विकासन्युज

रिंगरोड छेउमै रोमाञ्चकता : ‘वन जंगल एडभेन्चर’ साहसिक पर्यटनको नयाँ गन्तव्य

काठमाडौं । साहसिक पर्यटनमा पछिल्लो समय रुचि राख्ने मानिसको संख्या बढ्दै गएको छ । अझ भनौं काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन् । जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन् । अब भने काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा-टाढा जान नपर्ने भएको छ । काठमाडौंकै रिंगरोडभित्र बसोबास गर्नेहरूका लागि साहसिक काठमाडौँ रिंगरोड बाइपासदेखि १० किलोमिटर भित्र तथा ककनी राजमार्गमा पर्ने 'वन जंगल एड्भेन्चर' ले साहसिक पर्यटनको मज्जा दिने भएको छ । जुन तारकेश्वर नगरपालिका ३ मा पर्छ । जसले साहसिक पर्यटनको आभास मात्र दिलाउँदैन । त्यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्ने छन । आठ महिनादेखि काठमाडौं भित्र रहेका र साहसिक पर्यटनमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिइरहेको वन जंगल एडभेन्चरका सञ्चालक एलिशा ढकाल बताउँछिन् । काठमाडौंमा बसोबास गरिरहेका मानिसलाई प्रकृति र साहसिक पर्यटनप्रति रुचि बढाउन एड्भेन्चर सञ्चालन गर्नुपरेको उनले सुनाइन् । हिजोआज साहसिक पर्यटनको प्याकेज बनाएर जानेको संख्या बढिरहेको छ । एडभेन्चरले काठमाडौं भित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको छ । काठमाडौंका मानिसहरू यहाँ आउँदा समयको बचत र जंगल भित्र सबै एड्भेन्चरको फरक महसुस गर्न पाउने भएकाले यहाँ आउने सेवाग्राहीको संख्या बढ्दै गइरहेको ढकालले बताइन् ।  उनका अनुसार ३० रोपनीमा फैलिएको वन जंगलमा सेवाग्राहीले जीप लाइन, रोलर कोष्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष,हाइ रोप कोर्ष, किड्स एड्भेन्चर्स कोर्ष जीप लाइन ट्रीप टप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउने छन् । साहसिक पर्यटनका लागि नेपालमै पहिलोपटक रोलर कोष्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन् । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्ने छन् । यहाँ आउनेहरूले मनोरञ्जन मात्र नभइ रात पनि बिताउन सक्ने छन् । टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्ने उनले बताइन् । एड्भेन्चरमा ११ टेन्ट र १ मौलिक घर रहेको छ । जंगलभित्र बसेर फायरिङ्ग तथा मनोरञ्जन गर्न चाहनेलाई यस खालेको व्यवस्था गरिएको उनले उल्लेख गरिन् । 'सहरमा धेरैले गाउँ-गाउँमा हुने पुराना शैलीका देखेका छैनन्,' उनी भन्छिन, 'हिजोआज काठमाडौंमा बसोबास गर्नेले पुराना ढाँचाका नेपाली घर देखेका छैनन् । तिनकै लागि भए पनि यहाँ मौलिक घर राखिएको छ । यहीँ सुतेर बसेर रातको आनन्द लिन पाउँनेछन् ।' मौलिकता हराइरहेको बेला वन जंगल एडभेन्चरले नेपाली घर देखाउन सक्नु यहाँको विशेषता रहेको ढकाल प्रस्ट पार्छिन् । उनले मौलिक घरमा ढिकी,जाँतो,हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाउने छन् । गाउँघरमा गाईवस्तु,खसी तथा कुखुरा राख्न गोठ बनाइन्थ्यो । वन जंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागले अनुमति दिएको छ ।

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । 'विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छ', उनले भने । आन्तरिक राजस्व विभागले छ महिनादेखि लगातार मूल्यअभिवृद्धि कर विवरण नबुझाएका करदादातालाई निलम्बन गर्दै आएको छ । बाँकेमा आठ हजारभन्दा बढी मूल्यअभिवृद्धिमा आबद्ध करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिए । उनले  यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट गरे । 'निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नुहँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ', उनले भने ।  यसअघि विभागले मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्यअभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।  

'चक्रपथ स्तरोन्नतिपछि  चिटिक्क देखियो बेनीबजार’

