विकासन्युज

देशभरका सुन पसलमा लाग्यो ताला, व्यवसायी सडकमा (तस्बिरहरु)

काठमाडौं । सुन व्यवसायीले आज र भोलि सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेका छन् । पसल बन्द गर्ने निर्णयसँगै अधिकांश व्यवसायीहरूले पसल बन्द गरेर सडकमा निस्केका छन् ।  नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा-जवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै पसल नै बन्द गरेर विराेधमा निस्केका हुन् ।  सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर शाक्यले महासंघको सल्लाहअनुसार जिल्ला, नगरभित्रका व्यवसायीहरूले आज र भोलि पसल बन्द गरेका हुन् ।  उनले ९० प्रतिशत व्यवसायीले आज र भोलि पसल बन्द गर्ने दाबीसमेत गरे । केही दिनअघि पनि व्यवसायीहरूले सरकारी कार्यालयमा गएर शान्तिपूर्ण आन्दोलन गरेका थिए ।  दुई दिन पसल बन्द गरेपछि व्यवसायीहरू सरकारसँग छलफलमा जाने र त्यसपछि केही भएन भने ३ गते बैठक बस्ने र ४ गते राष्ट्रिय भेला गर्ने तयारी रहेको उनले बताए । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले सुनमा लगाइएको कर खारेज गर्न र व्यवसायीमैत्री नीति बनाउन माग गरेका छन् । सुनमा विलासिता कर : मूल्य बढेर उपभोक्ता भारत पस्ने डर, व्यवसायी पलायन हुने चिन्ता   तस्बिरहरू :

एभरेष्ट कलरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण सेयर ७ लाख ९० हजार कित्ता सेयर बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच बिहीबार प्रत्याभुति सम्झौता गरेको छ । अन्य कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्‍याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपालले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।  

निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा प्राधिकरणको अन्तक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा बिहीबार काठमाडौंमा छलफल एवं अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेसन, संस्थागत सुशासन, वित्तीय विवरण, बीमा शिक्षा र सेवा प्रवाह लगायतका विषयमा बीमकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग छलफल  गरी राय सुझावहरू प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बीमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिए । अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरू सबल हुनका लागि बाध्यकारी बीमाको दायराबाट बाहिर निस्कनुपर्छ, बीमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ, कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा सञ्चालक समिति जानकार रहनुपर्छ, प्राधिकरण सूक्ष्म व्यवस्थापन गर्न चाहँदैन, सूक्ष्म व्यवस्थापनको अवस्था आउन नदिन व्यवस्थापनलाई संचालक समितिले जिम्मेवार बनाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।’ बीमा कम्पनीका प्रदेश कार्यालयहरूलाई दाबी फर्छ्याैटको अधिकार सहित सशक्त बनाउन निर्देशन दिँदै अध्यक्ष ओझाले प्राधिकरणका प्रदेश कार्यालयहरूमा समेत गरी दाबी भुक्तानीका उजुरीहरू बढिरहेकाले समयमै दाबी भुक्तानी दिएर बीमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहजकर्ता र नियामकको भूमिका समानान्तर रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै बीमा उद्योगको विकास, बीमितको हित रक्षा, बीमाको दायरा विस्तार र लक्षित समूहसम्म बीमाको पहुँच पुर्याउनका लागि प्रक्षेपित सेवा दिएर सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा उद्योगलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन, बीमितको हित रक्षा गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि प्राधिकरणले नियमकीय भूमिका सँगसँगै सहयोगीको भूमिका समेत निर्वाह गर्दै आएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको लेखापरीक्षण तथा वित्तीय विवरण सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छट्टै प्रस्तुति गरेका थिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनी, निर्जीवन लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूको  सहभागिता रहेको थियो ।  

बालेन र सुनिताबीच कुरा मिल्यो, नीति तथा कार्यक्रम र बजेट ल्याउने वातावरण बन्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच नगरसभाको बैठक बोलाउने विषयमा सहमति भएको छ । बिहीबार मेयर र उपमेयरबीच भेटवार्ता भएको थियो । छलफलपछि दुवै जना बैठक बोलाउन तयार भएका हुन् ।  बालेनलाई भेट्नुअघघि सुनिताले फरक पार्टीका तीन वडाध्यक्षसँग छलफल गरेकी थिइन् । त्यसपछि बालेनसँग भेटवार्ता भएपछि सहमति भएको हो । काठमाडौं महानगरपालिकोको ६ महिनादेखि नगरसभा र कार्यपालिका बैठक हुन सकेको छैन । महानगरको आन्तरिक विवादका कारण महानगरमा ०८१ पुसदेखि नगरकार्यपालिकाको बैठक बस्न नसकेको हो । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि गृहकार्य गरिरहेको छ । अब महानगरले नियमित तयारी गर्ने बताइएको छ । 

