विकासन्युज

इरानको जेलबाट पाँच नेपाली थुनामुक्त, स्वेदश फिर्ता

काठमाडौं ।  इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्किएका छन् । उनीहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत  र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनप्रति धन्यवाद ज्ञापन गरेको छ । इजरायल र इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ का दिन दुवै पक्षबीच युद्धविराम भए पश्चात शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ ।  उक्त अवधिभित्र दुवै मुलुकमा रहेका नेपालीहरुको हकहित र सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो । साथै आवश्यक परेको बखत आपतकालीन उद्धारका लागि विवरण सङ्कलन गरिएको थियो । द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै  ‘अपरेसन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन चरणमा नौ जना नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी भारत हुँदै निजहरु सबै जना स्थलमार्गबाट सकुशल आआफ्नो घर फिर्ता भइसकेका छन् ।  

सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् । महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताए ।    उनले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित देशको तराई-मधेस, पहाड, हिमाल सबै क्षेत्रलाई समेटेर विकास निर्माणसहित देश र जनताका पक्षमा काम गरिरहेको स्पष्ट पारे ।  प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासहित विकास र सुशासनका लागि बनेको वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, सडकलगायत आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई विशेष प्राथमिकता दिएसँगै विकास निर्माणका काम द्रुतगतिमा अघि बढी उल्लेखनीय उपलब्धि हासिल भएको बताए ।  एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म दुई ठूला राजनीतिक दल सम्मिलित सरकारको विकल्प नरहेको स्पष्ट पारे ।  उनले महोत्तरीको मटिहानीको विग्ही नदीमा बनेको पुल उद्घाटन भएसँगै यस क्षेत्रका जनतालाई जनकपुरसँग जोड्न तथा स्थानीय व्यापार व्यवसाय, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य सबै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे ।  कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत वक्ताले मधेस प्रदेशमा रहेको पानीको समस्या दिगो रुपमा समाधान गर्न संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए । उनीहरूले तीनै तहको सरकार, राजनीतिक पार्टी, नागरिक समाज र स्थानीय जनताकोसमेत साथ, सहयोग र समन्वयमा मधेस प्रदेशका समग्र समस्या समाधानका पक्षमा आआफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् । शुक्रबार सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान बहुलवादमा आधारित रहेकाले बदलिँदो समयको मागअनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गरे। उनले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित छ । संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन् । राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नुपर्छ भन्ने धारणा छ । त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ ।’ सभापति देउवाले देशमा चुनावका बेला नेपाल कम्युनिष्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहार र तहमा सबै प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको जानकारी गराए ।  सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय शास्त्रीको कांग्रेस पार्टी देश र नागरिकका लागि निकै उल्लेख्य योगदान भएको भन्दै सभापति देउवाले उनको प्रशंसासमेत गरे ।  त्यसैगरी कार्यक्रममा राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले अध्यक्ष स्व शास्त्रीले गर्नुभएका योगदानहरूको स्मरण गर्दै उनको खुलेरै प्रशंसा गरेका थिए ।  शास्त्रीले जीवनभर कांग्रेसको सुदृढीकरण, लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदान उल्लेखनीय रहेको उनीहरूको भनाइ थियो ।   

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काठमाडौं ।  राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी र करछलीविरुद्ध फेरि ठूलो कारबाही गरेको छ । कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बुटवलका स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरण प्रस्तुत गरी ठूलो परिमाणमा करछली गरेको पाइएको हो ।  राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० बमोजिम दर्ता गरिएको अभियोगपत्र अनुसार अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराको नाममा भारतबाट आयात गरिएका वस्तुहरू आन्तरिक बजारमा वास्तविक विवरण लुकाएर बिक्री गरेको पाइएको छ । अनुसन्धान अनुसार कम्पनीले करिब ९ करोड ९९ लाख ८९ हजार ८ सय ४१ रुपैयाँ बराबरको कारोबारमा कर छल्न खोजेको थियो । वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमा लाग्ने कर मात्रै ४ करोड ८३ लाख २५ हजार ८ सय ८६ रुपैयाँ रहेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । बिगो तथा जरिवानासहित उक्त सम्पूर्ण रकम असुलउपर गर्नका लागि तथा दोषीमाथि कैद सजायको माग गर्दै राजस्व विभागले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका सबै प्रकारका कर समावेश छन् ।  राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार अवैध व्यापार, तस्करी र करछलीमा संलग्न समूहहरूको खोजी, निगरानी तथा कारबाहीका लागि विशेष अभियान चलाइएको छ ।  ‘राजस्व सुरक्षाका लागि हाम्रो टोली निरन्तर सक्रिय छ, यस्ता कारबाहीहरू आगामी दिनमा अझ तीव्र पारिनेछ,’ घिमिरेले भने ।

भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले थाइ महोत्सव आयोजना गरेको छ । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सवको आयोजना भएको हो ।  शुक्रबार बिहान परराष्ट्रमन्त्री आरजू राणा देउवाले महोत्सवको उद्घाटन गरिन् । उनले नेपाल र थाइल्यान्डबीचको सम्बन्धका बारेमा प्रष्ट पारेकी थिइन् ।  भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले महोत्सवले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।  थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नसहित श्रीलंका, दक्षिण कोरिया र इजरायलका राजदूतसहित विदेशी कूटनीतिज्ञको उपस्थिति थियो ।  

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबरको सामान आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड छ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा २ अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात गरिएको हो ।  मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उनले पेट्रोलियम पदार्थ  १९ अर्ब ९४ करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ४५ करोड बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिए ।  गत आवमा आयात र निर्यातमा सामान्य वृद्धि भएको भन्सार अधिकृत हुमागाईंले बताए । उनका अनुसार आयातमा छ दशमलव ५८ प्रतिशत अर्थात् रु दुई अर्ब ९३ करोडले वृद्धि हुँदा निर्यात भने दुई दशमलव ९६ प्रतिशत अर्थात् ७२ करोड २७ लाखले बढेको छ । गत वर्ष यो नाका हुँदै २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईंले जानकारी दिए । आव २०८०/८१ मा २४ अर्ब ४१ करोड ७० लाख मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् । 

म एमालेमै छु, कसैकाे इच्छाले मेरो सदस्यता खारेज हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा एमालेमै रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले सदस्यता नवीकरण गरिसकेको र अहिले पनि एमालेमै रहेको बताएकी हुन् । उनले अब आफू राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन् । आफूले विधिपूर्वक नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी हुन् ।  ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ, अहिले पनि एमालेमै छु, कसैको इच्छाअनुसार पार्टी चल्दैन, विधानले चल्छ,’ उनले भनिन् । उनले आफूलाई कुनै पदको महत्वाकांक्षा र आशक्ति नभएको पनि बताएकी छन् । ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले विधिको शासन संविधानको सर्वोच्चततालाई स्विकारेकोले जवज मान्ने दलले व्यक्तिको संवैधानिक अधिकार खोस्न नहुने विद्याको तर्क रहेको छ।  

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको 'दक्षिण एसियाको सर्वश्रेष्ठ वितरक' उपाधि

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसीभी) भोल्भो आइसर कमर्सियल भेहिकल (भीईसीभी) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित सर्वश्रेष्ठ वितरक दक्षिण एसिया पुरस्कारबाट सम्मानित भएको छ। १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा आयोजित सम्मेलनमा यो पुरस्कार भीईसीभीका एमडी तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद अग्रवालले प्रदान गरेका थिए । हेमन्त पुराणिक र शान्ता राजबतासले उक्त पुरस्कार ग्रहण गरे । दक्षिण एसिया भीईसीभीको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु बीएमसीभीको लागि  एउटा ऐतिहासिक उपलब्धि हो ।  बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरूको गहन मूल्याङ्कनको आधारमा भीईसीभीका १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो ।