एनभीडीयाको सेयर मूल्य दोब्बर, माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले अगाडि
काठमाडौं । एआई चिप बनाउने कम्पनी एनभीडीयाका सेयरहरूमा तीव्र वृद्धि जारी छ । सोमबार कम्पनीको सेयर झन्डै २ प्रतिशतको वृद्धिसँगै १७६.७७ डलरमा पुगेको छ । यससँगै कम्पनीको मार्केट क्याप (बजार मूल्य) ४.३ ट्रिलियन डलरमा पुगेको छ । यससँगै एनभिडियाको बजार मूल्य विश्वकै दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले बढी भएको छ । अहिले विश्वमा एआई क्रान्तिको सुरुआत भएको छ । जसअनुसार आगामी दिनहरूमा एआईको प्रयोग बढ्दै जाँदा एनभीडीया र अरू चिप बनाउने कम्पनीहरूको सेयर मूल्यमा अझै तीव्रता आउने प्रक्षेपण गरिएको छ । जानकारहरू भन्छन्, ‘आगामी दुई वर्षभित्र एनभिडियाको सेयर मूल्य ३०० डलरसम्म पुग्न सक्छ ।’ पछिल्ला केही महिनामै कम्पनीका सेयरहरूमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर आसपास थियो भने हाल यो १७५ डलर आसपास पुगिसकेको छ । पछिल्ला १२ महिनामा एनभीडीयाको आम्दानी झन्डै दोब्बर भएको छ । पछिल्ला तीन वर्षमा कम्पनीको आम्दानी वार्षिक औसतमा ६९ प्रतिशतले बढेको छ । यदि कम्पनीले आगामी दुई वर्षमा आफ्नो आम्दानी ६० प्रतिशतभन्दा बढीको दरले वृद्धि गर्न सक्यो भने वित्तीय वर्ष २०२७ सम्ममा यसको आम्दानी ३३४ अर्ब डलर पुग्न सक्छ । यदि यस्तो भयो भने कम्पनीको सेयर मूल्यमा समेत उल्लेखनीय वृद्धि हुनेछ ।
गोदावरी फरेस्ट रिसोर्ट दसैंअघि सञ्चालनमा आउने, लागत १ अर्ब ९५ करोड
काठमाडौं । गोदावरी फरेस्ट रिसोर्ट दसैंअघि सञ्चालनमा आउने आएको छ । ललितपुरको गोदावरीमा निर्माण गरिएको गोदावरी फरेस्ट रिसोर्ट दसैं अगाडि नै सञ्चालनमा आउने जनाएको लगानीकर्ता युवराज श्रेष्ठले जानकारी दिए । अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले व्यवस्थापन गर्ने उक्त रिसोर्ट पूर्ण रूपमा तयार भई सञ्चालनमा ल्याउन लागिएको लगानीकर्ता युवराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार रिसोर्टमा ८३ वटा कोठा, ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट रहेका छन् । साथै, ३ सय भन्दा बढी क्षमताको इभेन्ट प्यालेस पनि रहेको उनले बताए । १ अर्ब ९५ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको उक्त रिसोर्ट रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशी लगायतको लगानी रहेको छ ।
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रूपमा ती बाघ पाल्न ३० लाख रुपैयाँ हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उहाँले बताए । सूचना अधिकारी थापामगरले भने, ‘गत आर्थिक वर्षमा बाघका लागि रु २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाखभन्दा बढी खर्च हुन्छ ।’ बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए । ‘खोरमा थप बाघ राख्ने ठाउँ छैन,’ सूचना अधिकारी थापामगरले भने । राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ ।
३०.७६ अंकले बढ्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढेर ३ हजार २.०७ बिन्दुमा पुगेको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२१ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ । हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, ग्रीन भेन्चरको ६३ करोड, नेपाल रिइन्स्योरेन्सको ५६ करोड, हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युत कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो
बागमती । पछिल्लो छ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ उद्योग व्यापार दर्ता भएकामा उद्योगतर्फ २६८ र वाणिज्यतर्फ ३३६ उद्योग व्यापार बन्द भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । यसअघि आव २०७८/७९ मा उद्योगतर्फ ७६७ र वाणिज्यतर्फ ७७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ११० वटा उद्योग व्यापारको मात्र लगत कट्टा भएको थियो । आव २०७७/७८ मा उद्योगतर्फ ८२० र वाणिज्यतर्फ ८१० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ३४० को लगत कट्टा गरिएको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७६र७७ मा उद्योगतर्फ एक हजार ५३६ र वाणिज्यतर्फ एक हजार ५२५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २४० उद्योग व्यापारको लगत कट्टा गरिएको थियो । यसरी पछिल्लो छ वर्षमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ । विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृत्ति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउन मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमा समेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ताभन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ । त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको राजस्व सङ्कलन पनि घटेको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ लाख ६९ हजार ३०० रुपैयाँ कम राजस्व हो । सोही आवमा उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता, नवीकरण, प्रतिलिपीलगायतका शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भुसालले बताए । अघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा विभिन्न शीर्षकमा सो कार्यालयले तीन करोड २२ लाख ४९ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । रासस
ठूलो घोटालामा मुछिँदा निलम्बनमा सांसद, आफ्ना प्रतिनिधि खोज्दै जनता