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकले धनगढीमा गर्‍यो वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 'बिट द प्लाष्टिक' भन्ने मुल नारालाई आत्मसाथ गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हरियाली प्रवर्द्धन गर्न बैंकले बिहीबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । धनगढी उपमहानगरपालिका–३ स्थित कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोगजस्ता कार्यहरू गर्दै आएको छ ।

टोयोटामा हलचल ! ३३ अर्बको प्रश्न सामना गर्दै अध्यक्ष टोयोडा

काठमाडौं । टोयोटा मोटरका अध्यक्ष अकीयो टोयोडालाई आगामी बिहीबार जापानी अटोमोबाइल कम्पनीको वार्षिक सेयरधनी बैठकमा एक महत्त्वपूर्ण आपूर्तिकर्तालाई निजीकरण गर्ने ३३ अर्ब डलरको डिलबारे प्रश्नहरू सामना गर्नुपर्ने सम्भावना देखिएको छ । यो वर्षको बैठक बिहीबार बिहान १० बजे सुरु हुँदैछ र यो तीन वर्षमा पहिलो पटक हो जब टोयोडाविरुद्ध कुनै सेयरधनी सल्लाहकार संस्था उभिएको छैन । तर पनि टोयोटाका संस्थापकका नाति टोयोडाले कम्पनीको सुशासनबारे केही कठिन प्रश्नहरू सामना गर्नुपर्ने देखिएको छ- यदि आपूर्तिकर्ता कम्पनी टोयोटा इन्डस्ट्रीजको यस हप्ता भएको बैठकलाई आधार मान्ने हो भने । मंगलबार भएको टोयोटा इन्डस्ट्रीजको बैठकमा सेयरधनीहरूले ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) को निजीकरण प्रस्तावलाई अल्पसंख्यक सेयरधनीहरूप्रति अनुचित भन्दै असहमति जनाएका थिए । विश्वकै सबैभन्दा बढी बिक्री हुने अटोमोबाइल कम्पनी टोयोटा मोटरले यस आपूर्तिकर्तालाई एक जटिल चरणबद्ध सम्झौतामार्फत निजी बनाउने योजना बनाएको छ, जसअन्तर्गत प्रति सेयर १६ हजार ३०० येनको प्रस्ताव गरिएको छ । यो मूल्य टोयोटा मोटरका सेयरधनीहरूका लागि आकर्षक हुन सक्दछ, तर लन्डनस्थित जेनर एसेट म्यानेजमेन्टलगायत आलोचकहरूले उक्त प्रस्तावमा विशेषगरी अल्पसंख्यक सेयरधनीहरूको व्यवहारबारे चिन्ता व्यक्त गरेका छन् । 'यो निर्णय अल्पसंख्यक सेयरधनीहरूलाई बेवास्ता गरेर गरिएको होइन, बरु सबै पक्षलाई ध्यानमा राखेर गरिएको हो,' टोयोटा इन्डस्ट्रीजका अध्यक्ष कोइची इतोले मंगलबारको बैठकमा भने । यो सम्झौताअनुसार एउटा नयाँ होल्डिङ कम्पनी स्थापना गरिनेछ । सूचीकृत नभएको रियल इस्टेट कम्पनी टोयोटा फुडोसानले १८० अर्ब येन लगानी गर्नेछ भने टोयोडाले १ अर्ब येन लगानी गर्नेछन् । टोयोटा मोटरले भने ७०० अर्ब येनको गैर-मताधिकारयुक्त प्रिफर्ड सेयरमा लगानी गर्नेछ । मंगलबारको बैठक करिब दुई घण्टा बसेको थियो जुन टोयोटा इन्डस्ट्रीजको इतिहासमै सबैभन्दा लामो बैठक हो । कम्पनीका अनुसार कार्यकारीहरूले लगभग दुई दर्जन प्रश्नहरू उठाएका थिए जुन हालसम्मकै धेरै हो । हङकङस्थित ओएसिस म्यानेजमेन्टले मूल्य अझ बढाउन दबाब दिने बताएको छ ।उसले टोयोटा मोटर र टोयोटा इन्डस्ट्रीज दुवैमा सेयर राखेको छ । टोयोटाले भनेको छ कि यो अधिग्रहणले टोयोटा इन्डस्ट्रीजलाई समूहका अन्य कम्पनीहरूसँग सहकार्य अझ सशक्त बनाउन मद्दत गर्नेछ । किनभने टोयोटा आफैलाई अब 'मोबिलिटी कम्पनी'का रूपमा रूपान्तरण गर्दैछ । यस वर्ष प्रख्यात सल्लाहकार संस्थाहरू ग्लास लुइस र इन्स्टिच्युसनल सेयरधनी सर्भिसेस (आईएसएस) दुवैले टोयोडालाई पुनःनिर्वाचन गर्न सिफारिस गरेका छन् । ग्लास लुइसले विगत दुई वर्ष र आईएसएसले गत वर्ष टोयोडाविरुद्ध सिफारिस गरेका थिए । टोयोडाको पदविको समीक्षामा सुशासनसम्बन्धी व्यापक चिन्ताहरू उठाइएको थियो । तर यसपालिको सिफारिस परिवर्तनको कारण यी सल्लाहकारहरूले स्पष्ट रूपमा भनेका छैनन् । टोयोडाप्रतिको सेयरधनी समर्थन पछिल्ला वर्षहरूमा घट्दै आएको छ । उनी २०२४ मा ७२ प्रतिशत मत समर्थनका साथ बोर्डमा पुनःनिर्वाचित भए- जुन टोयोटाको निर्देशकका रूपमा हालसम्मकै न्यून समर्थन भएको उनले स्वयम् भनेका थिए । अघिल्ला दुई वर्षमा यो समर्थन दर क्रमशः ८५ प्रतिशत र ९६ प्रतिशत थियो । टोयोडाले २०२४ को जुलाईमा आफ्नै समाचार मिडियासँगको अन्तर्वार्तामा भनेका थिए, 'यदि सेयरधनीहरूको समर्थन अझै घटिरहने हो भने मेरो बोर्डको सिट पनि जोखिममा पर्न सक्छ ।  बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा १६ सयले बढ्यो

काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छभने चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।       गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   

रातो बंगलाले सवा एक अर्ब लगानीमा बिल्डिङ बनाउँदै, आम्दानी निरन्तर बढ्दै

काठमाडौं । सन् १९९२ बाट सञ्चालनमा आएको रातो बंगला स्कुल पछिल्लो समय निरन्तर आम्दानी बढाउँदै गएको छ । ललितपुरको पाटन ढोकामा अवस्थित रातो बंगलाको सुरुवात १६ जना विद्यार्थीबाट सुरू भएको हो । सुरुवातमा कक्षा तीन र चारबाट पढाउन सुरु गरिएको यो स्कुलमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ । स्कुलको सञ्चालन आम्दानी बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष (सन् २०२४) मा रातो बंगलाले ६७ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ मा ५५ करोड ९० लाख, सन् २०२२ मा ४१ करोड ३० लाख, २०२१ मा २८ करोड ४० लाख र २०२० मा ३६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । स्कुलको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । पछिल्लो पाँच वर्षमा स्कुलको आम्दानी ८४ प्रतिशत बढेको छ ।  रातो बंगलाकी अध्यक्ष शान्ता दिक्षितले सुरुमा आफ्नो घरको कोठाबाट विद्यालय सञ्चालन गरेकी थिइन । १६ जना बच्चा पढाएर सुरू गरेको विद्यालयका अहिले करिब १ हजार ५० जना विद्यार्थी छन् । स्कुलले सन् २००४ देखि क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनको ‘ए’ लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘ए’ लेभल कक्षाका लागि नयाँ भवन निर्माण थालेको स्कुलले जानकारी दिएको छ । सो भवनका लागि एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।  त्यसका लागि स्कुलले ६७ प्रतिशत बैंकको ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी (इक्विटी) हुने लगानी लगानी संरचना तयार पारेको छ । स्कुलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।  सम्बन्धित सामग्री :  घरको कोठा र १६ विद्यार्थीबाट सुरु भएको रातो बंगाला : सबैको रोजाइ, देशकै महँगो