गलेश्वर । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ ।   नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ । नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत तीन करोड १९ लाख रुपैयाँको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब ९०० मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ । यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटी दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट गरे ।    बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसिसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ । विसं २०७३ मा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जल उत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेको थियो । विसं २०७२ मा कालीगण्डकी किनारमा रु एक करोड ८८ लाखको लागतमा १२४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरिएको थियो । यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृत गरेको थियो । कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७ औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो ।  इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार १६३१ सालमा पर्वत राज्यको विखण्डन भएपछि पर्वत सातौँ राजा मलेबम मल्लले पर्वत राज्यको राजधानी बेनीमा सारेपछि व्यावसायिक यात्राको सुरुआत र बस्ती विस्तार भएको हो । अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाडौंदेखि करिब ३०० किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ । रासस

एआईले चीनमा ल्यायो रोजगारी संकट

काठमाडौं । चीनले कृत्रिम बौद्धिकता (एआई) अपनाउने जोश देखाइरहेको बेला देशको आर्थिक वृद्धिदर सुस्त बन्दै गएको छ, जसले लाखौं नियमित रोजगारीहरू जोखिममा पारेको छ । 'म  [सुरक्षा प्रविधि कम्पनी] को सम्पूर्ण मार्केटिङ विभाग हटाउने योजना बनाइरहेको छु । यसरी कम्पनीले वार्षिक करोडौं युआन बचत गर्न सक्छ,' कम्पनीका संस्थापक तथा अध्यक्ष झोउ होङयीले शुक्रबार राति चिनियाँ भाषाको भिडियोमा भनेका थिए । यो भिडियो चिनियाँ प्लेटफर्म वेइवोमा मात्रै १ लाख ९१ हजार पटकभन्दा बढी हेरिएको छ । वेइबोमा झोउका करिब १.२ करोड फलोअर छन् । उनले आफूले बनाएको जेनेरेटिभ एआई उपकरण प्रयोग गरेर पाँच दिनमै एक प्रेस सम्मेलनको तयारी गरिरहेको बताए । उक्त एआई उपकरण र सर्च टूल बुधबार सार्वजनिक हुने तयारीमा छ । झोउले प्रयोग गरिरहेको यो तरिका केवल बिक्री बढाउने अर्को चाल हो वा होइन, त्यो बहसको विषय हुन सक्छ, तर भिडियोले एउटा उदीयमान यथार्थ झल्काउँछस् खर्च कटौतीको दबाबमा रहेका कम्पनीहरूले एआई प्रयोग गरेर मानिसहरूको जागिर हटाउन सक्ने सम्भावना बढ्दो छ । गत साता अमेरिकी वित्तीय कम्पनी सीआईटीआईले अक्टोबरसम्म चीनमा ३ हजार ५०० प्राविधिक कर्मचारी कटौती गर्ने बताएको छ । अमेरिकी कम्पनी एन्थ्रोपिकका  सीईओ डारियो अमोडेईले एक्सिओससँग गत महिनामा भनेका थिए कि आगामी एकदेखि पाँच वर्षभित्र एआईले १०-२० प्रतिशत बेरोजगारी दर निम्त्याउन सक्छ । चीनमा धेरै कम्पनीहरू अहिले मार्केटिङ र कोडिङ क्षेत्रमा एआईमार्फत कार्य दक्षता बढाउने विषयमा छलफल गरिरहेका छन् । ठूला चिनियाँ प्रविधि कम्पनीहरूले नयाँ कर्मचारीका लागि एआई सीप आवश्यक रहेको खुलेर भनिरहेका छन् । हाङहाङ एआईका साझेदार तथा सीओओ शु वेइबिङले बताए । 'यदि विद्यार्थीलाई एआई प्रयोग गर्न आउँदैन भने जागिर पाउनु धेरै गाह्रो हुन्छ,ु शुले म्यान्डरिनमा भनेका थिए ।' हाङहाङ एआईले एआई सीप विकासमा केन्द्रित सेवा प्रदान गर्छ । जून ६ मा कम्पनीले 'ग्लोबल एआई' प्लेटफर्म सुरु गर्‍यो, जसले उद्यमीहरूलाई उनीहरू अझै जागिरमा रहेकै अवस्थामा एआई परियोजनाका लागि प्रारम्भिक लगानी जुटाउन सहयोग गर्छ । हालसम्म उक्त प्लेटफर्ममा ७० लगानीकर्ता संलग्न छन् र कम्तीमा ५० परियोजनाहरू आबद्ध भइसकेको शुले जानकारी दिए । तीन वर्षभित्र १ हजार परियोजनामा लगानी गर्ने लक्ष्य छ, जसअन्तर्गत प्रत्येक परियोजनालाई तीन लगानीकर्ताबाट १० हजार  युआनका दरले जम्मा ३० हजार युआन प्रारम्भिक लगानी दिइनेछ । चिनियाँ अधिकारीहरूले एआई र रोबोट प्रविधि अपनाउन प्रोत्साहन गर्दै आएका छन्, साथै रोजगारीलाई बढावा दिन विभिन्न कार्यक्रम ल्याएका छन् । वित्त मन्त्रालयले मंगलबार यो वर्ष रोजगारीसम्बन्धी अनुदानका लागि ६६।