विकासन्युज

सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेपछि प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेको पुष्टि भएपछि धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ । सेक्यूरिटिजको विराटनगर शाखा प्रमुखले सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ भन्दै भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको बोर्डले उक्त सेक्यूरिटिजलाई सो मात्राको आर्थिक जरिवाना लगाएको हो । सेक्यूरिटिजको प्रमुखले गत जेठ ४ गते हुने सिभिल बैंकको साधारणसभा अघि बैंकको सेयर किन्नुहोस्, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेज पठाएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त संस्थाले आफ्नो शाखा कार्यालयको काम कारवाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले यस सेक्यूरिटिजलाई जरिवाना लगाएको विज्ञप्तिमा बताइएको छ ।

साल्ट ट्रेडिङ्गले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । हाल कर्पोरेशनको चुक्ता पुँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी १२ करोड नाघ्ने छ ।

पैसा जम्मा गर्न खाता भएकै बैंक जानुपर्ने वाध्यता सकियो

काठमाडौं । के तपाईको खाता भएको बैंक टाढा छ ? खातामा रकम जम्मा गर्न जान समय लाग्ने गरेको छ ? अब चिन्ता नलिनुस, तपाईले आफुलाई पायक पर्ने जुनसुकै बैंकको शाखा कार्यलयबाट रकम जम्मा गर्न पाउनु हुने भएको छ । नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत निर्णय गरेको छ । राष्ट्र बैंकले यसलाई कार्यन्वयनमा ल्याउने निर्णय गरेको सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । यो व्यवस्था कार्यन्वयन गराउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ । जस्तो एनएमबी बैंकमा खाता हुनेले सानिमा बैंकबाट जम्मा गर्न सक्ने छ । खाता नम्बर एनएमबीको राख्नुपर्ने छ । शुल्क तिरेर हाल जुनसुकै बैंकको एटीएमबाट भुक्तानी लिन सक्ने व्यवस्था रहेकोमा रकम जम्मा गर्न बैंकमा नपुग्दा पनि हुने व्यवस्था कार्यन्वयनमा आउन लागेको हो ।यस्तै केन्द्रीय बैंकले ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ ।

लगानी योग्य पूँजी अभाव दोहोरिने बैंकर्स संघका अध्यक्षको चेतावनी, अर्थ राज्यमन्त्री भन्छन्-अब दिर्घकालिन समाधान

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फेरी पनि लगानी योग्य पुँजीको अभाव दोहोरिन सक्ने चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५१ औं बार्षिकोत्सव समारोहमा शुभकामना दिन पुगेका अध्यक्ष ढुंगानाले दिर्घकालिन समाधानका उपाय नखोजेर क्षणिक समाधानमा केन्द्रित हुँदा समस्या पुनः दोहोरिन सक्ने चेतावनी दिएका हुन् । ‘नेपालमा कहिले तरलता अभाव त कहिले लगानी योग्य पुँजीको अभाव हुँदै आएको छ, समस्याको जड पहिल्याउन भन्दा पनि क्षणिक समाधाना उपाय खोज्न लाग्यौं, यसले भोलीका दिनमा पनि समस्या ल्याउनेछ’, ढुंगानाले भने । उनले बैंकर्स संघ मार्फत लगानी योग्य पुँजी अभावको दिर्घकालिन समाधानको सुझाव केन्द्रिय बैंक र अर्थमन्त्रालयमा बुझाएको दावी पनि गरे । लगानी योग्य पुँजीको अभावमा कर्जा विस्तार गर्न नसकेको बताउँदै उनले कर्जा वृद्धि बिना आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन नसक्ने दावी पनि गरे । कार्यक्रममा अर्थराज्य मन्त्री उदय शमशेर राणाले लगानी योग्य पुँजी अभावको दिर्घकालिन समाधान खोजी भैरहेको बताएका थिए । उनले भने–‘लगानी योग्य पुँजीको अभावको दिर्घकालिन समाधानका लागि अर्थमन्त्रालय गम्भिर बनेको छ, हामीले नेपाल राष्ट्र बैंकसँग घनिभूत छलफल पनि गरिरहेका छौं ।’ उनले निकट भविष्यमै लगानी योग्य पुँजी अभावको समाधान गर्ने बताएका हुन् । अर्थराज्य मन्त्री राणाले तरलता अभावको समाधनबिना कर्जा लगानी नबढ्ने र कर्जा लगानी नबढे आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल पर्ने भएकाले मन्त्रालयले गम्भिर ढंगले काम गरिरहेको बताएका हुन् । उनले ग्रामिण अर्थतन्त्र जागरुक बन्दै गएकाले बैंकहरुले निक्षेप संकलनको दायरा बढाउन ग्रामिण क्षेत्रमा केन्द्रित हुनुपर्नमा पनि जोड दिए ।‘अब ग्रामिण क्षेत्रको अर्थतन्त्र शसक्त बन्दै छ, गाउँ गाउँमा आर्थिक गतिबिधी बढ्दैछन्, बैंकहरुले अब आफुलाई त्यतै केन्द्रित गराउनुपर्छ’, राणाले भने ।

साकुरा सेभिङ्गको प्रधान कार्यालय चावहिलको चुच्चेपाटीमा

काठमाडौं । साकुरा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले आफ्नो प्रधान कार्यालय चावहिलको चुच्चेपाटीमा उद्घाटन गरेको छ । दश वर्ष अगाडी काठमाडौंको स्रोह्रखुट्टेबाट सेवा सुरु गरेको यस संस्थाले शनिबार चावहिलको चुच्चेपाटीमा एक समारोहकाबिच उक्त कार्यालयको औपचारिक उद्घाटन गरेको हो । उक्त कार्यालयको उद्घाटन गरिबी निबारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले गरेका हुन् । यस संस्थाको सेयर पुँजी २ करोड र चुत्ता पूँजी १ करोड रुपैयाँ रहेको छ । साथै, संस्थाको कारोबार ७ करोड रुपैयाँ रहेको को-अपरेटिभका कोषाध्यक्ष गोबिन्द कार्कीले जानकारी दिए । गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीले महत्वपूर्ण भूमीका खेलेको कुरामा जोड दिएकी छन् । सहकारीले रोजगारीको सृजना गरि बढ्दो वैदेशिक रोजगार घटाउनुका साथै वेरोजगार सृजनामा समेत टेवा पुगेको उनले बताईन् । कार्यक्रममा पूर्व मन्त्री तथा सांसद गगन थापाले संख्यात्मक भन्दा गुणस्तरीय सेवा दिनुपर्ने उल्लेख गर्दै सहकारीले परिवर्तीत परिस्थिति अनुसार सेवा सञ्चालन र विस्तार गर्न चुनौती पूर्ण रहेको बताए ।

बैंक र ऋणिबीचको विवाद बढ्दो, पुसमा मात्र ऋण असुली न्यायाधीकरणमा २८ मुद्दा दर्ता

काठमाडौं । ऋणि र बैंकबीच विवाद बढ्दै गएको पाईएको छ । ऋणिसँग कर्जा असुल गर्न नसकेपछि पुस महिनामा मात्र ऋण असुली न्यायाधीकरणमा २८ वटा मुद्दा दर्ता भएका छन् । हरेक महिना यस्तो मुद्दा थपिने क्रम बढ्दै गएको न्यायाधीकरणका अध्यक्ष मान बहादुर अर्यालले बताए । पुस महिनामा नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकले मात्र २१ ओटा मुद्दा दर्ता गरेको हो । विभिन्न विकास बैंकहरु मर्जभएपछि ती बैंकसँग सम्बन्धित कर्जामा विवाद बढी देखिएको बैंक सम्बद्ध स्रोतले बतायो । न्यायाधीकरण मुद्दा दर्ता शाखाका अनुसार मुद्दा दर्ता गर्नेहरुमा नबिल, प्रभु बैंकले २/२ जनता, एनएमबी बैंकले १/१ र आइसीएफसी फाइनान्सले १ वटा मुद्दा दर्ता गराएका छन् । आर्थिक वर्ष ०७४्र/७५ को पुस महिना सम्ममा ७८ वटा मुद्दा दर्ता भएको न्याधीकरणका स्रस्तेदार भेषराज कोइरालाले जानकारी दिए । उनका अनुसार गत साउन महिनामा ७, भदौ महिनामा १०, असोजमा १०, कार्तिकमा १६, मंसिरमा ६ र पुसमा सबभन्दा धेरै २८ ओटा मुद्दा दर्ता भएको हो । न्यायाधीकरणमा दर्ता भएका ७८ वटा मुद्दामध्ये हालसम्म २८ ओटा मुद्दाको फैसला गरेको छ भने ५ ओटा मुद्दाको मेलमिलाप गरेको नायव सुब्बा शरला शर्माले जानकारी दिइन् । अझै ४५ ओटा मुद्दाको फैसला हुन बाँकी रहेका मुद्दा शाखाका होम प्रसाद आचार्यले जानकारी दिए । पुस महिनाको फैसलाबाट न्यायाधीकरणले ५ करोड २० लाख र मेलमिलापबाट यो महिना ३५ करोड ५३ लाख रुपैयाँ उठाएको छ । यस आर्थिक वर्षको पुस महिना सम्ममा मात्रै न्यायाधीकरणले विभिन्न बैंकका ६३ करोड ७० लाख रुपैया ऋण उठाइदिएको छ । न्ययाधीकरणका अध्यक्ष मान बहादुर अर्यालले कानूनी रुपमा छिटो छरितो काम अघि बढेको तर बैंकले धितो देखाउन आलटाल गर्ने गरेकाले मुद्दा फैसला हुन समय लाग्ने बताए ।

