त्रिपुरेश्वरमा ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार (आज) मध्याह्न एक गाडीमा आगलागी भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । गाडीमा अचानक आगलागी भएपछि केही समय उक्त क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो । आगलागीको कारण भने खुलिसकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
अन्तरिक्ष युद्धमा रूस ‘सबैभन्दा ठूलो विजेता’ बन्न सक्ने
काठमाडौं । अमेरिकाले पृथ्वीको कक्षमा एउटा अन्तरिक्ष हतियार तैनाथ गरेको घोषणा गरेपछि अन्तरिक्षमा बढ्दो सैन्य गतिविधिबारे चर्चा हुन थालेको छ । अमेरिकाले तैनाथ गरेको भनिएको उक्त हतियारबारे भने धेरै जानकारी सार्वजनिक भएको छैन । अमेरिकी वायुसेनाका सचिव ट्रोय मिंकले कक्षमा रहेको उक्त हतियार शत्रुका गतिविधिबाट अमेरिकी सेनाको सुरक्षा गर्न आवश्यक रहेको बताएका छन् । तर उनले यो हतियारले के गर्न सक्छ र कहिले अन्तरिक्षमा तैनाथ गरिएको हो भन्नेबारे भने खुलाएका छैनन् । त्यसो भए अमेरिकाले कस्तो हतियार तैनाथ गरेको हुन सक्छ ? अन्तरिक्षमा अहिले सैन्य गतिविधिको अवस्था कस्तो छ ? र अमेरिका बाहेक कुन–कुन देशसँग यस्ता हतियार छन् ? यिनै विषयमा आधारित भई यो लेख तयार पारिएको छ । अन्तरिक्षमा बढ्दै सैन्य गतिविधि अन्तरिक्ष युग सुरु भएदेखि नै त्यहाँ सैन्य गतिविधि हुँदै आएको छ । सन् १९६० को दशकको अन्त्यतिर तत्कालीन सोभियत संघले अन्तरिक्षमा हतियार तैनाथ गरेको थियो । सोभियत संघले ‘इस्त्रेबितेल स्पुतनिकोभ’ अर्थात् आईएस कार्यक्रम सञ्चालन गरेको थियो । यसको अर्थ ‘उपग्रह नष्ट गर्ने भन्ने हुन्छ । यस कार्यक्रमअन्तर्गत त्यस्ता उपग्रह बनाइएका थिए, जुन अर्को उपग्रहको कक्षमा पुगेर विस्फोट हुन सक्थे । सामान्यतया यस्ता हतियारको निशाना अमेरिकी उपग्रह हुने गर्थे । विस्फोटपछि निस्कने धातुका टुक्राले अर्को उपग्रहलाई क्षति पुर्याउन सक्थे । आज आधुनिक सेनाहरूले विभिन्न कामका लागि अन्तरिक्षमा उपग्रह तैनाथ गर्छन् । यस्ता उपग्रह जासुसी, सुरक्षित सञ्चार र क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाउन प्रयोग हुन्छन् । उपग्रहले कुनै सैन्य वा अन्य लक्ष्यको सटीक स्थान पहिचान गर्न पनि सहयोग गर्छन्, जसका आधारमा त्यसलाई निशाना बनाउन सकिन्छ । युद्धमा प्रविधिको प्रयोग बढ्दै जाँदा अन्तरिक्षमा सैन्य उपकरणको प्रयोग पनि बढ्ने विज्ञहरूको अनुमान छ । अमेरिकाले कुन हतियार तैनाथ गरेको छ ? डा. ब्लेडिन बोवेन रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयूएसआई) मा सैन्य विज्ञान विभागका एसोसिएट फेलो हुन् । उनी डरहम विश्वविद्यालयमा अन्तरिक्ष राजनीतिका एसोसिएट प्रोफेसर पनि हुन् । उनका अनुसार अमेरिकाले घोषणा गरेको हतियारबारे अहिले अनुमान मात्र गर्न सकिन्छ । उनले बीबीसी रेडियो–४ को ‘टुडे’ कार्यक्रममा भनेका छन्, ‘मलाई लाग्छ, यो इलेक्ट्रोनिक युद्धसँग सम्बन्धित प्रणाली वा रेडियो सिग्नल जाम गर्ने उपकरण हुन सक्छ ।’ यो त्यस्तो एन्टी–स्याटेलाइट हतियार पनि हुन सक्ने उनको भनाइ छ, जसले उपग्रहलाई पूर्ण रूपमा नष्ट नगरी काम नलाग्ने बनाउन सक्छ । यस्ता हतियार यसअघि नै पृथ्वीमा रहेको उनले बताए । तिनले उपग्रहबीचको सम्पर्क र सञ्चार रोक्न सक्छन् । ‘यदि तपाईंले रेडियो सम्पर्क काटिदिनुभयो भने तपाईंको उपग्रह लगभग बेकार हुन्छ,’ बोवेनले भने । तर योभन्दा खतरनाक र ठूलो क्षति पुर्याउन सक्ने हतियार पनि हुन सक्ने सम्भावनालाई उनले अस्वीकार गरेका छैनन् । यस्तो हतियारले अन्तरिक्षमा ठूलो मात्रामा फोहोर र विनाश निम्त्याउन सक्छ । तर अर्को उपग्रहमा ठोक्किएर त्यसलाई नष्ट गर्ने खालको यान हुने सम्भावना भने कम रहेको उनको भनाइ छ । त्यस्तो यानले अर्को उपग्रहसँग ठोक्किने वस्तु छोडेर त्यसलाई नष्ट गर्न सक्छ । अर्को सम्भावना भनेको अर्को उपग्रहको नजिक गएर त्यसको जाँच गर्ने वा त्यसलाई नियन्त्रणमा लिने उपग्रह पनि हुन सक्ने हो । के रूस र चीनसँग पनि यस्ता हतियार छन् ? रूस र चीनजस्ता अमेरिकी प्रतिद्वन्द्वी देशले पनि यस्ता हतियार अन्तरिक्षमा तैनाथ गरेका छन् वा छैनन् भन्ने यकिन गर्न कठिन छ । जुलियाना जूस यसअघि आरयूएसआईमा रिसर्च फेलो थिइन् । अहिले उनी जर्मन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड सेक्युरिटी अफेयर्समा अनुसन्धानकर्ता छिन् । उनले बीबीसीसँग चीन र रूस दुवैले यस्ता गतिविधि गरेको बताइन् । ‘रूसको मामिलामा हामीले एउटै कक्षमा एन्टी–स्याटेलाइट हतियार परीक्षण गरेजस्तो देखिने गतिविधि देखेका छौं,’ उनले भनिन् । यसको अर्थ रूसले अन्तरिक्षमा कुनै हतियार वा प्रोजेक्टाइल परीक्षणका लागि पठाएको हुन सक्ने उनको भनाइ छ । यसबाहेक पनि यस्ता गतिविधि भएका छन् । तर अमेरिकी हतियारबारे पर्याप्त जानकारी नभएकाले तिनको आपसमा तुलना गर्न कठिन रहेको उनले बताइन् । अमेरिकाले अन्तरिक्षमा तैनाथ गरेको हतियार परम्परागत हतियारभन्दा फरक हुन सक्छ । तर अमेरिका, रूस र चीनसँग लामो समयदेखि पृथ्वीबाट अन्तरिक्षमा रहेका लक्ष्यतर्फ प्रहार गर्न सकिने हतियार छन् । चीनले अमेरिकी घोषणाको विरोध गर्दै अन्तरिक्षमा हतियारको होड रोक्नुपर्ने बताएको छ । तर बोवेनले चीनको यस्तो भनाइको आलोचना गरेका छन् । उनले यसलाई ‘एक चोरले अर्कोलाई चोर भनेजस्तै’ भएको टिप्पणी गरेका छन् । उनका अनुसार अमेरिका, रूस, चीन र भारतले विभिन्न प्रकारका एन्टी–स्याटेलाइट तथा अन्तरिक्षविरोधी हतियार विकास गरेका छन् । ‘रूस र चीनले अन्तरिक्षमा यस्ता धेरै प्रविधि प्रयोग गरेका छन्, जसलाई हतियारका रूपमा प्रयोग गर्ने सम्भावना छ,’ उनले भने । उपग्रहको पछिपछि लाग्ने प्रविधि पछिल्लो १० वर्षमा रूस र चीनले अन्तरिक्षमा ठूलो संख्यामा ‘रेन्डेभु एन्ड प्रोक्सिमिटी अपरेसन’ (आरपीओ) गर्दै आएका छन् । यसमा एउटा उपग्रह अर्को उपग्रहको नजिक पुगेर त्यसको वरिपरि गतिविधि गर्छ । रूस र चीनका उपग्रहहरू पश्चिमी देशका उपग्रहको नजिक पुगेर तिनलाई ‘पछ्याएको’ समेत देखिएको छ । लन्डनको किङ्स कलेजका रूसको सुरक्षा तथा रक्षा मामिलाका लेक्चरर डाक्टर रड थर्नटनका अनुसार सैद्धान्तिक रूपमा आरपीओ प्रविधिलाई अर्को उपग्रहको ‘शिकार’ गरी नष्ट गर्ने उपग्रहमा परिणत गर्न सकिन्छ ।