विकासन्युज

बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड दावी भुक्तानी हुन बाँकी, निर्जीवनको मात्रै ३० अर्ब

काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३४ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको पाइएको हो । चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमातर्फ ४ अर्ब ४५ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । जुन गत आवको तुलनामा भुक्तानी हुन बाँकी रकम ९५.४२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी रकम २ करोड २७ लाख रुपैयाँ थियो । चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनको भुक्तानी हुन बाँकी दाबी संख्या ९७.२२ प्रतिशतले बढेको छ ।  गत आवको यही अवधिमा जीवन बीमकको भुक्तानी हुन बाँकी भुक्तानी संख्या २७ हजार ११७ रहेकोमा चालु आवमा बढेर ५३ हजार ४८१ रहेको छ । गत आवको तुलनामा कम्पनीहरुले भुक्तानी गरेको रकम भने घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवको वैशाखसम्ममा ५० करोड ६६ लाख रुपैयाँ  दाबी रकम भुक्तानी गरेकोमा समीक्षा अवधिमा कम्पनीहरूले ४८ करोड ९५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । निर्जीवनतर्फ ३० अर्ब भुक्तानी बाँकी वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ३३ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । जुन गत आवको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी रकम २० अर्ब ६४ करोड थियो । वैशाख मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख ५ हजार ६२० रहेको छ । गत आवको तुलनामा भुक्तानी हुन बाँकी दाबी संख्या २.४५ प्रतिशतले बढेको हो । त्यस्तै वैशाखसम्ममा १८ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको वैशाखसम्मको तुलनामा ३४.८० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।  

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सोही दिनको नियुक्तिपत्रमार्फत कम्पनीको निमित्त प्रबन्ध निर्देशक तोकिएको हो । यसअघि मास्के टेलिकमको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अब उनले निमित्त प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रूपमा सम्हालेकी छन् । मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनी २०४९ माघ २५ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियर पदबाट सेवामा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुन १० मा स्थायी नियुक्ति पाएकी हुन् । २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशकमा पदोन्नति भएकी मास्केले विषम परिस्थितिमा आफूप्रति गरिएको विश्वासलाई साकार पार्दै टेलिकमको प्रगतिका लागि सबैको साथमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

दिपलको विद्युतीय सवारी डेलिभरी ५ लाख नाघ्यो, नयाँ एसयूभी एस०९ सार्वजनिक

काठमाडौं । सांघाई-चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी विक्री भएको थियो जुन गत वर्ष मेमहिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।  कम्पनीका अनुसार हाल दिपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्री वितरण भइरहेको छ । यसमध्यै दिपल ए०९ औपचारिक रुपमा गएको मे२२ मा सार्वजनिक भएको छ । ६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ । इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन पनि रहेको छ । साथै यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिंग असिस्टेन्ट सिस्टम रहेको छ । दिपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लुईडब्लुए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिंग फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ । दिपलले आउँदो वर्ष चीनमा तीन सय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।  गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सिईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चांगानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।  

काठमाडौंका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अनुसार, ठेक्काको लागि समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको प्रस्ताव राखेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको प्रस्ताव पेस गरेको थियो । कम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिई महँगो प्रस्ताव राख्ने कम्पनीलाई काम दिइएको भन्दै आयोगले ४ करोड ३१ लाख ७२ हजार २३७ रुपैयाँ ३२ पैसाको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । यसै आधारमा आयोगले बुधबार परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको निर्देशन थियो । परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न पनि कर्मचारीलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए । आगामी बजेट कार्यान्वयनमा जाँदा कानुनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले सबै मन्त्रालय र निकायसँगको परामर्शमा संशोधनको गृहकार्य गरिने बताए ।  बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र राजस्वसचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत गरेर राजस्व सङ्कलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई आग्रह गरेका थिए ।  

बन्दीपुर अस्पतालमा बिरामी बढे, स्वास्थ्य बिमा कार्डले २०० मै केवलकारमा आवतजावत गर्ने सुविधा

तनहुँ । यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ ।  हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिए । उनले भने, 'यसअघि दिनमा ३५/४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।' बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ । 'अस्पतालमा चौबिसै घण्टा सेवा दिन आएको छौँ,' उनले भने, 'वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।'  उपचारमा आउने बिरामीलाई टिकट निःशुल्क गरिएको छ । बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आँबुखैरेनी र गोरखा पालुङ्गटारबाट समेत यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् ।  स्वास्थ्य बिमा कार्ड र अस्पतालको टिकट कार्ड देखाएमा बन्दीपुर केवलकारले २०० रुपैयाँमा आवतजावत गर्ने सुविधा दिएपछि गोरखा पालुङ्गटारबाट आउने बिरामी सङ्ख्या बढ्न थालेका छन् ।   