रेडक्रसद्धारा आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना, साेमबारसम्म फिल्ड अभ्यास सञ्चालन हुने

काठमाडौं । नेपाल रेडक्रसले जुनसुकै स्थानमा तत्कालै आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना सम्पन्न गरेको छ । रेडक्रसले विपद् वा सँकटको परिस्थितिमा देखापर्न सक्ने पानीजन्य रोगहरुको उपचार गर्ने उद्देश्यले उक्त क्लिनिक ठाँउठाउँमा स्थापना गरी गरेको हो । आपत्कालीन अस्पताल सञ्चालन प्रकृयाको निर्देशिका तयार भैसकेको र सो अनुसार खटिने प्राविधिकहरु र बन्दोवस्तीकर्ताहरुको लागि पहिलो चरणको तालिम सम्पन्न भैसकेको नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिए । यस्तो आपतकालीन सेवाको लागि नेपाल सरकारसँग सहमति पत्रमा सम्झौता भइसकेको छ । त्यस्तै, क्यानेडियन रेडक्रस लगायतका विभिन्न सोसाइटीहरुबाट पहिलो चरणको खटाइको लागि परिचालन खर्च प्राप्त हुने निश्चित भैसकेकोे छ । क्यानेडियन रेडक्रसका प्राविधिक सँयोजक जुलिया इवामाले २०७२ को भूकम्पको समय देखि नेपालमा स्वास्थ्य सेवा गर्न क्यानेडियन रेडक्रसले गरेको सहयोगको यो निरन्तरता रहेको बताइन् । अन्तिम चरणको तालिम समाप्त र फिल्ड अभ्यास सञ्चालन यसैक्रममा, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र रेडक्रसका स्वयँसेवकहरुले गत सोमबारदेखि चितवनमा ५ दिने तेस्रो तथा अन्तिम चरणको तयारी तालिम शनिबार पूरा गरेका छन् । तालिम पूरा भएकै दिनदेखि फिल्ड अभ्यासमा जुटेका छन् । ३ दिन सम्म सञ्चालन हुने फिल्ड अभ्यासको क्रममा मोडल अस्पताल, पाटन अस्पताल र बीर अस्पताल, न्याम्सका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, नेरेसकोका कर्मचारी तथा स्वयँसेवकहरुले विभिन्न चरणको तालिमको क्रममा सिकेका विषयहरुलाई कृतिम घटना अभ्यास प्रदर्शन गरे । कार्यक्रममा २९ जना मुख्य सहभागीहरु, प्राविधिक, सिमुलेटर र स्थानीय स्वयँसेवकहरुको सहभागिता थियो । फिल्ड अभ्यासको पहिलो दिन शनिबार क्लिनिक सञ्चालनको लागि विरामी प्रारम्भिक परिक्षण गर्ने स्थान, शौचालय सहितको आपत्कालीन बेड रुम, ओपिडि कक्ष, स्टाफ रुम, फार्मेसी जस्ता सेवाको लागि पूर्वाधार खडा गरिएका थियो । त्यस्तै जेनेरेटर, पानी लगायत वन्दोबस्तीको तत्काल व्यवस्था गरी घाइतेको उपचार शनिबारदेखि सुरु गरिएको थियो । दोस्रो दिनसम्म विभिन्न किसिमका ६५ वटा विरामीहरुको परिक्षण अभ्यासको गरिएको छ । विपदको अवस्थामा हुन सक्ने स्वास्थ्य समस्याहरुलाई लिएर विरामीहरुको चाप वढेको सहभागी टीम लिडर शुरक्षा पौडेलले जानकारी दिएका छन् । रेडक्रसको अन्तराष्ट्रिय महासँघको एशिया प्यासेफिक क्षेत्रका कोअर्डिनेटर क्याम, फिलिपिन्स रेडक्रसका एल र फ्लोरि, क्यानेडियन रेडक्रसका डा. सेवास्टिन र जुलिया लगायतका विदेशी तथा स्वदेशी गरी २० जना प्रशिक्षकहरुले फिल्ड अभ्यास सहजीकरण गरिरहेका नेरेसोका क्लिनिक कार्यक्रम सँयोजक रश्मि श्रेष्ठले जानकारी दिए ।

कृषि विकास बैंकको माघ १५ गतेदेखि बुक क्लोज, ११औँ वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । कृषि विकास बैंकको आगामी माघ १५ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले  साधारणसभामा जाने प्रयोजनको लागि सो दिन देखि माघ २९ गते(अर्थात १५ दिन)सम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी ११औँ वार्षिक साधारणसभा माघ २९ गते हुँदै छ । उक्त सभामा बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दै छ । साथै, बैंक सञ्चालक समितिको बैठकले ६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।