विकासन्युज

सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकबाट ठगिएका बचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनले कतिपय सहकारी सञ्चालकहरुबाट ठगिएका बचतकर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन र रकम फिर्ताका लागि प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराए । वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली काँग्रेसले सरकारलाई दबाब दिँदै आएको बताए । मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याइ जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिवद्ध रहेको पनि बताए । सभापति देउवाले भने, ‘कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन, प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्युन गर्न नेपाली काँग्रेसले सरकारलाई दबाब दिँदै आएको छ । मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याइ जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिवद्ध छ ।’ सभापति देउवाले नेपालको वित्तीय क्षेत्रको विविध समस्याको समाधान गर्न काँग्रेस प्रतिवद्ध रहेको बताए ।

‘अब यो टिमले आइएमई खल्तीलाई अर्कै लेभलमा पुर्याउँछ, सानो लगानी फिनटेकमा काम छैन’ {अन्तर्वार्ता}

काठमाडौं । खल्ती र आइएमई पेबीच मर्जर भएर आइएमई खल्ती लिमिटेड बनेको छ । अहिले खल्ती बाई आइएमई एपमार्फत् कम्पनीले सेवाग्राहीलाई सेवा दिइरहेको छ । फिनटेक क्षेत्रमै पहिलो मर्जर गरेर इतिहास रचेको खल्ती आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने अवसर विनय खड्काले पाएका छन् । खल्तीको पनि सीईओ भएर काम गरिसकेका उनले पछिल्लो समय कम्पनीको व्यवसायमात्रै होइन, फिनटेक उद्योगमै पृथक किसिमको पहिचान र परिचय बनाएका छन् । उनै सीईओ खड्कासँग आइएमई खल्तीको मर्जर, फिनटेक उद्योगको व्यवसाय र आगामी रणनीतिका विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले विकास बहस गरेका छन् ।  आइएमई पे र खल्तीबीच मर्जर भएपछि नयाँ बनेको आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नु भएको छ, यो अवसरलाई कुन रुपमा बुझ्नु भएको छ ? नेपालमा डिजिटल वालेट अथवा फिनटेकको विकास भएको धेरै भएको छैन । आक्रामक रूपमा अगाडि बढेको भनेको पछिल्लो १० वर्षपछि मात्रै हो । त्योभन्दा अगाडि केही सुस्त गतिमा कामहरू र कामको प्रक्रियाहरू भइरहेका थिए । योसँगै आइएमई पे र खल्ती दुइटै संस्थाहरू आफ्नो स्थापनाको ९ वर्षमा चाहिँ रनिङ भइरहेका थिए । अब यी दुइटा संस्थालाई मर्जर गरेर अझ बृहत र अझ ठूलो संस्था बनाएका छौं । चुक्ता पुँजीको आधारमा र ग्राहकको आधारमा यो संस्था अब देशको नम्बर वान पेमेन्ट सर्भिस प्रोभाइडरको रूपमा स्थापित भएको छ । यो ठूलो संस्थाको नेतृत्व गर्न पाउनु आफैमा ठूलो अवसर हो । यससँगै चुनौती पनि छन् । पुँजीमा ठूलो कम्पनी भइसकेपछि सोही बराबर रिटर्न दिनुपर्ने चुनौती पनि छ । अहिले टिम पनि एकदम ठूलो छ । मर्जर प्रक्रिया थालेको एक वर्षपछि कम्पनीको मर्जर गरेर एकीकृत कारोबार गर्न हामी सफल भएका छौं । अब वित्तीय पहुँच र वित्तीय समावेशीलाई देशभर फैलाउँदै व्यवसायलाई विस्तार गर्नुपर्ने दायित्व पनि थपिएको छ । नेपालको फिनटेक उद्योगमा पहिलो मर्जर कसरी सफल भयो, तपाईंको भूमिका के कस्तो रह्यो ? यसमा दुइटा कुरा आउँछ, एउटा कुनै पनि मर्जर सफल हुनका लागि एकीकृत कारोबारसम्मको प्रक्रिया भयो । अर्को- एकीकृत कारोबारपछि कम्पनी कत्तिको सफल भयो, के कस्तो ग्रोथ भयो भन्ने कुरा हुन्छ । यो विषयलाई एक/दुई वर्षपछि समीक्षा गर्ने विषय रह्यो । एकीकृत कारोबार हुने अवस्थासम्म पुर्याउनका लागि प्रमोटर अथवा सेयर होल्डरहरूबाट ठूलो प्रयास भयो । अर्को- व्यवस्थापन पक्षबाट पनि प्रयास भयो । म यसअघि खल्तीको सीईओ हुँदैगर्दा पनि आफ्नो तहबाट हुने प्रयास गरे‌ं । मर्जर प्रक्रियामा पनि एउटा जिम्मेवारी थियो । सेयर होल्डरहरूलाई कन्फिडेन्स बढाउनका लागि पनि हामीले प्रयास गर्यौं । मर्जरको सम्भावना, त्यसको अवसर लगायत विषयमा पनि हेर्नुपर्ने हुन्छ । सानो केकको पाई लिनुभन्दा ठूलो केकको सर्टेन पाई त्योभन्दा ठूलो हुन सक्छ भन्ने हिसाबले हामीले कन्भिन्स गर्यौं जस्तो लाग्छ । यसमा सबैको समान सहभागिता र योगदान रह्यो । त्यस्तै, नियामक नेपाल राष्ट्र बैंकले पनि सपोर्ट गर्‍यो । हामी जेजति ठाउँमा ठोक्किन्छौं, त्यहाँबाट राम्रो साथ सहयोग रहेकोले यो मर्जर सफल भएको हो ।  