विकासन्युज

ग्रीन डेभलपमेन्ट बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपेमा आबद्ध

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिबहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।  सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढि गैरबैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । 

हिमालयन एभरेष्ट इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

देशमा अघोषित लोडसेडिङ, बंगलादेशलाई बिजुली बेच्दै  प्राधिकरण

काठमाडौं । देशभर अघोषित लोडसेडिङको गुनासो चुलिँदै गर्दा नेपाल विद्युत प्राधिकरण भने विदेशी बजारमा बिजुली बेच्नमा केन्द्रित भएको छ ।  भारतलाई दैनिक सयौं मेगावाट बिजुली बेचिरहेको प्राधिकरणले‍ आगामी असार १ गतेदेखि बंगलादेशलाई पनि ४० मेगावाट विद्युत बेच्ने तयारी पूरा भएको छ । विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार शनिबारदेखि रातको समयमा भारततर्फ दैनिक १५०-२०० मेगावाट विद्युत् पठाइएको छ । यही मार्ग हुँदै बंगलादेशलाई पनि आपूर्ति गरिने उनले जानकारी दिए । भारतको बहरमपुर–भेरामारा ५० मेगावाट क्षमताको प्रसारण लाइनमार्फत बंगलादेशतर्फ विद्युत निर्यात हुने जनाइएको छ । नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ६ महिनासम्म प्रतिदिन ४० मेगावाट विद्युत् निर्यात गर्नेछ । यो कारोबारको दर प्रतियुनिट ६.४ अमेरिकी सेन्ट, अर्थात् झण्डै ८ रुपैयाँ ८० पैसा तोकिएको छ । भारतले विद्युत् आयातको स्वीकृति प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रणालीले गर्दा नेपालभित्र उत्पादित बिजुली अनुमति अभावमा खेर जाने अवस्था बारम्बार देखिएको छ । चालू वर्षमा भारतले दिएको निर्यात स्वीकृति ९४० मेगावाट मात्र हो, जबकि नेपालसँग १ हजार ५०० मेगावाटसम्म प्रवाह गर्न सक्ने पूर्वाधार छ ।  थप ३५० मेगावाटको स्वीकृति माग गरिए पनि प्रक्रिया भारतको विदेश मन्त्रालयको अनुमति र नेपालकै राजनीतिक अन्योलताका कारण अघि नबढेको प्राधिकरणले जनाएको छ । नेपालमा विद्युत् उत्पादन क्षमता बढिरहेको भए पनि आन्तरिक खपत नबढ्नु, प्रसारण लाइन अभाव र पूर्वाधारको असमान वितरणले विद्युत् खेर जाने समस्या उत्तिकै छ । प्रवक्ता ढकालका अनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले खरिदका लागि आवश्यक कागजात बुझाइसकेको छ र भारतको नेशनल लोड डिस्प्याच सेन्टरसँग प्राविधिक समन्वय सकिएको छ । उनले अब बिना अवरोध असार १ गतेबाट आपूर्ति सुरु हुने जानकारी दिए । देशभर उपभोक्ताको बिजुलीको पहुँच असमान छ । कतै घण्टौं लोडसेडिङ, कतै भोल्टेज समस्या । तर नेपाल विद्युत् प्राधिकरण भने ती समस्याको समाधानभन्दा विदेशी निर्यातमै व्यस्त छ ।

२५ वर्षको मेहनतले आजको आइएमई सम्भव भयो, अब नीति कार्यान्वयनमा कडाइ हुन्छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर बम बहादुर मिश्रले विगत २५ वर्षको अथक प्रयास र समर्पणले आजको डिजिटल वित्तीय संरचना सम्भव भएको बताएका छन् । उनले राष्ट्र बैंक प्रवेश गरेकै समय आइएमईजस्ता संस्थाहरू सुरुआती चरणमा रहेको स्मरण गर्दै त्यतिबेला गरिएको मेहनतकै जगमा आजको डिजिटल प्रगति सम्भव भएको बताए । ‘जब म राष्ट्र बैंकमा प्रवेश गरेँ, त्यो बेला आइएमईजस्ता संस्था संचालनमा आएका थिए। ती संस्थाहरू आज डिजिटल युगमा प्रवेश गरिसकेका छन् । त्यो रूपान्तरण सहज थिएन, २५ वर्षअघि जसले लगनशीलता देखाए, उनीहरूकै योगदानले आजको अवस्था बनेको हो,’ मिश्रले भने । उनले वित्तीय प्रणालीलाई अझ व्यवस्थित बनाउँदै लैजानका लागि नीति निर्देशनको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकोमा जोड दिए । ‘राष्ट्र बैंकले आगामी दिनमा यस्ता नीति निर्देशन ल्याउनेछ जुन व्यवहारिक मात्र नभइ, अर्थतन्त्रका हरेक तहमा सकारात्मक असर पार्नेछ । त्यसको सफल कार्यान्वयन सुनिश्चित गर्न सबै वित्तीय संस्थाहरूले कडाइका साथ पालना गर्नुपर्छ,’ उनले बताए । मिश्रले डिजिटल बैंकिङ विस्तार, साइबर सुरक्षामा बलियो नियमन, र ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तारजस्ता विषयमा राष्ट्र बैंकले स्पष्ट कार्यदिशा तय गर्ने पनि जानकारी दिए । उनले नीति निर्माण मात्र होइन, त्यसको कार्यान्वयनमै राष्ट्र बैंक केन्द्रित हुने बताए। ‘अबको प्राथमिकता नीति कार्यान्वयन हो, केवल कागजमा रहने नियमको युग समाप्त भइसकेको छ,’ मिश्रको प्रष्ट सन्देश थियो ।

