गभर्नर पौडेलको सवारी पार्किङ र सेक्युरिटी व्यवस्थापनका लागि जग्गा भाडामा लिँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा भाडामा लिने भएको छ । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीस्थित शनिमन्दिर नजिकै जग्गा भाडामा लिन लागेको हो । राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार २० फिटको पिच सडकले जोडिएको करिब ६ आना जग्गा भाडामा लिन लागिएको हो । इच्छुक व्यक्तिले जग्गाको लालपूर्जा र जग्गाधनीको नागरिकताको प्रतिलिपि संलग्न गरी कर सहितको मासिक भाडा दर खुलाई असार १५ गतेभित्र निवेदन दिनुपर्नेछ । राष्ट्र बैंकको प्रयोजनका लागि भनिए पनि गभर्नर डा. विश्वनाथ पौडेलको सवारी साधन पार्किङका लागि जग्गा भाडामा लिन लागिएको बताइएको छ । गभर्नरको निजी आवास वरिपरि पार्किङ र सेक्युरिटी व्यवस्थापनका लागि उक्त जग्गा भाडामा लिन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
शशीला मोटर्सले काँक्रेविहार यातायातलाई हस्तान्तरण गर्यो किटोनका १९ वटा माइक्रो
काठमाडौं । शशीला मोटर्स प्रालिले सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा हस्तान्तरण गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो । १४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र होइन, बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे । काँक्रेविहार यातायातका अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण किटोन ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए । उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए। सापकोटाले सन्तोष खतिवडा प्रतिको विश्वास आगामी दिनहरूमा अझ बलियो बन्ने अपेक्षा पनि व्यक्त गरे । कार्यक्रममा यातायात व्यवसायी, प्राविधिकहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
नेपाल प्रहरीले माग्यो १८ सय ४२ जना प्रहरी जवान
काठमाडौं । नेपाल प्रहरीले प्रहरी १ हजार ८४२ जना प्रहरी जवान मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर १ हजार ८४२ जना प्रहरी माग गरिएको हो । गत मंसिरमा नेपाल प्रहरीमा (जनपद) प्रहरी समूहतर्फ प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम १ हजार १६५ जनाका लागि दरखास्त आह्वान गरेको थियो । तर, यस अवधिमा रिक्त हुन आई ६७७ जना थप माग गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
जलवायु परिवर्तनकाे असर, उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’
काठमाडौं । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो । यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । त्यहाँ बागवानी केन्द्र मार्फाको शाखा फार्म स्थापनाका लागि ८०१ एक रोपनी जग्गा सरकारको नाममा दर्ज भइसकेको र अब केही महिनाभित्र बागवानी केन्द्रको नाममा लालपुर्जा प्राप्ति गर्ने प्रक्रिया टुङ्ग्याइने केन्द्र प्रमुख आत्रेयले बताए । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायतका शीतोष्ण फलफूल तथा सागसब्जीहरूले विस्तारै उचाइतिर फल्ने क्रम सर्दै गइरहेकाले उपल्लो मुस्ताङको घमीमा बागवानीको सेटलाइट फार्म स्थापना गर्नुपर्ने अवस्था आइपरेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे । मुस्ताङको तल्लो भेकमा उत्पादन हुने स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायत फलफूल जलवायु परिवर्तनका कारण माथि लेकतिर उत्पादन हुन थालेका छन् । यिनै शीतोष्ण फलफूल तथा सागसब्जी बालीलाई जोगाउन उपल्लो मुस्ताङमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो । उपल्लो मुस्ताङमा केन्द्रको शाखा विस्तार भएमा त्यहाँका किसानलाई ठूलो टेवा पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए । ‘उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न निकै समस्या छ, ढुवानी खर्च पनि महँगो पर्न जान्छ,’ अध्यक्ष विष्टले भने, ‘माथि नै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेकका किसानले सजिलै बिरुवा पाउने अवस्था हुन्छ, यो हामीहरूका लागि अवसर र खुसीको कुरा पनि हो ।’ उपल्लो मुस्ताङमा फार्म स्थापना गर्न पालिका र स्थानीय समुदायले जग्गा प्राप्तिका लागि बागवानी केन्द्रलाई निरन्तर सहजीकरण गरिरहेको बताए । केन्द्रका नाममा जग्गाप्राप्ति प्रक्रिया टुङ्गिनेबित्तिकै कार्यालय स्थापना र फार्म विस्तार गर्ने प्रक्रिया अघि बढाइने बागवानी विकास केन्द्रले जनाएको छ । उपल्लो मुस्ताङको घमीमा फार्मका लागि तीनवटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लक निर्माण गरिने जनाइएको छ । केन्द्रले बर्सेनि किसानलाई पुस र माघमा स्याउलगायतका फलफूलका बिरुवा वितरण गर्ने गर्छ । तर त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले त्यहाँ चैत, वैशाखमा मात्र स्याउका बिरुवा रोपण गर्ने गरिन्छ । उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पुर्याउने केन्द्रको भनाइ छ । उपल्लो मुस्ताङमा ठूलो मात्रामा कृषि क्षेत्र विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको र मुस्ताङलाई अबको सयौँ वर्षसम्म पनि स्याउकै राजधानी भनेर चिनाउनका लागि पनि त्यहाँ स्थापना हुने फार्मले त्यहाँका किसानलाई थप उत्प्रेरित गराउने विश्वास केन्द्रले लिएको छ । करिब ३०/३५ वर्षअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुने गथ्र्यो, तर जलवायु परिवर्तनका कारण अहिले उक्त स्थानमा स्याउखेती हुन छाडेको पनि वर्षौवर्ष भइसकेको छ । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफल उत्पादन हुन थालेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र २०२३ सालमा स्थापना भएको हो । फार्म स्थापनापश्चात मुस्ताङमा व्यावसायिक स्याउखेती प्रारम्भ भएको केन्द्रको भनाइ छ । मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री गर्ने गर्छ । हाल केन्द्रको कुल १९६ रोपनी जग्गा छ । जसमा मार्फामा १७५ रोपनी, घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ । केन्द्रले मार्फामा चारवटा ब्लकमा फलफूलका बिरुवा तथा तरकारी तथा सागसब्जीका बीउ उत्पादन गर्दै आइरहेको छ ।
प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज असार ६ गते अन्तिम दिन रहेको छ । क्यापिटलले जेठ २३ गतेदेखि बिक्री खुला गरेको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा लगानीकर्ताहरुले आजसम्म खरिद गनै पाउनेछन् । क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । स्किमको कुल इकाई आकार ४ करोडका ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको क्यापिटलले जनाएको छ । गानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइनबाटै पनि आवेदन दिन सक्नेछन् ।
काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बसलाई बाढीले बगायो, ३८ जना यात्रुको उद्दार
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए । ‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो,’ प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’ बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरे ।
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ । पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ गते अनुमति दिइएको थियो । झुक्तानी तथा फस्र्यौट ऐन, भुक्तानी तथा फस्र्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन गरेको पाइएकाले ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयानुसार ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै, प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ । यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफल अन्तर्गत छवटा मन्त्रालयको सामूहिकृत रूपमा छलफल हुने कार्यसूची छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।