मर्जरका लागि एक वर्ष अघिदेखि विभिन्न छलफल तथा होमवर्क भएको थियो भन्नुभयो । तर, मर्जर हुँदैछ भनेर अन्तिम घडीमा मात्रै सार्वजनिक गरियो, त्यसभित्रको अन्तर्य के थियो ? पहिला धेरै हल्ला भएर पछि मर्जर भएन भने राम्रो हुँदैन । दुइटा संस्था एक हुनु भनेको विवाहजस्तै हो । विवाह भन्ने कुरा त टुङ्गो लगाइसकेपछि मात्रै निमन्त्रणा दिने हो । विवाहको टुङ्गो नलाग्दै निमन्त्रणा त दिनु भएन नि । मर्जरमा विभिन्न विषयहरू आउँछन् । यसको स्वाप रेसियो, ‘गिभ एण्ड टेक’ को विषय, दुइटै संस्थाको आफ्नो लिगेसी, ग्राहक, संस्थाको ब्राण्ड, कसले कम्प्रमाइज गर्ने लगायत विषय आउँछन् । ब्राण्ड पनि दुइटैलाई अगाडि बढाउन सकिँदैन । आ-आफ्नो टेक्नोलोजी छ । यी सबै विषयमा छलफल गर्नुपर्ने हुन्छ । यी सबै विषयमा सहमति भइसकेपछि ल अगाडि बढ्ने भनेपछि मात्रै कुरा बाहिर आउने हो । यो सँगै नियामकको स्वीकृतिको विषय पनि महत्त्वपूर्ण छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत नलिँदासम्म हामी मर्जर गर्छौं भनेर हल्ला गर्नु पनि भएन । यी सबै कुराहरू क्रमबद्ध रूपमा सम्पन्न गरिसकेपछि ल अब चाहिँ मर्जर गर्ने भनेर निर्णय गरिसकेपछि धेरै समय लाग्दैन । त्यसका लागि हामीलाई एक वर्ष लागेको हो । यो यात्रा साँच्चिकै एकदम ‘एक्साइटिङ’ छ । म ‘डे वान’ देखि नै यो प्रक्रियामा सहभागी भएकोले पनि दुइटै संस्थाका प्रमोटर लगायत सबैलाई प्रशंसा गर्नैपर्छ ।  हामीले विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जरको अभ्यास र अनुभव पनि देखेका/सुनेका छौं, सबै विषयहरू अगाडि नै सहमतिसँगै सार्वजनिक नै गरेर एकीकृत कारोबार गर्छन् । तर, आइएमई पे र खल्तीका अधिकांश विषय अझै गुपचुप छन्, यो मर्जर हो कि प्राप्ति हो कि ? स्वाप रेसियो कति भयो भन्ने विषय सार्वजनिक भएको छैन, यो विषयमा पारदर्शिता अपनाउन किन आवश्यक लागेन ? यसको स्वाप रेसियो बुझाउन केही गाह्रो छ । खल्तीको चुक्ता पुँजी केही कम र आइएमई पेको बढी नै थियो । एउटा सम्मानित स्वाप रेसियोको कुरा गर्ने हो भने १ः१ आवश्यक हुन्छ भने त्योभन्दा माथि गए पनि १ः५ को आवश्यक पर्थ्यो होला । यसमा पनि कुनै धेरै माथि र कुनै धेरै कम भन्ने छैन । अहिले हाम्रो चुक्ता पुँजी साढे ५४ करोड रुपैयाँ छ । दुवै मर्जर इन्टीटीको होल्डिङ ५०/५० प्रतिशतको हाराहारीमै छ । यसमा केही तलमाथि होला । कम्पनी पब्लिक भइसकेको छ । भोलि लिष्टिङ हुने बेला अझ धेरै सूचना आउँछ । हामीले जति आवश्यक छ, त्यति डिस्क्लोज गर्छौं । त्यसैले जसको बढी पुँजी छ, उसले अलि बढी कित्ता र जसको कम पुँजी छ, उसले कम कित्ता त पाउने नै भयो । भोलिका दिनहरूमा आईपीओ पाइपलाइनमा जाँदा अन्य विषय बाहिरिन्छन् नै । यसलाई प्राप्ति भन्दा पनि गाभ्ने र गाभिनेका भनेका छौं । त्यो भनेको मर्जर नै हो ।  अधिकांश संस्थाको मर्जरपछि कर्मचारी समायोजन तथा व्यवस्थापनको विषय चुनौतीको रूपमा हेरिन्छ, यो समस्या आइएमई खल्तीमा छ कि छैन ?  यो विषयमा म आफूलाई धेरै भाग्यमानी सम्झिन्छु । हामीले कुनै पनि ‘ले अफ’को योजना ल्याउनु परेन । हामी ग्रोथको चरणमा भएको हुनाले त्यस्तो अवस्थामा पुग्नु परेन । कम्पनीमा समस्या थियो भने खर्च कटौतीको अवस्था आउँथ्यो होला । तर, हामी सस्टेन अवस्थामा छौं । अहिले पनि कम्पनीमा सर्टेन भ्याकेन्सीहरू आवश्यक छ । कर्मचारी समायोजन गर्दैगर्दा दुई जना सीईओ हुन्छन् । यसमा पनि हामीले सीप र मेरिटोक्रेसीको आधारमा निर्णय लिइसकेका छौं । दुई कम्पनीका सबै कर्मचारी पनि  अहिले छन् । त्यस्तो कुनै समस्या छैन ।  