विकासन्युज

जेठमा मात्रै २ खर्ब ८१ अर्ब खर्च, एकैदिन २२ अर्ब २२ करोड निकासा

काठमाडौं । जेठ र असारमा सरकारी बजेट ठूलो मात्रमा खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । जसकारण सरकारी भुक्तानी प्रणालीमा ठूलो चाप परेको छ ।  सरकारी आयव्यायको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार अरू बेला खासै खर्च नहुने बजेट अहिले ठूलो मात्रामा भइरहेको छ । राज्यको ढुकुटीबाट जेठ महिनामा मात्रै २ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बजेट सकिएको छ ।   सरकारी भुक्तानीको प्रवृत्ति हेर्ने हो भने जेठ १ गते मात्रै सरकारले ६ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । जेठ ७ मा मात्रै सरकारले ३ अर्ब ७८ करोड खर्च गरेको देखिन्छ । जेठ १४ मा एकैदिन २२ अर्ब २२ करोड सरकारले खर्च गरेको तथ्यांकले देखाएको छ । जेठ २१ मा ३ अर्ब ३२ करोड, जेठ २८ मा २ अर्ब ८७ करोड, जेठ ३० मा ८ अर्ब २८ करोड बजेट सरकारले खर्च गरेको छ ।  जेठमा भएको यतिधेरै खर्चले झरीसँगै सरकारी बजेट बगिरहेको प्रष्ट देखाएको छ । जेठ र असारमा हुने खर्चमाथि हरेक वर्ष प्रश्न उठ्दै आएको छ । खासगरी मौसम शुरु हुने महिा भएकाले यतिबेला हुने विकासे खर्चको गुणस्तरीयतामाथि विज्ञहरूले प्रश्न उठाउने गरेका छन् । सरकारी प्रतिवेदनहरुले समेत जेठ–असारमा हुने विकासमाथि प्रश्न उठाउँदै आएका छन् । खासगरी सार्वजनिक खर्च पुनरावलोकन आयोगदेखि उच्चस्तरीय आर्थिक सुधार आयोगसम्मले नै आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति ठिक नभएको निष्कर्ष निकाल्दै यसलाई सुधार्न सरकारलाई सुझाएका थिए । समग्रमा चालु आर्थिक वर्षको सरकारी खर्च जेठ ३० गतेसम्म १२ खर्ब ७९ अर्ब सरकारले खर्च गरेको छ । कुल बजेटमध्ये चालुतर्फ ८ खर्ब ४९ अर्ब, पुँजीगत (विकास) तर्फ १ खर्ब ४१ अर्ब, वित्तीय व्यवस्थातर्फ २ खर्ब ८७ अर्ब सरकारी बजेट खर्च भएको छ ।  २०८१ को जेठ १५ मा चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याए पनि कार्यान्वयनको मुखमा अर्थात असारको अन्त्यमा सत्तासमीकरण परिवर्तनसँगै नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको थियो ।  बजेट कार्यान्वयनको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेलले पाएका थिए । चालु आर्थिक वर्ष सकिन महिना दिन बाँकी रहँदा कुल बजेटमध्ये ५ खर्ब ८० अर्ब अझै खर्च हुन सकेको छैन ।  त्यसो त, यो बजेट पूरै खर्च गर्न नसक्ने सरकारले बताइसकेको छ । गत जेठ १५ मा आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै बजेटसँगै चालु आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको सरकारले त्यो पनि हासिल नहुने स्पष्ट पारिसकेको छ ।  चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको छ ।

प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।  ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अध्यावधिक गर्न अनुरोध गरेको बैंकले जनाएको छ । बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबाइल बैंक) मा रहेको 'प्यान अपडेट' विकल्पमा क्लिक गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने जनाइएको छ ।  ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिन्छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । यसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।  ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बेहोरा समेत बैंक सम्पूर्ण ग्राहकमा जानकारी गराएको छ ।  

सिद्धार्थ बैंकका ग्राहकहरूलाई लोमस डिजिटलमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई ह्वायरपुल प्रडक्ट र किचेन सामग्रीमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाण्डौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।  यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ ।  बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।  

