हिमालयन बैंकद्धारा पाटन दरवार क्षेत्रको पुनर्निर्माणमा १ करोड सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रन्जितकारलाई ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरेका हुन् ।
५० प्रतिशत हकप्रद पछि फष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५० प्रतिशत हकप्रद सेयर पछि यस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।
सगरमाथा सेक्यूरीटीजकोे सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन सगरमाथा सेक्यूरीटीज प्राइभेट लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरीटीजकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरीटीजको कारोबार खुला हुने छ ।
सेयर बजार घटेका बेला राम्रो प्रतिफल दिने म्युचअल फण्डमा पनि लगानीकर्ताको आकर्षण कम
काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् । दुबै बैंकको म्युचअल फण्ड निष्कासनको म्याद सोमबारसम्म थियो । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेका हुन् ।सिटिजन्सको सोमबारसम्म ६० करोड रुपैयाँको मात्र म्युचअल फण्ड खरिदका लागि १४ हजार आवेदन परेको छ । यस्तै एनआईसी एसियाको यही हारहारीमा आवेदन परेको एनआईसी एसिया क्यापिटल लिमिटडले जनाएको छ । राम्रो प्रतिफल दिने भएपनि म्युचअल फण्डमा लगानीकर्ताको आकर्षण कम देखिएको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “ आकर्षक प्रतिफल हुदाहुदै खरिद नहुदा हामी अचम्म परेका छौ” उनले भने “निर्धारित समयमा पुरै बिक्री नभएपछि आउदो १७ गतेसम्म म्याद थप गरेका छौ ।” यस्तै एनआईसी क्यापिटलका सीईओ जनकराज ढुङेलले पनि म्युचअल फण्ड पुरै बिक्री नभएकाले म्याद थप गरिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले २१ गतेसम्म समय थपेको बताए । राम्रो प्रतिफल दिने भएपनि लगानीकर्ताको आकर्षण कम देखिएको उनले स्वीकारे । यसअघि सानिमा बैंक र सिद्धार्थ बैंकले निष्कासन गरेको म्युचअल फण्ड पनि लगानीकर्ताको चासो कम देखिएको थियो । सिटिजन्स र एनआईसी दुबै म्युचअल फण्डको अवधि ७ वर्ष छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्सले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएलले गरेका छन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ । सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ ।
अब घरमै बसेर आइपीओ, हकप्रद र एफपीओ भर्न सकिने
काठमाडौं । अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आजबाटै सि आश्वा प्रणाली अनिवार्य गरेर प्राथमिक निष्काशनकाे अावेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको हो । सिडिएसले सार्वजनिक सूचना प्रकाशित गरेर भनेको छ–यसै मितिबाट पूर्ण रुपमा लागू गरिएको व्यहोरा सम्पूर्ण बैंक तथा वित्तिय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्रि प्रबन्ध, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ ।’ हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सिडिएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ । सिडिएसका प्रवक्ता सुरेश न्यौपानको अनुसार अब ७७ वटै जिल्लाबाट सि आश्वा मार्फत घरमै बसेर सेयर आवेदन दिन सकिनेछ । लगानी कर्ताले आफ्नो बैंक खाता र डिम्याट खातालाई सम्बन्धीत बैंक मार्फत मिलान गराउनुपर्नेछ । त्यसपछि बैंकले लगानीकर्तालाई सि आश्वा रजिष्ट्रेशन नम्बर(सिआरएन) उपलब्ध गराउनेछ । सोही नम्बरका आधारमा लगानीकर्ताले आइपीओ, हकप्रद र एफपीओमा घरबाटै आवेदन दिन सक्नेछन् ।
लुम्बिनी विकास बैंकको नाफा १४ करोड ३७ लाख
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । गत पुससम्म बैंकले १४ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार वित्तीय अवस्था सन्तोषजनक रहेको देखाएको छ । गत पुसम्म बैंकको खराब कर्जा साढे २ प्रतिशत रहेको छ । निक्षेप लागत ८.७९, सीडी रेसियो ७७, आधार ब्याजदर १२.३६ र स्प्रेड दर ३.८५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा निक्षेप १५ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको बैंकले जनाएको छ । गत पुससम्म बैंकले १७ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी १३ अर्ब २१ करोड रुपैयाँ थियो । हालसम्म बैंकको संचित कोषमा १ अर्ब १ करोड रुपैयाँ वचत छ । चुक्तापुँजी २ अर्ब रुपैयाँ छ ।
गण्डकी विकास बैंकको खुदनाफा साढे २० करोड, खराब कर्जा न्युन
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी विकास बैंकले नाफा बढाएको छ । गत पुससम्म २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १८ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार नाफामा सामान्य वृद्धि गरेको छ । गत पुससम्म खराब कर्जा ०.८८, निक्षेप लागत ८.४७, कर्जा निक्षेप अनुपात ७६.८१, कर्जा निक्षेपबीचको ब्याजदर अन्तर ५.५६ र आधार ब्याजदर ११.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १२ अर्ब ५९ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । गत पुससम्म बैंकले १७ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचिति कोष बढेर १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी १ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
एनएलजी इन्स्योरेन्सको साधारणसभा फागुन ३ मा, २५ प्रतिशत बोनस सेयर पारित गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा फागुन ३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत अर्थात १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भई ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ । यस्तै ख वर्गबाट २, र ग वर्गबाट २ गरी ४ जना सञ्चालकको निर्वाचन हुने कार्यक्रम छ ।