काठमाडौं । पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाका आठ जना सदस्यहरू विभिन्न कारणले निलम्बनमा परेका छन् । तीन वर्ष पहिले २०७९ मङ्सिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म प्रतिनिधिसभाका सदस्य चारजना र विभिन्न प्रदेशसभाका चारजना सदस्यहरू निलम्बनमा परेका हुन् । प्रतिनिधिसभा सचिवालयले दिएको जानकारीअनुसार विभिन्न मितिमा प्रतिनिधिसभाका चारजना सदस्यहरू अहिले निलम्बनमा रहेका छन् । प्रतिनिधिसभाकी एकजना सदस्य भने फरार रहेकी छिन् । सचिवालयको भनाइअनुसार सबैभन्दा पहिले नेकपा एमालेका अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी निलम्बनमा परेका हुन् । रायमाझीलाई भुटानी शरणार्थी काण्डमा २०७९ वैशाख ३१ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । निलम्बनको सुरुवात गर्ने रायमाझीको निलम्बन २०७९ असार १ गतेबाट सुरु भएको हो । रायमाझीपछि निलम्बनमा पर्ने दोस्रो सांसद चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछाने हुन् । सहकारी घोटाला र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने २०८१ पुष ८ गतेदेखि निलम्बनमा परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता पनि हुन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत पनि अहिले निलम्बनको अवस्थामा रहेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद बस्नेत सञ्चारमन्त्री रहेका बेला टेरामक्स खरिद प्रकरणमा अन्य १६ जनासँगै मुछिएका हुन् । बस्नेतको पद २०८१ जेठ १ गतेदेखि निलम्बनमा परेको छ । निलम्बनमा पर्ने हालसम्मका सबैभन्दा पछिल्ला प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल हुन् । प्रधानमन्त्री रहेका बेला हदबन्दीभन्दा धेरै जग्गा एक निजी कम्पनीलाई दिने र सो जग्गा साटफेर गर्न दिएको अभियोग नेपालमाथि लागेको छ । २०८२ जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जलि जग्गा साटफेर प्रकरणमा मुद्दा दायर गरेपछि सोही दिनदेखि नेपाल निलम्बनमा परेका हुन् । प्रतिनिधिसभाकी अर्की सांसद भने फरार रहेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी गीता बस्नेत नवलपुरको छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा २०८१ वैशाख १४ गतेदेखि फरार रहेकी छिन् । प्रदेशसभा पनि छैन चोखो प्रदेशसभाका पनि विभिन्न चारजना सांसद निलम्बनमा रहेका छन् भने एकजनाको निलम्बन फुकुवा भइसकेको छ । हाल निलम्बनमा रहेका सदस्यहरू कर्णाली, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका सांसद हुन् । गण्डकी प्रदेशसभाका फणिन्द्र देवकोटाको निलम्बन भने फुकुवा भइसकेको छ । दल बदलमा निलम्बनमा रहेका देवकोटा हाल नेकपा माओवादी केन्द्रमा रहेका छन् । सुदूरपश्चिम प्रदेशका सांसद तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही हाल निलम्बनमा रहेका छन् । ह्वाइटबडी जहाज खरिदमा १ दशमलव ४७ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा २०८० चैत २२ गतेदेखि उनी निलम्बनमा परेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मालाई २०७२ सालमा मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थम्मन विकको हत्या अभियोग लागेको छ । शर्मा २०८० मंसिर २८ गतेदेखि निलम्बनमा छन् । उनी मधेस प्रदेशका सांसद हुन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका सुदूरपश्चिम प्रदेशका नेता दीर्घ सोडारी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा हाल निलम्बनमा परेका छन् । यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव पनि हाल निलम्बनमा परेकी छन् । यादव वन व्यवस्थापन समिति अध्यक्ष रहेको बेला २९ लाख रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग रहेको छ । पछिल्लो समय निलम्वित सांसदहरुका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरु निलम्बनमा पर्दा स्थानिय जना मर्कामा परेको बताएका छन् । लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहिन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफुहरु लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्ति समेत सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय निलम्बित सांसदहरूका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरू निलम्बनमा पर्दा स्थानीय जनता मर्कामा परेको बताएका छन् । लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहीन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफूहरू लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङ्ग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरिसकेका छन् ।
पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी
बैतडी । वर्षाका कारण अवरुद्ध भएकोे सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरु ताला लगाउन बाध्य भएको उनले बताए । यसैबीच, वडाअध्यक्ष हिक्मतबहादुर बिष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।
गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल डेरी एसोसएसनद्वारा मंगलबार आयोजित खीर प्रवद्र्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कृषि प्रवर्द्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए । महासङ्घको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उनले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब रु एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ ।