विकासन्युज

जस्तो कम्पनी उस्तै नेतृत्व, यौन प्रकरणमा कुमारी बैंकबाट हटाइएका सीईओ युनाईटेड इन्स्योरेन्सको अध्यक्ष

काठमाडौं । खराव व्यक्तिगत आचरण र असामाजिक कार्य गरेपछि कुमारी बैंकले तीन वर्षअघि हटाएको तत्कालिन प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलार्इ यूनाईटेड इन्स्योरेन्स कम्पनीले अध्यक्ष बनाएकाे छ । २०७१ साल ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टमा यौनक्रिडा गर्दै गर्दा उपाध्यायलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलार्इ प्रहरीले दिनसम्म प्रहरी कार्यलय तिनकुने थुनेकाे थियाे ।   प्रहरीले उनीमाथि सामाजिक अपराध सम्बन्धि मुद्दा समेत चलाएको थियो । उक्त घट्नाले त्यतिबेला सबै बैंकका सीईओहरुले प्रतिष्ठाको ‘नाक काटिएको’ महसुस गरेका थिए । नेपाली समाजमा सबैभन्दा बढी पारिश्रमिक लिने भनेर चिनिएका बैंकका सीईओहरु मध्ये एक सीर्इअाेलार्इ प्रहरीले दिउँसै यौन धन्दामा लागेको भेट्टाएपछि सामाजिक रुपमा उनको बेइजत भएको थियो । उपाध्यायको व्यक्तिगत बेइजतिसँगै बैंकको प्रतिष्ठामा पनि दाग लागेपछि बैंकले प्रमुख कार्यकारी अधिकृतबाट उपाध्यायलाई तत्काल निलम्बन गरेको थियो । तारेकमा छुटेलगत्तै उपाध्यायले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए । कुमारी बैंकबाट राजीनामा गरेपछि करिव तीन वर्ष गुमनाम भएको उपाध्याय युनाईटेड इन्स्योरेन्सको अध्यक्ष भएपछि चर्चामा आएका छन् । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि बैंकिङ कसुर लगायत विभिन्न मुद्दा झेल्दै आएका छन् । संस्थागत सुशासन ज्यादै कमजोर भएको र प्रवद्र्धकहरुको थिचोमिचोले घाटामा चलिरहेको यूनाईटेड इन्स्योरेन्सले नैतिकता र सामाजिक मर्यादा पतन भएको व्यक्तिलाई अध्यक्ष बनाउँदा यो कम्पनीको इमेजमा अर्को धक्का सेयरधनीहरू बताँउछन् । सर्वसाधारण मानिसहरु पनि सेयरधनी रहेको यो संस्थामा सानालाई ऐन र ठूलालाई चैन चलिरहेको उनीहरूकाे बुझाइ रहेकाे छ । यो कम्पनी हाल नोक्सानमा चलिरहेको छ । असोज मसान्तसम्ममा कम्पनी ६ करोड ९४ लाख रुपैयाँ संचित नोक्सानीमा छ । ३० करोड चुक्ता पुँजी भएको यो कम्पनीलाई २०७५ असार मसान्तसम्म १०० करोड रुपैयाँ पुर्याउनु पर्ने बाध्यता छ । करिव ७ करोड रुपैयाँ नोक्सान भएको यस कम्पनीले नाफा आर्जन गरेर बोनस सेयर जारी गरी पुँजी वृद्धि गर्ने सम्भावना देखिदैन । हकप्रद सेयर निष्काशन गर्दा बिक्री नहुने डरमा कम्पनी गुज्रिरहेको छ । कम्पनीले गत पुस २६ गते साधारणसभा गर्दा हकप्रद सेयर निष्काशन गर्ने प्र्र्रस्ताव साधारणसभामा लैजान पनि सकेन । कम्पनीको व्यवसाय खस्कदै गएको छ भने ब्राण्ड इमेज विग्रिएको छ । सबैतिर अस्तव्यवस्था भएपछि र ब्राण्ड इमेज खत्तम भएपछि उक्त कम्पनीबाट पुराना र राम्रा कर्मचारीहरूले भटाभट छोडिरहेका छन् ।