तपाईंले फिनटेक उद्योगमा जुन किसिमको प्रगति र पफर्मेन्स गरिरहनु भएको छ, यो सम्भव कसरी भइरहेको छ ?  एउटा नेतृत्व सफल हुनका लागि दुइटा कुरा फोकस गर्नुपर्छ । एउटा ‘स्ट्राटेजिक ओरिएन्टेसन र अर्को ‘अपरेसनल इफिसिएन्सी’ । यो विषयलाई आत्मसात गर्दै अगाडि बढ्यो भने नेतृत्व सफल हुन्छ । ‘स्ट्राटेजिक ओरिएन्टेसन’को सबालमा मलाई प्रमोटर तथा बोर्डको तहबाट राम्रो साथ सपोर्ट छ । हिजोका दिनमा खल्तीको सीईओ होस् वा आजको दिनमा आइएमई खल्तीको सीईओ हुँदै गर्दा पनि त्यो साथ छ । आज आइएमई ग्रुप, वर्ल्डलिंक र त्रिवेणी ग्रुपजस्ता ठूल्ठूला कर्पोरेट हाउसहरू हुनुहुन्छ । उहाँहरू सबैको साथ छ ।  कम्पनीको अपरेशनल तहमा पनि हाम्रो टिम लिडर तथा कर्मचारी साथीहरू डाइनामिक हुनुहुन्छ । सबै युवा हुनुहुन्छ । इनर्जेटिक हुनुहुन्छ । अगाडि फेसमा विनय खड्का देखिए पनि संस्थाको सफलतामा पछाडि ठूलो टिम मेम्बरहरू हुनुहुन्छ । मैले प्रतिनिधित्व मात्रै गर्ने हो । मर्जपछि पनि व्यवस्थापन तहमा जुन टिम मेम्बरहरू हुनुहुन्छ, उहाँहरू सबै एक्सिलेन्ट हुनुहुन्छ । सबैमा केही गरौं भन्ने उत्साह र ऊर्जा छ । कोही वर्षौंदेखि यही फिल्डमा हुनुहुन्छ, कोही नयाँ फिल्डबाट आउनु भएको छ । कतिपय सीएहरू हुनुहुन्छ, एकदमै राम्रो टीम बनेको छ । अब यो टीमले आइएमई खल्ती लिमिटेडलाई अर्कै लेभलमा पुर्‍याउँछ ।  यो क्षेत्रमा धेरै कम्पनीहरू समस्यामा छन् । तर, तपाईंले नेतृत्व गरेको कम्पनीले राम्रो प्रगति गरेको देखिन्छ, आफूलाई क्षमतावान ठान्नु हुन्छ कि भाग्यमानी ? यो सबै मेरो टीमको योगदान हो । अर्को- राइट टाइममा राइट काम गर्नु पर्यो त्यसले एउटा नतिजा दिन्छ । यही काम हामीले १५ वर्ष अगाडि गरेको भए सफल हुँदैन थियाैं होला । १५ वर्ष अगाडि स्मार्टफोन पनि थिएनन् । इन्टरनेटको सुविधा त्यो किसिमको थिएन । त्यसैले राइट टाइममा राइट कामसँगै राइट इफोर्ट लगाएर काम गर्‍यो भने राइट रिजल्ट आउँछ । कुनै न कुनै ठाउँमा भाग्यको पनि योगदान हुन्छ । अर्को म मेरो मेन्टरहरूसँग सधैं नजिक भएर काम गरें । त्यसबाट धेरै कुराहरू सिक्न पाइयो । यो मात्रै सबै कुरा होइन, कुद्नु पर्ने धेरै छ । एउटा लेभलमा पुर्‍याएपछि रेष्ट भन्ने हुँदैन ।  आइएमई र खल्ती आफैमा बलियो कम्पनी मर्जर भए, अब आइएमई खल्ती लिमिटेडको प्रतिस्पर्धी को हो ? आजभन्दा १० वर्ष अगाडि पेमेन्ट उद्योग थिएन । अहिले यो उद्योग बन्यो । हजारौंले रोजगारी पाए । सरकारले राजस्व पाइरहेको छ । धेरै कम्पनी आएर यो वातावरण बन्यो । अहिले वार्षिक १७ अर्ब बढीको रेभिन्यू छ । यो सबै कम्पनीको प्रयासले भएको हो । हामी पनि मर्जर गरेर थप बलियो बन्ने नै हो । आजको दिनसम्म  खल्ती अथवा आइएमई पे भन्दा तपाईंको दिमागमा वालेट भन्ने आउँथ्यो । पैसा पठाउनु पर्यो भने यी वालेटलाई सम्झिनु हुन्थ्यो । अब हामीले पैसा पठाउने र खर्च गर्नेमात्रै नभएर पैसा कमाउने र लगानीको ठाउँ पनि दिनुपर्छ भनेर काम गर्छौं । म अब यसलाई सुपर वालेट भन्छु । पैसा बचतसँगै लगानीको स्पेस पनि त्यो वालेटले दिन सकोस् । त्यसपछि अझ मर्जरको सार्थकता हुन्छ ।  हाम्रो वालेट-वालेटसँग प्रतिस्पर्धाभन्दा पनि नगदसँग प्रतिस्पर्धा हो । आजको दिनमा १५/१६ प्रतिशतमात्रै कारोबार डिजिटल हुँदा अझै पनि ठूलो रकम अर्थात् बढीमा ८० प्रतिशत डिजिटल कारोबार बाहिर नै छ । हामी डिजिटल कारोबार ५० प्रतिशत बढी पुर्‍याउन सक्यौं भने एउटा तहमा पुग्छौं ।  हिजोको दिनमा २७ वटा वालेट कम्पनीहरुलाई लाइसेन्स दिँदा सबैले अफरिङ गर्ने भनेको युटिलिटिज पेमेन्ट तथा टपअप र टिकेटिङ थियो । तर, आजको दिनमा धेरै सुविधा थप भइसकेको छ । बचतको सुविधा, बीमा पोलिसीको सुविधा, ऋणको सुविधा, एसआईपीको सुविधा लगायत ल्याइरहेका छन् । यो विस्तारै बढ्छन् । सबैको सहकार्यमै डिजिटल कारोबार बढाउनुपर्ने दायित्व छ ।  अगाडि फेसमा विनय खड्का देखिए पनि संस्थाको सफलतामा पछाडि ठूलो टिम मेम्बरहरू हुनुहुन्छ । उहाँहरू सबै एक्सिलेन्ट हुनुहुन्छ । सबैमा केही गरौं भन्ने उत्साह र उर्जा छ । यो टीमले आइएमई खल्ती लिमिटेडलाई अर्कै लेभलमा पुर्‍याउँछ ।  अब वालेट मार्केटमा आइएमई खल्तीको बजार हिस्सा कति हुन्छ ? पेमेन्टमात्रै भनेर लियो भने एउटा हुन्छ । ननपेमेन्ट गतिविधि अर्कै हुन्छ होला । तर, नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार भनेर तथ्यांक सार्वजनिक गर्छ त्यहाँ हाम्रो हिस्सा ४० प्रतिशत छ । तर, यो हिस्सा भन्ने विषय क्षेत्रमा आधारित हुन्छ । कुनै क्षेत्रमा कुनै कम्पनी टप वान हुन्छ भने कुनैमा अर्को कम्पनी हुन सक्छ । एपमा आउने सबैले कारोबार गर्छन् भन्ने छैन । अन्य उद्देश्यका लागि पनि आउँछन् । हाम्रो उद्देश्य भनेको सबैमा नम्बर वान बन्ने पनि होइन । हामी आफ्नो भिजन र उद्देश्य लिएको काममा नम्बर वान नै हुने हो । अरू धेरै क्षेत्रमा त अन्य जसले पनि काम गर्न सक्नुहुन्छ ।  तपाईंको नेतृत्वमा आइएमई खल्ती लिमिटेड कस्तो हुन्छ ? कम्पनीलाई कस्तो बनाउनुहुन्छ ?  खल्ती बाई आइएमई खर्च गर्ने र पैसा पठाउने प्लेटफर्म भन्दा पनि यो बचत पनि गर्न सकिने बनाउँदैछौं । यसबाट लगानी पनि गर्न सकिन्छ । यो सुविधालाई हामीले स्थापित गर्नुपर्नेछ । विभिन्न दूरदराजमा वित्तीय पहुँच र समावेशिता पनि छैन । त्यहाँको मान्छेले ५ हजार ऋण लिन चाह्यो भने आजको संरचनाले सम्भव छैन । बैंकबाट ५ हजार ऋण लिन पनि सम्भव छैन । अब यो सुविधा हामी दिन्छौं । अबको केही वर्षपछि हामी पब्लिकमा जाँदैछौं । यो कम्पनीको मालिक पनि सर्वसाधारण नै हुन्छन् । २० प्रतिशतको हाराहारीमा पब्लिकका लागि सेयर जारी गर्न सकिन्छ ।  पछिल्लो समय अधिकांश वालेट कम्पनीहरू समस्यामा छन् भन्ने सुनिन्छ, वालेटको बजार र बिजनेस कस्तो छ ? केही कम्पनीहरू समस्यामा छन् । केही नयाँ पनि आइरहेका छन् । वालेट मार्केटकै लागि नयाँ न्यूजहरू पनि आइरहेका छन्, जुन यो क्षेत्रका लागि राम्रो हो । यो क्षेत्रका लागि लगानी ठूलो चाहिन्छ । कतिपय कम्पनीले लाइसेन्स पाए पनि लगानी ठूलो चाहिने भएको कारणले बजारमा आउन सकेका छैनन् । बजारमा आउने कि नआउने भन्नेमा ती कम्पनीहरू दोधारमा छन् । नियमनका हिसाबले पनि दैनिक राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने हुन्छ । आन्तरिक नियमन, विभिन्न नीति निर्देशन तथा मापदण्ड परिपालना, आन्तरिक अडिट, सेक्युरिटी निरन्तर रुपमा गर्नुपर्ने हुन्छ । यो नर्मल व्यवसाय होइन । आज लगानी गरेर भोलि प्रतिफल पाइने क्षेत्र पनि होइन । ब्राण्ड अर्थात् भ्यालू सिर्जना गर्नुपर्ने हुन्छ ।  डिजिटल वालेटमा विकृति पनि बढेको देखिन्छ, वालेटहरूले गैरकानुनी काम गर्ने स्थिति कसरी बन्यो ? सबै कम्पनीको बारेमा जानकारी हुने कुरा त भएन । तर, जसले राम्रो काम गरेर विभिन्न नीति नियमहरूको पालना गरेर काम गरेका छन्, जसले राम्रो नियत राखेर डिजिटल सेवा दिन्छु भनेर काम गरेका छन् ती कम्पनीहरू राम्रैसँग चलेका छन् । करोडौं लगानी गरेर आएका कम्पनीले क्षणिक लाभको लागि त्यस्तो काम गरेको देखिँदैन । जस्तै- हाम्रै संस्थाको कुरा गर्नुहुन्छ भने नौ वर्षदेखि हामी सञ्चालनमा छौं । ९ वर्षदेखि मलाई प्रतिफल दिनु भनेर सेयरधनीले दबाब दिएको अवस्था छैन । गलत काम गैरकानुनी काम गरेर पैसा कमाउन पाइन । हाम्रो कम्पनीमा चुक्ता पुँजी बाहेक पनि करोडौं लगानी भएको छ । जस्तै अहिले हाम्रो साढे ५४ करोड पुँजी छ, त्यो बाहेक पनि हामीले विभिन्न समयमा भित्र्याएको लगानी त्यसमा गणना भएको छैन । त्यो पैसा सेयर प्रिमियममा विभिन्न अकाउन्टमा छ । कमाएको पैसा पनि हामीले कम्पनीमै रिइन्भेष्ट गरिरहेका छौं । हामीलाई तत्कालै जथाभावी काम गरेर पैसा कमाउने दबाब पनि छैन, आवश्यक पनि छैन । अहिले हामी एउटा सस्टेनेबल लेभलमा आइसकेका छौं । एक करोड २७ लाख ग्राहक लिएर बस्दा पनि बदमासी गरेर बस्यो भने के हुन्छ पब्लिकको विश्वास । डिजिटल वालेटको प्रतिफलको अवस्था कस्तो छ ?  प्रतिफल दुइटा कोणबाट हेर्न सकिन्छ । हामीले पहिले अर्थशास्त्र पढ्दा ‘वेल्थ म्याक्सिमाइजेसन’ र ‘प्रफिट म्याक्सिमाइजेसन’ भनेर पढ्थ्यौं । प्रफिट म्याक्सिमाइजेसन हेर्ने हो तत्काल नतिजा नआउन सक्छ । त्यसका लागि लामो समय लाग्छ । जब प्रफिट सुरु हुन्छ त्यसपछि अर्कै स्केलको हुन्छ । सुरुमा पूर्वाधार, प्रविधि र बजारमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । एक समय पार गरिसकेपछि आफ्नो उद्देश्य क्लियर छ, सही नियतले काम गर्‍यो भने दीर्घकालमा यो क्षेत्रमा राम्रो प्रतिफल पाउन सकिन्छ । पछिल्लो समय फिनटेकमा ठूला व्यवसायी तथा कर्पोरेट हाउसको प्रवेश भएको देखिन्छ, उनीहरूको प्रवेशले यो क्षेत्रलाई पार्ने प्रभाव कस्तो हुन्छ ? यो क्षेत्रमा ठूलो लगानी चाहिन्छ । कुनैले स्टार्टअप सुरु गर्‍यो तर लगानी थप्दै गएन भने समस्या नै सिर्जना हुन्छ । पछि व्यवसाय नै छोड्नु पर्ने अवस्था आउँछ । यो ठूलो लगानी चाहिने क्षेत्र भएकोले ठूला कर्पोरेट हाउसहरु यो क्षेत्रमा प्रवेश गर्न आवश्यक छ । अर्को- यो उहाँहरूको लगानी विविधीकरण पनि हो । अहिले विश्वको टप टेन कम्पनी हेर्ने हो भने सातवटा टप कम्पनी टेकमा इनेवल छ । अहिले पनि आइएमई खल्तीले दैनिक चार/पाँच लाख कारोबार प्रोसेस गर्छ । प्रत्यक्ष लाखौं मानिस जोडिएका छन् । यसले हाम्रो ब्राण्ड पनि बढाउँछ । यसले कर्पोरेट हाउसलाई पनि हरेक पक्षबाट राम्रो भयो । यो क्षेत्र सधैं सानो स्टार्टअपभन्दा पनि ठूला लगानी गरेर एउटा उद्योगका रूपमा पनि स्थापित हुन सक्छ । त्यसैले पनि ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु समग्र यो क्षेत्रका लागि राम्रो हो ।  अहिले धेरै नेपालीहरू विदेशमै गएर उतै टेकमा लगानी बढाइरहेको सुनिन्छ, यो अवस्था किन आयो ? यसलाई म सकारात्मक रूपमा लिन्छु । नेपालमा बनेका टेक्नोलोजी र सिस्टमहरू वर्ल्ड क्लास छन् । आजको दिनमा युरोपमा एउटा पेमेन्ट सेटल हुनलाई २४ घण्टा सम्म लाग्छ । हामी तीन सेकेन्डमा भएन भने प्यानिक हुन थाल्ने अवस्था आइसक्यो । त्यो खालको अपेक्षा भइसकेको छ ।  हामीले त्यो लेभलको टेक्नोलोजी डेलिभर गरेका छौं । सबै कुराहरू यहाँ डेभलप हुँदै गर्दा भोलिका दिनमा यहाँ डेभलप भको सिस्टम यहीँ मात्र प्रयोग हुनुपर्छ भन्ने पनि छैन । त्यो सिस्टमलाई बाहिर लिएर अझ एक्सपान्ड गर्न सक्यो भने त नेपाललाई टेक हबका रूपमा स्थापित गर्न सकिन्छ ।  नेपालीहरू विदेश गएर विभिन्न कम्पनीमा लगानी गरेको समाचार मैले पनि सुनेको छु । हाम्रै साथीहरू पनि हुनुहुन्छ । जुन राम्रो कुरा हो । अहिले नेपाल सरकारले पनि विदेशमा आइटी कम्पनीको शाखा खोल्न सक्ने व्यवस्था गरेको छ । यसले दीर्घकालमा ठूलो टेवा पुग्छ । नेपालमै बसेर विश्वका लागि काम गर्न सक्ने अवस्था सिर्जना हुनु र नेपालमै बनेको प्रविधि विदेशी बजारमा बिक्री गर्नु आफैमा राम्रो सन्देश पनि हो । उनीहरू विदेश गएर काम गरेको नेपालमा काम गर्ने वातावरण नभएर भन्दा पनि नेपालमा राम्रोसँग स्थापित भइसकेका कम्पनीहरू बाहिर गएर फराकिलो बजार बनाउन थालेका हुन सक्छन् । जुन नेपालको गौरवको विषय पनि हो ।  नेपालीहरू विदेश गएर विभिन्न कम्पनीमा लगानी गरेको समाचार मैले पनि सुनेको छु । हाम्रै साथीहरू पनि हुनुहुन्छ । जुन राम्रो कुरा हो । यसले दीर्घकालमा ठूलो टेवा पुग्छ । अन्तर्राष्ट्रिय फिनटेक उद्योग र नेपाली बजारलाई कसरी तुलना गर्नुहुन्छ ?  नेपालले पनि कतिपय कुरामा राम्रो फड्को मारेको छ । कतिपय कुरामा पछाडि पनि छौं । नेपालमा क्युआर पेमेन्टमा राम्रो विकास भएको छ । फास्ट पेमेन्ट सिस्टममा राम्रो काम भएको छ । अन्य देशको तुलना गर्ने हो भने डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको खाँचो छ । अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । राज्य तहबाटै इन्टरभेन्सन हुन आवश्यक छ । जस्तै हामीले दैनिक साढे पाँच लाख कारोबार संख्या गर्छौं भने अन्य कम्पनीले पनि गर्छन् होला । सरकारले नीतिगत व्यवस्था सही गर्न आवश्यक छ । हामी पनि प्रतिस्पर्धा गर्न सक्छौं ।  पछिल्लो समय टेक कम्पनीमा कर्मचारीहरू हन्टिङको विषय एकदम ठूलो देखिन्छ । कतिपय विदेशका कम्पनीहरूले हन्टिङ गरेको हामी सुन्छौं, यो समस्या कस्तो छ ? यो विषय नौलो त होइन । यो समस्या पहिले बैंक तथा वित्तीय क्षेत्रमा थियो । एउटा विकास हुँदै गर्दा प्लेयरहरू सबै क्षेत्रमा हुन्छन् । प्रतिस्पर्धा हुन्छ नै । एउटाको स्टाफ अर्काले तान्ने प्रक्रिया सबै क्षेत्रमा हुन्छ । विदेशका कम्पनीले हन्टिङ गर्ने विषयलाई पनि म स्वाभाविक मान्छु । त्यहाँ आम्दानी पनि त्यही किसिमको हुन्छ । तर, कर्मचारीले पनि म कस्तो संस्थामा काम गर्दैछु, मेरो जिम्मेवारी र भूमिका के हो भन्ने कुरा पनि बुझ्नुपर्छ । 