न्युयोर्कमा ट्रम्पको आप्रवासन नीतिविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्युयोर्क सहरको सडकमा उत्रिएका छन् । आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) द्वारा शृङ्खलाबद्ध छापापछि देशभरि विरोध प्रदर्शन भड्किएको छ । 'घृणा छैन, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ', प्रदर्शनकारीहरू सुरुमा फोली स्क्वायरमा भेला भएका थिए । एउटा अदालत अगाडिको फोली स्क्वायरमा धेरै आप्रवासीलाई शुक्रबार कानून प्रवर्तनद्वारा हिरासतमा राखिएको थियो । प्रदर्शनकारीहरूले तल्लो म्यानह्याटनमा मार्च गरे । धेरैजसोले ‘आइसिई, न्युयोर्कबाट बाहिर’ भनिएका साइनबोर्डहरू बोकेका थिए । यो सङ्घीय अध्यागमन प्रहरीको सन्दर्भमा थियो जसको कागजपत्र नभएका अप्रवासीहरूलाई पक्राउ गर्ने छापामारी हालका हप्तहरूमा बढेको छ । 'जोसँग यस समयमा यहाँ आउन आवाज छैन, विशेष गरी मेरी आमाका लागि खडा हुन म यहाँ छु', विरोध प्रदर्शनमा सहभागी एक महिलाले भनिन् । उनले आफ्नी मेक्सिकाली आमाको कागजातविहीन आप्रवासन स्थितिलाई ध्यानमा राख्दै नाम नछाप्न अनुरोध गरिन् । 'इमानदारीका साथ भन्नुपर्दा अप्रवासीहरू नभएको भए यो देश जे छ त्यो हुन सक्दैनथ्यो । त्यसैले म तिनीहरूका लागि यहाँ छु', उनले भनिन् । मेक्सिकाली मूलकी २३ वर्षीया अमेरिकी महिला ज्याकलिन नामकी अर्की प्रदर्शनकारीले भनिन्, 'म मेरो परिवारको रक्षा गर्न यहाँ छु... म अहिले तिनीहरूका लागि डराउँछु र म त्यस्तो समाजमा बाँच्न चाहन्न जहाँ म मेरो परिवारको स्वास्थ्यका लागि डराउनुपर्छ ।' न्युयोर्कमा भएको मार्च लस एन्जलसमा भएको प्रदर्शनभन्दा शान्तिपूर्ण थियो । लस एन्जलसमा प्रदर्शनकारी र प्रहरीबीच चलिरहेको प्रदर्शनले ट्रम्पलाई हजारौँ राष्ट्रिय गार्ड सेना र सात सय सक्रिय सेवामा रहेका समुद्री सैनिकहरू खटाउन बाध्य पारेको छ । 'लस एन्जलसमा भएका विरोध प्रदर्शनहरू अस्वीकार्य छन् र हाम्रो सहरमा प्रयास गरेमा असह्य हुनेछ', न्युयोर्कका मेयर एरिक एडम्सले मङ्गलबार भने , 'न्युयोर्क प्रहरी विभाग कुनै पनि समस्याहरू समाधान गर्न तयार छ, विशेष गरी जब हामी हाम्रो समाजमा गहिरो विभाजनको सामना गरिरहेका छौँ ।' एडम्सले लस एन्जलसका आफ्ना समकक्षीको विपरीत न्युयोर्कमा मङ्गलबार रातिको कर्फ्यू लागू गरेनन् । रासस

कुमारी बैंकका ग्राहकलाई भेइकल एकेडेमीका ड्राइभिङ कोर्समा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर  (गुर्जुधारा ट्रायल सेन्टर) बीच सेवा सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले गुर्जुधारास्थित भेइकल एकेडेमीमा उपलब्ध सबै ड्राइभिङ कोर्सहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यातायात व्यवस्था कार्यालय, ठूलोभर्याङ्गले सवारी चालक अनुमतिपत्रको लागि सञ्चालन गर्दै आएको प्रयोगात्मक परीक्षा यही केन्द्रमार्फत सञ्चालन हुँदै आएको छ । कुमारी बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको छ । जसअन्तर्गत यो सहकार्य पनि एक महत्वपूर्ण कदमको रूपमा रहेको बैंकले जनाएको छ ।