गरिमा विकास बैंकको नाफा १८ कराेड, निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गरिमा विकास बैंकको खुदनाफा बढेको छ । गत पुससम्म बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा १ प्रतिशत थियो । बैंकको निक्षेप लागत बढेर ८.१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७.९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७.३४, आधार ब्याजदर ११.६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ । समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापँुजी बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद लिलाम हुदै, बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २६
काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको ३ लाख ७० हजार २४३ कित्ता हकप्रद लिलाम हुन लागेको हो । आउदो माघ २६ गते हकप्रद लिमामी हुने बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थापक सेयर लिलाम हुन लागेको हो । बोलपत्रका लागि एनआईबीएलको लाजिम्पाट काठमाडौं, ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङामा आवेदन बुझाउन सकिने छ । यस्तै बैंकको केन्द्रीय कार्यलय बुटवल तथा सबै शाखा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि आवेदन संकलन केन्द्र रहेको एनआईबीएलले जनाएको छ ।
माघ २६ गतेदेखि नेको इन्स्योरेन्सले ३९ करोड २० लाखको हकप्रद निष्कासन गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।
धितोपत्र बोर्डले रोक्यो सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने
काठमाडौं । धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बताए ।संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । धितोपत्र बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको संस्थाले जनाएको छ । मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाकाे तयारी थियो । बोर्डले अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने सामुदायिकले जनाएको छ ।तत्कालका लागि आईपीओ निष्कासनको सबै काम स्थगन भएको संस्थाले जनाएको छ । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
रेनो एक्सपेरियन्स मेला सुरु, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध
काठमाडौं। नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि माघ ७ गते(आज) देखि माघ १४ गतेसम्म नेपाल भर ‘रेनो एक्सपेरियन्स मेला’ सुरु गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर उक्त मेला आयोजना गरेएको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार मेलामा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध हुनेछ । त्यस्तै एक्सचेन्ज अभियानअन्तर्गत ग्राहकलाई एक लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्याङ्कन र एक्सचेन्ज, नगद छुट लगायत अफर राखिएको जनाएको छ । मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द समेत प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीले जाडो यामका लागि लक्षित गरि ल्याएको ‘रेनो सुप्पर हिट’ स्किम पनि अहिले सञ्चालन भइरहेकोे जनाएको छ ।
स्मार्टफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले, अब म्याटबुक ल्याउदै
काठमाडौं। लोकप्रिय ब्राण्ड हुवावेले अब म्याटबुक भित्र्याउने भएको छ । अहिलेसम्म नेपालमा स्माटफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर म्याटबुक भित्र्याउन लागेको हो । नेपालको लागि हुवावेको आधिकारीक बिक्रेता कल मोबिलिटीका मार्केटीङ म्यानेजर रोशन न्यौपानेले हुवावेले भित्र्याउने म्याटबुक ‘क्यान इन्फोटेक’ मेलाको अवसरमा सार्वजनिक गरिने बताए । ‘सार्वजनिक गरिने म्याटबुकको मूल्य १ लाख ७० हजार रुपैयाँको हाराहारीमा हुनेछ,’ उनले भने ‘हालसम्म हुवावेले स्मार्टफो, ट्याबलेट बिक्री गर्दै आएकोमा ग्राहकहरुको माग अनुसार अब म्यटबुक बिक्री गर्न लागेको हो ।’ म्याटबुक झन्डै ल्यापटप जस्तै हुन्छ । म्याटबुकमा टचस्क्रीन हुन्छ भने, ल्यापटपमा हुदैन । साथै म्याटबुक ल्यापटभन्दा पातलो हुन्छ । बोक्नको लागि सजिलो हुन्छ । सार्वजनि गरिने म्याटबुकको बारेमा विस्तृत जानकारी नजिकिदै गरेको क्यान इन्फोटेक मेलामा गरिने मार्केटीङ म्यानेजर न्यौपानेको भनाइ छ ।
निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडेल) प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकारी दिए । अर्थको स्वीकृतिपछि विमानस्थल निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोगमा छलफलको क्रममा छ । आयोगको सहमतिपछि मन्त्रिपरिषद्ले निर्माणका विषयमा आवश्यक निर्णय गर्ने सचिव न्यौपानेको भनाइ छ । मन्त्रालयले विज्ञ तथा सरोकार भएकासँग पनि विमानस्थल निर्माणमा साझा धारणा बनाउने भएको छ । लामो समयदेखि चर्चा रहे पनि काम शुरु हुन नसकेको यो आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ । नेपाली सेनाले विमानस्थलको चार किल्लाभित्र रहेको रुख÷बिरुवा हटाउन लागेको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार भइसकेको छ । रुख कटान स्वीकृतिपछि सेनाले छिट्टै आवश्यक काम शुरु गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा उक्त विमानस्थल निर्माण गर्न लागिएको भए पनि पोखरा र गौतमबुद्ध विमानस्थलको काम अगाडि बढिसकेको छ । तर निर्माण ढाँचाको विषयमा लामो समयसम्म अल्झिनुपर्दा आयोजनाको अघि बढ्न नसकेको हो । सचिव न्यौपानेले सबै प्रक्रिया पु¥याएर विमानस्थल निर्माणको काम शुरु गर्ने तयारीमा सरकार रहेको बताए। “अब चर्चामा होइन, काम नै शुरु हुन्छ । हामी त्यसको प्रक्रियामा लागेका छौँ,” सचिव न्यौपानेले भने । कोरियाली परामर्शदाता कम्पनी ल्याण्डमार्क बल्र्डवाइडले सन् २०१० मा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो । विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने योजना छ । करिब १ खर्ब २१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो विमानस्थल सरकार आफैँले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो तर निर्माण ढाँचामा सहमति नजुट्दा काम भने देखिने गरी हुन सकेको छैन । कोरियाली कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका–१६ मा रहेको टाँगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । रुख हटाउन ८० करोड नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले नेपाली सेनालाई वन फँडानी र सेरोफेरो सडक निर्माणका लागि ८० करोड रुपैयाँ निकासा गर्ने तयारी भइरहेको जानकारी दिए। उनले प्राधिकरणले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए पनि आयोजना प्रमुख तोक्ने वा प्रबन्धक राख्ने भन्ने विषयमा सहमति हुन नसकेको स्वीकारे । हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुख नहुँदा काममा समस्या भएको छ । राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा समेत सो विषयले प्रवेश पाएको थियो । तत्कालीन आयोजना प्रमुख ओम शर्माको कार्यावधि सकिएपछि अर्को प्रमुख तोकिएको छैन । सो विमानस्थल निर्माणको विषयमा कस्तो व्यक्तिलाई पठाउने भन्नेमा प्राधिकरणले हालसम्म निर्णय गर्न सकेको छैन । निर्णय नहुँदा सो विमानस्थलको अलावा निजगढ र पोखरा विमानस्थलको कामसमेत प्रभावित हुन सक्ने देखिएको छ । प्रवक्ता श्रेष्ठले जनशक्ति र उपकरणको उचित व्यवस्थापन गरिएका कारण गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा अगाडि बढेको बताए। लामो समय आयोजना र ठेकेदारका बीचमा रहेको विवादका कारण आयोजनामा समस्यामा परेको थियो । पछिल्लो समय चिनियाँ ठेकेदारले द्रुत रुपमा काम अगाडि बढाएको छ । यो विमानस्थल आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । रासस
प्राकृतिक स्रोत वित्त आयोगले थाल्यो काम
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थालेको छ । सरकारले कामू सचिवमा वैकुण्ठ अर्याललाई पठाएपछि आयोगले औपचारिक रुपमा काम थालेको हो । आइतबारदेखि आयोगको काम सुरु भएको सचिव अर्यालले बताए । आजदेखि औपचारिक रुपमा कार्यलय सञ्चालनमा आएकाले अब आयोगको काम सुरु भएको उनको भनाई छ । आयोगको अध्यक्ष र सदस्य नियुक्त हुन बाँकी छ । सरकारले संघीयता कार्यन्वयनका लागि संवैधानिक व्यवस्थाअनुसार प्राकृतिक स्रोत बाँडफाँड गर्नका लागि आयोग गठन गरेको हो ।