हरियाली जमिन मात्र होइन, आशाले हराभरा किसानको मन बनायौं : मन्त्री खड्का

काठमाडौं । 'आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ,' ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कैलालीको लम्कीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन समारोहमा सम्बोधन गर्दै भने । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १४ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सेवा र ४.७१ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने संरचनाको औपचारिक उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेशको लम्की क्षेत्रमा सम्पन्न यस आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । मन्त्री खड्काले रानी जमरा कुलरिया आयोजना केवल सिँचाइको भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरही समग्र कृषक समुदायको जीवनशैली परिवर्तन गर्ने दृष्टिकोणसहित अगाडि बढाइएको परियोजना भएको स्पष्ट पारे । उनले आयोजनाको कार्यान्वयनले जमिन मात्र हरियाली बनाउने नभई किसानको मनमा पनि आशा पलाएको बताए । उनले हाल मधेश प्रदेशका केही क्षेत्रहरूमा देखिएको जलस्रोतको संकटसँग तुलना गर्दै रानी जमरा क्षेत्रका किसानहरूले वर्षैभरि भरपर्दो सिँचाइ सेवा पाएका कारण समस्याबाट उन्मुक्ति पाएको उदाहरण प्रस्तुत गरे । जलवायु परिवर्तनका कारण असमय वर्षा वा सुख्खाको चुनौतीबीच पनि कृषक समुदायको उत्पादनमा निरन्तरता कायम राख्न यस्तो पूर्वाधारले सघाउने उनको धारणा थियो । मन्त्री खड्काले नेपाल सरकारले जलस्रोत व्यवस्थापनलाई वैज्ञानिक रूपमा लैजान थालेको उल्लेख गर्दै भूमिगत जल, तालतलैया, नदी-नालाहरूको समुचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भेरी–बबई, सुनकोशी-मरिण जस्ता जल पथान्तरण आयोजनाहरूको सन्दर्भ उठाउँदै आगामी दिन जलाशययुक्त बहुउपयोगी सिँचाइ आयोजना नै विकल्प भएको प्रष्ट पारे । यसै सन्दर्भमा उनले हालै भ्रमण गरेको महाकाली सिँचाइ आयोजनाको अनुभव साझा गर्दै टनकपुर ब्यारेजबाट पानी नछाडिँदा आयोजना प्रभावित भएकोप्रति चिन्ता व्यक्त गरे । त्यसतर्फ सरकारले कूटनीतिक पहल गर्ने विश्वास व्यक्त गर्दै, सुदूरपश्चिमका ठूला सिँचाइ आयोजनाहरूलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी गराए । रानी जमरा कुलरिया सिँचाइ प्रणाली नेपालको पश्चिम तराई क्षेत्रको ऐतिहासिक र सामाजिक सम्पदा भएको उल्लेख गर्दै मन्त्री खड्काले झण्डै १२० वर्षअघि स्थानीय किसानले बनाएको परम्परागत कुलो प्रणालीको पुनर्निर्माण र आधुनिकीकरण गरी वर्तमान अवस्थामा पुर्‍याइएको बताए । आर्थिक वर्ष २०६६र६७ मा विश्व बैंकको सहयोगमा बहुआयामिक सुधार कार्यक्रमका रूपमा सुरु गरिएको यो आयोजना अहिले दोस्रो चरण सम्पन्न गर्दै तेस्रो चरणतर्फ उन्मुख भएको छ । आयोजनाबाट उत्पादन भएको ४.७१ मेगावाट विद्युत् प्रयोगको मोडालिटीबारे मन्त्रालयस्तरमा गृहकार्य भइरहेको जनाउँदै उनले निकट भविष्यमै सरकारले यससम्बन्धी उपयुक्त निर्णय लिने जानकारी दिए। साथै बाँकी रहेको थप २४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरी समग्रमा ३८ हजार तीन सय हेक्टर जमिनमा सेवा पुर्‍याउने लक्ष्य रहेको बताउँदै, त्यसका लागि आवश्यक संरचनाको निर्माण र प्रविधियुक्त व्यवस्थापनमा जोड दिइने पनि स्पष्ट पारे । आयोजना सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षहरूप्रति आभार प्रकट गर्दै मन्त्री खड्काले किसान समुदाय, प्राविधिक टोली, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले यो आयोजना सिँचाइ व्यवस्थापनको नमूना बन्ने विश्वास व्यक्त गर्दै उपभोक्ता समूहहरूसँगको सहकार्यमा यसको दीगो सञ्चालन हुने आशा व्यक्त गरे ।   उनले रानी जमरा कुलरिया आयोजना समृद्ध नेपाल निर्माणमा एउटा उज्यालो उदाहरणका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।  

सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली दिने निर्देशक शाक्यको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गरेका छन् । चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम आएका निर्देशक शाक्यले मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखसँग छलफल गरेका हुन् ।  सुख्खाग्रस्त मधेसमा बोरिङ गाँड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भनेर आफैं फिल्डमा खटिएका छन् । मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाँउमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको निर्देशक शाक्यले बताए । सिँचाइका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको भएपनि कहाँकहाँ जाडिने भन्नेकुरा सम्बन्धित निकायबाट आउन नसकेको बताए ।  सिँचाइ गर्न अब डेढ महिना बाँकी रहेको र अहिले नै कति आउँछ, कहाँ कहाँ आउँछ र कति क्षमताको पम्पहरु छ भन्नेकुराको जानकारी दिन आग्रह गरे । किसानको समस्या राष्ट्रिय समस्या भएकाले समाधानका लागि नै आफू लागिपरेको बताए । आठ रुपैयाँ पर्ने बिजुली सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा दिने जानकारी दिए । सिँचाइका लागि कहाँकहाँ र कसरी बोरिङ जडान गर्ने विषयमा आफैँ फिल्डमा खटेर किसानसँग बुझ्नका लागि निर्देशन दिएको निर्देशक शाक्यले बताए । उनले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकाउने गरी लागि परेको बताए ।  

रुसुवागढीमा बाढीले क्षति पुर्‍याउँदा बीमा कम्पनीमा ८४ करोड ३८ लाखको दाबी

काठमाडौं । गत असार २३ गते रुसुवागढीमा आएको बाढीले क्षति पुर्‍याउँदा ८४ करोड ३८ लाख रुपैयाँ बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको साउन ८ गतेसम्मको विवरणअनुसार ११ बीमा कम्पनीमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा बीमा दाबी परेको हो ।  प्राधिकरणका अनुसार सबैभन्दा धेरै हिमालयन इन्स्योरेन्समा दाबी भुक्तानी परेको छ । हिमालयन इन्स्योरेन्समा २ वटा दाबीबापत ५५ करोड रुपैयाँ माग भएको छ । यस्तै, शिखर इन्स्योरेन्समा १२ वटा दाबीबापत १६ करोड ८५ लाख रुपैयाँ दाबी परेको छ । नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत ५ करोड १२ लाख रुपैयाँ दाबी माग भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ वटा दाबीबापत २ करोड ६५ लाखरुपैयाँ माग गरिएको छ । यस्तै, नेपाल इन्स्योरेन्समा १२ वटा दाबीबापत १ करोड २८ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबीबापत ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ दाबी माग भएको छ । त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्समा ६ वटा दाबीबापत ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दाबीबापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबीबापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा बीमा दाबीबापत २८ लाख रुपैयाँ दाबी माग गरिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा मोटर बीमा (सार्वजनिक) ३८ वटा दाबीबापत २ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ । यस्तै, मोटर बीमा (निजी) बीमालेखका १४ वटा दाबीबापत २ करोड १४ लाख ५० हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेखका ३ वटा दाबीबापत ५ करोड ४० लाख रुपैयाँ, सम्पत्ति बीमा लेखका ६ वटा दाबीबापत ५८ करोड १ लाख हजार रुपैयाँ दाबी परेको छ । त्यस्तै, सामुन्द्रिक बीमाअर्न्तगत ७ वटा दाबीबापत १६ करोड २३ लाख १० हजार रुपैयाँ दाबी परेको छ ।

संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमाथि इप्पानले गर्‍यो विरोध

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विरोध जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै इप्पानले विरोध गरेकाे जनाएको हो । सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको सेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको शेयरको छुट्टाछुट्टै इन्टरनेशनल सेक्युरीटीज आईडेन्टीफिकेसन नम्बर (आईएसआईएन) नम्बर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको थियो । त्यस सन्दर्भमा इप्पानले भनेको छ, ‘सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता र अस्पष्टता पैदा मात्र भएको छैन, यसले उनीहरुमा निराशा पैदा हुने अवस्था सिर्जना भएको छ । यो प्रस्ताव कार्यान्वयन भएमा हालसम्म नेपालको पुँजी बजारमा लागू भईरहेको, प्रचलित कानून, अन्तर्राष्ट्रिय मान्यता र अभ्यास विपरित छ ।’ इप्पानले उक्त प्रस्तावले नेपालको पुँजी बजारमा दीर्घंकालीन प्रभावसँगै देशप्रति अर्न्तराष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने निश्चित भने नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्ने गरी अघि बढाएको प्रस्तावले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत कठिनाई हुने जनाएको छ । ‘यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको छ । सिडिएससीको यो प्रस्तावले नेपालको एउटा कानुनलाई हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नो शेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने वातावरण निर्माण गर्नेछ,’ इप्पानले उल्लेख गरेकाे छ, ‘यसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति, पूँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति निकै ठूलो नकारात्मक प्रभाव पार्ने प्रष्ट छ ।’  

सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड-२ को लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले दुइवटा म्युचुअल फण्डकाे लाभांश घोषणा गरेको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ​​​सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड-२ का इकाईधनीहरुलाई ​​​​नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापन रहेकाे सनराइज ब्लुचिप फण्डले कर सहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे हो ।  यस्तै, लक्ष्मी भ्यालु फण्ड-२ ले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएकाे हो । साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

एनभीडीयाको सेयर मूल्य दोब्बर, माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले अगाडि

काठमाडौं । एआई चिप बनाउने कम्पनी एनभीडीयाका सेयरहरूमा तीव्र वृद्धि जारी छ । सोमबार कम्पनीको सेयर झन्डै २ प्रतिशतको वृद्धिसँगै १७६.७७ डलरमा पुगेको छ । यससँगै कम्पनीको मार्केट क्याप (बजार मूल्य) ४.३ ट्रिलियन डलरमा पुगेको छ । यससँगै एनभिडियाको बजार मूल्य विश्वकै दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले बढी भएको छ । अहिले विश्वमा एआई क्रान्तिको सुरुआत भएको छ । जसअनुसार आगामी दिनहरूमा एआईको प्रयोग बढ्दै जाँदा एनभीडीया र अरू चिप बनाउने कम्पनीहरूको सेयर मूल्यमा अझै तीव्रता आउने प्रक्षेपण गरिएको छ ।  जानकारहरू भन्छन्, ‘आगामी दुई वर्षभित्र एनभिडियाको सेयर मूल्य ३०० डलरसम्म पुग्न सक्छ ।’ पछिल्ला केही महिनामै कम्पनीका सेयरहरूमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर आसपास थियो भने हाल यो १७५ डलर आसपास पुगिसकेको छ । पछिल्ला १२ महिनामा एनभीडीयाको आम्दानी झन्डै दोब्बर भएको छ । पछिल्ला तीन वर्षमा कम्पनीको आम्दानी वार्षिक औसतमा ६९ प्रतिशतले बढेको छ । यदि कम्पनीले आगामी दुई वर्षमा आफ्नो आम्दानी ६० प्रतिशतभन्दा बढीको दरले वृद्धि गर्न सक्यो भने वित्तीय वर्ष २०२७ सम्ममा यसको आम्दानी ३३४ अर्ब डलर पुग्न सक्छ । यदि यस्तो भयो भने कम्पनीको सेयर मूल्यमा समेत उल्लेखनीय वृद्धि हुनेछ ।