विकासन्युज

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ, व्यवसायमा वृद्धि

काठमाडौं । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौं तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन् । त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् ।  ‘र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, बर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन । पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरु बढेका छन्,’ उनले भने । बिदाको दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ । उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौं, चितवन, पोखरालगायतका शहरबाट मानिसहरू आउने गरेका छन् ।  ‘कतिपय मानिसहरू काठमाडौं–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरु हुनुहुन्छ, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरू हुनुहुन्छ,’ उनले भने । यहाँ आउनेहरू गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ । त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौंबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । र्‍याफ्टिङ सबै उमेर समूहका लागि रहेको सञ्चालक कँडेलले बताए ।  र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौंबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।

१० महिनामा प्रदेश सरकारको खर्च १ खर्ब १७ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरूले १ खर्ब १७ करोड रुपैयाँ बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि ६० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । सशर्त अनुदान २५ अर्ब ८४ करोड रुपैयाँ र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराएको थियो । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब २३ अर्ब १५ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो  । केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३६० अर्ब ९८ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । विसं २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ र गैर कर राजस्व ९३ अर्ब ४९ करोड रुपैयाँ परिचालन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को १० महिनामा सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ७३ अर्ब २३ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २ खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । 

प्रतिनिधिसभाको बैठक बस्दै, प्रतिपक्षी दलको अवरोध कायमै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरूबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

देशभर साधारणतया बदली रहने, केही स्थानमा चट्याङसहित​​​​​​​ वर्षा

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा ढकालले गरे नेपालको आर्थिक सुधार र सम्भावनाको प्रस्तुति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरू प्रस्तुत गरे ।  सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराए । सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रूपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए ।  महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै उन नेपालमा अवसर खोज्न सहभागीहरूमा आग्रह गरे ।   ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’  उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरू रहेको बताए । यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । उनले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए ।

सिवाकोटी प्रतिवेदन सार्वजनिक, नयाँ स्टक एक्सचेञ्ज आवश्यक (पूर्णपाठ)

काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको विषय सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै नयाँ स्टकको आवश्यकता रहेको निष्कर्ष निकालेको हो । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने÷नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन–२०८१ सार्वजनिक गरिएको छ । सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनमा नेपालको पुँजी बजार तथा धितोपत्र बजारको सुरुदेखि हालसम्मको विकास क्रम, विद्यमान अवस्था, समस्या र चुनौती लगायत विषय समावेश गरिएका छन् । साथै, नेप्सेको पुनर्संरचना गर्नुपर्ने र थप एउटा स्टक एक्सचेञ्जको आवश्यकता रहेको निष्कर्ष समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त स्टक एक्सचेञ्जलाई निजी क्षेत्रको लगानीमा सञ्चालन गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । शक्ति सन्तुलन तथा नियमनको आधारभूत सिद्धान्तको आधारमा नियामक निकायकै स्वामित्व भएको संस्थाले बजार संचालन गर्दा स्वार्थ बाझिन गई प्रभावकारी नियमन हुन नसक्ने भएकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । नयाँ स्टकलाई लाइसेन्स दिँदा अपनाउनु पर्ने मापदण्ड समेत उल्लेख गरि समितिले प्रतिवेदन तयार पारेको छ । धितोपत्र कारोबारको आकार वृद्धि, लगानीकर्ताको सहभागितामा बढोत्तरी, रोजगारी सृजना र सरकारको राजश्व वृद्धिमा पुर्याएको योगदान लगायतको अध्ययनबाट उत्पादनशील क्षेत्रमा मध्यमकालीन तथा दीर्घकालीन पुँजी परिचालन गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिस्पर्धी धितोपत्र बजारको महत्वपूर्ण भूमिका रहने समितिको निष्कर्ष छ ।

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी भ्रष्टाचार अभियोगमा निलम्बित

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ ।  प्रदेशसभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए ।  प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ ।  तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए ।  सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो ।

‍नेपाल टेलिकमको प्रवक्ता बने रवीन्द्र मानन्धर

काठमाडौं । नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई आधिकारिक प्रवक्ता नियुक्त गरेको जानकारी दिएको हो ।  यसअघि उनी टेलिकमको केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धकका रूपमा कार्यरत थिए ।