बीवाईडी सिलायन ७ को बिक्री सुरु, अर्ली बर्ड अफरमा २ लाख सस्तो
काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीको औपचारिक बिक्री सुरु गरेको छ । यो मोडल गत वर्षको नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको भए पनि अब मात्र यसको व्यावसायिक रूपमा बजारमा प्रवेश भएको हो । सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने, अर्ली बर्ड अफर अन्तर्गत २ लाख छुट दिँदै कम्पनीले हाल ७२ लाख ९९ हजारमा बिक्री शुरू गरेको हो । यस एसयूभीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक राखिएको छ, जसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ । बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित यो गाडीमा बीवाईडी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, सेल–टु–बडी प्रविधि, प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन सस्पेन्सन, ३६० डिग्री प्यानोरामिक भ्यु, भेइकल टु लोड लगायतका अत्याधुनिक फिचरहरू दिइएका छन् । डिजाइनका हिसाबले, सिलायन ७ मा सिल आकारको हेडलाइट, क्लोज अफ ग्रिल, १९ र २० इन्चका ड्युअल टोन अलोय ह्विल, फ्लश टाइप डोर ह्यान्डल र एलईडी टेललाइट सहितको एग्रेसिभ स्पोर्टी लुक दिइएको छ। स्टोरेजको हिसाबले यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १७८९ लिटरसम्म विस्तार गर्न सकिन्छ । यसको इन्टेरियरमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हिटेड र भेन्टिलेटेड सिट, ५० वाट वायरलेस चार्जर, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लास रूफ लगायतका प्रिमियम फिचरहरू समावेश छन् । सुरक्षाको लागि, गाडीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल तथा रियर कोलिजन वार्निङ सुविधा पनि उपलब्ध गराइएको छ । एसयूभीले नेपाली बजारमा प्रिमियम ईभीको अनुभवमा नयाँ उचाइ ल्याउनेछ र दिगो मोबिलिटीतर्फको यात्रामा थप गति प्रदान गर्ने साइमेक्स इंकको विश्वास छ ।
पार्वती बनिन् एनसेल करोडपति
काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, 'अब भने साँच्चै हाम्रो पनि दिन आयो !' कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठुलो सङ्घर्ष गरेकी छन्, धेरै गुमाएकी छन् । उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् । विसं २०७२ सालको भूँइचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन । भूँइचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिसोलिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टुमा अध्ययनरत छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । 'मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु', उनले भनिन् । श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौँमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन् । 'अहिले पनि श्रीमान् विदेश जाँदाको र अरू ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ', उनले सुनाइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । 'सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,' एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने । 'सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौँ । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौँ ।'
रिडारा आरडी ६ अब ९ लाख ९९ हजार डाउन पेमेन्टमै पाइने
