राष्ट्रियसभाका ५५ सदस्यद्धारा शपथ
काठमाडौं । राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ दिलाएका हुन् । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका थिए । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित थिएनन् । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ । शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उनीहरुको शपथ रोकिएको हो । यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाएका थिए। राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ । संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । रासस
एलजीले ‘फ्री एसी सर्भिस क्याप’ शुरु गर्ने, जुनसुकै एसी निशुल्क सर्भिसिङ्ग गराउन सकिने
काठमाडौं । एलजीले यस वर्ष पनि ‘फ्री एसी सर्भिस क्याप, २०१८’ शुरु गर्ने भएको छ । यस क्याम्प अन्तर्गत ग्राहकहरुले जुन सुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने छन् । साथै, एलजीकै एसीभएमा स्पेयर पार्टस्मा विशेष छुट दिइने छ । नयाँ एलजी एसी किनेमा अथवा अरु कुनै एसीसँग नयाँ एलजी एसी साटेमा पनि विशेष छुट पाईने कम्पनीले जनाएको छ । यस क्याम्पअन्तर्गत पहिलो चरणमा काठमाडौं, नारायणगढ, बुटवल, पोखरा, नेपालगंज र धनगढी मा यो क्याम्पको लागि रेजिस्ट्रेशन गर्न सकिने छ । त्यस्तै, दोस्रो चरणमा विराटनगर, इटहरी, धरान र विर्तामोडमा रेजिस्ट्रेशन गर्न सकिने छ । पहिलो चरणको रेजिस्ट्रेशनगर्नको लागि फाल्गुण २० गते देखि चैत्र ०२ गते कम्पनीमा सम्पर्क अथवा इमेल गर्नुपर्ने हुन्छ । त्यस्तै, सोही नम्बरहरु वा इमेलमा चैत्र ०४ देखि चैत्र १६ सम्म दोस्रो चरणका लागि रेजिस्ट्रेशन गर्न सकिने कम्पनीले बताएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।
भ्रष्टचारीलाई कारबाही गर्न सहज, जो त्रसित छ अझ बढी त्रसित बन्नेछ– उद्योगमन्त्री यादव
काठमाडौं । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकरण, उपभोक्ताहरुको हीतको लागि माल–वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जोड दिए । उनले त्यसको लागि एकीकृत योजना बनाइ कार्यान्वयन गर्ने संकल्प गरे । ‘आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति प्रदान गर्न भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने छु,’ उनले भने ‘जो भ्रष्टाचारमा लिप्त छ, ऊ त्रसित भएमा अझ बढी त्रसित बन्नेछ ।’ भ्रष्टाचारीलाई कारवाही गर्न वाम गठबन्धनका दुवै शीर्ष नेताहरुको सार्वजनिक वक्तव्य आइसकेको भन्दै उनले कारवाहीको लागि अझ सहज र सजिलो हुने जानकारी दिए । उनले आइतबार नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा भ्रष्टचारीलाई कारवाही गर्ने सम्बन्धमा जोड दिएका थिए । सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ । सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको बताए । छिमेकी मुलुकले उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्नेमा उनको जोड छ ।
सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका काम. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु त्था कर्मचारीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाकनंन इन्भेसिभ जाँचमा छूट पाउनेछन् । साथै, बेड चार्जमा ५ प्रतिशत छुट पनि पाउनेछन् ।
७ जनाको हत्या गरी फरार रहेका सकिल हुसेनलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । नेपालमा ७ जनाको हत्या गरी फरार रहेका सकिल हुसेन कतारबाट पक्राउ परेका छन् । हुसेनलाई रेड कर्नर नोटिसको आधारमा इन्टरपोल प्रहरी कतारले पक्राउ गरेको हो । हुसेनमाथी सप्तरीका ईद्रीस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिँया, सगिरा खातुन, दुलारीदेवी साह र निर्मलादेवी साहको हत्या गरी फरार रहेको आरोप लागेको छ । यसअघि उनीमाथी ७ जनाको हत्या गरी फरार रहेको अभियोगमा सप्तरी जिल्ला अदालतमा सर्वस्व सहित जन्मकैद सजायको माग दावी गरिएको थियो । हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरी इन्टरपोल कतारबाट खटि आएका प्रहरी अधिकृतको साथ आइतबार नेपाल ल्याइएको हो । प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडक्रनर नोटिस जारी भएको थियो । अब हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
एशियन लाईफ इन्स्योरेन्सको इलाम र बागलुङ्गको उपशाखा शाखामा स्तरोन्नती
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले इलाम र बागलुङ्गको उपशाखालाई शाखामा स्तरोन्नती गरेको छ । कम्पनीले इलामकाे उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २७ औं शाखाको रुपमा आइतबार(आज)देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरेका थिए । त्यसैगरी, बागलुङ्गमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २८औं शाखाको रुपमा आजैदेखि संचालनमा ल्याएको छ । कम्पनीले २८ वटा शाखा र ६७ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाब्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।
पोखरा फाइनान्सको सीआस्वा सेवा सञ्चालनमा
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले सीआस्वा प्रणाली सञ्चालनमा ल्याएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा सञ्चालनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सीआस्वा लागु गरिएकोले ग्राहकले वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी सीआस्वा रजिष्ट्रेसन नम्बर (सि.आर.एन.) लिनुपर्ने छ । त्यसपछि ग्राहक स्वयंले अनलाइन मार्फत् वा वित्तीय संस्थाको कुनै पनि शाखामा गई सोही बमोजिम आवेदन बराबरको रकम आफ्नो खातामा रोक्का राखी आवेदन दिन सक्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।
४० अर्ब मास्ने राष्ट्र बैंकको योजनामाथी अख्तियारको अंकुश, अघि बढ्यो छानबिन
काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र घर मर्मतका लागि ४५ लाख रुपैंयाँ निर्ब्याजी उपलब्ध गराउने निर्णय गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानविन प्रक्रिया अघि बढाएको हो । अख्तियारले सो सम्बन्धमा आफ्नो राय प्रतिक्रिया मागेर अर्थमन्त्रालयलाई पत्राचार समेत गरेको छ । आयोगले अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखालाई पत्र लेखेर आवश्यक छानविन गरि राय प्रक्रिया तत्काल पठाउन भनेको छ । श्रोतका अनुसार राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा गठन गरेको कर्मचारको सेवा सुबिधा पुनरावलोकन समितिले सो प्रस्ताव सञ्चालक समितिमा पेश गरेको छ । तर निर्णय भने भैसकेको छैन् । ‘सञ्चालक समितिले निर्णय नै गरिसकेको चाँही होइन तर रामजी रेग्मी नेतृत्वको समितिले त्यस्तो प्रस्ताव तयार पारेर सञ्चालक समितिमा पेश गरेको छ’, राष्ट्र बैंक श्रोतले भन्यो । रेग्मी नेतृत्वको समितिले १८ प्रतिशत भत्ता र ४५ लाख निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिवेदन पेश गर्दा कर्मचारीबाट पैसा असुलेको आरोप पनि उजुरीमा लगाइएको छ । आयोगले सो सम्बन्धमा पनि छानविन गरि पठाउन मन्त्रालयलाई भनेको छ ।