सेयर बजारमा ९ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६६४ बिन्दुमा झरेको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३०७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ५९ करोड, बुटवल पावर कम्पनीको ५८ करोड, युनिभर्सल पावर कम्पनीको ४७ करोड र चिलिमे हाइड्रोपावरको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, पीयोर इनर्जी र सीइनर्जी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
महालक्ष्मी नगरपालिका र शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन
काठमाडौं । नेपाल सरकारले दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीमा रहेकोमा अब परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थानमा हुने भएको छ । दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुने भएको छ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपर्ने भएमा संघीय सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यही अनुसार मन्त्रिपरिषद्को निर्णयले दुई पालिकालाई केन्द्र परिवर्तन गर्ने अनुमति दिएको हो ।
सिटिजन्स बैंकले विश्व वातावरण दिवसमा गर्यो लुम्बिनी र कर्णालीमा वृक्षारोपण
काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लास्टिक’ भन्ने नारालाई आत्मसात गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले, बैंकले बुधबार लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकास्थित वनबाटिकामा र कर्णाली प्रदेशको बिरेन्द्रनगरस्थित भाइराम सामुदायिक वनमा वृक्षारोपण गरेको हो । कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशमा करिब १०५ वटा विभिन्न प्रजातिका विरुवा तथा कर्णाली प्रदेशमा १०० भन्दा बढी विरुवा रोपिएका छन् । सिटिजन्स बैंकले यसअघि पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरहरूमा सहयोगजस्ता कार्य गर्दै आएको छ ।
नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत
काठमाडौं । सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको बताएका हुन् । उनका अनुसार सरकारले निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाली सेनाका एकजना महासेनानीको सरुवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ । यस्ता छन् सरकारका निर्णयहरू : २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने मिनी वर्ल्ड एक्स्पो २०२५ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने २०८२ असार १० गतेदेखि १२ गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने शान्तिनगर गाउँपालिका, दाङको केन्द्र वडा नं. ४ चिराघाटबाट परिवर्तन गरी वडा नं. ४ जुम्लेकुला कायम गर्ने महालक्ष्मी नगरपालिका, ललितपुरको केन्द्र वडा नं. ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं. ८ लुभु देवीस्थान कायम गर्ने नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने
मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन, सभापतिमा डा. किशोर देव
जनकपुर । प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा. किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा. संयुक्त आचार्यले जानकारी दिए । अधिवेशनबाट प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समितिको उपसभापतिमा डा. अश्विनी कुमार झा, महामन्त्रीमा डा. विपिनकुमार यादव, सहमहामन्त्रीमा डा. राजेश शाह, डा. सितेश गोइत, डा. सञ्जय कुमार सिंह, डा. अमित कुमार यादव, डा. मिशा महासेठ र डा. सन्तोष साह चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा डा. भावना रौनियार, सहकोषाध्यक्षमा डा. राजेश साह र डा. पर्शुराम चौधरी चयन भएका छन् । जिल्ला संयोजकहरुमा डा. मनोज यादव (बारा), डा कुश राज गिरी (पर्सा), डा. मनोज कौशल (रौतहट), डा. विजय कापर (सर्लाही), डा. अनिल ठाकुर (महोत्तरी), डा. राजेश साह (धनुषा), डा. तेज शंकर यादव (सिरहा) र डा. अनिल कुमार यादव (सप्तरी) संयोजकका रुपमा चयन भएका छन्। यस्तै, धनुषाको सचिवमा डा. विवश गोइत, सिरहा सचिवमा डा. महेश्वर चौधरी, सर्लाही सचिवमा डा. अभिशेक राज र सप्तरी सचिवमा डा. अभिशेक अमर सर्वसम्मत चयन भएको डा. आचार्यले जानकारी दिए । मधेश प्रदेश कार्यकारिणी समितिको अधिवेशनमा कांग्रेस सभापति देउवासहित पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, कांग्रेस सह महामन्त्री महेन्द्र यादव, कांग्रेस नेता आनन्द ढुंगाना, प्रदेश सभापति कृष्ण यादव एवं प्रजातन्त्रवादी चिकित्सक संघका पूर्व पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष डा. विक्रान्त ढकालले स्वागत मन्तव्य राखेका थिए। 'नेपाली कांग्रेसको उर्वराशक्ति भएको मधेश प्रदेशमा गठित यस कार्यकारिणी समितिले प्रजातन्त्रवादी चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिसँग समन्वय गरी मधेश कार्यकारिणी समितिलाई मधेश प्रदेशमा आबद्ध सम्पूर्ण जिल्लाहरूमा संघले निर्धारण गरेका सम्पूर्ण गतिविधिहरूलाई सक्रिय रूपमा अगाडी बढाउँदै संघलाई थप सक्रिय र जुझारू बनाउने प्रतिबद्धता जाहेर गरिएको व्यहोरा अवगत गराउँदछु,' अधिवेशनपछि संघका महासचिव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। यसैगरी, संघले मधेशका प्रमुख स्वास्थ्य समस्याहरू (कुपोषण, मातृ,शिशु मृत्यु दर, र संक्रामक रोग) नियन्त्रणमा विशेष ध्यान दिने योजना बनाएको छ । नयाँ कार्यकारिणीले प्रदेश सरकारसंग समन्वय गरी स्वास्थ्य नीति निर्माणमा सक्रिय भूमिका खेल्ने पनि बताएको छ ।
पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा, सर्वसाधारणको बच्यो समय र पैसा
