भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह
त्रिशूली । बुधबार बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
काठमाडौं । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले रु छ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा रु दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै रु एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा रु ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने रु ७४ करोडको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु ४३ करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगञ्ज नाका हुँदै गत आवमा रु एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।
मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही
सिरहा । लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो । लहान–१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान–३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई–१० को ‘केएल मिनीरल वाटर’लाई कारबाही गरिएको इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए । संयुक्त अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए ।
कुमारी सुनौलो लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १३ गते बसेको बैठकले कुमारी सुनौलो लगानी योजना म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । कुमारी सुनौलो लगानी योजनाका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।
बैंकिङ अनुशासन भङ्ग भयो, राजनीतिक दलहरू संवेदनशील हुनुपर्छः अध्यक्ष यादव
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बैंकिङ क्षेत्रमा बैंकिङ अनुशासन भङ्ग भएको बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकिङ क्षेत्र संवेदनशील भएकाले राजनीतिक दलहरूले संवेदनशील भएर धारणा राख्नुपर्ने उनको भनाइ छ । बैंकिङ क्षेत्र विरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सबै राजनीतिक दलहरूले गम्भीर भएर लाग्नु पर्ने उनले बताए । तीनै तहका सरकारले दिने व्यावसायिक तालिम, वित्तीय साक्षरताको कार्यक्रम, जनचेतना मूलक कार्यक्रममा लघुवित्त संस्थाहरूसँग समन्वय गर्न सकियो भने आर्थिक र सामाजिक रुपान्तरणमा गर्न सकिने उनको धारणा छ । साथै, सहरी र ग्रामीण अर्थतन्त्रलाई सन्तुलन कायम गर्न उद्यमशीलता र रोजगारी श्रृजनामा जोड दिनुपर्ने उनले बताए । ‘सहरी अर्थतन्त्रलाई मात्रै बढी जोड दिइन्छ । तर, ग्रामीण अर्थतन्त्रलाई सन्तुलन गर्न नसक्दा समस्या सधैं आइरहन्छ । किनभने सहरी र ग्रामीण अर्थतन्त्र समान रुपमा अघि बढ्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा उत्पादन गरेर शहरले खपत गर्ने र शहरको पैसा ग्रामीण क्षेत्रमा जानुपर्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पूर्वाधार विकास असाध्यै भएका छन् । तर, त्यो विकासलाई उपभोग गर्ने मान्छे छैनन् । विकाससँग उत्पादनलाई जोड्न सकिरहेको छैन । जबसम्म उद्यमशीलताको विकास गर्न सकिँदैन, रोजगारी श्रृजना गर्न सकिँदैन, तबसम्म ग्रामीण क्षेत्रको मान्छेहरू सहरमा आउने र शहरको मान्छे विदेशमा जाने प्रवृत्ति रोक्न सकिँदैन ।’ ग्रामीण क्षेत्रमै रोजगारी, उद्यमशीलता श्रृजना गर्न लघुवित्त संस्थाहरूले अहम् भूमिका खेलिरहेको उनले बताए । उनका अनुसार लघुवित्त संस्थाहरू ६० लाख घरपरिवारमा पुगिसकेका छन् भने २७ लाख व्यक्तिलाई ऋण प्रवाह गरेका छन् । ‘३० प्रतिशत बैंकको ऋण ४ प्रतिशत व्यक्तिमा गएको भन्ने सुनिन्छ । तर, लघुवित्त संस्थाहरूले त्यसरी कर्जा प्रवाह गरेका छैनन् । ६० खर्ब रुपैयाँ ऋणमध्ये ८ प्रतिशत अर्थात् ५ खर्ब रुपैयाँ ऋण लघुवित्तको छ । त्यो ५ खर्ब रुपैयाँ ऋण ६० प्रतिशत मान्छेहरूले लगेका छन् । जति मान्छेहरूमा ऋणको पहुँच विस्तार गर्न सकियो त्यति नै उद्यमशीलताको विकास गर्न सकिन्छ,’ उनले भने ।
बाफिया जस्ताको त्यस्तै पारित भए आर्थिक गतिविधि प्रभावित हुन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधिमा गम्भीर असर पर्ने उनको भनाइ छ । बाफियासँग सम्बन्धी ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको धारणा छ । ‘व्यवसायी र बैंकर छुट्याउने विषयले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ । यस बाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबै जसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्,’ अध्यक्ष ढकालले भने । आर्थिक विकासको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताउनु भएको छ । महासंघका सुझाव अनुसार उच्चस्तरीय आर्थिक आयोग गठन, आयोगको सुझाव अनुसार विभिन्न ३० वटा कानुनहरूको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको अध्यक्ष ढकालले बताए । ‘देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानी मैत्री वातावरण आवश्यक छ भनेर हामीले भन्दै आएका थियौं । वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस सम्मिलित सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरू स्वागत योग्य छन । आव २०८२/८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ । यसबाट महासंघ आशावादी र उत्साहित भएको छ,’ उनले भने । नेपालमा पर्याप्त सम्भावना भएकोले यी सम्भावनाबाट आर्थिक समृद्धिको खाका कोर्न सकिने बताउँदै अध्यक्ष ढकालले नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानु पर्ने तर्क गरे । ‘अहिले सरकारले धेरै नीतिगत सुधार गरेको छ स हामीसँग इतिहासमै सबैभन्दा बढि विप्रेषण आएको छ । विदेशी मुद्राको सञ्चिति राम्रो छ । बैंकको ब्याजदर घटेको छ स यो अवस्थामा लगानीको वातावरण छ । यो सबै कुरालाई सकारात्मक रुपमा लिनु पर्दछ,’ उनले भने । उनले देश विकासको लागि आन्तरिक तथा बाह्य पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिँदै विकासको लागि आन्तरिक पूँजी परिचालन गर्ने सोच सहित महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि विभिन्न क्षेत्रमा लगानी गरिएको समेत जानकारी दिए ।
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई ३२ करोड ६२ लाख रुपैयाँको आईपीओ बिक्री गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
झापा इनर्जीको आईपीओ बिक्री बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । झापा इनर्जीले आज साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ । साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।