काठमाडौं । चितवनस्थित नारायणी नदीमा फेला परेका २३३ वटा शवमध्ये हालसम्म चार जनाको मात्रै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सनाखत भएकामध्ये तीनवटा शव आफन्तले बुझिसकेका छन् भने एक जनाको आफन्त विदेशमा रहेकाले शव बुझ्न बाँकी छ ।
सनाखत हुनेहरूमा बेत्रावती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल, बाँकेका कविराज चौधरी, मकवानपुरका रमेश मगर र रसुवाका भुवन थापा मगर रहेका छन् ।
बेत्रावती चौकीका १० जनामध्ये बाढीबाट बचेका ९ जनाबाहेक बेपत्ता रहेका असई पौडेल र रमेश मगरको शव परिवारले बुझेर देवघाटमा दाहसंस्कार गरिसकेका छन् ।
कविराज चौधरीको शव पनि आफन्तले शुक्रबार बुझेका छन् भने विदेशमा रहेका भुवन थापा मगरका आफन्त शनिबार फर्किएपछि शव बुझाइनेछ ।
नारायणी नदी किनारमा भेटिएका शवको संख्या अत्यधिक भएपछि भरतपुर अस्पतालमा स्थान अभाव भएको छ । जसका कारण २३० मध्ये १५८ वटा शव भरतपुर अस्पतालमा र बाँकी नारायणी, नेसनल सिटी तथा सामुदायिक अस्पतालमा राखिएको छ ।
अस्पतालमा अटेका ७७ वटा शव र ६२ वटा हात, खुट्टा तथा पन्जा (अंगहरू) भने चितवन उद्योग वाणिज्य संघको परिसरमा हिउँ (आइस) को व्यवस्था गरी सुरक्षित राखिएको छ ।
गत बुधबार बिहान रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुनेको संख्या ५७९ पुगेको छ भने सयौँ नागरिक अझै बेपत्ता छन् ।
बेपत्ताहरूको खोजी तथा नारायणी नदीमा फेला परेका अन्य शवहरूको सनाखत गर्ने कार्य निरन्तर जारी छ ।