ललितपुर मलमा थप ४० मोबाईल सप

काठमाडौं । ललितपुरको राम्रोे माबाईल हाउसको रुपमा नाम कमाउन सफल ललितपुर मलको दोस्रो तल्लामा रहेको ४० मोबाईल पसललाई वृद्धि गरेर ८० पुर्याउने लक्ष्यका साथ कार्य अगाडी बढिरहेको छ । यस मलले करिब ७० देखि ८० लाख सम्म महिनामा आम्दानी गर्ने गरेको छ । मलको सिवव सुजन बज्राचार्य भन्छन, ‘ललितपुरमा ठूलो मोबाईल हाउस एउटै छानामुनि बनाउने उदेश्य लिएर अगाडी बढदै छौँ र यसका लागि पहिलो तल्लामा ४० मोबाईल सप थप गर्ने तयारी गरेका छौं’ मलमा कपडा, जुता, कस्मेटिक, किडस् वेयरहरु , डेन्टल क्लिनिक, बेकरी र कफि सप रहेका छन् । मोबाईल सप आकर्षणको केन्द्विन्दुमा रहे ता पनि छैटौँ तल्लामा रहेको क्लिफ रेष्टेबाट काठमाडौँको दृश्य हेरेर चाईनिज, इनडियन , थाई ,र नेपाली परिकारको मज्जा लिनेहरु पनि धेरै रहेका छन् । यहाँ सम्मेलन हलको पनि व्यवस्था रहेको छ । सिनेमा हल खोल्ने मलको भावी योजना रहेको छ ।  

१ अर्ब बढीको शेयर कारोबार

काठमाडौं । यस साता धितोपत्र बजारमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ ।   कारोबार रकम गत साताको भन्दा ३५.९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा ५.३४ अंकले घटेर २९६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो । कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । रासस

४० करोडको उद्योग बन्द गरेर ८० करोड लगानी, भन्सारले यसरी डुबाउँदैछ स्वदेशी उद्योग

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया काठमाडौं । हेटौँडा औद्योगीक क्षेत्रभित्र २०० रोपनी जमिनमा फैलिएको छ निम्बस ग्रुपको प्रोजियोकेम ईण्डष्ट्रिज प्राली । करिब ३ अर्ब लगानीमा यो कम्पाउण्डभित्र केमिकल, ड्रम र झोला बनाउने फेब्रिक उद्योगहरु सञ्चालनमा छन भने रंगको कच्चा पदार्थ इमल्सन बनाउने उद्योग सञ्चालनको तयारीमा छ । नेपालकै पहिलो केमिकल उद्योग दावी गरिएको प्रोजियोकेम उद्योगमा एउटा यस्तो संयोग जुर्दै छ की, त्यहाँ ४० करोड रुपैंयाँ लगानीको उद्योग बन्द गरेर ८० करोडमा अर्काे प्लान्ट जडान गरिँदै छ । किन त्यस्तो भयो त ? उद्योगका मेनेजर शैलेश लामिछाने भन्छन–‘अधिकांश कच्चा पदार्थ आयात गरिनुपर्छ । तयारी उत्पादन र कच्चा पदार्थको भन्सार दर फरक छ, तयारी समानको भन्दा कच्चा पदार्थको भन्सार दर बढि भएपछि प्रतिष्पर्धी क्षमता गुम्यो, अनि उद्योग बन्द गर्नुका विकल्प हामीले भेटेनौं ।’ कम्पनीले उच्च भन्सार दरका कारण आयातित वस्तुसँग प्रतिष्पर्धा गर्न नसकेपछि ४० करोड लगानीमा सञ्चालन गरिरहेको डिओपी प्लान्ट बन्द गर्न लागेको हो । मासिक ४ सय टन उत्पादन क्षमताको उद्योग बन्द गर्ने तयारी थालेको निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाले स्विकार गरे । ‘नेपालमा उद्योग चलाउनु भनेको सबै भन्दा कठिन काम हो, कच्चा पदार्थको भन्दा तयारी समानको भन्सार कम छ, अनि हामीले कसरी उद्योग चलाउन सक्छौं, सरकारले औद्योगीकरण गर्ने भन्छ तर भन्सार दरमै न्याय गर्न सक्दैन, अनि मुलुक कसरी अघि बढ्छ’, निम्बसका प्रबन्ध निर्देशक बगरियाले भने । डिओपी प्लान्टले जुत्ता तथा कार्पेटलाई मुलायम र लेसिलो बनाउने कच्चा पदार्थ उत्पादन गर्दै आएको छ । नेपालमा यस्तो कच्चा पदार्थको बजार मासिक ६ सय टन रहेको अनुमान गरिन्छ । ४० करोड लगानीको डिओपी प्लान्ट बन्द गर्ने तयारीसँगै उद्योगले ८० करोड लागतमा नयाँ उद्योगको स्थापना गर्ने तयारी भने अन्तिम चरणमा पुर्याएको छ । रंग उत्पादक कम्पनीहरुका लागि इमल्सन नामको कच्चा पदार्थ उत्पादन गर्ने सो प्लान्टले आगामी ३ महिनापछि नै उत्पादन थाल्नेछ । ४० करोड लगानी डुबाएर ८० करोड थप्ने जोखिम मोल्ने आँट कसरी आयो ? निम्बसका प्रबन्ध निर्देशक बगरिया भन्छन–नेपालमा करिब ६० वटा रंग उद्योग छन्, ति उद्योगले इमल्सन नामको कच्चा पदार्थ आयात गर्दै आएका छन्, त्यसमा हामीले उत्पादन गर्यौं भने २० प्रतिशतको हाराहारीमा भ्याल्युएड गर्न सक्ने देखेर लगानी गर्न लागेका हौं ।’ इमल्सन प्लान्टले मासिक ५ सय टन उत्पादन क्षमता राख्नेछ । हाल बजारमा इमल्सनको मासिक माग १२ सय टन रहेको अनुमान गरिन्छ । एसियन पेन्ट, बर्जर, लगायतका ठुला कम्पनीले इमल्सन खरिद गर्ने संकेत दिएपछि बगरिया थप उत्साहित बनेका छन् । प्रोजियोकेमका मेनेजर लामिछानेले हेटौँडामा स्वदेशी केमिकल हब बनाउने उदेश्यले वृहत अध्ययनपछि इमल्सनसहितका अन्य तीन प्लान्टमा थप एक अर्ब लगानी थप्ने जोखिम उठाएको बताए । हाल कम्पनीले बिभिन्न आकारमा ड्रमहरुको निर्माण गरिरहेको छ भने केहि समयभित्रै रंग उद्योगहरुका लागि बिभिन्न आकारमा बट्टाहरुको निर्माण थाल्ने तयारी गरेको छ । रंग हाल्ने बट्टाहरु हाल ५० प्रतिशतको हाराहारीमा आयात भैरहेका छन । ५० प्रतिशत हिस्सा भने नेपाली कम्पनीहरुकै उत्पादनले धानिरहेको छ । दैनिक १५ सय वटा बाल्टिन उत्पादन क्षमताको प्लान्ट जडान गर्न लागिएको हो ।कम्पनीले फेब्रिक ब्यागका लागि कपडाको पनि उत्पादन गरिरहेको छ ।

