विकासन्युज

झापा इनर्जीको आईपीओ बिक्री बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । झापा इनर्जीले आज साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । ​​​​​इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

करोडौंको सरकारी भवन प्रयोग विहीन, भाडाको घरमा गाउँपालिका

काठमाडौं । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका-१ गौरीपुर स्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौं लगानीको ‘विष्णु भवन’ वर्षोंदेखि प्रयोग विहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब ३ करोड रुपैयाँमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ । भवन निर्माणका लागि सुरुमा २ करोड ५० लाख रुपैयाँको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता २ करोड रुपैयाँमा गरिएको थियो पछि भान्साघर निर्माणका लागि थप १ करोड रुपैयाँ खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए । ‘मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो,’ उनले भने ।  २४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ ।  स्थानीय नागेश्वर यादवले भने, ‘सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ । तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ ।’ गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टा छुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक १२ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ । पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सिटिइभिटीसँग समन्वय भइरहेको जानकारी दिए । तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् ।

दसैंअघि नै रसुवागढी नाका सञ्चालन आउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैंअघि नै सञ्चालन गर्ने गरी ल्हेन्दे खोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।  त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु बेसी-रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिए । गत असार २४ मा ल्हेन्दे खोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो । ‘गल्छी-रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ,’ मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रु बेसी-रसुवागढी सडक खण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’  मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीब्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनको भनाइ छ ।  रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसँग समन्वय गरि चीन तर्फ रोकिएका नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए । 

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने, तराई भेगमा आंशिक बदली

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै, अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

१ हजारभन्दा बढी आगलागीका घटना, चट्याङले २८ जनाको निधन

काठमाडौं । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट १ हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपद जन्य २ हजार ४५६ घटना भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा २४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । १६९ जना घाइते हुँदा चट्याङका कारण २८३ घरपरिवार प्रभावित भएका छन् । सो अवधिमा सर्प दंशका ६६ घटना हुँदा ८ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै १३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा २०६ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ । यस्तै, पहिरोका मात्रै २४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २७६ घटना हुँदा ८ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका ८, पहिरोका १६, आगलागीका ५, जनावर आक्रमणका ३ घटना भएका छन् । 

बसे पनि सहर, गाउँकै खाने रहर नीति, एचआइभी सङ्क्रमितलाई १ हजार रुपैयाँ भत्ता

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले अर्गानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसे पनि सहर: गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसे पनि सहर गाउँकै खाने रहर’ को नीति अन्तर्गत अर्गानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ । नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे ।  स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैँसी खरिद गरी दूध र दूध जन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैँसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताए ।  अनुदानमा ४० लाख रुपैयाँ गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइनेछ । त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तर्जातीय दाइजो मुक्त जोडीलाई ५० हजार रुपैयाँ अनुदान दिइने बताए।  त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई ५ लाख रुपैयाँ प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत महसुलमा ३ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ । 

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको ३ सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब ३ सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । यसरी बेनीमा भित्रिएको बर्खे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो । घण्टा कर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टा कर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टा कर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरूपकी घण्टा कर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीमा प्रसिद्ध छ ।  हरितालिका तीजको दिनसम्म देखाइने विभिन्न नाचलाई बर्खे नाच भनिन्छ । साउन १३ गतेदेखि सुरु भएको बर्खे नाच अन्तर्गत भदौ १० गते हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामपुचःका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए । यही साउन ९ गते घण्टा कर्ण चतुर्दशीका दिन दानवको प्रतीक घण्टा कर्णको प्रतिमालाई कालीगण्डकी नदीमा विसर्जन गरेपछि बर्खे नाचका लागि तयारी सुरु गरिएको थियो । बेनीमा लाखे नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथ यात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि रोपाइँ नाच, हनुमान नाचलगायत धेरै जनशक्ति भएका नाचहरु भने नियमित हुन सकेका छैनन् । बर्खे नाचको सुरुवात लाखेको पति अर्थात् घण्टा कर्ण नामक राक्षसको पुतला दहन गरेर हुन्छ भने तीजको दिन साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्ण रुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ । हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुण कामदेवले सुरु गरेको बताइए राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् । बर्खे नाच अन्तर्गत लाखे नाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने नेपाल भाषा मंका खलःका उपाध्यक्ष कुबिरकुमार श्रेष्ठले बताए । बर्खे नाच अन्तर्गत जनै पूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलन छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खे नाच देखाउँदै आएको पाइन्छ । ऐतिहासिक महत्व बोकेको यो नाचमा पछिल्लो समय बेनीका युवाले सक्रियता पूर्वक सहभागिता जनाउने गरेका छन् । घण्टा कर्ण पर्वको अवसरमा बेनी स्थित संगम चोकमा घण्टा कर्णको आकृति बनाएर बजार परिक्रमा गरी म्याग्दी र कालीगण्डकी नदीको दोभानमा लगेर विसर्जन गर्ने परम्परा छ । तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभाबाट चलचित्र विधेयक विधायन समितिमा पठाइने

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् । यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०ः३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।