विकासन्युज

प्रधानमन्त्री ओली स्वदेश फर्किँदै,  कतारको दोहा प्रस्थान

काठमाडौं । विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् ।  सूचना तथा प्रसारण विभागले आज अपरान्ह ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।  स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुई पक्षीय भेटवार्ता भएको थियो ।  यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।  प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो । विकास सहायतामा नयाँ सोच सम्बधी उच्चस्तरीय छलफलका अलावा अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए । केहीबेर अघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका हुन् । 

कोशी, वाग्मती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती  र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

७७९ जनालाई भरतपुर महानगरको सीपमूलक तालिम

चितवन । भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो ।    तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे ।  महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर महानगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।   उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।   उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी बर्सेनि यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए ।  चालु आर्थिक वर्षका लागि सीप विकास कार्यक्रममा एक करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट एक हजार ७०० जनालाई तालिम दिइएको उनको भनाइ थियो ।   प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाइने बताए । कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

‘नाडा अटो शो- २०२५’ को स्टल बाँडफाँट सम्पन्न

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।  शोका लागि आवश्यक पर्ने स्टल बाँडफाँटको काम सम्पन्न भएसँगै यसको औपचारिक तयारी सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नाडाले जनाएको छ । स्टल बाँडफाँट कार्यक्रममा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटो सामग्री र उपकरणका क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।  यस वर्षको प्रदर्शनीमा प्रविधि, नवप्रवर्तन र दिगोपनालाई विशेष प्राथमिकतामा राखेको नाडाले दावी गरेको छ। नाडाका अनुसार चारपाङ्ग्रे सवारीतर्फ १८, हल्का व्यावसायिक सवारीतर्फ १३, दुईपाङ्ग्रेतर्फ ४ तथा सामग्री र उपकरणतर्फ ४० भन्दा बढी ब्राण्डहरूको सहभागिता रहनेछ । चारपाङ्ग्रे (१८ स्टल) डीपल, अवटार, डोङ्फेङ, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयन भी, एक्सपेङ, रिड्डारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्ल्यू ब्रम्बी, जेवाई एयर, हाभाल, एलएस अटो र जिनपेङ प्रर्दशनीमा राखिनेछन् ।  दुईपाङ्ग्रेतर्फ हिरो, रोयल इनफिल्ड, जोन्सन र यामाहा प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।  हल्का व्यावसायिक सवारी (१३ स्टल) न्यु गोनाओ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकन, सीजी केवाईसीरकिङलङ, मोन्ट्रा, स्काइवर्थ, कैनिउ, कावेईरनावेको र सनलङको सहभागीता रहनेछ ।  सामग्री तथा उपकरण (४० स्टल) एसियन, गल्फ, डकह्याम्स, म्याक्सशाइन, मिश्लिन, लिक्वी मोली, सिएट टायर, जेकेरगुड टायर, टाटा ग्रीन, टोटल एनर्जिज, स्टड्सरएसएमके लगायतका प्रमुख ब्राण्डहरू रहेका छन् ।  यसपटकको अटो शोमा केही नयाँ आकर्षणहरू पनि थपिने नाडाले बताएको छ । ‘मेड इन नेपाल’ पेभिलियन, पुराना गाडीहरूको प्रदर्शनी (भिन्टेज कार पेभिलियन) र अटो क्षेत्रका विविध विषयमा छलफल गरिने ‘अटो डाइलग्स क्याफे’ प्रमुख आकर्षणका रूपमा रहनेछन् । सन् १९९८ देखि आयोजना हुँदै आएको नाडा अटो शो नेपाली अटोमोटिभ क्षेत्रको सबैभन्दा प्रतिष्ठित प्रदर्शनी मानिन्छ । यस वर्षको प्रदर्शनीलाई एमएडब्लू समूहले प्रायोजन गरेको छ ।

गरिमा विकास बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट सीईओ निलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।  एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै गरिमा विकास बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।  एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।  एनपीएस-एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइँमा पुर्‍याउने अपेक्षा गरिएको छ ।  गरिमा विकास बैंकले देशभरि रहेका १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएम टर्मिनल मार्फत ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।   

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

काठमाडौं । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गै कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । सो कम्पनीको शाखाका रूपमा काठमाडौं महानगरपालिका–१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूको साथबाट स्रोत नखुलेको रु १३ लाख ९९ हजार ९५०, ल्यापटप सात थान र मोबाइल ५४ थानसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।  पक्राउमध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  

सिटिजन्स बैंकले हुम्लाको आगलागी पीडितलाई वितरण गर्‍यो खाद्यान्न र लत्ता कपडा

काठमाडौं । सिटिजन्स बैंकले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३, उनापानीमा असार १ गतेको आगलागीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । आगलागीका कारण घरबारविहीन भएका आठ परिवारलाई तत्काल आवश्यक सहयोगस्वरूप बैंकले चामल, दाल, आलु, तेल, पिठो, कुकर, डाडु लगायतका खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । बैंकले यो सहयोगबाट पीडितहरुको दैनिकी केही हदसम्म सहज हुने विश्वास व्यक्त गरेको छ । राहत वितरण कार्यक्रममा बैंकको कर्णाली प्रदेशस्थित सर्केगाड शाखाका प्रमुख, अन्य कर्मचारी, स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको उपस्थिति रहेको थियो । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोग गर्दै आएको जनाएको छ ।

‘एलईभी-०१’ को अल ह्वील ड्राइभ मोडल तयार, अर्को महिना नेपालमा सार्वजनिक हुने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडेल ‘एलईभी-०१’को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । कम्पनीले यसलाई एलईभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको हो । नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलईभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लन्च गर्ने जानकारी दियो । नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार एलईभी- एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ ।  साथै ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ । एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो ।  सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ । नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा एलईभी-०५ समेत लन्च गर्ने योजना बनाएको छ । एलईभी-०५ नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।