७४ अर्ब युआन ९९।२९ अर्ब डलर० छुट्याएको घोषणा गरेको छ । उद्योग तथा सूचना प्रविधि मन्त्रालय र नागरिक मामिला मन्त्रालयले सोमबार वृद्ध नागरिक हेरचाहमा रोबोट प्रयोग गर्ने दुईवर्षे परीक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन् । रोजगारीको डर कायमै यद्यपि, एआई हरेक क्षेत्रमा तुरुन्तै प्रभाव पार्ने होइन । तर, कोभिड महामारीपछिको निरन्तर चर्चाको विषय बनेको छ- रोजगारी अस्थिरता । ग्र्याजुएट्स धेरैले अभिभावकको सहारामा थप अध्ययनमा लाग्ने प्रवृत्ति, कम्पनीहरूले तलब काट्ने, बोनस फिर्ता लिने, विभागहरू बन्द गर्ने वा पूर्ण रूपमा बन्द हुने स्थिति देखिएको छ ।  व्यक्तिहरू र व्यवसायहरूले सामाजिक सञ्जाल तथा लाइभस्ट्रीममार्फत उत्पादन बेच्ने प्रयास गरिरहेका छन्, जहाँ प्रतिस्पर्धा कडा भए पनि एक रातमै सफल हुने सम्भावना जीवित छ । यसैबीच, चिनियाँ समाजमा नियमित ओभरटाइम र हप्ताको अन्त्यमा पनि बैठक गर्नुपर्ने संस्कारले कामको मूल्य अधिक बनाउँछ । यस्तो अस्वस्थ प्रतिस्पर्धा विशेष गरी चीनको विद्युतीय गाडी बजारमा देखिन्छ, जहाँ मूल्य घटाउने होडले अन्तर्घातको अवस्था सिर्जना गरेको छ, जसलाई सरकारले चेतावनी दिएको छ । यसबाहेक व्यापारिक तनावको आर्थिक प्रभाव पनि थपिन आएको छ । चिनियाँ निकासीमा मात्र गत महिना अमेरिकातर्फ ३४ प्रतिशत गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ । गोल्डम्यान साक्सको अनुमानअनुसार चीनमा करिब १।६ करोड रोजगारी अमेरिकी निर्यातसँग जोडिएका छन् । मे महिनाका मासिक व्यापार सर्वेक्षणहरूले सबै क्षेत्रमा रोजगारीमा गिरावट देखाएका छन् । गोल्डम्यान साक्सका होई शनले गत साता प्रकाशित विश्लेषणमा लेखेअनुसार 'पछिल्लो दशकमा कमै देखिएको अवस्था हो- विशेष गरी निर्माण क्षेत्रमा र साना व्यवसायमा रोजगारी स्थिति निकै कमजोर छ ।' तर, रिपोर्टका अनुसार 'रोजगारी बजारको कमजोरीले थप प्रोत्साहनका लागि उत्प्रेरकको भूमिका खेल्न सक्छ ।' चीनका शीर्ष नेताहरूले प्रायः जुलाई अन्त्यमा नीतिगत बैठक राख्ने गर्छन् । निओकर्प खनिज विकास कम्पनीका सीईओ मार्क स्मिथले भनेका छन् कि अमेरिका–चीनबीच दुर्लभ खनिज आपूर्ति विषयमा सहयोग आवश्यक छ किनभने चीन नै प्रमुख आपूर्तिकर्ता हो र भण्डारणको रणनीति प्रभावकारी हुने सम्भावना छैन । मोर्गन स्ट्यान्लीका प्रमुख चीन अर्थशास्त्री रोबिन शिङले अमेरिका र चीनबीचको व्यापार, विद्युतीय सवारी लगायत विषयमा जारी मतभेद र त्यसले चीनमा पारेको मनोवैज्ञानिक असरको चर्चा गरेका छन् । अमेरिका-चीनले लन्डन वार्तापछि व्यापारसम्बन्धी रूपरेखामा सहमति गरे। बुधबारको दोस्रो दिनको उच्चस्तरीय बैठकपछि दुबै देशका प्रतिनिधिहरूले सहमतिको घोषणा गरे । गत साता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको थियो, जसले तनावग्रस्त सम्बन्धलाई केही हदसम्म स्थिर बनाएको छ । चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे महिनामा फेरि घट्यो । यो लगातार चौथो पटक नकारात्मक परिणाम हो । खाद्यान्न र ऊर्जा बाहेकको कोर सीपीआई भने जनवरीपछिको उच्च स्तरमा पुनः फर्किएको छ । व्यापार तथ्यांकले मे महिनामा निर्यातमा हल्का वृद्धि देखाएको छ भने आयात अपेक्षा भन्दा धेरै घटेको छ, जुन कमजोर घरेलु मागको संकेत हो । हुवावेको चिप विकासलाई लिएर अमेरिकाले अतिरञ्जना गरेको छ । चिनियाँ दूरसञ्चार कम्पनीका सीईओले मङ्गलबार कम्युनिस्ट पार्टीको आधिकारिक अखबारमा छापिएको अन्तर्वार्तामा भनेका छन् कि हुवावेका चिपहरू अमेरिकी समकक्षीहरूभन्दा एक पुस्ता पछि छन्, तर कम्पनीले त्यो दूरी घटाउने उपायहरू अवलम्बन गरिरहेको छ ।  

बजारमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । सरकारले लगानीको वातावरण बनेको दाबी गरेपनि निजी क्षेत्रले लगानी नबढाउँदा बैंकहरुमा फेरि ठूलो रकम थ्रुपिएको छ । बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।  बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पटकपटक यसरी निक्षेप खिच्दै आएको छ । राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंककाअनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।  निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । गत आइतबार पनि राष्ट्र बैंकले २० अर्ब खिचेको थियो । 

आईएमएफले नेपाललाई ईसीएफअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत छैंटौं किस्ता अन्तर्गत थप ४२.७ मिलियन अमेरिकी डलर (५ अर्ब ८४ करोड)रुपैयाँ दिने भएको छ । आईएमएफका मिसन प्रमुख सरवत जहाँको टोलीले हालै काठमाडौं भ्रमण गरेकाे थियाे । साे क्रममा नेपाली अधिकारी र आईएमएफका कर्मचारीहरूसँग छैटौं समीक्षा पूरा गर्न आवश्यक नीति र सुधारबारे कर्मचारी स्तरको सम्झौतामा पुगेका थिए ।  आईएमएफले विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललगायतका छलफल गरेको हाे । अब उक्त सम्झौता आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नेछ । त्यसपछि बोर्डको समीक्षा सम्पन्न हुन्छ अनि नेपालले उक्त रकम हासिल गर्ने आईएमएफले जनाएकाे छ । यससँगै नेपालले आईएमएफबाट कूल ३३१.८ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । पाँचौ समीक्षापछि नेपालले ईसीएफअन्तर्गत करिब ५ अर्ब ८१ करोड रुपैयाँ (४ करोड १८ लाख अमेरिकी डलर) पाएको थियो । एमएफले नेपालले विस्तारित कर्जा सुविधा अन्तर्गतका कार्यक्रममा सन्तोषजनक प्रदर्शन गरिरहेको उल्लेख गरेको छ । ‘संरचनागत सुधारले गति लिएको देखिन्छ । आर्थिक गतिविधि पनि क्रमशः पुनरुत्थान भइरहेको छ । आर्थिक वर्ष २०२४/२०२५ मा आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने अनुमान छ,’ रिपोर्टमा उल्लेख छ । त्यसैगरी आगामी दिनमा आर्थिक वृद्धि सुदृढ हुने र मुद्रास्फीति नियन्त्रणमा रहने अपेक्षा गरिएको छ ।

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   

आईएमई लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई मेडिटेक अस्पतालमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले बुटवलस्थित मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कम्पनीका अनुसार बीमितहरूले छुट प्राप्त गर्नका लागि कम्पनीको मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ । यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि छुट सुविधा लिन सक्नेछन् । यस किसिमको सहकार्यले कम्पनी र अस्पतालबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । साथै, यसले बीमित, अभिकर्ता र कर्मचारीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच र थप सुविधा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।