विकासन्युज

६ महिनामा लक्ष्मी बैंकको नाफा ५१ करोड ९२ लाख

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ५१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४० करोड ६३ लाख रुपैयाँ गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष नाफा ११ करोड रुपैयाँ बढेको बैंकले जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा १.२९, कर्जा र निक्षेपबीचका ब्याजदर अन्तर (स्प्रेप) दर २.९५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७७.९३, आधार ब्याजदर १०.८८ र निक्षेप लागत ७.४२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा छ । समीक्षा अवधिमा बैंकले ६० करोड २७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ५५ करोड ६१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा बैंकको निक्षेप ५ अर्ब रुपैयाँ बढेको छ । यस्तै कर्जा लगानी पनि बढेर ५५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४७ अर्ब ४७ करोड रुपैयाँ थियो । कर्जा लगानी झण्डै ८ अर्ब रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ । बैंकको संचित कोषमा १ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट बाँकेमा स्थापना, ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने

नेपालगन्ज । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताए । एच ओ अक्सिजन इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले आजदेखि विधिवत् उत्पादन शुरु गरेको छ । करिब  १० करोडको लागतमा स्थापना गरिएको सो प्लान्ट सञ्चालनमा आएपछि नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्यास र लिक्विड उपलब्ध हुने बताइएको छ । बिरामीको संख्यामा वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पताल र व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौँ बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए । हरि ओम ग्रुपको लगानी रहेको एच ओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमा सबैभन्दा धेरै उत्पादन क्षमता भएको अक्सिजन ग्यास प्लान्ट भएकाे बताइएकाे छ । रासस

माथिल्लो अरुण आयोजनाको काम सुरु, डीपीआर बनाउन चिनियाँ कम्पनीसंग सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको काम थालेको छ । डीपीआर तयारीका लागि चीनको संयुक्त परामर्शदाता कम्पनी एसटीडीआर सिनोटेक जेभीलाई दिएको छ । विद्युत प्राधिकरण र एसटीडीआरबीच सोमबार डीपीआर तयारीका लागि सम्झौता भएको छ । दुई परामर्शदाता कम्पनीले विश्वकै सबैभन्दा ठुलो साढे २२ हजार मेगावाटको थ्रि गर्जेज आयोजनाको डीपीआर तयार पारेको अनुभव छ । परामर्शदाताले अध्ययनको काम थाल्ने आयोजना प्रमुख विश्वध्वज जोशीले बताए । उनकाअनुसार आउदो २ वर्षभित्र आयोजनाको डीपीआरका साथै बोलपत्र डकुमेन्ट समेत तयार पार्ने छ । विश्व बैंकको सहयोगमा आयोजनाको डीपीआर तयारी सुरु हुन लागेको हो । ८० करोड रुपैयाँ अर्थात ८० लाख डलर विद्युत प्राधिकरणले परामर्शसेवा खरिद गरेको हो । परामर्शदाताले माथिल्लो अरुणका अतिरित्त ३० मेगावाटको इंखुवाखोलाको पनि डीपीआर तयार पार्ने छ ।आयोजनाको क्षमता बढेर ७ सय मेगावाट पुग्ने उनले जानकारी दिए ।  उसले आयोजनाको १ हजार ४ सय मेगावाटको अडिट टनेल खन्ने छ । आर्थिक रुपमा आर्कषक रहेको आयोजना निर्माण गर्न प्राधिकरणले अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी’ कम्पनी लिमिटेड गठन गरेको छ । प्राधिकरणले आफ्नो शतप्रतिशत स्वँपुजी (इक्विटी) रहने गरी कम्पनी दर्ता गरेको हो । मन्त्रिपरिषदले प्राधिकरणमार्फत बनाउने निर्णय गरिसकेको छ । प्राधिकरण सञ्चालक समितिले पनि कम्पनी दर्ता स्वीकृत गरेको थियो । प्राधिकरणले सन् १९९१ मा सम्भाव्यता अध्ययन गरेको आयोजनाको लागत ५३ करोड ४० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।डीपीआर तयार भएपछि मात्र आयोजनाको वास्तविक लागत आउने छ । यस्तै, आयोजनाको प्रतियुनिट लागत २.७४ रुपैयाँमात्र पर्ने अध्ययनले देखाएको छ । लामो समय भएकाले आयोजनाको लागत र क्षमता दुबै बढ्ने छ । आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको हो । प्राधिकरणले स्थानियबासिन्दालाई सेयर दिनका लागि अर्को ३० मेगावाटको इंखुवाखोला निर्माण गरिदिने भएको छ । माथिल्लो अरुणको सेयर नदिन इंखुवाखोला आयोजना अघि बढेको हो । आयोजनाबाट वार्षिक २ अर्ब ५ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।

खाता भएको बाहेक अन्य बैंकबाट रकम जम्मा गर्दा शुल्क लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यन्वयनमा ल्याएको जुनसुकै बैंकको शाखामा पनि रकम जम्मा गर्न पाउने व्यवस्था अन्र्तगत बैंकले शुल्क लिने भएका छन् । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी जुनसुकै बैंकको शाखाबाट नगद र चेक दुबै जम्मा गर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको छ । यस्तो कारोबारमा शुल्क लाग्ने माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजकुमार श्रेष्ठले बताए । शुल्क लिने विषयमा बैंकहरुबीच अहिले छलफल भइरहेको उनले सुनाए । लिने शुल्कका विषयमा केही दिन भित्र टुङो लाग्ने उनको भनाई छ । इन्टर बैंक पेमेन्ट सिष्टमअन्र्तगत सम्बन्धित बैंकमा रहेको खातामा रकम जम्मा हुने छ । चेक नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत सम्बन्धित बैंकको खातामा र नगद सिधै इन्टर बैंकमार्फत जम्मा हुने छ ।  आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।  

पुतलीसडकमा स्मार्ट टेलिकमले खोल्यो स्मार्ट सेन्टर, भक्तपुरमा पनि खोल्ने तयारी

काठमाडौं। ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट ग्राहलाई प्रभावकारी सेवा उपलब्ध गराउनका साथै स्मार्टका उत्पादन तथा सेवाहरु सम्बन्धमा जानकारी दिने जनाइएको छ । स्मार्ट टेलिकमका अनुसार सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाको समाधान गरिनेछ । सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका हुन् । स्मार्ट सेलले चाँडै भक्तपुरमा पनि आफ्नो सेन्टर स्थापना गर्ने लक्ष्य लिएको उद्घाटन कार्यक्रममा जानकारी गराइएको छ ।

उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिदै

काठमाडौं। नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिने भएको छ । मेशिनका आधिकारिक बिक्रेता श्रेष्ठ अमृत ट्रेडर्स प्रालिले हप्तादिनभित्रै नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर सार्वजनिक गर्ने बताएको हो । ट्रेडर्सका सेल्स एण्ड मार्केटीङ कोर्डिनेटर निरजकुमार श्रेष्ठले सार्वजनि हुने लेमिनेशन मेशिन लामि कर्पोरेशन जापानीज ब्राण्डको रहेको बताए । उनका अनुसार कम्पनीले ‘एजेलिया १६०० सीएल’ लेमिनेशन मेशिन, मिमाकी फ्लाटबेड यूभी प्रिन्टर ‘यूजेएफ ३०४२ एमके दोस्रो’, एनाजेटको डाइरेक्ट टु गार्मेन्ट प्रिन्टर मेशिन सार्वजनिक गर्न लागेको हो । ‘कम्पनीले माघ दोस्रो हप्ता हुने क्यान इन्फोटेक मेलामा उक्त मेशिनहरु सार्वजनिक गर्ने तयारी गरेको छ,’ उनले भने ‘यी मेशिनहरुको उच्च क्षमताका छन् ।’ हाल बिक्री भइरहेकोभन्दा नयाँ प्रविधिका मेशिन हुन् । कम्पनीको अनुसार एजेलिया लेमिनेशन मेशिन ५ फिट चौडाइको रहेको छ । हालसम्म कम्पनीले बिक्री गरेकोभन्दा चौडाइ ठूलो छ । त्यस्तै मिमाकी प्रिन्टर ‘मेट एण्ड ग्लोसिको फिनिसीङको लागि राम्रो हुन्छ । उक्त मेशिन ‘सिएमवाईके प्लस ह्वाइट ऐडिसनको रहेको कोर्डिनेटर श्रेष्ठको भनाइ छ । उनका अनुसार एनाजेटको डाइरेक्ट टु गार्मेन्ट प्रिन्टर मेशिनले प्रिन्ट गर्नका साथै सुकाउने काम गर्दछ । साथै यसमा अन्य थप नयाँ प्रविधिका फिचर्सहरु समेत रहेको उनले जानकरी दिए । ‘मेशिनहरुको मूल्य भने, मेशिन सार्वजनिक भएकै दिन सार्वजनिक गर्नेछौं’, उनले भने ।

पाँच महिनामा ८ कम्पनी मात्र दर्ता

काठमाडौं । व्यवस्थापिका-संसद्ले कम्पनीमा दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको पाँच महिनामा आठ कम्पनी मात्र दर्ता भएका छन् । कम्पनी दर्ता हुनुअघि यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । सो व्यवस्थानुसार गत भदौ ५ गतेपछि ती कम्पनी दर्ता भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ह्याप्पी नेपाल प्रालि, रेसुंगा यातायात प्रालि, बूढानीलकण्ठ यातायात प्रालि, प्रदेश यातायात सेवा प्रालि, शुभ साप्ताहिक यातायात प्रालि, मयूर यातायात प्रालि, शारदा यातायात प्रालि र जयमालिका यातायात प्रालि विभागमा पञ्जीकरण भई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । भदौ ५ गते तत्कालीन व्यवस्थापिका-संसद्, विकास समितिले यातायात समितिहरुलाई संघसंस्था ऐन, २०३४ अनुसार नवीकरण नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । भदौ ५ गतेअघि १०० कम्पनी विभागमा पञ्जीकरण भएको प्रवक्ता वीरबहादुर स्वाँरले जानकारी दिएका छन् । हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय सर्वोच्च महासङ्घसँग आबद्ध यातायात संस्था जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा दर्ता भई काम गरिरहेका छन् । कम्पनीमा दर्ता भएपछि राजश्व पनि बढ्ने समितिको ठहर थियो । रासस

जेजे ज्वेलर्स शोरुम न्यूरोडको वसन्तपुरमा, गहना खरिदमा आर्कषक अफर

काठमाडौं । सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार न्यूरोडको वसन्तपुरमा आफ्नो शानदार शोरुमको उद्घाटन गरेको छ । नेपालका बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रिबन काँटी उक्त शोरुमको उद्घाटन गरेका हुन्। उक्त शोरुम जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ । उद्घाटनको आफ्नो पहिलो हप्ताको अवसर पारेर जेजे ज्वेलर्सले माघ ८ गतेदेखि माघ १४ सम्म ग्राहकहरुका लागि आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ ।