विकासन्युज

विश्व बैंकको सहयोगमा पोखरामा ३ सडक निर्माणाधीन, स्थानीय उत्पादनको बजारीकरण हुने

गण्डकी । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो ।   पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । परियोजनाको सम्झौता पाँच वर्ष रहेकामा हाल एक वर्ष थप भएको उनको भनाइ छ ।  तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ पुगेको छ भने अन्य दुई सडकको प्रगति न्यून देखिएको छ ।  पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको ४० प्रतिशत पुगेको इन्जिनियर गौतमले बताए ।  विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक–बेगनास सडक कम्पनीको ढिलासुस्तीका कारण समयमै निर्माण हुन नसकेको उनको भनाइ छ । 'निर्माण कम्पनीले प्रतिबद्धता अनुसार कामलाई गति दिन सकेका छैन', उनले भने, 'समयमा काम सक्न ताकेता गरिरहेका छौँ ।' जग्गा विवादका कारण पनि उक्त सडक निर्माणमा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।  कूल ३.२८ किमिको तालचोक–बेगनास सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो । एक अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ ।  सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर गौतमले बताए । पृथ्वी राजमार्गसँग जोडिएको उत्तः सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ ।  महानगरकै गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फर्ने बताए ।  तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उनको भनाइ छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । पोखरादेखि शिशुवादेखि लमजुङको सिसाघाट जोड्ने सडकअन्तर्गत खुदी खोला पुलसम्मको खण्ड अहिले निर्माणाधीन अवस्थामा रहेको छ । कूल ४.१४ किमि दुरीको उक्त सडकमा पनि साइकल ट्रेक, फुटपाथ र सडकबत्ती रहने इन्जिनियर गौतमले बताए ।  त्यस खण्डमा चार वटा कल्र्भट पनि निर्माणका क्रममा छन् । आशीष निर्माण सेवाले ३४ करोड ११ लाख रुपैयाँमा उक्त सडकको निर्माण जिम्मा पाएको थियो । सन् २०२४ अप्रिल १४ बाट निर्माण सुरु भएकामा उक्त सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको हो । गण्डकी प्रदेश राजधानी पोखरा भित्रने वैकल्पिक सडकका रुपमा हेरिएको दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत पुगेको छ ।  कूल १२.४४ किमि दुरीको उक्त सडकको काम गत वर्ष असारदेखि सुरु गरिएको थियो । आशीष निर्माण सेवाले ७७ करोड ६८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अवधिमा काम नसकिएपछि एक वर्षलाई ठेक्का म्याद थप भएको महानगरपालिकाले जनाएको छ । यो सडकमा पनि दायाँबायाँ साइकल ट्रेक, फुटपाथ, सडकबत्ती रहने इन्जिनियर गौतमले बताए । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्न सुरु गरिएको बताए ।  'तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रने वैकल्पिकमार्गका रुपमा यो सडकलाई विकास गर्नु जरुरी छ', उनले भने, 'सडक स्तरोन्नति भएपछि यातायातको सहज सुविधासँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि ठूलो टेवा पुग्नेछ ।' साविक भरतपोखरी गाउँ विकास समिति रहेको त्यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिएपनि अपेक्षित रुपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताए । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उनको भनाइ छ । रासस

'२० अर्ब रुपैयाँ गायब' भन्ने समाचार भ्रामक र तथ्यहीन : नेपाल बैंक

काठमाडौं । केही सञ्चार माध्यममा नेपाल बैंक लिमिटेडबाट २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भन्ने भ्रामक समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा तथ्यहीन र भ्रमजनक भएको स्पष्ट गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुनअनुसार आफ्ना हिसाब-किताब सञ्चालन गर्दै आएको र नियामक निकायलाई आवश्यक वित्तीय विवरणहरू नियमित रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ । विज्ञप्तिमा त्रैमासिक तथा वार्षिक विवरणहरू सार्वजनिक पहुँचमा राखिँदै आएको उल्लेख गर्दै, गलत जानकारीमा आधारित समाचारप्रति विश्वास नगर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिएको छ । नेपाल बैंकले आफ्नो वित्तीय अनुशासन, पारदर्शिता र नियामक नीतिप्रति पूर्ण प्रतिबद्धता पुनः दोहोऱ्याउँदै नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई तथ्यमा आधारित जानकारीमा विश्वास गर्न आग्रह गरेको छ ।

आईएमई लाइफ र मेडिसिटी अस्पतालबीच सहकार्य : बीमित, अभिकर्ता र कर्मचारीलाई १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेडिसिटी हस्पिटलबीचको सहकार्यपछि अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अस्पतालको सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । साथै, हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बीमितले आईएमई लाइफको मोबाइल एपमा उपलब्ध 'प्रिभिलेज कार्ड' देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् । कम्पनीले उक्त सहकार्यलाई आफ्नो सेवाग्राहीप्रतिको प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएको बताएको छ । यो पहलले कम्पनी र अस्पतालबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