गाउँ गाउँमा चलचित्र हल बन्नुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व नाथ पौडेलले गाउँगाउँमा चलचित्र हल बन्नुपर्ने बताएका छन् । शुक्रबार आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सवकाे अवसरमा उनले सो बताएका हुन् । कार्यक्रममा गभर्नर पौडेलले बजेटमा पनि गाउँ गाउँमा चलचित्र हल खोल्ने वातावरण बनाउन अर्थमन्त्रीलाई सुझाव दिएको बताए ।  त्यस्तै, उनले अप्ठ्यारो स्थितिमा पनि उद्यमी जन्मिनु पर्छ भन्ने उल्लेख गरे । ‘गाउँबाट आएको मान्छेले पनि सहज रूपमा व्यवसाय गर्न सकोस्,’ उनले भने,‘जोखिम रहेको बेला वा राजा वीरेन्द्र मारिएको समयमा व्यवसाय गर्न कठिन अवस्थामा सुरुवात गरेको हुँदा सफल हुन सकेको छ ।’

३५ सय मेगावाटमै लथालिङ्ग, २८ हजार मेगावाटको सपना खोक्रो : कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण गम्भीर चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशनमा बोल्दै उनले प्राधिकरण घाटामा नभए पनि संरचनागत रूपमा ‘बीच बाटो’ मा अड्किएको स्थिति रहेको स्पष्ट गरे । ‘आज प्राधिकरण घाटामा छैन, तर कठिन परिस्थितिमा छ । हामी यस्तो स्थानमा छौं, जहाँबाट अगाडि बढ्नैपर्ने बाध्यात्मक अवस्था छ,’ शाक्यले भने, ‘सरकारले २८ हजार ५ सय मेगावाट उत्पादनको लक्ष्य लिएको छ, तर अहिलेको ३ हजार ५ सय मेगावाट मात्रै पनि धान्न सक्ने प्रशारण संरचना छैन ।’ उनले प्रसारण प्रणाली कमजोर भएकाले तथा  सानो कारणले पनि बारम्बार सिस्टम ट्रिप हुने, रेखा कट्ने समस्या देखिएको बताए । ‘एउटा रुख ढल्यो भने पनि ट्रान्समिसन लाइन ट्रिप हुन्छ, सिस्टम नै बन्द हुन्छ,’ शाक्यले भने, ’हामीले लगानी नगरेर यो अवस्था बनायौं। अबको लक्ष्य पूर्तिका लागि विगतभन्दा धेरै गुणा लगानी र संरचनागत सुधार आवश्यक छ ।’ उनका अनुसार अब तत्काल र दीर्घकालीन योजना बनाएर मात्रै प्राधिकरणलाई भविष्यको चुनौती सामना गर्न सकिनेछ । 

विपदजन्य घटनाको प्रतिकार्य तयारीका लागि तहगत सरकार र संयन्त्रको समन्वय जरुरी : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले विपदजन्य घटनाको प्रतिकार्य तयारी, खोज उद्धार र पुनःस्थापनाका लागि तहगत सरकार र संयन्त्रको समन्वय जरुरी रहेको बताएकी छिन् । महानगर प्रहरी र सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटरको संयुक्त आयोजनामा रानीपोखरीमा मनसुनजन्य विपद प्रतिकार्यका लागि कृतिम घटना व्यवस्थापन कार्यक्रममा उनले सो बताएकी हुन् ।  उक्त कार्यक्रममा डंगोलले महानगरपालिकाले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर काम गरिरहेको बताइन् । उनले नागरिकका आँगनमै रहेकोले विपदजन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै विपद्जन्य घटना व्यवस्थापनको दायित्व पूरा गर्न बजेटको व्यवस्था गर्ने बताएकी हुन् । ‘तहगत सरकारका बिचमा समन्वय र सहकार्य संविधानको मर्म हो । आजको कृतिम अभ्यास यसको उदाहरण हो,’ उनले भनिन्, ‘गएको वर्षको पानीजन्य विपदले पाठ सिकाएको छ । त्यस समयमा गरिएको सिकाइलाई आधार मानेर दक्षता बढाउनु पर्छ । सम्भावित प्रकोप व्यवस्थापन गर्न तयारी अवस्थामा रहनुपर्छ ।’ कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले साझेदारका बीचमा भएको स्रोत, सीप र क्षमतालाई एकीकृत गरेर विपद्को सामनालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने आजको कार्यक्रमले दिएको सन्देश रहेको बताए । पूर्वतयारी एक पटक गरेर सकिने काम होइन । यसलाई नियमित गरिरहनु पर्ने उनको भनाइ थियो । अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुङ्गा तथा अन्य स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेको व्यक्तिलाई बचाउने, ढुङ्गा पल्टियो भने त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजाने अभ्यास गरिएको थियो । यसका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक वटा ढुङ्गाको प्रयोग गरिएका थिए । गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौंमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुबानजस्ता विपदबाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो । महानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिएको छ ।