विकासन्युज

काभ्रेको रोशी खोलामा फसेका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ र ७ को बीच भागमा रहेको रोशी खोलामा फसेका ५ जनाको असार ५ गते सकुशल उद्धार भएको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस पनौतीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भीमसेना केसीको कमाण्डमा खटिएको सुरक्षा फौजसँगै नेपाली सेना र नेपाल प्रहरीसहितको टोलीले उद्धार गरेको हो । ढुंगा संकलन गएका उनीहरू खोलामा पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए । उनीहरूले प्रयोग गर्दै गरेको १ वटा जेसीबी र १ वटा टिपरसमेत फसेको थियो ।

चिनियाँ ईभीको बाढीले ब्राजिलका अटो उद्योग संकटमा

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सवारीसाधन बोक्ने पानीजहाज (जसमा २० वटा फुटबल मैदान बराबरका गाडी अटाउन सक्छन्) गत महिनाको अन्त्यतिर पहिलो यात्रा पूरा गर्दै ब्राजिलको इताजाइ बन्दरगाहमा पुगेको छ। चीनको अग्रणी इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडी निर्माता बाइडी (बीवाईडी) ले ब्राजिलेली ग्राहकलाई तुलनात्मक रूपमा सस्तो मूल्यमा हरित गाडी उपलब्ध गराउँदैछ, यद्यपि यहाँ हरित गाडी प्रवर्द्धन अझै प्रारम्भिक चरणमै छ । ब्राजिलको अटो उद्योगका अधिकारी र श्रमिक नेताहरू चिनियाँ कम्पनीहरूबाट ठूलो मात्रामा आउने गाडीहरूले स्वदेशी उत्पादनलाई पछाडि धकेल्ने र रोजगारीमा हानी पुर्‍याउने चिन्ता व्यक्त गर्छन् । रोयटर्सले शिपिङ तथ्यांक र कम्पनीका बयानहरूका आधारमा गरेको विश्लेषण अनुसार बाइडीले विदेश विस्तार तीव्र बनाउन बढ्दो संख्यामा आफ्नो कार्गो जहाज परिचालन गरेको छ, जसमा ब्राजिल प्रमुख लक्ष्य बनेको छ । मे महिनाको अन्त्यमा आएको यो जहाज यस वर्ष ब्राजिलमा डुंगा लगेको बीवाईडीको चौथो जहाज हो, जसबाट करिब २२ हजार गाडी ल्याइएको छ । बाइडी विश्वकै ठूलो इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडी निर्माता हो र ब्राजिलमा विस्तार गर्ने लक्ष्य राख्ने थुप्रै चिनियाँ ब्रान्डहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ब्राजिलको मुख्य अटो संघका अनुसार चीनमा बनेका गाडीहरूको आयात यस वर्ष झन्डै ४० प्रतिशतले बढेर करिब २ लाख पुग्ने अनुमान गरिएको छ, जसले कुल साना गाडी दर्ताको करिब ८ प्रतिशत हिस्सा ओगट्नेछ । उद्योग र श्रमिक समूहहरू भन्छन्, ‘चीनले ब्राजिलमा अस्थायी रूपमा न्यून ट्यारिफको फाइदा उठाएर कारखाना खोल्नेभन्दा बढी निर्यातमै जोड दिइरहेको छ ।’ उनीहरूले सबै इभी आयातमा लागू हुने ट्यारिफ १० प्रतिशतबाट सिधै ३५ प्रतिशत पु‍र्याउने योजना एक वर्ष अघि सार्न सरकारसँग माग गरिरहेका छन् । इन्डस्ट्रीअल ब्राजिलका अध्यक्ष र मर्सिडिज–बेन्जका उत्पादन श्रमिक आरोआल्डो दा सिल्भाले भने, ‘विश्वका धेरै देशहरूले चिनियाँ गाडीको बाटो बन्द गरे तर ब्राजिलले गरेन । चीनले त्यसको भरपुर फाइदा उठायो ।’ अतिरिक्त उत्पादन ब्राजिल चीनको अटो उद्योगको तीव्र विश्वव्यापी विस्तारको केन्द्र बिन्दु बनेको छ । चिनियाँ कारखानाबाट बढी उत्पादन भएर निर्यात बढेपछि चीन २०२३ मा जापानलाई उछिन्दै विश्वकै ठूलो गाडी निर्यातकर्ता बनेको हो । धेरैजसो अतिरिक्त गाडीहरू युरोप, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकामा पठाइँदै छन् । ब्राजिलमा ठूलो बजार रहेको छ- बजार आकारका आधारमा यो विश्वकै छैठौं ठूलो बजार हो( जहाँ फक्सवागन, जनरल मोटर्स र जिप निर्माता स्टेलान्टिस जस्ता कम्पनीहरूले दशकौंदेखि स्थानीय रूपमा गाडी उत्पादन गर्दै आएका छन् । ब्राजिल सरकारले पनि इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीको बिक्री बढाउन नीति बनाएको छ, जुन बीवाईडीको प्रमुख क्षेत्र हो । यसैबीच, बीवाईडीलाई स्वदेश र विदेश दुवै ठाउँमा विस्तार गर्ने बाटो साँघुरिँदै गएको छ । स्वदेशमा बीवाईडी तीव्र मूल्ययुद्धमा फसेको छ, जसले गर्दा यसको सिगल नामक सस्तो मोडेलको मूल्य १० हजार डलरभन्दा तल झार्नुपरेको छ र नाफा कम भएको छ । विदेशमा युरोपले ४५.३ प्रतिशत शुल्क र अमेरिकाले १०० प्रतिशतभन्दा बढी ट्यारिफ लगाउनुका  साथै चिनियाँ सफ्टवेयर प्रतिबन्ध गरेर कडा व्यापार अवरोध लगाएका छन् । विगतमा ब्राजिलले चिनियाँ गाडी कम्पनीलाई स्वतन्त्र प्रवेशबाट जोगाउन कदम चाले पनि अन्य देशजस्तो छिटो र कडा कारबाही गरेको छैन । २०१५ मा ब्राजिलले इलेक्ट्रिक गाडी प्रवर्द्धन गर्न बीवाईडी जस्ता निर्माता कम्पनीलाई ट्यारिफ छुट दिएको थियो तर गत वर्ष त्यसमा फेरि १० प्रतिशत ट्यारिफ लगाइयो । यो शुल्क हरेक ६ महिनामा बढाउँदै २०२६ सम्ममा ३५ प्रतिशत पुग्ने योजना छ । ब्राजिलको विकास, उद्योग र वैदेशिक व्यापार मन्त्रालयका अनुसार ट्यारिफ चाँडै बढाउने उद्योग संघको मागमाथि समीक्षा भइरहेको छ । बीवाईडी र अन्य चिनियाँ कम्पनीहरूले हाल ब्राजिलमा प्लग(इन हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक गाडीमा करिब १६९ मिलियन डलर र २२६ मिलियन डलरसम्म ट्यारिफ-मुक्त आयात गर्न पाउने नीतिको फाइदा उठाइरहेका छन् । यसले पुरा कोटा सकिनुअघि धेरै गाडी ल्याउन प्रेरणा दिएको विश्लेषकहरू बताउँछन् । आयातको बाढी बीवाईडीको