राँझा । बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै अब पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए । 'अस्पतालमा सेवा विस्तारसँगै विभाग थपिएका छन्, बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन्', मल्लले भने, 'हामी कहाँ अहिले गम्भीर प्रकृतिका बाहेक क्यान्सरका सबैखाले अप्रेशन र उपचार हुने भएकाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीले घर नजिकै उपचार सेवा पाएका छन् ।' अध्यक्ष मल्लले सीमित स्रोत साधनबाट अस्पतालमा बिरामीलाई अधिकतम सेवा प्रवाह गर्दै आएको उल्लेख गरे । आफू अस्पताल व्यवस्थापन समिति नेतृत्वमा आएपछि अस्पतालमा अक्सिजन प्लान्ट, रक्त सञ्चार केन्द्र स्थापना, १५ श्ययाको डेकेयर, प्रयोगशाला र फार्मेसी भवन निर्माण, ५५ शैय्याबाट ९५ शैय्यामा विस्तार, कर्मचारी बस र बिरामी बोक्ने एम्बुलेन्स खरिद लगायतका कार्य गरेको जानकारी दिए । उनले सरकारी उपेक्षाका कारण हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नगरेको उल्लेख गर्दै अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताए । अस्पतालमा जनशक्तिका लागि स्थायी दरबन्दी र पूर्वाधार विकासका लागि सरकारले ध्यान दिन सके अझ सेवा प्रभावकारी र सहज हुने उनको भनाइ छ । 'अस्पतालमा अहिले क्यान्सरका बिरामीलाई किमोथेरापी सेवा सञ्चालनमा भए पनि बिरामीलाई श्यया छैन, कर्मचारीका लागि आवासको व्यवस्था छैन', अध्यक्ष मल्लले भने, 'अस्पतालको पूर्वाधार विकास र जनशक्तिको स्थायी दरबन्दीका लागि पटक पटक सरकारसँग माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।' क्यान्सर अस्पतालमा हालसम्म उपचारका लागि आएका एक लाख ४३ हजार ३३४ बिरामीमध्ये ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा २०८१ साउनदेखि हालसम्म ३२ हजार ९०३ बिरामीले उपचार सेवा लिइरहेका छन् । यसमा एघार हजार ३१९ जना नयाँ बिरामी रहेका थिए । क्यान्सरको विशेषज्ञ सेवासमेत प्रवाह हुन थालेपछि खजुरामा बिरामीको चाप बढेको उनको भनाइ छ । हाल अस्पतालले अत्याधुनिक उपकरणसहितका आइसियू, इमरजेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्राकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे, रेडियोथेरापी सेवा प्रवाह गर्दै आएको छ । खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौंबाट समेत बिरामी आउन थालेको पाइएको छ । नयाँ प्रविधिको प्रयोग गरेर विशेषज्ञ चिकित्सकले क्यान्सरका बिरामीलाई आवश्यक सबै खाले सेवा खजुरामै पाएपछि पश्चिम नेपालका जनताको समय र पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको अस्पतालका रेडियसन अनकोलिष्ट डा मुकेश यादवले बताए । रासस
गर्मी बढेपछि भरतपुरका विद्यालयमा ३ दिन बिदा
चितवन । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयमा सार्वजिक बिदा दिने निर्णय भएको छ । बिदाको अविधमा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकमा अनुरोध गरे । चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । पछिल्ला दुई दिन अधिक गर्मी महसुस भएको छ ।
व्यापार तनाव र नीति अन्योलताका कारण विश्व बैंकद्वारा आर्थिक संकटको चेतावनी
काठमाडौं । व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ । विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन् । प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ । यस्तै, सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशतमा ल्याइएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो । विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् २०२५ को वृद्धिदर ३.८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन पूर्वानुमानभन्दा ०.३ प्रतिशत अंकले कम हो । संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा १.४ प्रतिशत मात्र रहने सम्भावना देखिएको छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो र सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा आधा मात्र हो । युरोप क्षेत्र र जापान दुवैको वृद्धिदर ०.७ प्रतिशत रहने अनुमान गरिएको छ, जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ । चीनको वृद्धिदर भने अघिल्ला पूर्वानुमानअनुसार यथावत् रहेको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार, केवल केही महिना अघि सहज सुधारको आशा गरिएको विश्व अर्थतन्त्र फेरि चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरिरहेको छ । यदि शीघ्र उपयुक्त नीतिगत कदमहरू नचालिएमा जनजीवनमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी समेत प्रतिवेदनमा दिइएको छ । विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले भने, 'एशिया बाहेकका क्षेत्रहरूमा विकासको गति सुस्त बन्दै गएको छ, जसले विकासशील राष्ट्रहरूलाई थप चुनौतीमा पार्ने सम्भावना देखिन्छ ।' गिलका अनुसार, विकासशील राष्ट्रहरूमा लगानीको दर अपेक्षाकृत कम भएको र ऋणको भार उच्च रहेकोले आय असमानता हटाउने तथा गरिबी घटाउने प्रयासहरूमा प्रगति पर्याप्त छैन । भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले २०२६ र २०२७ मा केही सुधारको संकेत गरे पनि, समग्रमा आर्थिक उत्पादन स्तर अघिल्लो अनुमानभन्दा अझै तल रहने सम्भावना औंल्याएको छ । यद्यपि, यदि व्यापार प्रतिबन्धहरू तीव्र रूपमा बढ्ने वा नीति सम्बन्धी अन्योलता निरन्तर रहने हो भने, आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने र वित्तीय दबाब पनि बढ्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस