७ वर्ष बित्दा पनि निर्मला हत्याको अपराधी पत्ता लगाउन सकेन, प्रहरीको सबैभन्दा बढी खर्च
काठमाडौं । भीमदत्त नगरपालिका-२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुक भर आन्दोलन समेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टा छुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए । ‘अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डिएनए परीक्षण भएको छ भने ६५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ,’ उनले भने, ‘सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।’ घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका-१९ बागफाटाका दिलीप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्र रुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।
राष्ट्रिय सभामा पर्यटन विधेयकमा छलफल हुने, आजै ५ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपरान्ह १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ । चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ । यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गरेका छन् । चीनको साङ्घाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरे । सञ्चारमन्त्री गुरुङले भने, 'एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तरराष्ट्रिय सहयोगको अपेक्षा छ ।' सम्मेलनअन्तर्गत विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकमा उनले पारदर्शीता, समावेशिता, जवाफदेहिता र एआईको गैर–सैनिकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घ नेतृत्वको चार्टर्डलाई समर्थन गर्ने बताए । 'एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्दछौँ', उनले भने । मन्त्री गुरुङले एआईको विकासका लागि नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित रहेको बताए । उनले नेपाल डिजिटल छलाङको सीमामा उभिएको र यससम्बन्धी नीति अन्तरम चरणमा रहेको उल्लेख गर्दै उक्त नीतिले राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक ‘एआई इकोसिस्टम’को परिकल्पना गरेको बताए । मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै भने,'नेपालले अन्तरराष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशमा नवप्रवर्तन हबहरू सुरु गर्नेछ । शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने हाम्रो लक्ष्य छ ।' यसैगरी उनले नेपालले एआई विलासिता नभई रुपान्तरणका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 'हाम्रा लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो । हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधलाई नाघेर अगाडि बढ्न सकियोस् । प्रविधिमार्फत सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्', मन्त्री गुरुङको भनाइ थियो,'मानवताबिना प्रविधि अराजकता हो, नैतिकताबिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्नुपर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याउँछ । हामी सबै राष्ट्रहरूलाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौं ।' उनले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानवजातिको उत्थानमा एआईको प्रयोग सुनिश्चित गर्नु साझा चुनौती भएको उल्लेख गर्दै यसमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
सुक्खा आँखाको समस्या बढ्दो, ‘ब्रेक’ लिएर ल्यापटपको प्रयोग गर्न सुझाव
काठमाडौं । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएकी छन् । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन उनको सुझाव छ । उनका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो वाष्प भएर हराउनु भन्ने बुझिन्छ । यस्तो अवस्थामा आँखामा पोल्ने, बालुवा परेको जस्तो बिझाउने, चिलाउने, रातो हुने र धमिलो देखिने लक्षण देखा पर्न सक्छन् । ‘धुवाँ, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा पनि सुक्खा आँखाको सम्भावना बढ्छ । यसैगरी, धुम्रपान गर्नेलाई पनि यो समस्याले सताउन सक्छ । मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता प्रविधिको अत्यधिक प्रयोग गर्दा आँखा झिम्क्याउने दर कम हुन्छ, जसले आँसु छिटो सुकाउँछ’, डा खनालले भनिन् । उनले मोबाइल, कम्प्युटर, ल्यापटपको प्रयोग गर्दा हरेक २०–२५ मिनेटमा रोकिएर (‘ब्रेक’ लिएर), केहीबेर टाढा हेर्ने र कम्तीमा २०–२५ पटक आँखा झिम्क्याउने बानी बसाल्न सुझाव दिइन् । उनले भनिन्, ‘मोबाइलमा गेम खेल्दा एकदमै ध्यान एकत्रित हुँदा आँखा झिम्क्याउन बिर्सिरहेका हुन्छौँ । आँखामा बढी तनाब पर्ने काम गर्यौं र लामो समयसम्म आँखा झिम्क्याउन बिर्सियौँ भने हाम्रो आँखा सुक्खा हुन्छ । त्यसैले ब्रेक लिनुपर्छ ।’ समस्या देखिएमा ‘लुब्रिकेटिङ’ आँखा ‘ड्रप्स’को प्रयोग गर्न सकिन्छ । यो समस्या लिएर आउने अधिकांश बिरामी सामान्यदेखि मध्यम लक्षणसहित आउने डा खनालको भनाइ छ । कहिलेकाहीँ सुक्खा आँखा शरीरका अन्य रोगजस्तै बाथरोग, थाइराइड समस्या वा केही प्रकारका ‘हर्मोन सप्लिमेन्ट’का कारण पनि हुन सक्ने भएकाले यस्तो अवस्थामा केवल ड्रप्स प्रयोग पर्याप्त नहुने बताउँदै उनले विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आवश्यक हुने डा खनालले उल्लेख गरिन् । ‘सुक्खा आँखा देखिएपछि आत्तिनु पर्दैन तर लापरबाही गर्नु हुँदैन । समस्या बढेमा लुब्रिकेटिङ ड्रप्स प्रयोग गर्नुपर्छ, अनि सुधार नआएमा आँखाको विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ’, उनको सुझाव छ ।
बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह
नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरेका छ । पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे । उनले भने, 'यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रुपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।' जिल्ला अस्पतालका रुपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमी नहुने उनको भनाइ थियो ।
‘विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य’
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् । शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए । एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए । केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रचार विभाग प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको बताए । कार्यक्रमका सभापति एवं नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले पूर्वराष्ट्रपति भण्डारीको पुनारागमनले राजनीतिमा तरङ्ग ल्याएको बताए ।
विद्युतीय फोहर तीनगुना बढ्यो, कानुनको अभावमा फोहर व्यवस्थापनमा समस्या
काठमाडौं । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ । उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ । कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनःप्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरुको भनाइ छ । विद्युतीय फोहरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानुनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् । नेपालमा यस विषयमा बहस सुरु भए पनि त्यसले कानुनीस्वरुप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताए । हालसम्म आफूखुसी यस्ता कार्यक्रम गरिए पनि कानुनी प्रावधानसहितको आवश्यक प्रबन्ध मिलाउने दायित्व सरकारको भएको उनको भनाइ छ । संस्थाले पोखरामासमेत अभियान सञ्चालन गरेको छ । डोकोले फोहर सङ्कलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीस्थित प्रशोधन केन्द्रबाट विद्युतीय फोहर छुट्याएर व्यवस्थापन गर्दै आएको छ । ती फोहरबाट आम्दानीसमेत गरिएको छ । विसं २०७४ देखि विद्युतीय फोहर सङ्कलन गर्दै आएको उक्त संस्थाले वातावरण संरक्षणमा हानिनोक्सानी नपुग्ने गरी फोहर विसर्जन गर्दै आएको छ । विद्युतीय फोहर प्रतिकिलो रु १५ का दरले सङ्कलन गरी पुनःप्रयोग गर्न सकिनेलाई उद्योगमै पठाउने गरिएको छ । सो संस्थाले सन् २०१३ मा काठमाडौं उपत्यकाबाट ३५० टन विद्युतीय फोहर सङ्कलन र प्रशोधन तथा एक हजार ६०० टन काजग, सिसा, फलामजस्ता फोहर व्यवस्थापन गरेको जनाएको छ। त्यसबाट ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहर रहेकामा हाल वृद्धि भइ ४२ हजार टनसम्म पुगेको संस्थाको अनुमान छ । ‘यो औपचारिक रेकर्डसहितको तथ्याङ्क हो । दश वर्षमा तीन गुणासम्म फोहर बढिरहेको छ। अहिले मूल्यवान कबाडीजन्य सामग्री मात्र सङ्कलन गरी लैजाने गरिएकामा सबै फोहर उत्पादन कम्पनीले लैजाने व्यवस्था मिलाउनुपर्छ,’ निर्देशक पञ्जियारले भने । डोकोबाहेक अन्य कम्पनीले हेटौँडा र विराटनगरमा विद्युतीय फोहर सङ्कलन सुरु गरेको छ । प्राक्टिकल एक्सन नेपाल प्रोजेक्ट म्यानेजर रवीन श्रेष्ठका अनुसार विद्युतीय चुलोको प्रयोग अवधि सकिएपछि त्यसको व्यवस्थापनका लागि डोको रिसाइकल र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा वातावरणमैत्री फोहर विसर्जन र पुनःप्रयोग अघि बढाइएको छ । ‘सरकारले प्रभावकारी कानुनी प्रबन्ध गरी वातावरणमैत्री फोहर विसर्जन आवश्यक छ,’ उनले भने । नेपाल फूलबारी वेष्ट थ्रि आर सोलुसन कन्ट्रोल सर्भिस प्रालिका सूचना अधिकृत अर्जुन खत्रीले प्रत्येक घरबाट सङ्कलित फोहरबाट जैविक र अजैविक छुट्याएर व्यवस्थापन गर्ने गरिएको जानकारी दिए । सङ्कलित फोहरमध्ये ६० प्रतिशत जैविक र त्यसमध्ये पनि ३५ फोहर पशुजन्य आहारका रुपमा प्रयोग गर्ने गरिएको छ । सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायत अजैविक फोहर टुक्रा बनाएर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको जानकारी दिँदै उनले कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहर पुनःप्रयोगका लागि कच्चापदार्थका रुपमा उद्योगमा पठाउने गरिएकाले आयआर्जनको गतिलो स्रोत बनेको बताए । रासस
जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको बताए । आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए । मन्त्री पौडेलले फोरम अन्तर्गत जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे । जलवायु उत्पन्न स्वास्थ्य सङ्कटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने दृढता व्यक्त गरे । चीन भ्रमणका क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेट गर्दै स्वास्थ्य सहकार्यका लागि आग्रह गरेका थिए । नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीसमेत सहभागी द्विपक्षीय भेटमा हेटौँडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्युरो उपचार केन्द्र लगायतका विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि योगदान पुर्याउन आग्रह गरे ।