काठमाडौं । सीजी मोटर्सले नेपालमा ल्याएको इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ अब केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, भरपर्दो र सुविधा सम्पन्न बनाउने उद्देश्यसहित कम्पनीले यो विशेष योजना ल्याएको हो । अफर अन्तर्गत ग्राहकले आकर्षक क्यास ब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस समेत प्राप्त गर्न सक्नेछन् । रिडारा आरडी ६ मा ६३ किलोवाट आवरको ब्याट्री प्याक र २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३८५ एनएम टर्क दिने क्षमता राख्छ। फुल चार्जमा यो गाडीले ३७७ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । गाडी गिलीको एमएपी प्लेटफर्ममा आधारित छ, जसमा इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। यसले नेपाली सडकमा आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ । कम्पनीका अनुसार यस पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भेहिकल टु लोड सुविधा छ, जसले गाडीबाट अन्य उपकरण चार्ज गर्न सकिने बनाउँछ । साथै, गाडीमा कम्फर्ट, इकोनोमी र अफ रोड गरी तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलको मजबुत बडी प्रयोग गरिएको छ । चार्जिङ र सर्भिसको पहुँचलाई ध्यानमा राख्दै सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याइसकेको छ । यो अफरले ग्राहकलाई विद्युतीय सवारी अपनाउन थप प्रेरित गर्नेछ र देशको ईभी क्रान्तिमा नयाँ उचाइ थप्ने कम्पनीको विश्वास छ ।
नाईमा एक्सपोमा फरथिङ एसयूभीको प्रदर्शन हुने
काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चिनियाँ उदीयमान इलेक्ट्रिक गाडी ब्रान्ड फरथिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने 'नाईमा नेपाल मोबिलिटी एक्सपो २०२५' मार्फत फरथिङ ब्रान्डको पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । सन् १९७३ देखि व्यापारिक गतिविधिमा सक्रिय लक्ष्मी ग्रुपले हुन्डाई, बिएमडब्लु, केई, एसएमएल लगायतका अन्तर्राष्ट्रिय ब्रान्डमार्फत नेपाली अटोमोबाइल बजारमा सशक्त उपस्थिति बनाउँदै आएको छ । समूहले हालै नेपालकै पहिलो फोर–ह्वीलर गाडी एसेम्ब्ली प्लान्ट 'लक्ष्मी मोटर कर्पोरेशन' पनि सञ्चालनमा ल्याइसकेको छ, जसले अटोमोबाइल क्षेत्रको औद्योगिकीकरणमा मील का पत्थर राखेको छ । नेपालभर ६३ भन्दा बढी री–ल्याक्स रिचार्ज नेटवर्क र रिपेयर स्टेसन स्थापना गरी लक्ष्मी समूहले ईभी प्रयोगकर्ताहरूलाई थप सहज बनाएको छ । फरथिङको प्रिमियम एसयूभीमा ६४.४ किलोवाट–आवरको ब्याट्री, ९९ किलोवाटको पावर मोटर, र ४०० किलोमिटरभन्दा बढी माइलेज क्षमतासहित उच्च प्रदर्शन, आधुनिक डिजाइन र स्मार्ट इन्टेरियर सुविधाहरू समावेश गरिएको छ । यो सहर भित्रको दैनिकीदेखि लामो दूरीका यात्रासम्म उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ । 'फरथिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको दृष्टिकोण हो,' लक्ष्मी ई–मोबिलिटीका प्रवक्ताले बताए । उनले थपे, 'नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि सुलभ बनाउने लक्ष्यसहित हामी फरथिङ ब्रान्ड ल्याउँदैछौं ।' नेपालको इलेक्ट्रिक गाडी बजारमा गति र गुणस्तरको नयाँ अध्याय सुरु गर्न तयारी अवस्थामा रहेको फरथिङ ब्रान्डले आगामी दिनमा ईभी प्रविधिमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिलाई मोरङ संघद्वारा स्वागत, औद्योगिक सहकार्यमा जोड
काठमाडौं । मोरङ उद्योग व्यापार संघले शुक्रबार आयोजित कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत गर्दै औपचारिक भेटघाट गरेको छ । कार्यक्रममा मोरङ संघका अध्यक्ष अनुपम राठीले दुई जिल्लाबीचको औद्योगिक सहकार्य बलियो बनाउँदै मोरङ–सुनसरी औद्योगिक कोरिडोरको हकहित र संरक्षणमा संयुक्त पहलको आवश्यकता औंल्याए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले औद्योगिक विकासको गति सुस्त रहेको र युवाहरुको वैदेशिक पलायन रोक्न संघहरूको संयुक्त प्रयास अपरिहार्य रहेको बताए । कार्यक्रममा दुवै संघका पदाधिकारीहरूले आपसी सहकार्य, उद्योगप्रति राज्यको ध्यानाकर्षण, भारतीय कामदार दर्ता र एमआरपी व्यवस्थापनका विषयमा साझा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सुनसरी संघका अध्यक्ष गोपाल श्रेष्ठले मोरङ संघलाई ‘औद्योगिक अभिभावक’ को रूपमा सम्मान गर्दै भविष्यमा पनि समस्याको समाधानमा ऐक्यवद्धताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
इन्जिनियरिङमा स्नातकोत्तरको डिग्री कसरी हासिल गर्ने ?
काठमाडौं । पछिल्लो समय स्नातक तहसम्मको अध्ययन सामान्य भइसकेको छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ । इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेको छ । ललितपुरको प्रयागपोखरीमा रहेको नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालको माटो, भूगोल तथा अन्तराष्ट्रिय बजारको माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएको नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह(प्राध्यापक रोवर्ट डंगोलको दावी छ । ‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुकको आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारको मागलाइ समेत संवोधन गर्न सकेको छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन्,’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगोल भन्छन् । स्नातक तहको अध्ययनले एउटा फाउन्डेशन बनाएपनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकोत्तर तह अध्ययन गर्नै पर्ने उनको भनाइ छ । ‘ब्याचलर्स प्रोगामले एउटा फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ,’ डंगोल भन्छन् । स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लो समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकोत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेको कार्यवाहक निर्देशक डंगोल बताउँछन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ । साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलो आकर्षण छ । काम गर्दै स्नातकोत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ । सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ । प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, सोध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजको विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकोत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, सोध र अनुसन्धानलाई प्राथमिकता दिएका छौं । खानेपानी, हाइड्रोपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयोगात्मक अध्ययन विधिहरू अपनाउँछौं भने, हामी विद्यार्थीहरूलाई फेलोसिप समेत दिन्छौं,’ कार्यक्रम निर्देशक डंगोल भन्छन् । उद्योग र शिक्षालाई जोड्दै बजारको अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएको छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छौं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छौं, भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बोलाउने, बोलाउने, डाइरेक्ट इन्डष्ट्रीमा लैजाने गर्दछौं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छौं ।’ रिसर्च वेसको अध्ययनले विद्यार्थीहरूको सिकाई बलियो हुने सह-प्राध्यापक डंगोलको भनाइ छ । त्यसो त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको कलेजको दावी छ । प्रतिष्पर्धी बजारमा स्नातकोत्तर (मास्टर्स) नहुँदा भनेजस्तो अवसरहरू प्राप्त गर्न नसकिने भएकोले स्नातकोत्तर तहको शिक्षा अपरिहार्य रहेको सह-प्राध्यापक डंगोलको भनाई छ ।
एनआरएनए नर्वेमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको उपाध्यक्ष पदका लागि सदस्य हरिकृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । विगत दुई वर्षदेखि एनसीसी नर्वेमा सदस्यका रूपमा सक्रिय रहेका काउबोयले संस्थामा पारदर्शिता, विधानको सम्मान र सदस्यप्रतिको उत्तरदायित्वलाई आफ्नो कार्यको मूलमन्त्र बनाएको उल्लेख गरेका छन् । 'मेरो सेवा यात्रा साधारण सुरुवातबाट सुरू भए पनि मैले सधैं संस्थाको विधि र सदस्यहरूको हितलाई केन्द्रमा राखें,' उनले भने । अब उपाध्यक्ष पदमा उम्मेदवारी दिनुको कारण स्पष्ट पार्दै उनले भने, 'संस्थालाई अझ बढी उत्तरदायी, समावेशी र विश्वासिलो नेतृत्व आवश्यक छ भन्ने महसुसले मलाई यो निर्णयमा पुर्यायो ।' उनले आगामी कार्यकालमा संस्थाको पारदर्शिता, सदस्यहरूको सहभागिता र नीतिगत सुदृढीकरणमा जोड दिने बताएका छन् ।
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
गण्डकी। पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इञ्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । एक सय पाँचवटा कल्भर्टमध्ये एक सय तीनवटा निर्माण भइसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छभने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इञ्जिनियर कुँवरले बताए । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इञ्जिनियर कुँवरले बताए । केबल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने भएका हुन् । भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको लाइफलाइनका रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । रासस