३.८ गुणा बढी आवेदनसहित ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ को बाँडफाँड सम्पन्न
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरेको 'निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत -२०८८/८९' को बाँडफाँड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको यो ऋणपत्रको बाँडफाँड जेठ २९ गते लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल परिसरमा सम्पन्न गरिएको हो । ५ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्रका लागि ३.८ गुणा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली पूँजी बजारप्रति लगानीकर्ताहरूको विश्वास झल्काएको छ । ऋणपत्र निष्काशन २०८२ जेठ १८ देखि २५ गतेसम्म खुला गरिएको थियो, जसमा व्यक्तिकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत हिस्सा छुट्याइएको थियो। एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो पहिलो सार्वजनिक हरित ऊर्जा ऋणपत्र सफलतापूर्वक निष्काशन हुनु गौरवको विषय भएको बताउँदै भविष्यमा यस्ता नविन र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । बाँडफाँड कार्यक्रमको अवसरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सेयर बजारका सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्था तथा पत्रकार जगतलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।
एयर इण्डिया जहाज दुर्घटना : १६९ भारतीय र ५३ जना ब्रिटिश, ५० जनाको शव निकालियो
काठमाडाैं । भारतमा बिहीबार दिउँसो एयर इण्डियाको जहाज दुर्घटना भएको छ । कुल २४२ जना यात्रु सवार जहाजमा मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ । एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १ः३८ बजे बेलायतका लागि उडान भरेको थियो । एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र ती मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए । भारतीय सञ्चार माध्यमले जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपणी सवार रहेको उल्लेख गरेका छन् ।
देशभर ५० आउटलेट विस्तार गर्ने तयारीमा ‘फलफ्रुट्स’, स्थानीय फलफुललाई प्राथमिकता
काठमाडौं । करिब २५ वर्षदेखि फलफुल व्यवसायमा सक्रिय कँडेल फ्रुट्सले ‘फलफ्रुट्स’ ब्राण्डमार्फत देशभर ५० वटा आउटलेट विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । सोल्टीमोड चोकमा पहिलो आउटलेट सञ्चालनमा ल्याइसकेको कम्पनीले आगामी पाँच वर्षभित्र लक्ष्य पुरा गर्ने बताएको छ । कम्पनीका सञ्चालक अग्नि कँडेलका अनुसार आउटलेट विस्तारको योजना देशभर फलफुलको सहज आपूर्तिलाई व्यवस्थित गर्न गरिएको हो । 'दैनिक खानपानमा फलफुलको भूमिका अत्यन्त महत्वपूर्ण छ। स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले हामीले फलफ्रुट्सको औपचारिक सेवा सुरु गरेका हौं,' कँडेलले भने । उनका अनुसार प्रत्येक आउटलेटको स्थापना लागत करिब १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ, जहाँ ५ जनासम्मले रोजगारी पाउनेछन् । इच्छुक व्यक्ति वा समूहले आउटलेट सञ्चालन गर्न चाहेमा कम्पनी आफैंले व्यवस्थापन सहयोग उपलब्ध गराउनेछ । कँडेलका अनुसार फलफ्रुट्सले नेपालमै उत्पादन हुने सिजनल फलफुललाई विशेष प्राथमिकतामा राख्नेछ । 'हामीले देशका विभिन्न गाउँ र समुदायसँग सहकार्य गर्दै उत्पादनदेखि वितरणसम्मको सञ्जाल विस्तार गर्ने योजना बनाएका छौं,' उनले भने । यसका लागि कम्पनीले ग्रामीण क्षेत्रमा उत्पादन, व्यवस्थापन र बिक्री साक्षरतासमेतको अभियान सुरु गरिसकेको जानकारी पनि उनले दिए । नजिकिँदो भविष्यमा कम्पनीले इ(कमर्समार्फत उपभोक्ताको घरमै सेवा पुर्याउने योजना बनाएको छ । 'हालको सुरुआती यात्रा हामीले ट्रायलको रूपमा लिएका छौं । यसलाई निरन्तरता दिँदै निकट भविष्यमै ‘फ्रुट्स क्याफे’ सहितको आधुनिक आउटलेट सञ्चालनमा ल्याउने तयारीमा छौं,' सञ्चालक कँडेलले बताए । उनले विदेश पलायन नै अन्तिम विकल्प हो भन्ने मानसिकता तोड्ने उद्देश्यले पनि यो अभियान थालिएको उल्लेख गरे । 'स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश फैलाउने अभियानस्वरूप हामी अघि बढिरहेका छौं,' कँडेलले भने ।
ट्रम्पको धम्कीका बावजुद अमेरिकाभर विरोध प्रदर्शन फैलिँदै
काठमाडौं । कडा अध्यागमन रणनीतिका विरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । यो लस एन्जलसमा दैनिक प्रदर्शनपछि आएको हो । क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सेना तैनाथीका विरुद्ध कानूनी लडाइँको तयारी गरिरहेको छ । अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसमा बुधबार छैटौँ दिनको विरोध प्रदर्शनका लागि एक हजारभन्दा बढी मानिस भेला भएका थिए । उनीहरू सडकमा मार्च गर्दा भिड शान्तिपूर्ण थियो । सहरका नेताहरूले पाँच सय वर्गमाइल (एक हजार तीन सय वर्गकिलोमिटर) महानगरका केही सहर ब्लकहरूलाई क्षति पुर्याउने अँध्यारो तोडफोड र लुटपाटलाई नियन्त्रण गर्ने प्रयास गर्दा दोस्रो रातको कर्फ्यू लगाइएको थियो । 'म भन्न सक्छु कि अधिकांश भागमा यहाँ ग्राउन्ड जिरोमा सबै कुरा ठीकै छ', ६६ वर्षीय सेवानिवृत्त स्कूल शिक्षक एवं प्रदर्शनकारी लिन स्टर्गिसले भने, 'हाम्रो सहरमा आगो लागेको छैन, यो जलिरहेको छैन, जसरीे हाम्रो भयानक नेताले तपाईंलाई भन्न खोजिरहेका छन् ।' देशमा अवैध रूपमा आप्रवासीहरूलाई समात्ने प्रयासमा अचानक वृद्धि भएपछि प्रायः शान्तिपूर्ण विरोध प्रदर्शनहरू भड्किए । सेल्फ ड्राइभिङ ट्याक्सीहरू जलाउने र प्रहरीमाथि ढुङ्गा फ्याँक्ने लगायतका हिंसाका घटनाहरू लस एन्जलस प्रहरी विभागका आठ हजार पाँच सय अधिकारीले पहिले सामना नगरेको केही पनि थिएन । वासिङ्टनको स्पोकेनमा प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेपछि र भिडलाई तितरबितर गर्न मरिचका गोलीहरू प्रहार गरेपछि रातिको कर्फ्यू घोषणा गरिएको प्रहरी प्रमुख केभिन हलले पत्रकार सम्मेलनमा बताए । कागजातविहीन आप्रवासीहरूको ‘आक्रमण’ भएको दाबी गर्नेसँग लड्ने वाचा गरेर ट्रम्पले गत वर्ष आंशिक रूपमा चुनाव जितेका थिए । गभर्नर गेभिन न्युसमको आपत्तिका बावजुद क्यालिफोर्निया नेसनल गार्डलाई तैनाथ गर्न आदेश दिँदै ट्रम्पले अब राजनीतिक पूँजी बनाउने अवसर कब्जा गरिरहेका छन् । दशकौँमा पहिलो पटक अमेरिकी राष्ट्रपतिले लिएको पहिलो यस्तो कदम हो । 'हामीसँग सुरक्षित देश हुनेछ', उनले वासिङ्टनमा ‘लेस मिजरेबल्स’ को प्रदर्शनमा जाँदै गर्दा पत्रकारहरूलाई भने, 'लस एन्जलसमा के हुने थियो त्यो हुन दिनेछैनौँ । याद गर्नुहोस् यदि म त्यहाँ नभएको भए... लस एन्जलस जमिनमा जलिरहेको हुने थियो ।' ट्रम्पले तैनाथ गरेका चार हजार सात सय सैनिकमध्ये करिब एक हजार जना सक्रिय रूपमा सुविधाहरूको सुरक्षा गरिरहेको र आइसिई एजेन्टहरूसँग मिलेर काम गरिरहेको अपरेसनको नेतृत्व गरिरहेका आर्मी नर्थका डिप्टी कमान्डिङ जनरल स्कट शेरम्यानले बताए । बाँकी सात सय सक्रिय ड्युटी मरीन सहित भेला भएका वा नागरिक अशान्तिको सामना गर्न भेला भइरहेको वा प्रशिक्षण लिइरहेको उनले जानकारी दिए । पेन्टागनले यो तैनाथीले करदाताहरूलाई १३ करोड ४० लाख डलर खर्च हुने बताएको छ । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि व्यापक रूपमा हेरिएका डेमोक्रेट गभर्नर न्युसमले ट्रम्पमाथि राजनीतिक लाभका लागि द्वन्द्व बढाउन खोजिरहेको आरोप लगाएका छन् । ‘लोकतन्त्र हाम्रो आँखामुनि आक्रमणमा परेको छ’ भन्दै उनले मङ्गलबार आफ्नो राज्यको सीमाभन्दा बाहिर अभूतपूर्व सैन्यीकरण सर्ने चेतावनी दिए । क्यालिफोर्नियाका वकिलहरू बिहीबार अदालतमा सैनिकहरूलाई अध्यागमन अधिकारीहरूसँग आप्रवासीहरूलाई गिरफ्तार गर्दा साथ दिनबाट रोक्न आदेश माग्ने अपेक्षा गरिएको थियो । ट्रम्प प्रशासनका वकिलहरूले यो आवेदनलाई ‘कच्चा राजनीतिक नाटक’ भनेका छन् । – राष्ट्रव्यापी विरोध बढ्दै – अन्य डेमोक्रेटिकद्वारा प्रशासित राज्यहरूमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको धम्कीका बावजुद प्रदर्शनकारीहरू निडर देखिन्थे । सेन्ट लुइस, रेले, म्यानहट्टन, इन्डियानापोलिस र डेनभरमा प्रदर्शनहरू भएको रिपोर्ट गरिएको थियो । सान एन्टोनियोमा सयौँले सिटी हल नजिकै मार्च गरे र नारा लगाए । त्यहाँ टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले राज्यको नेसनल गार्ड तैनाथ गरेका छन् । ट्रम्पले अमेरिकी राजधानीमा अत्यधिक असामान्य सैन्य परेडमा भाग लिने बेला शनिबार राष्ट्रव्यापी ‘नो किङ्ग्स’ आन्दोलनको अपेक्षा गरिएको थियो । युद्धक विमान र ट्याङ्कहरू सहितको यो परेड अमेरिकी सेनाको स्थापनाको दुई सय ५०औँ वार्षिकोत्सव मनाउन आयोजना गरिएको हो तर यो ट्रम्पको ७९औँ जन्मदिनको दिन पनि हो । – भड्किएको अवस्था – ट्रम्प प्रशासनले विरोध प्रदर्शनलाई राष्ट्रका लागि हिंसात्मक खतराका रूपमा चित्रण गरिरहेको छ । यसले नियमित अध्यागमन एजेन्ट र प्रहरीलाई समर्थन गर्न सैन्य बलको आवश्यकता पर्ने बताएको छ । तर लस एन्जलसका मेयर करेन बासले यो सङ्कट वासिङ्टनमा निर्मित भएको बताए । 'एक हप्ताअघि लस एन्जलस सहरमा सबै कुरा शान्तिपूर्ण थियो', उनले पत्रकारहरूलाई भने, 'शुक्रबार छापा मारिएपछि कुराहरू कठिन हुन थाले... यही नै समस्याको कारण हो । यो ह्वाइट हाउसद्वारा उक्साइएको थियो ।' नक्काबधारी र हतियारधारी पुरुषहरूद्वारा गिरफ्तारी बुधबार पनि जारी रह्यो । डाउनीको लस एन्जलसको उपनगरका एक पास्टरले राज्य बाहिर कार चलाउने पाँच सशस्त्र व्यक्तिले चर्चको पार्किङमा स्पेनिस भाषी व्यक्तिलाई समातेको बताए । जब उनले पुरुषहरूलाई चुनौती दिनुभयो र उनीहरूको ब्याज नम्बर र नाम सोध्नुभयो, तिनीहरूले अस्वीकार गरे । 'उनीहरूले मलाई आफ्नो राइफल औँल्याए र भने, ‘तपाईंले फर्किनु आवश्यक छ', लोपेजले प्रसारणकर्ता केटीएलएलाई भने । रासस
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्त्वपूर्ण विषय भएको उल्लेख गरे । महानगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिन कुनै कसुर बाँकी नरहने प्रमुख दाहालले बताइन् । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार ज्येष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन् । गत वर्ष ६८ वर्षमाथिका ज्येष्ठ नागरिकको गरिएको र अब क्रमशः कम उमेरका नागरिकको स्वास्थ्य परीक्षण गरिने उल्लेख गरिन् । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे । चितवनभन्दा बाहिरा बालबालिकाहरू छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाइ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। विशेष गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ । यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरूबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरू समुदाय स्तरमा सञ्चालन हुँदै आएको छ । भरतपुर महानगरपालिकामा अन्तर्गत १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य क्लिनिक, १ वटा मातृ शिशु क्लिनिक, ६ वटा आयुर्वेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।
सिद्धार्थ बैंकको इजी बैंकः एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा ठूलो लगानी गरिरहेका छन् ।ग्राहकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा लगानी बढाइरहेको देखिन्छन् । तर, बैंकहरूले डिजिटलमा लगानी बढाइरहेको भएपनि ग्राहकले प्रडक्टहरू सहज रूपमा चलाउन सकिरहेका हुँदैनन् । सिद्धार्थ बैंकले ग्राहकलाई झण्झटमुक्त हुने गरी सेवा दिनका लागि आफ्नो मोबाइल बैंकलाई थप परिष्कृत बनाउँदै लगिरहेको देखिन्छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । इजी बैंक नामक अनलाइन प्लेटफर्मबाट बैंकले ग्राहकहरूलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ । डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो । बैंकको मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवा खाता विवरण हेर्न मिल्ने, एपबाटै ऋण, ग्राहक सेवाको सुविधा, केवाइसी अपडेट र कार्डसम्बन्धी सम्पूर्ण सेवा रहेका छन् । खाता विवरण हेर्न मिल्ने ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेप सम्बन्धी विवरणहरूका साथै लिएको कर्जाको स्थिति, नन्–फण्डेड कर्जाको विवरण र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सकिने बैंकले जनाएको छ । जसबाट ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुग्ने बैंकको दाबी छ । मोबाइल एपबाटै ऋण पाइने अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै मर्चेन्ट क्युआर सञ्चालकहरूले पनि मोबाइल एप मार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्ने छन् । सिद्धार्थ बैंकको इजी बैंक मोबाइल एपमार्फत ग्राहकहरूले शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको इएमआई सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्ने बैंकले जनाएको छ । चेक रोक्का र खाता ब्लक गर्न सकिने कुनै चेक हराएमा वा रोक्नु परेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था मोबाइल एपमा रहेको छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु पर्ने भएमा ब्लकको सुविधा लिन सकिनेछ । ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नु परेमा सोही एपबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक नपर्ने बैंकले जनाएको छ । केवाइसी अपडेट बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेशा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्ने छन् । साथै ग्राहकले शाखामा उपस्थित नभई एपबाटै सुरक्षित र सहज रूपमा राष्ट्रिय परिचयपत्र (एनआइडी) नम्बर पनि अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । कार्डसम्बन्धी सम्पूर्ण सेवा इजीबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिंक गरेर इजी बैंक सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्ने छन् । कम्प्युटरबाट पनि चलाउन मिल्ने बैंकको उक्त एप मोबाइलमा मात्रै नभइ ल्यापटप तथा कम्प्युटरबाट पनि सहज रुपमा चलाएर सेवा लिन सकिने बैंकले जनाएको छ । जसका लागि बैंकको वेबसाइट मार्फत ‘लग इन’ आइकन क्लिक गरी ‘इजी बैंक’मा जानुपर्ने हुन्छ । जसमा अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ । वेबमा के-के छन् सुविधा ? यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटबाट अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस लगायत विभिन्न सेवा एउटै ठाउँबाट लिन सकिने बैंकले जनाएको छ । अकाउन्ट सर्भिस बैंकका अनुसार यस सेवाअन्तर्गत बैंक खाता खोल्ने, मुद्दती खाता खोल्ने, भिडियो बैंकिङ-अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणीकरण जस्ता सेवा उपलब्ध रहेका छन् । ग्राहकले अनलाइनबाट खाता खोल्ने बित्तिकै खाता सक्रिय भएको हुँदैन । एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नै पर्ने हुन्छ । तर, बैंकले अनलाइनबाट खाता खोल्नेहरूका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा रहेको जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभइ घरमै बसीबसी प्यान अपडेट, ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल अपडेट गर्न सकिनेछ । कार्ड सर्भिस कार्ड सर्भिस सेवाअन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउनेछ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिनेछ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकन घरबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । जसका लागि ग्राहकले सुरुमा बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पहिला नै कार्ड लिएर म्याद सकिएका ग्राहकले पनि उक्त सेवामार्फत नवीकरण तथा प्रतिस्थापन गर्न सकिने बैंकले जनाएको छ । कार्ड नवीकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुगेछ । बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहक मैत्री बनाउँदै समयको बचत हुने विश्वास लिएको छ । डिम्याट सर्भिस डिम्याट सुविधा अन्तर्गत ग्राहकले डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाट डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । ग्राहकहरूले बैंकको वेबसाइटमा गई वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिंकमा गई आवश्यक विवरण भर्न सकिने बैंकले जनाएको छ । आईपीओमा आवेदन दिँदा सीआरएन नम्बर बिर्सिएको छ भने इजी बैंक मार्फत सीआरएन नम्बर हेर्न सकिनेछ ।
सेयर बजारमा १२ अर्बको कारोबार, पियोर इनर्जीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६५५ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३११ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादी गुप्रको १ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ७५ करोड, राधी विद्युत कम्पनीको ५४ करोड, युनिभर्सल पावर कम्पनीको ४८ करोड र बुटवल पावर कम्पनीको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
२४२ जना यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटना
काठमाडौं । भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्तमा परेको छ । गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा २४२ जना यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । तर, पुष्टि हुन बाँकी छ। अहमदाबादको अग्नि नियन्त्रण विभागले दुर्घटनास्थलमा दमकलहरू पठाइएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।