एमसीसीको बजेटमा भारी कटौतीको संकेत, २०२६ मा २२ करोड ४० लाख डलर खर्च गर्ने

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले आफ्नो बजेटमा भारी कटौती गर्ने संकेत देखाएको छ । एमसीसीले सन् २०२६ मा खर्च गर्ने बजेटमा कटौतीको संकेत देखाएको हो।  एमसीसीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ मा २२ करोड ४० लाख डलर खर्च गर्ने तयारी छ । जबकि सन् २०२५ मा एमसीसीले ९३ करोड अमेरिकी डलर खर्च गर्न बजेट छुट्याएको थियो ।  एमसीसीले विश्वका विभिन्न देशमा एमसीसीले ठूलो रकम खर्च गर्दै आएको छ । यसले विभिन्न विकासशील देशहरूमा आर्थिक वृद्धि र गरिबी निवारणका लागि  अनुदान प्रदान गर्दै आएको छ ।  सन् २०२४ सम्म ४७ देशहरूमा लगानी गरेको छ, जसमा लगभग ३८० मिलियन मानिसहरूलाई लाभ पुगेको दाबी गरिएको छ । भौतिक पूर्वाधार, नीति सुधार, र संस्थागत सुदृढीकरणमा उसको लगानी केन्द्रित छ । नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो । तर उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्ष अगाडि सुरु भएको थियो । अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५ सय मिलियन डलर र नेपालको १ सय ९७ मिलियन डलर खर्च गरेर ३ सय किलोमिटर विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो ।  डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि यो कार्यक्रम सुरुमा तीन महिना स्थगन भएको थियो ।  अहिले पनि एमसीसीको काम प्रभावकारी हिसाबले अघि बढ्न सकेको छैन । यद्यपि सरकारले एमसीसीबाट आगामी वर्ष २०८२/८३ मा मात्रै करिब ६ अर्ब अनुदान आउने र सो बजेट खर्च गर्ने योजना बनाएको छ ।  अर्थ मन्त्रालयमा एमसीसीका अधिकारीहरूले जनाएको प्रतिवद्धताअनुसार सो आर्थिक वर्षमा ५ अर्ब ६८ करोड अनुदान आउँदैछ । उक्त अनुदान सोझै भुक्तानी हुने अपेक्षा गरिएको सरकारले बजेटमा राखेको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–५ लाई बालश्रम मुक्त वडा घोषणा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।  कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नं ५ बाट गरिएको नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको छ । यससँगै अब बिस्तारै अन्य वडाहरूलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने नगरपालिकाको भनाइ छ । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिन् । उक्त सम्मानपत्र वडा नं ५ का वडा सदस्य सुशान्त श्रेष्ठले वाचन गरेका थिए ।

‘५ मिनेटमै अमेरिकाको घाटा हटाउने’ बफेटको सुझावले फेरि तहल्का पिट्यो

काठमाडौं । अमेरिकी सरकार लगातार बजेट घाटासँग जुधिरहेको छ । सरकारले हरेक वर्ष आफ्नो आम्दानीभन्दा बढी खर्च गरिरहेको छ । दुबै दलका प्रयासहरूका बाबजुद पनि २०२५ जुनसम्म अमेरिकाको ऋण बढेर ३३.८ ट्रिलियन डलर पुगेको छ । र यो ऋण घट्ने कुनै संकेत देखिँदैन ।  यस आर्थिक संकटको बीचमा चर्चित लगानीकर्ता वारेन बफेटको एउटा सुझाव फेरि चर्चामा आएको छ । धेरै प्रतिष्ठित व्यक्तिहरूले यस सुझावको समर्थन गरेका छन् । सन् २०११ मा सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा बफेटले अमेरिकाको घाटा घटाउने सजिलो उपाय बताएका थिए । उनले भनेका थिए, 'म ५ मिनेटमै घाटा समाप्त गर्न सक्छु । बस यति गर्नूहोस्- एक यस्तो कानुन पास गर्नुहोस् कि जब जीडीपीको ३ प्रतिशतभन्दा बढी घाटा हुन्छ तब संसदका सबै सदस्यहरू पुनः निर्वाचन लड्न अयोग्य ठहरिनेछन् ।' यो पुरानो अन्तर्वार्ता फेरि भाइरल भएको छ । वाशिंगटनमा जवाफदेहिताको विषयमा बहस सुरु भएको छ । टेस्लाका सीईओ तथा विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले पनि यसमा सहमति जनाएका छन् । सीनेटर माइक लीले उक्त भिडियो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सेयर गर्दै सोधेका छन्, 'के तपाईं यस संशोधनको समर्थन गर्नुहुन्छ ?' यस पोस्टमा धेरै मानिसहरूले आफ्नो धारणा व्यक्त गरेका छन् ।  एलन मस्कले पनि समर्थन जनाउँदै लेखे, '१०० प्रतिशत- यही सही उपाय हो ।'  अर्थशास्त्री पीटर शिफले पनि यसबारे आफ्नो विचार राख्दै ट्वीट गरे, 'बफेटको योजना कडा छ, तर उत्कृष्ट छ । अन्ततः कंग्रेसले आफ्ना आर्थिक गल्तीहरूको महसुस गर्नेछ ।' सीनेटर लीले एक्समा लेखेका छन्, 'म एक संविधानिक संशोधनको मस्यौदा तयार गरिरहेको छु । यसअनुसार जब महँगी ३ प्रतिशतभन्दा बढी हुनेछ, तब कंग्रेसका सबै सदस्यहरू हटाइने छन् । सम्पूर्ण देश महँगीसँग जुध्नुभन्दा नेताहरूलाई अयोग्य घोषित गर्नु राम्रो हो ।' लीको सुझाव बफेटको सुझावभन्दा अलिक फरक छ । लीले कंग्रेसको योग्यता महँगीसँग जोडेका छन्, जबकि बफेटले घाटासँग । यद्यपि, दुवै विषय सरकारको खर्चसँग सम्बन्धित छन् । खस्किँदै गएको अमेरिकी अर्थतन्त्र हाल अमेरिकी अर्थतन्त्र कठिन समयबाट गुज्रिरहेको छ । वित्तीय वर्ष २०२४ मा अमेरिकाको जीडीपी २८.८३ ट्रिलियन डलर थियो । सरकारको खर्च ६.७५ ट्रिलियन डलर थियो भने आम्दानी ४.९२ ट्रिलियन डलर मात्र थियो । त्यसकारण १.८३ ट्रिलियन डलरको घाटा भयो, जुन जीडीपीको ६.३ प्रतिशत हो । यो बफेटले उल्लेख गरेको ३ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो । कंग्रेसनल बजेट अफिसको अनुमानअनुसार सन् २०३४ सम्म यो घाटा बढेर २।६ ट्रिलियन डलर पुग्नेछ । यसको मुख्य कारण राष्ट्रिय ऋणमा बढ्दो ब्याज हो, जुन अहिले हरेक वर्ष १ ट्रिलियन डलरभन्दा बढी भइसकेको छ । किन बढिरहेको छ ऋण? अर्थशास्त्रीहरूले लामो समयदेखि घाटा र महँगीबीचको सम्बन्धबारे चेतावनी दिँदै आएका छन् । नोबेल पुरस्कार विजेता मिल्टन फ्राइडम्यानले भनेका थिए, 'महँगीको कारण सरकारी खर्चको अत्यधिक वृद्धि र सरकारद्वारा छापिएको बढी पैसा हो- अरू केही होइन ।' हालका तथ्यांकहरूले पनि यही देखाउँछन् । सन् २०२४ मा महँगी ३.२ प्रतिशतसम्म पुगेको थियो, जुन फेडरल रिजर्भको २ प्रतिशत लक्ष्यभन्दा बढी हो । यसको एक कारण सरकारका खर्चिला नीतिहरू पनि हुन् ।

ललितपुर महानगरको तेस्रो महिला उद्यमी सम्मेलनको तयारी पुरा

ललितपुर । ललितपुर महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।  ललितपुर महानगरले आयोजना गरेको उक्त सम्मेलन असार २ गते सोमबार ललितपुरमा हुँदैछ । ललितपुर महानगरका कार्यवाहक नगर प्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमशीलता सहजीकरण केन्द्र कार्यान्वयन समितिको बैठकमा उद्यमी महिलालाई प्रोत्साहित गर्न सम्मेलन गरेको बताइन् । महिला उद्यमीको समस्या सुन्न र आवश्यकता बुझ्न सम्मेलन आयोजना गरेको जानकारी उनले दिइन् । सम्मेलनमा महिला उद्यमीले उत्पादन गरेको सामानहरूको ३० वटा प्रदर्शनी कक्ष समेत राखिनेछ । यसैगरी सम्मेलनमा उत्कृष्ट उद्यमी महिलालाई सम्मान गर्ने ललितपुर महानगर महिला विकास महाशाखाले जनाएको छ ।

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द, प्रशस्त पानी पिउन अनुरोध

गोरखा । अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । उनले भने, 'गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरेको हो ।' असार १ गतेबाट नियमित रूपमा पठनपाठन हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि गर्मी बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै दुई दिन बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।  'गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्दको निर्णय गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ', गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा उल्लेख छ ।  गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा शीतल स्थानमा बस्न, प्रशस्त पानी पिउन, दिउँसो घाममा बाहिर ननिस्कन, ताजा फलफूल तथा पोषिलो खाना खान र साँझ बिहानमा मात्र शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुन अनुरोध गरेको छ । रासस