षिक रुपमा रु तीन लाख भाडा तिर्ने गरेको उनी बताउँछन् । पछिल्लो समय उखु भन्दा पनि उखुको जुस नै आम नागरिकको रोजाइमा पर्ने गरेको सुनाए । 'बाहै महिना नै उखु उत्पादन गरेर जुस पेलेर बेच्ने गरेको छु, जसले गर्दा बिक्री गर्न समस्या छैन, जुनसुकै पेसा व्यवसाय गर्दा समस्या चुनौती छ', उनले भने, 'जसका कारण आफनो कामलाई निरन्तरता दिँदै जानुपर्ने छ ।' एक गिलास जुसलाई रु ५० का दरले बिक्री गर्ने गरेको किसान बुढा बताउँछन्। उनले गर्मीको समयमा दैनिक एक सयदेखि दुई सय गिलाससम्म बिक्री गर्दै आएका छन् । उखु खेतीबाट वार्षिक रुपमा रु १५ लाख बढीको कारोबार गर्दै आएको र जसबाट वार्षिक रुपमा ४० प्रतिशत बचत हुने गरेको उनको अनुभव रहेको छ । घोराही बजारदेखि नजिक रहेको हुँदा धेरै मानिसलाई यहाँ उखुको जुस पाउँछ भनेर जानकारी रहेको उनले बताए । उखुको जुसले स्वास्थ्यलाईसमेत फाइदा गर्ने र जण्डिस (अमलपित्त) रोग लागेका व्यक्तिलाई झन औषधिको काम गर्ने भएकाले सबैले रुचाएको बताउँछन् । घोराही–१७ गैरागाउँ क्षेत्रमा मात्रै सात बढी व्यावसायिक उखुखेती गर्ने किसान रहेका छन् । साना व्यवसायिलाई पनि स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनको धारणा रहेको छ । रासस

ग्लोबल आइएमई बैंकले गर्‍यो प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो ।  साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पु¥याउने विश्वास लिइएको छ । फोहोर संकलनपश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।  उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।  ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ । विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।  आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । बृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।  

५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

भोजपुर । यहाँको भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो । संघीय सरकारबाट प्राप्त रु ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षणमा जोड दिइएको छ । सिकाइलाई जीवन उपयोगिसँगै प्रविधिमैत्री बनाउन साना बालबालिकालाई प्रविधिमैत्री शिक्षणमा जोड दिइएको विद्यालय प्रधानाध्यापक गङ्गादेवी प्रधानले जानकारी दिए । यहाँ चार वटा स्मार्ट बोर्ड र स्मार्ट टिभी, प्रोजेक्टर, कम्प्युटरको प्रयोग गरेर बालबालिकालाई श्रव्य, दृश्य माध्यमबाट सिकाइ भइरहेको छ । साथै बालबालिकालाई पाँच वटा कम्प्युटर जडान गरेर प्रविधिसँगै कम्प्युटरको ज्ञान प्रदान गरिरहेको प्राध्यानाध्यापक प्रधानले बताए । 'हामीले विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ' उहाँले भने, 'प्रविधिको प्रयोगबाट शिक्षण गराउँदा बालबालिकाले चासोका साथ पढ्ने हुनाले गुणस्तरमा सुधार ल्याउन सहज छ ।' बालबालिकाले विज्ञान कक्षाको समयसँगै अन्य समयमा हप्ताको दुई दिन कम्प्युटरको अभ्यासमूलक सीप लिने गरेको उनको भनाइ छ । वडाभित्र रहेका विद्यालयको भौतिक सुधारसँगै प्रविधिमैत्री शिक्षणको लागि वडाले आवश्यक सहयोग गर्दै आएको भोजपुर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । आफ्नो पहलमा विद्यालयमा पक्की भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष कार्कीको भनाइ छ । नगरपालिकाभित्र प्राथमिक तह मात्र सञ्चालन भएका विद्यालयमध्ये पक्की भवनबाट शिक्षण हुने यो पहिलो सामुदायिक विद्यालय रहेको वडाध्यक्ष कार्कीको दाबी छ । 'हामीले यो विद्यालयको शैक्षिकसँगै भौतिक संरचनाको विकासमा जोड दिएका छौँ' वडाध्यक्ष कार्कीले भने,'प्राथमिक विद्यालय भए पनि यहाँ प्रविधिमैत्री शिक्षण हुन्छ । हाम्रो पहलमा पक्की भवन निर्माण गर्न सफल भएका छौँ। भोजपुर नरपालिकाभित्र प्राथमिक विद्यालयको राम्रो संरचना भएको विद्यालय बनाउन सफल भएका छौँ ।' संघीय सरकारबाट प्राप्त ५३ लाख लागतमा यहाँ पक्की विद्यालय भवन निर्माण गरिएको उनको भनाइ छ । भवन निर्माणसँगै वडाले दशलाख विनियोजन गरेर विद्यालयमा दुई/दुई वटा स्मार्ट बोर्ड, स्मार्ट टिभी र तीन वटा ल्याप, पाँच वटा कम्प्युटर र एक वटा प्रोजेक्टर प्रदान गरेको वडाध्यक्ष कार्कीले बताए ।

ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए ।  सोहीअनुसार सचिव स्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । साथै बिक्रेताहरूलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरूलाई सचेत बनाएको छ । 

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए । पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए । यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए । उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनको भनाइ छ ।  विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । पूर्वीखण्ड अन्तरगत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यो खण्ड अन्तर्गत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । 

हिमालयन हाइड्रोको ९० लाख २१ हजार कित्ता सेयरको लकइन सकिँदै

काठमाडौं । हिमालयन हाइड्रोपावरको संस्थापक सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि असार २७ गते सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८७ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको स्वामित्वमा रहेको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको ३९ हजार ३६५ कित्ता गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सर्वसाधारण सेयर सरह उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई कम्पनीले सार्वजनिक निस्काशनपश्चात् विसं २०७९ असार २८ गते सेयर बाँडफाँट गरेको थियो । सेयर बाँडफाँटपछि ३ वर्षको लागि कारोवार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीको सेयर लकइन सकिन लागेको हो ।   

पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सार

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले चालु आवको १० महिनामा पाँच थरीका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६.२६ प्रतिशत रहेको छ ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए । त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १०.९३  प्रतिशत रहेको छ । त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने ५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपूर्जा आयातबाट भने ४ अर्ब ५५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपूर्जा आयातबाट ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने २ अर्ब ८७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  त्यस्तै सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने २ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट भने २ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका-२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।  रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो । प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । ‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।’ एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तर्निहित हुने हुँदा यसको प्रयोग शक्ति वर्द्धक, क्यान्सर, रक्त अल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ ।  समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सकका अनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।