सेयरधनीको आलोचनाबीच टोयोटा मोटरको नेतृत्वमा पुनः टोयोडा

काठमाडौं । टोयोटा मोटरका सेयरधनीहरूले बिहीबार अकियो टोयोडालाई पुनः अध्यक्षमा निर्वाचित गरेका छन् । जापानी अटोमेकरले आफ्नो समूह कम्पनीलाई ३३ अर्ब डलरमा किन्ने प्रस्ताव ल्याउँदा विदेशी सेयरधनीबाट आलोचना भए पनि साधारण लगानीकर्ताहरूको समर्थन उनलाई मिल्यो । विश्वकै सबैभन्दा बढी बिक्री हुने अटोमोबाइल कम्पनीका पूर्व प्रमुख कार्यकारी र संस्थापकका नाति टोयोडालाई बिहीबार भएको वार्षिक साधारण सभामा पुनः निर्वाचित हुने अपेक्षा गरिएको थियो ।  मतदानको विस्तृत परिणाम अझै सार्वजनिक भएको छैन, त्यसैले टोयोडाले गत वर्षको ७२ प्रतिशतभन्दा बढी मत पाए कि नपाए भन्ने प्रष्ट छैन । निक्केई पत्रिकाले स्रोत नखुलाई टोयोडाले कम्तीमा ९६ प्रतिशत मत पाएको अनुमान गरेको छ । मंगलबार समूह कम्पनी टोयोटा इन्डस्ट्रीजका सेयरधारकहरूले कम्पनीको ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) को बाइआउट प्रस्तावबारे कार्यकारीहरूलाई प्रश्न सोधेका थिए । विदेशी लगानीकर्ताहरूले यसलाई सानातिना सेयरधारकहरूप्रति अनुचित भएको बताएका थिए । टोयोडा टोयोटा इन्डस्ट्रीजको बोर्डमा नभएकोले त्यो बैठकमा सहभागी भएका थिएनन् । 'टोयोटा इन्डस्ट्रीजका बारेमा प्रेसमा धेरै कुरा आइसकेको थियो, त्यसैले धेरै सेयरधारकहरूले आफूलाई पर्याप्त जानकारी भएको ठाने,' मध्य जापानमा दोस्रो पटक साधारणसभामा सहभागी भएका चालीस वर्षका टोयोटा मोटरका सेयरधारक आकिहिरो होरिउचीले भने । उनका अनुसार कम्पनीले आफ्नो ‘टोयो टाइम्स’ समाचार वेबसाइटमा सम्झौताबारे विस्तृत व्याख्या गरेको थियो । 'टोयोटा (मोटर) जापानकै उत्कृष्ट कम्पनी हो र मलाई लाग्छ यो अझै बढ्दै जानेछ,' होरिउचीले थपे । टोयोटा मोटरले फोर्कलिफ्ट निर्माता टोयोटा इन्डस्ट्रीजलाई निजी कम्पनी बनाउने योजना बनाएको छ । यो जटिल सम्झौतामा अध्यक्ष टोयोडाले आफ्नै १ अर्ब येन लगानी गर्नेछन् र जापानको सबैभन्दा शक्तिशाली कर्पोरेट समूहलाई पुनर्संरचना गर्नेछन् । प्रति सेयर १६ हजार ३०० येनको मूल्य निर्धारण गरिएको यस प्रस्तावबारे केही विदेशी सेयरधारकहरूले यो कम्पनीको वास्तविक मूल्यभन्दा कम मूल्यांकन भएको र संस्थापक परिवारको नियन्त्रण अझै बलियो हुने बताएका छन् । टोयोटा मोटरका अनुसार यस अधिग्रहणले समूह कम्पनीहरूसँगको सहकार्य अझै बलियो बनाउनेछ र छोटो अवधिको नाफा लक्ष्यको चापबाट मुक्त गराउनेछ । समूहले आफ्ना सेवा र पहिचानलाई फराकिलो मोबिलिटी क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । यसपालि प्रोक्सी सल्लाहकार ग्लास लुइस र इन्स्टिट्युसनल सेयरहोल्डर सर्भिसेसले टोयोडालाई पुनः निर्वाचित गर्न सेयरधारकहरूलाई सिफारिस गरेका थिए । गत दुई वर्ष ग्लास लुइसले विरोध सिफारिस गरेको थियो र गत वर्ष आईएसएसले पनि आपत्ति जनाएको थियो । टोयोडाको पदमाथि व्यवस्थापन पारदर्शिताका कारण प्रश्न उठ्दै आएको थियो । तर यस पटक दुवै सल्लाहकारहरूले आफ्नो सिफारिस परिवर्तन गर्नुको स्पष्ट कारण भने दिएका छैनन् । अघिल्ला वर्षहरूमा सेयरधारकहरूको समर्थनमा गिरावट आएको थियो । गत वर्षको ७२ प्रतिशत अघिल्लो वर्षको ८५ प्रतिशत र त्यसअघिको ९६ प्रतिशतभन्दा तल थियो । टोयो टाइम्सलाई जुलाईमा दिएको अन्तर्वार्तामा टोयोडाले भनेका थिए, 'यदि सेयरधारकहरूको समर्थन अझै घट्दै गयो भने मेरो पद पनि जोखिममा पर्न सक्छ।' पहिले टोयोडा अटोमेटिक लुम वर्क्सका नामले चिनिने टोयोटा इन्डस्ट्रीज सन् १९२६ मा स्वचालित कपडा मेसिन बनाउनका लागि स्थापना गरिएको थियो । यसले पछि अटोमोबाइल डिभिजन सुरु गरी टोयोटा मोटरलाई अलग कम्पनीका रूपमा स्थापना गरेको ‍थियो । टोयोटामा हलचल ! ३३ अर्बको प्रश्न सामना गर्दै अध्यक्ष टोयोडा बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार  

वर्षाले त्रिभुवन विमानस्थल ठप्प, केही जहाज डाइभर्ट, केही आकाशमै होल्ड

काठमाडौं । भीषण वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहानदेखि ठप्प बनेको छ । बिहान करिब ११ः३० बजेदेखि सुरु भएको तीव्र वर्षाले भिजिबिलिटी अत्यधिक न्यून भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो । विमानस्थलका कर्मचारी महेश अर्यालका अनुसार खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान प्रभावित भएका छन् । कतिपय जहाज आकासमै फन्को लगाउँदै होल्ड गरिरहेका छन् भने केहीलाई वैकल्पिक विमानस्थलमा डाइभर्ट गरिएको छ । बुद्ध एयरको काठमाडौं-विराटनगर उडान सिमरा डाइभर्ट गरिएको छ भने विराटनगरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज आकासमै होल्डमा राखिएको छ । प्रशासनले मौसम खुल्ने बित्तिकै होल्डमा रहेका जहाजलाई प्राथमिकताका साथ अवतरण गराउने र डाइभर्ट भएका जहाजलाई पुनः काठमाडौं फर्काउने तयारी गरिरहेको जानकारी दिएको छ । वर्षा नरोकिएसम्म त्रिभुवन विमानस्थलको हवाई सञ्चालन प्रभावित हुने संकेत प्रशासनले दिएको छ ।

ओम अस्पताललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

काठमाडौं । उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले काठमाडौंको चावहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ९८ वर्षीय हरिप्रसाद गौतमको मृत्यु भएपछि उनका छोरा बसन्त गौतमले ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालेका थिए । अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले बिहीबार फैसला सुनाउँदै अस्पताल र सम्बन्धित चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो । अदालतले अस्पताललाई ८० प्रतिशत अर्थात् ४० लाख ५६ हजार रुपैयाँ र घटनामा संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ५ हजारका दरले बाँकी २० प्रतिशत रकम तिराउन आदेश दिएको छ । २०७८ माघ ५ गते बाथरुममा लडेका हरिप्रसाद गौतमलाई ओम अस्पतालको आपतकालीन कक्षमा चार दिनसम्म उपचार गरिएको थियो । परिवारका अनुसार सामान्य जाँचपछि एक्सरे गरेर केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर औषधि लेखी डिस्चार्ज गरिएको थियो । तर, चार दिनपछि समेत दुखाइ कम नभएपछि उनलाई अर्को निजी अस्पतालमा लग्दा खुट्टामा फ्र्याक्चर देखिएको थियो । बसन्त गौतमले समयमै सही उपचार नगरी लापरबाही गर्दा थप स्वास्थ्य समस्या उत्पन्न भई पिताको ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेका थिए ।  

हिम स्टार उर्जाको आईपीओ बिक्री खुला, स्थानीय र वैदेशीक रोजगारमा रहेकाले आवेदन दिन पाउने

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आज (जेठ ३० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु लिखुपिके गाउँपालिका–२, साविक गोली गा.वि.स वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। साथै सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार १३ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय असार २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं– ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेसँगै तेलको मूल्य बढेको छ । आक्रमणको खबर आएपछि बेन्चमार्क ठेक्का सम्झौताअन्तर्गत ब्रेन्ट क्रुड र निमेक्स लाइट स्वीटको मूल्यमा १० प्रतिशतभन्दा बढी वृद्धि भएको हो । इरान र इजरायलबीचको भिडन्तका कारण इरानबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने व्यापारीहरूलाई चिन्ता छ । कच्चा तेलको मूल्यवृद्धिले खाद्यान्नदेखि लिएर सवारी साधनमा इन्धन भर्ने खर्चसम्म सबै क्षेत्रमा असर पार्छ । इरानले आगामी दिनमा जवाफी कारवाही गर्ला कि नगर्ला भन्नेबारे व्यापारीहरूले चासोपूर्वक हेरिरहेको विश्लेषकहरूले जनाएका छन् । आक्रमणमा परी इरान रिभोल्युशनरी गार्डका प्रमुख हुसैन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले यो खबर पुष्टि गरेको हो। उनी ती केही उच्च अधिकारीमध्ये पर्छन्, जो इजरायलको आक्रमणमा मारिएका छन्। इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ । यीमध्ये परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची रहेका छन् । इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित केन्द्रहरू र अन्य सैन्य क्षेत्रलक्षित गरी आक्रमण गरेको जनाएको छ ।  इरानी सरकारी टेलिभिजनले नतांज परमाणु केन्द्रमा नयाँ विस्फोट भएको खबर दिएको छ । यो परमाणु केन्द्र तेहरानदेखि करिब २२५ किलोमिटर दक्षिणमा रहेको छ ।