हजारौं जंगे, पिलर हराए, सार्छौ सीमाना, कति ठाम मात्रै

जप्छौ जन्ताको, कति नाम मात्रै । भर्छौ झोलीमा, कति दाम मात्रै ।। दुःखेन सुस्ता, लिपुलेक पनि । गर्छाै नि कति, तामझाम मात्रै ।। हजारौं जंगे, पिलर हराए । सार्छौ सीमाना, कति ठाम मात्रै ।। मुक्तिका लागि, देशै बनाउन । ह्विस्की–वियर, शुभ साम मात्रै ।। रातो रक्त यो, देशै जोगाउने । तातो रक्तको, यै हो काम मात्रै ।। उठौं न युवा, बचाउन धर्ति । कति खानु त्यो, खाली माम मात्रै ।। जप्छौ जन्ताको, कति नाम मात्रै । भर्छौ झोलीमा, कति दाम मात्रै ।।

सिटिजन्स बैंकको नाफा ६२ करोड ८६ लाख, गत बर्षभन्दा ३० लाख कम

काठमाडौं । सिटिजन्स बैंकले ६२ करोड ८६ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा सो नाफा कमाउन सफल भएको हो । यद्यपी यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा ३० लाखले कम हो । गत आवको पुस मसान्तसम्ममा बैंकले ६३ करोड १६ लाख नाफा कमाएको थियो । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब २१ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३० करोड कर्जा लगानी गरेको देखिन्छ । बैंकले ३ अर्ब २४ करोड ब्याज आम्दानी गरेर २ अर्ब २६ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ६६ पैसा छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ ८७ पैसा रहेको छ ।  

कैलाश विकास बैंकले विनाधितो १५ लाख ऋण दिने, एक दिनमै निर्णय

काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ । डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो । मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमृतचरण श्रेष्ठले बताए । उनले राम्रो जागिर भएका व्यक्तिलाई यो कर्जा सुविधा दिने उनले जानकारी दिए । यस्तो कर्जा एक दिनमा प्रवाह गरिने बैंकले जनाएको छ ।  

दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी हुने

काठमाडौं । आइतबार र सोमबार राष्ट्रिय सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आयोजना हुने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियर्स एशोसिएसन को संयुक्त आयोजनामा दुई दिने सम्मेलन राजधानीमा हुनेछ । नेपाल इन्जिनियर्स एसोसियसनले पत्रकार सम्मेलनको आयोजना गर्दै गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्धारा नेपालको सडक सुरक्षाको चुनौति र भावी कार्यानतिको बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा ३ सय जनाले भाग लिनेछन् । आयोजकका अनुसार कार्यक्रमलाई नेपाल उद्योग परिसंघ, ट्राफिक प्रहरी निर्देशनालय, गैर आवासीय नेपाली संघ लगायतले समन्वय गरेका छन् । कार्यक्रमले नेपालमा हुने सडक दुर्घटनाको न्यूनिकरण गर्दै राष्ट्रिय विकासको परिणाम, दिशा प्रभाहमा सकारात्मक असर पर्ने विश्वास लिएको छ ।