त्यस्ता उपग्रह अर्को उपग्रहसँग सिधै ठोक्किन वा त्यसलाई धकेलेर कक्षबाट बाहिर निकाल्न सक्छन् । बोवेनका अनुसार चीनले ‘स्पेस टग’ अर्थात् अन्तरिक्षमा रहेको उपग्रहलाई तानेर अर्को स्थानमा लैजान सक्ने क्षमता पनि प्रदर्शन गरेको छ । एउटा यान अर्को उपग्रहको नजिक गएर त्यसलाई नियन्त्रणमा लिई अर्को कक्षमा लैजान सक्ने उनले बताए । यो प्रविधि उपयोगी कामका लागि पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि अन्तरिक्षको फोहोर हटाउन वा काम गरिरहेका उपग्रहलाई स्थानान्तरण गर्न सकिन्छ । तर केही अन्तरिक्ष हतियारले ठूलो मात्रामा फोहोरसमेत उत्पादन गर्न सक्छन् । किङ्स कलेजका अन्तरिक्ष सुरक्षा तथा हतियार विशेषज्ञ डाक्टर मार्क हिलबोर्नका अनुसार सन् २००७ मा चीनले पृथ्वीबाटै अन्तरिक्षमा रहेको एउटा उपग्रहलाई निशाना बनाएर क्षेप्यास्त्र परीक्षण गरेको थियो । यस्तो परीक्षणबाट उत्पन्न ठूलो मात्राको फोहोर लामो समयसम्म पृथ्वीको कक्षमा घुमिरहन्छ । जूसका अनुसार चीनको उक्त परीक्षणबाट उत्पन्न फोहोर अझै कक्षमा रहेको र खतरनाक अवस्थामा छ । ‘क्षति पुर्याउन धातुको ठूलो टुक्रा नै हुनुपर्छ भन्ने छैन,’ उनले भनिन् । पृथ्वीको कक्षमा वस्तुहरू अत्यन्त तीव्र गतिमा घुम्ने भएकाले प्लास्टिकको सानो टुक्राले समेत ठूलो क्षति पुर्याउन सक्ने उनको भनाइ छ । परमाणु हतियारको खतरा थर्नटनका अनुसार रूससँग अन्तरिक्ष हतियार र उपग्रहको संख्या कम भए पनि उसको क्षेप्यास्त्र क्षमताले यो कमी केही हदसम्म पूरा गर्छ । रूससँग पृथ्वीबाट प्रहार गर्न सकिने त्यस्ता क्षेप्यास्त्र छन्, जसले पृथ्वीको तल्लो कक्षमा रहेका उपग्रहलाई निशाना बनाउन सक्छन् । रूससँग एएसएटी अर्थात् एन्टी–स्याटेलाइट क्षेप्यास्त्रसमेत छन्, जसलाई विमानमार्फत धेरै उचाइमा लगेर प्रहार गर्न सकिन्छ । थर्नटनका अनुसार रूसको बुझाइमा नेटोसँग उसका भन्दा धेरै र अझ उन्नत उपग्रह छन् । त्यसैले युद्धको मैदानमा केही हदसम्म बराबरी कायम गर्न रूसले एन्टी–स्याटेलाइट हतियारमा ठूलो लगानी गरेको उनको भनाइ छ । थर्नटनले अर्को गम्भीर चिन्तासमेत व्यक्त गरेका छन् । उनका अनुसार अन्तिम विकल्पका रूपमा रूसले अन्तरिक्षमा परमाणु हतियारसमेत प्रयोग गर्न सक्छ । त्यसबाट उत्पन्न हुने ईएमपी अर्थात् परमाणु विद्युत–चुम्बकीय विस्फोटले ठूलो क्षेत्रमा रहेका र यस्तो आक्रमणबाट सुरक्षित नगरिएका उपग्रहलाई नष्ट गर्न सक्छ । अन्तरिक्षमा परमाणु हतियार प्रयोग हुने सम्भावना कति छ ? विज्ञहरूका अनुसार यस्तो अवस्था पृथ्वीमा समेत युद्ध भइरहेको अवस्थामा मात्र बढी सम्भावित हुन्छ । बोवेनका अनुसार अन्तरिक्षमा हुने घटना पृथ्वीमा भइरहेको युद्धबाट अलग हुने छैन ‘केही पनि नहुन सक्छ । केही हुन पनि सक्छ,’ उनले भने । अमेरिकाले अहिले किन घोषणा गर्यो ? अन्तरिक्षमा प्रयोग हुने हतियार लामो समयदेखि अस्तित्वमा छन् । त्यसो भए अमेरिकाले अहिले आएर आफ्नो हतियारबारे घोषणा किन गर्यो ? विज्ञहरूको बुझाइमा यो कुनै ठूलो नयाँ प्राविधिक उपलब्धि होइन । बरु यो राजनीतिक सन्देश हुन सक्छ । बोवेनका अनुसार यो चीनको बढ्दो अन्तरिक्ष क्षमताको जवाफ पनि हुन सक्छ । उनले चीनले पछिल्लो ३० वर्षमा आफ्नो सेनालाई आधुनिक बनाएको बताए । चीनले अन्तरिक्षमा ठूलो संख्यामा सैन्य उपग्रह तैनाथ गरेको छ । यसले अमेरिकी सेनाले निशाना बनाउन सक्ने लक्ष्यको संख्या बढाएको छ । त्यसैले अमेरिकासँग अन्तरिक्ष हतियार विकास र तैनाथ गर्ने थप कारण बनेको उनको भनाइ छ । अमेरिकाजस्तै चीन पनि अन्तरिक्षमा निर्भर छ । त्यसैले चीनलाई पनि अन्तरिक्षमा रहेका उसका साधनमार्फत निशाना बनाएर क्षति पुर्याउन सकिन्छ । अन्तरिक्ष युद्धमा रूसलाई किन फाइदा हुन सक्छ ? विज्ञहरूका अनुसार यसले अन्तरिक्ष युद्धमा एउटा असन्तुलित अवस्था सिर्जना गरेको छ । चीन र अमेरिकाको तुलनामा रूससँग निकै कम उपग्रह छन् । यही कारण थर्नटनको मान्यता छ कि अन्तरिक्ष युद्ध भएमा रूस ‘सबैभन्दा ठूलो विजेता’ बन्न सक्छ । रूससँग गुमाउनुपर्ने उपग्रह कम हुनेछन्, जबकि उसले अमेरिका र चीनजस्ता देशका उपग्रहलाई निशाना बनाउन सक्छ । यसमा अन्तरिक्षतर्फ प्रहार गर्न सकिने क्षेप्यास्त्रदेखि अर्को उपग्रहको नजिक पुगेर त्यसलाई कक्षबाट हटाउने वा नष्ट गर्ने उपग्रहसम्म प्रयोग हुन सक्ने उनको भनाइ छ । त्यस्तै, पृथ्वीमा जडान गरिएका लेजर हतियार पनि अन्तरिक्ष युद्धको हिस्सा बन्न सक्छन् । (बीबीसीबाट अनुदित तथा सम्पादित) पठनीय सामग्रीहरू : खतरा मेसिनमा कि मानिसमा ? के एआई मानव जातिका लागि खतरा हो ? रुसको चुनावमा पुटिनको परीक्षा, युद्धसँगै चर्किँदै रुसी अर्थतन्त्रको संकट आणविक हतियारको होड तीव्र, थप जोखिम बढ्दै
शय्या अभावले भक्तपुर क्यान्सर अस्पतालबाट बिरामी फर्किँदै
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावका कारण उपचारका लागि आएका बिरामी फर्कनुपर्ने अवस्था भएको छ । साँघुरो पूर्वाधारका कारण भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई समेत सेवा दिन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेका अनुसार दैनिक करिब ३० जना क्यान्सरका बिरामीलाई भर्ना तथा डे–केयर उपचार आवश्यक पर्ने भए पनि शय्या अभावका कारण समस्या भएको हो । शल्यक्रिया र रेडियसनका लागि बिरामीले दुई सातासम्म कुर्नुपर्ने अवस्था रहेको उनले बताए । एक सय ६५ शय्या रहेको अस्पतालमा दैनिक ७ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये करिब ८० प्रतिशत क्यान्सरका बिरामी छन् । दैनिक ८–१० जनाको शल्यक्रिया, करिब ७० जनालाई किमोथेरापी र १५० जनालाई रेडियसन सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । पूर्वाधार अभावका कारण उपचारका लागि आएका विपन्न बिरामीसमेत निजी अस्पताल वा भारत जान बाध्य भएको डा.चालिसेले बताए । अस्पतालका लागि चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा जग्गा खोजिए पनि हालसम्म प्राप्त हुन सकेको छैन ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी अभियान तिव्र, ११ हजारले पाए मनोसामाजिक सेवा
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, रोग निगरानी तथा खोप अभियानलाई तीव्रता दिइएको छ । बाढीमा परी घाइते भएका ३४४ जनामध्ये २९३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १५ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार असोज ४ गतेसम्म १९ वटा स्वास्थ्य संस्थाबाट प्राप्त विवरणमा बाढीपछि अस्पतालमा उपचार गराइरहेका १५ जना रहेका छन् । उपचारका क्रममा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उपचाररतमध्ये त्रिवि शिक्षण अस्पतालमा ८ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ३ जना, पाटन अस्पतालमा २ जना तथा श्री वीरेन्द्र अस्पताल र बीएनबी अस्पतालमा १/१ जना उपचाररत छन् । बाढीपछि सम्भावित संक्रामक रोगको जोखिमलाई मध्यनजर गर्दै प्रभावित जिल्लामा रोग निगरानी प्रणालीलाई समेत सक्रिय बनाइएको छ । पछिल्लो २४ घण्टाको निगरानीमा २ जनामा सामान्य ज्वरो र १ जनामा एक्युट ग्यास्ट्रोएन्टेराइटिसको लक्षण देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म झाडापखाला तथा अन्य ठूला सरुवा रोगको प्रकोप नियन्त्रणमै रहेको छ । हैजाविरुद्धको खोप अभियान तीव्र बाढी तथा विस्थापनपछि दूषित पानी र खाद्य पदार्थका कारण हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । हालसम्म नुवाकोटमा ६५ प्रतिशत र रसुवामा ५०.४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । उद्धारकर्मी तथा घाइतेलाई टिटानस–डिप्थेरिया खोपसमेत दिइएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन ३४ वटा मेडिकल टोली परिचालन गरिएको छ । तीमध्ये ६ टोली हाल फिल्डमै सक्रिय छन् । परिचालित टोलीबाट हालसम्म ८ हजार २२६ जनाले स्वास्थ्य सेवा पाएका छन् । ११ हजारभन्दा बढीलाई मनोसामाजिक सेवा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिका कारण प्रभावितमा परेको मानसिक असर सम्बोधन गर्न मनोसामाजिक स्वास्थ्य सेवासमेत सञ्चालन गरिएको छ । मन्त्रालयका अनुसार ९१ जना विशेषज्ञ तथा परामर्शदाता फिल्डमा परिचालन भएका छन् । उनीहरूमार्फत हालसम्म ११ हजार ७८१ जनाले मनोसामाजिक प्राथमिक उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नुवाकोट, काठमाडौं, रसुवा र धादिङका २२ वटा होल्डिङ सेन्टरमा १ हजार ४५७ जना रहेका छन् । तीमध्ये ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा अपाङ्गता भएका २६८ जनालाई प्राथमिकतामा राखेर स्वास्थ्य निगरानी भइरहेको छ । पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टरमा रहेका २९६ जनाले स्वास्थ्य सेवा पाएका छन् । चार स्वास्थ्य संस्था पूर्ण क्षतिग्रस्त बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै, बैरेनी अस्पताल, चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बैरेनी आयुर्वेद औषधालयमा आंशिक क्षति पुगेको छ । क्षतिग्रस्त स्वास्थ्य संस्थाबाट सेवा प्रभावित नहोस् भनेर बैरेनी अस्पताल, चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बैरेनी आयुर्वेद औषधालयले वैकल्पिक स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । बाढीका कारण दुई स्वास्थ्य संस्थामा पुग्ने बाटोसमेत अवरुद्ध भएको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले जनाएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन स्वास्थ्य सेवा सञ्चालनसँगै पानी तथा खाद्य स्वच्छता, रोग निगरानी, खोप, मनोसामाजिक सेवा र उच्च जोखिम समूहको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर प्रतिकार्य अघि बढाएको छ ।
'रसुवा बाढीमा सम्पर्कविहीनहरू अब जीवित भेट्टिने सम्भावना कम छ, तर उद्धारमा अझै केन्द्रित छौँ'
काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन् । यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए । उनले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको कार्यलाई जारी राखेको जानकारी दिए । कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए । सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनको भनाइ छ । उनले खोज तथा उद्धारपछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको काम अगाडि बढाउने बताए । उनले भने, ‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छन् । खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ, यद्यपि विपद् विज्ञ म होइन । अन्तर्राष्ट्रिय अभ्यास २१ दिनपछि पनि जीवितै पाइन्छन् भन्ने कुरा छ । अहिले अन्यत्र त हाम्रो त्यस्तो भेटिएको छैन ।’ उनले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँगको समन्वयमा भइरहेको पनि जानकारी दिए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनको भनाइ छ । उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको उनले बताए । स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छन् । हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको उनको भनाइ छ ।
काठमाडौंमै नक्कली ३० लाख दिएर १० लाख रुपैयाँ ठगी गर्न खोज्ने दुई जना पक्राउ
काठमाडौं । नक्कली नोट देखाएर बढी रकम दिने प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने र सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार शुक्रबार साँझ ५ बजे काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित फलफूल बजारनजिक पीडितलाई बोलाई १० लाख रुपैयाँ ल्याउन लगाइएको थियो। उनीहरूले पीडितलाई १० लाख रुपैयाँको सट्टामा ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने प्रलोभन देखाएका थिए । घटनाबारे अनुसन्धान गर्ने क्रममा खटिएको प्रहरी टोलीले बल्खुस्थित फलफूल बजारबाटै लामिछाने र विकलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घट्यो, चाँदी बढ्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
रामबागमा केन्द्रीय सदस्य जुटे, च्यासलमा सचिवालय बैठक अझै जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहे पनि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठक भने अझै टुंगिएको छैन । केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा पार्टी पुनर्गठन र निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा सचिवालयमा छलफल जारी रहेको एक एमाले नेताले जानकारी दिए । सचिवालय बैठकले कार्यदलबाट आएका सुझाव तथा प्रतिवेदनमाथि आवश्यक निर्णय गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने विषय टुंगो लाग्ने ती नेताले बताए । कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित विभिन्न प्रस्तावलाई समेटेर प्रतिवेदन तयार पारे पनि केही विषयमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबीच सहमति जुटाउन बाँकी रहेको बताइएको छ । च्यासलमा सचिवालय बैठक लम्बिँदा रामबागमा पुगेका केन्द्रीय सदस्यहरू भने केन्द्रीय कमिटी बैठक सुरु हुने प्रतीक्षामा छन् । आजको बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशासहितका विषयमा छलफल हुने तयारी छ । सचिवालय बैठकले टुंग्याउने निर्णय र प्रस्तावकै आधारमा केन्द्रीय कमिटी बैठकका एजेन्डा अन्तिम रूप दिइने भएकाले दुवै बैठकलाई एमालेभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ । रामबाग महलमा केन्द्रीय सदस्यहरू जम्मा भइरहे पनि च्यासलको सचिवालय बैठक कहिले सकिन्छ भन्नेमा स्पष्ट समय तय भइसकेको छैन । सचिवालय बैठक सकिएपछि मात्रै केन्द्रीय कमिटी बैठक औपचारिक रूपमा सुरु हुने सम्भावना छ ।