आईएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, नेपालकै बलियो डिजिटल वालेट बन्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति दिएको छ । देशका दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरू एकीकृत हुने यो कदम नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो । यस एकीकरणपछि नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ । गाभिएपछि खल्ती एपमार्फत सेवा दिने यस संयुक्त संस्थाले सबैभन्दा ठूलो चुक्ता पूँजी र ५० लाखभन्दा बढी प्रयोगकर्ताको आधारमा नेपालकै सबैभन्दा बलियो डिजिटल वालेट बन्ने अपेक्षा गरिएको छ । यसले नेपालको फिनटेक क्षेत्रमा ठूलो फड्को मानिएको छ । अब सबै सेवा एकीकृत गरी खल्ती एपमार्फतै उपलब्ध हुनेछन् । दुवै वालेटका वर्तमान प्रयोगकर्ताले केवल एक क्लिकमा सजिलै नयाँ प्रणालीमा समाहित हुन सक्नेछन् भने नयाँ प्रयोगकर्ताले खल्ती एप डाउनलोड गरी अझ व्यापक सेवाहरू उपयोग गर्न सक्नेछन्। यस मर्जरले विशेषगरी ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच विस्तार गरी राष्ट्र बैंकको वित्तीय समावेशीकरणको उद्देश्यलाई सहयोग गर्ने विश्वास गरिएको छ । खल्ती एपले भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ । नगदरहित कारोबारको माग बढ्दै गइरहेका बेला डिजिटल वालेट दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । सहरी क्षेत्रमा सीमित रहेको विद्युतीय भुक्तानी सेवा अब गाउँघरसम्म विस्तार गर्ने यस कदमलाई निर्णायक मानिएको छ । आईएमई पे मात्र प्रयोग गर्नेहरूले पनि सजिलै खल्तीमा रूपान्तरण गर्न सक्नेछन् र सबै ब्यालेन्स तथा रिवार्डहरू सुरक्षित रहनेछन् । यो रणनीतिक सहकार्यले फिनटेक क्षेत्रमा प्रतिस्पर्धा र नवीनतालाई अझै तीव्र बनाउने, लगानी र प्रविधिको विकासलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । डिजिटल भुक्तानीमा पहिलो मर्जर, खल्ती र आइएमई पेले गरे सम्झौता
सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री चौधरीलाई राजीनामा दिन दबाब, पद नछाडे बर्खास्त गर्ने चेतावनी
काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रहेका मन्त्री चौधरीलाई प्रदेशका मुख्यमन्त्री कमल शाहले राजीनामा दिन दबाब दिएको खुलेको हो । चौधरी एक महिनाअघि मात्रै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्रीका रुपमा नियुक्त भएका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई अनियमितताको आरोप लागेपछि उनलाई हटाएर रामेश्वर चौधरीलाई मन्त्रीको जिम्मेवारी दिइएको थियो । अहिले पार्टीभित्रबाटै उनलाई राजीनामा दिन दबाब दिइएको छ । पार्टीको आग्रहअनुसार मुख्यमन्त्री शाहले पनि उनलाई पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको हो । अहिले नागरिक उन्मुक्ति पार्टी भित्रको आन्तरिक विवादको सिकार उक्त पार्टीका मन्त्रीहरू हुने गरेको नेताहरूले बताउने गरेका छन् । चौधरीलाई मन्त्रीबाट किन हटाउन लागिएको हो भन्ने विषय भने खुल्न सकेको छैन । प्रदेशका एक मन्त्रीले अहिले मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्री चौधरीबीच यस विषयमा छलफल भइरहेको बताए ।
एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस–नेशनल कार्ड स्विच, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ। यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्युआर तथा यसका इन्टरओपेरेबल क्यूआरको मर्चेन्ट क्यूआर मा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन, इटली, अष्ट्रीया, जर्मनी लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढी अक्वारिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन् । एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस-एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी विकास बैंकहरु मध्येको एक्सेल डेभलपमेन्ट बैंकले देशभरि रहेका ४७ वटा शाखा तथा ३ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई बैंकिङ तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
उच्च अदालतले भन्यो : राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै रुपमा काम गर्न दिनू
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै रुपमा काम गर्न दिन आदेश दिएको छ । बुधबार न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई महानगरको नगर प्रहरी प्रमुखको रुपमा काम गर्न दिन आदेश दिएको हो । निवेदनको टुङ्गो नलागेसम्म काम गर्न दिन अदालतको आदेश छ । यसअघि महानगरका प्रमुख प्रशाशीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका थिए । सो निर्णयविरुद्द पाण्डे अदालत पुगेका थिए ।
सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सीप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई विशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई आमन्त्रित गरिएको थियो। झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रुपमा भारतदेखि विश्वको विभिन्न देशहरुमा प्रख्यात छन् । भारतकै ठूलो र प्रतिष्ठित जीवन बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आवद्ध झाले थुप्रै कार्यानुभव र ख्याती कमाई सकेका छन् । यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरे । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए । यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रेरित गरेको छ । कार्यक्रममा ८० भन्दा धेरै अभिकर्ताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, लगायत सुदुरपश्चिम र कर्णाली प्रदेशका सबै तथा बाँके र बर्दियाको शाखा तथा उपशाखाका कर्मचारीहरूको पनि उपस्तिथी रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्व र अपरिहार्यता माथि प्रकाश पार्दै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए । प्रस्तुत ज्ञान र सीपको उपयोग गरेर कम्पनिको व्यवसायिक लक्ष्य प्राप्तिमा दखल पुराउन सकिने बताए । सोही कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृतले सीप विकास जस्ता तालिमले अभिकर्ताहरुलाई व्यवहारिक सीप र आत्मविश्वास प्रदान गर्ने भन्दै बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पुर्याउने र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने बताए ।
इरानका सर्वोच्च नेता भन्छन्- इरानी जनता ट्रम्पका आधारहीन धम्कीहरूबाट डराउँदैनन्
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इजरायलसँगको संघर्ष र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिएका छन् । खामेनेईद्वारा जारी बयानमा भनिएको छ, 'अमेरिकाको कुनै पनि प्रकारको सैनिक हस्तक्षेपको जवाफ निश्चय नै अपूरणीय क्षतिको रूपमा दिइनेछ ।' सर्वोच्च नेताले भने, ‘जसले इरान, यहाँका जनता र यहाँको इतिहासलाई राम्रोसँग चिन्छ, उसले कहिल्यै धम्कीको भाषामा यो देशसँग कुरा गर्दैन । किनकि इरानी जनता त्यस्ता होइनन् जो सजिलै आत्मसमर्पण गरून् ।’ 'अमेरिकी राष्ट्रपति हामीलाई धम्क्याउँछन् । आफ्ना आधारहीन अभिव्यक्तिहरू मार्फत उनीहरू इरानी जनतासँग आत्मसमर्पणको माग गर्छन् । उनले तिनीहरूलाई धम्क्याउनुपर्छ जो धम्कीबाट डराउँछन्, इरानी जनता यस्ता धम्कीबाट डराउँदैनन्,’ उनले थपे । यसअघि मंगलबार राति ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘हामीलाई राम्रोसँग थाहा छ कि भनिने सर्वोच्च नेता कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिले उनी त्यहाँ सुरक्षित छन् ।' ‘हामी उनलाई अहिले हटाउने (मार्ने) छैनौं, कम्तिमा अहिले त होइन । तर हामी चाहँदैनौं कि आम नागरिकहरू वा अमेरिकी सैनिकमाथि मिसाइल प्रहार होस् । हाम्रो धैर्य अब सकिन थालिसकेको छ,’ ट्रम्पले लेखेका थिए । हालै मध्यपूर्वमा इरान र इजरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् । क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इजरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। राहुलले आज ६-अन्डर ६६ स्कोर गरे । पहिलो दिनका संयुक्त लिडर सुबाशले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५-अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३-अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् । समग्रमा ११-अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा खेल पुरा गरे । भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७-अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४-अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३-अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रबि खड्का आठौं स्थानमा रहे । आज शुक्रले ३-अन्डर ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए । लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । सुबाशले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २-अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डीको सफलता प्राप्त गरे । सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर लगत्तै १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन, सवारीसाधनबाट ११ अर्ब ४८ करोड राजस्व प्राप्त
रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड रुपैयाँ राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब रुपैयाँ बराबरका सामग्री निर्यात भएका बताए । उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधान आयात भएका हुन् । सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको उल्लेख गरे । सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।