रणनीति स्थानीय अधिकारीको कडा प्रतिरोध बिना निर्यात विस्तार गर्नेमा निर्भर छ । तर ब्राजिलमा उद्योगका प्रतिनिधिहरू बीवाईडीले स्वदेशमै उत्पादन सुरु गर्ने योजना पछि धकेलिएकोमा चिन्तित छन्। २०२३ मा ब्राजिल सरकारले बीवाईडीलाई बाहियास्थित फोर्डको पुरानो कारखाना किनेर उत्पादन सुरु गर्ने योजना स्वागत गरेको थियो । तर निर्माण स्थलमा श्रम शोषणको अनुसन्धानका कारण अब उत्पादन २०२६ को डिसेम्बरसम्म मात्र ‘पूर्ण रूपमा सञ्चालनमा आउने’ स्थानीय अधिकारीहरूले बताएका छन् । अरू चिनियाँ कम्पनी जीडब्लुएमले पनि मर्सिडिज–बेन्जको पुरानो कारखानामा गाडी बनाउन थाल्ने योजना एक वर्षभन्दा बढी पछि सारेको  छ। सरकारले भने यो कारखाना यसै वर्ष सञ्चालन हुने अपेक्षा गरेको छ । ब्राजिलको अटो संघ एएनएफएभीईएका अध्यक्ष इगोर काल्भेटले भने, ‘हामी नयाँ ब्रान्डहरूलाई ब्राजिलमा उत्पादन गर्न, स्थानीय उद्योग बढाउन, रोजगारी सिर्जना गर्न र नयाँ प्रविधि भित्र्याउन स्वागत गर्छौं । तर अत्यधिक आयातले स्वदेशी उत्पादनमा लगानी घटाउँछ भने त्यो हाम्रो लागि चिन्ताको कुरा हो ।’   इन्डस्ट्रीअलका दा सिल्भाले भने, ‘बीवाईडी कारखाना सुरु हुनुभन्दा १८ महिना अगाडि नै स्थानीय आपूर्तिकर्तासँग सम्झौता हुनुपर्ने हो तर अहिले सम्म त्यस्तो केही सुनिएको छैन ।’ ‘कारखाना भए पनि यदि सबै उपकरण, विकास र प्रविधि बाहिरबाट आउँछ भने त्यसले कति मूल्य थप्छ ?,’ उनले थपे । राष्ट्रपति लुला दा सिल्भाको बामपन्थी सरकारले रोजगारी र वातावरण जोगाउने प्रयास गरिरहेको छ । आगामी नोभेम्बरमा कोप ३० विश्वव्यापी जलवायु सम्मेलन आयोजना गर्न लागेको ब्राजिलले आफ्नो हरित छवि बलियो पार्न उद्योग फिर्ता ल्याउन चाहन्छ । तर ब्राजिलको हरित गाडी बजार अझै पनि चिनियाँ आयातमा निर्भर छ । ब्राजिलको ईभी संघ एबीभीईका अनुसार ब्राजिलमा बिक्री हुने इलेक्ट्रिक गाडीमध्ये ८० प्रतिशत चिनियाँ हुन् । ब्राजिलमा लिथियम लगायत ईभी ब्याट्री बनाउन चाहिने खनिज प्रशस्त छन् तर सबै आवश्यक पाटपुर्जा उत्पादन गर्ने पूर्वाधार अझै नभएको जीडब्लुएम ब्राजिलका सरकारी सम्बन्ध निर्देशक र एबीभीईका अध्यक्ष रिकार्डो बास्टोसले भने । जीडब्लुएमले २०२१ मा वार्षिक ५० हजार गाडी उत्पादन क्षमताको कारखाना किनेर यस जुलाईदेखि हवाल एच ६ एसयूभी उत्पादन सुरु गर्ने तयारी गरेको छ । बास्टोसका अनुसार करिब १०० वटा ब्राजिलेली आपूर्तिकर्तासँग सम्झौता गर्न छलफल भइरहेको छ । मस्कको रोबोट्याक्सीमा डेमोक्र्याटको हस्तक्षेप कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित  

पेवेल र सजिलो पेमा ग्राहकको लाखौं रकम होल्ड, फिर्ता पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएपछि लाइसेन्स खारेज गरिएको हो । यी दुई वालेट कम्पनीमा ग्राहकको १५/२० लाख रुपैयाँ बचत रहेको राष्ट्र बैंक स्रोतले बताएकाे छ । उक्त रकम ग्राहकले कहिले पाउँछन् ? कसरी फिर्ता पाउँछन् भनेर चासोका रूपमा हेरिएकाे छ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता किरण पण्डितका अनुसार दुई कम्पनीको सेटलमेन्ट गर्ने काम कुमारी बैंकको थियो । कुमारी बैंकमार्फत ग्राहकहरुको (जसको प्रणालीमा इमोनी) रकम फिर्ता गर्नका लागि एक/दुई दिनभित्रमा सूचना निकाल्ने उनले बताए । ग्राहकले पनि आफ्नो बचत रहेको रकम फिर्ता पाउने गरी कुमारी बैंकमा जानकारी निवेदन दिनुपर्ने र सोही आधारमा फिर्ता हुने उनको भनाइ छ ।  ‘ग्राहकले मेरो इमोनी यति थियो भनेर प्रमाण देखाउनु भयो भने बैंकले सहज रुपमा दिनेछ । तत्कालीन समयको कुन ग्राहकको कति रकम थियो भन्ने तथ्याङ्क कुमारी बैंकसँग छ होला । दुइटै कम्पनीमा पनि छ,’ पण्डितले भने, ‘मेरो यति रकम थियो भनेर ग्राहकले माग्नु भयो भने फिर्ता हुनेछ । कसरी सेटलमेन्ट गर्ने विषयमा कुमारी बैंकले सूचना निकाल्छ ।’  उनका अनुसार व्यापारिक लेनदेन, संस्थागत हिसाब किताब कानुन बमोजिम हुन्छ । अहिलेलाई ग्राहकको इमोनी मात्रै फिर्ता गर्ने हो ।  कुमारी बैंकका सहायक सूचना अधिकारी अर्पण पौडेलले राष्ट्र बैंकको निर्देशन अनुसार वालेटमा रहेको रकम छिट्टै भुक्तानी गर्ने बताए । हालसम्म कुनै निर्देशन आइनसकेको र राष्ट्र बैंकको निर्देशनका आधारमा अघि बढ्ने उनको भनाइ छ ।  यी दुई कम्पनी यसअघि ६१ किलो सुन तस्करीमा मुछिएका थिए । कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब ३ अर्बको कारोबार देखिएको सीआईबीले जानकारी दिएको थियो । त्यतिबेला राष्ट्र बैंकले यी दुई कम्पनीमा रहेका सम्पूर्ण खाताहरू रोक्का गरिएको जानकारी पनि गरेको थियो । यी दुई कम्पनीबाट नै बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको थियो । यी दुई कम्पनीमा आवद्ध केही कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।  

युद्धमा हरेक दिन १०१ अर्ब रुपैयाँ खर्च गर्दै ‍इजरायल, अमेरिकाले सहयोग नगरे मिसाइल रक्षा प्रणाली ठप्प हुने

काठमाडौं । इरान र इजरायलबीच चलिरहेको युद्धमा दुवै देशले पैसा पानी झैं खर्च गरिरहेका छन् । तर सबैभन्दा धेरै खर्च इजरायलले गरिरहेको छ । यसले इजरायलको अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ ।  एक रिपोर्टअनुसार यो युद्धमा इजरायलले हरेक दिन करिब ७२५ मिलियन डलर (करिब १०१ अर्ब रुपैयाँ) सैन्य खर्चमा मात्रै खर्च गरिरहेको छ । यो जानकारी ब्रिगेडियर जनरल (रिजर्भ) रीम अमीनाचले दिएका हुन् । उनी पहिले इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रमुखको वित्तीय सल्लाहकार थिए । सुरुवाती दुई दिनमै ठूलो खर्च वाईनेट न्यूजको रिपोर्टअनुसार अमीनाचले बताएका छन् कि युद्धको पहिलो दुई दिनमै इजरायलले करिब १.४५ अर्ब डलर (१९ हजार करोड रुपैयाँभन्दा बढी) खर्च गरिसकेको छ । यसमा आक्रमण र सुरक्षा दुबै खर्च सामेल छन् । यो रकममध्ये ५०० मिलियन डलरभन्दा बढी बमबारी र जेट इन्धनमा खर्च भएको छ भने बाँकी पैसा मिसाइल रोक्ने प्रणाली र सैनिक परिचालनमा खर्च भएको हो । खर्च अझै बढ्ने अनुमान इजरायलले इरानमाथि गरेको पहिलो आक्रमणमा विमान उडाउन र हतियार प्रयोग गर्न मात्रै ५९३ मिलियन डलर खर्च भयो । बाँकी पैसा मिसाइल रोक्ने सिस्टम र रिजर्भ सैनिक बोलाउन खर्च भयो । अमीनाचका अनुसार यो सीधा खर्च मात्रै हो । अप्रत्यक्ष खर्च, जस्तै जीडीपीमा पर्ने असर अझै गणना भएको छैन । वास्तविक खर्च तब मात्र पत्ता लाग्नेछ जब नागरिक सम्पत्तिमा भएको क्षति र काममा आएको कमीलाई पनि जोडिनेछ । अर्थतन्त्रमा नकारात्मक प्रभाव युद्धका कारण इजरायलको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको छ । वित्त मन्त्रालयले यस वर्षको लागि पहिले नै जीडीपी‍को ४.९ प्रतिशत घाटा हुने प्रक्षेपण गरेको थियो, जुन करिब २७.६ अर्ब डलर बराबर छ । देशको बजेटमा आपतकालीन कोषका लागि केही रकम राखिएको थियो, तर त्यो रकम गाजामा भएको युद्धमा नै सकिएको छ । अहिले इरानसँगको युद्धका लागि छुट्टै व्यवस्था छैन। यस युद्धका कारण २०२५ को लागि विकास दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशतमा झारिएको छ । यसको मतलब इजरायलको अर्थतन्त्र पहिले जति तीव्र गतिमा बढ्ने अपेक्षा थियो, त्यो अब घटेको छ । इजरायललाई सहयोग आवश्यक वाशिंगटन पोस्टको रिपोर्ट अनुसार इजरायलसँग मिसाइल रोक्ने उपकरणको आपूर्ति निकै कम हुँदै गएको छ । विश्लेषकहरूको अनुमान अनुसार यदि अमेरिकाबाट सहयोग नभएमा इजरायलको मिसाइल रक्षा प्रणालीले अब १० देखि १२ दिन मात्रै काम गर्नेछ । त्यसपछि प्रणाली नै ठप्प हुने जोखिम छ । कच्चा तेलको मूल्यमा तीव्र वृद्धि इरान-इजरायल युद्धका कारण कच्चा तेलको मूल्यमा पनि निकै वृद्धि भएको छ । रेटिङ एजेन्सी इक्राका अनुसार १३ जुनमा दुबै देशबीच तनाव बढेपछि कच्चा तेलको मूल्य ६४-६५ डलर प्रति ब्यारेलबाट बढेर ७४-७५ डलर प्रति ब्यारेल पुगेको छ । यसले तेल र ग्यास आयात गर्ने देशका लागि चिन्ता थपिदिएको छ । यदि कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल १० डलरले बढ्यो भने भारतको तेल आयात १३-१४ अर्ब डलरसम्म बढ्न सक्छ । यसले भारतको चालु खाता घाटा (सीएडी) जीडीपीको ०.३ प्रतिशतले बढाउन सक्छ ।

बुटवलका व्यवसायी कृष्ण पौडेलले २ अर्ब लगानीमा खोले ‘फ्रेन्च फ्राई उद्योग’, वार्षिक २ हजार टन उत्पादन

काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा आएको छ।   गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।  काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे ।  आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ ।  १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ ।  प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको पौडेलले बताए । अहिले उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।  उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेण्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे ।  पौडेलले पाँच बिघा जग्गा खरिद गरेर उद्योग सञ्चालन गरेको जानकारी दिएका छन् । उनका अनुसार उद्योग सञ्चालनका लागि मेसिनमा मात्र ४४ करोड रूपैयाँ लगानी भएको छ ।  पौडेल २०५८ सालदेखि बुटवलमा क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिजमार्फत मासुको तयारी परिकार उत्पादन गरी निर्यात गर्ने व्यवयास सञ्चालन गर्दै आएका छन् । 

साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आइएमई पे र खल्ती

काठमाडौं । डिजिटल भुक्तानीसेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती) को एकीकृत कारोबार साउन ४ गतेदेखि गर्ने भएका छन् । आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।  साविकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरूप दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार आईएमई खल्ती लिमिटेडको नामबाट हुने भएको हो ।  दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरू एकीकृत हुने यो कदम नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो । एकीकरणपछि मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ । मर्जरपश्चात् ५० लाखभन्दा बढी प्रयोगकर्ता पुग्ने छन् ।  मर्जरले ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच विस्तार गरी राष्ट्र बैंकको वित्तीय समावेशीकरणको उद्देश्यलाई सहयोग गर्ने विश्वास लिएको छ । भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ । हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ भने आइएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले विसं २०७६ बैशाख २ गते पाएको हो । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदीसहित अन्य ३ जनाको लगानी रहेको छ ।

दुर्लभ खनिज चुम्बक निर्यातमा चीनको कडा अंकुश : पाँच वर्षमा सबैभन्दा न्यून स्तर

काठमाडौं । चीनको दुर्लभ खनिज चुम्बकको विदेशी निर्यात मे महिनामा अप्रिलको तुलनामा आधा घटेर पाँच वर्षभन्दा बढीको न्यूनतम स्तरमा झरेको छ । जसको कारण निर्यात प्रतिबन्ध हो । बेइजिङले यस महिना आफ्नो अनुमोदन प्रक्रिया छिटो पार्ने जनाएको छ, जुन अमेरिकासँगको व्यापार तनाव कम गर्ने सहमतिको एक भागका रूपमा आएको छ । यद्यपि उद्योग स्रोतहरूका अनुसार हाल चिनियाँ भन्सार अधिकारीहरू दुर्लभ खनिज मालसामान प्रशोधन गर्नमा झनै सतर्क भएका छन् । स्रोतका अनुसार विशेष गरी दुर्लभ खनिज चुम्बकका हकमा अझ बढी समस्या देखिएको छ किनकि विभिन्न रासायनिक संरचना भएका चुम्बकहरूका लागि एउटै कोड मात्र छ । ती स्रोतहरूले मिडियामा बोल्न अधिकार नपाएकोले नाम गोप्य राखेका छन् । विश्वको सबैभन्दा ठूलो दुर्लभ खनिज चुम्बक उत्पादक चीनले विश्व आपूर्तिको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । चीनले अप्रिलको सुरुमा सात प्रकारका मध्यमदेखि भारी दुर्लभ खनिज उत्पादन र केही चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसले विश्वभरको अटो, एरोस्पेस, सेमिकन्डक्टर र सैन्य उपकरण क्षेत्रका आपूर्ति श्रृंखलालाई प्रभावित पारेको छ । गत महिना चीनले १ हजार २३८ मेट्रिक टन दुर्लभ खनिज स्थायी चुम्बकहरू विदेश पठाएको भन्सार प्रशासनको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ । यो अप्रिलको तुलनामा ५२.९ प्रतिशतले घटेको हो र फेब्रुअरी २०२० पछि एक महिनामा सबैभन्दा कम हो। अप्रिलको निर्यात पनि मार्चको तुलनामा आधा घटेको थियो । वार्षिक आधारमा हेर्दा मे महिनाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ७४ प्रतिशतले घटेको छ । स्रोतहरूले यसअघि पनि खुलासा गरेका छन् कि भन्सारले घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही कम क्षमताका दुर्लभ खनिज चुम्बकहरूको निर्यात रोकिदिएको छ किनकि बेइजिङको नयाँ प्रतिबन्ध कसरी लागू गर्ने भन्नेमा अन्योलता छ । चीनको वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ कि ‘कसै-कसैको’ दुर्लभ खनिज निर्यात अनुमति आवेदन स्वीकृत गरिएको छ तर थप विवरण सार्वजनिक गरिएको छैन । चीनका दुर्लभ खनिज चुम्बक उत्पादकहरू जेएल म्याग रेर अर्थ र इन्नुभो टेक्नोलोजीले हालै केही ग्राहकहरूका लागि केही निर्यात अनुमतिपत्र प्राप्त भएको बताएका छन् । जनवरीदेखि मेसम्म दुर्लभ खनिज चुम्बकहरूको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले घटेर १९ हजार १३२ टन पुगेको छ, जुन सन् २०२१ पछि सो अवधिमा सबैभन्दा कम हो । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई    

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबिच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।  आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने छ ।   ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।