संचय कोषको प्रशासक बन्न ५ जनाको दरखास्त, व्यवसायिक योजना र अन्तरवार्ताका लागि समितिले बोलायो
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी संचय कोषको प्रशासक बन्नका लागि आफनो व्यसायिक योजना पेश गर्न ५ जना उम्मेदवारलाई बोलाएको छ । मन्त्रालयले गठन गरेको प्रशासक नियुत्तिका गठित छनौट तथा शिफारिश समितिले ओमकृष्ण श्रेष्ठ, जितेन्द्र धिताल, तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई बोलाएको हो । रौनियारले हाल कोषका कामु प्रशासकको जिम्मेवारी सम्हालेका छन् । काफले कोषको सहायक प्रशासक हुन । समितिले बुधबार व्यवसायिक योजना प्रस्तुत गर्न भनेको छ । बिहीबार अन्तरवार्ताका लागि बोलाएको छ ।
चार वर्षको लागि स्वावलम्बन लघुवित्तको सिईओमा बस्याल नियुक्त
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्याललाई ४ वर्षका लागि नियुक्त गरेको हो । निर्धन उत्थान बैंकको उच्च पदबाट अवकास प्राप्त बस्यालसँग लघुवित्त बैंकिङ क्षेत्रको लामो अनुभव रहेको छ ।
स्वरोजगार लघुवित्त १०० प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्ड पुग्यो
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन संस्थाले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उसले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको छ । संस्थाले १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च मावि काभ्रे–४, बनेपालाई कम्प्युटर प्रदान गरेको छ । उग्रचण्डी नाला समाजमार्फत साे कम्प्युटर हस्तान्तरण गरिएको जनाइएकाे छ । कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । बैंकको काठमाडौं उपत्यकामा ११ शाखाहरु तथा ५ एक्स्टेन्सन काउन्टर रहेको छ । त्यस्तै उपत्यकाबाहिर ८२ शाखाहरु, ३ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैंकिङ सेवा गरी जम्मा १११ स्थानबाट आफ्नो कारोबार सञ्चालन गरिरहेको जनाएकाे छ ।
सिटिजन्सद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार प्रदान
काठमाडौं । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रबीच बैंकले विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकले आफ्नो ११ अाै बार्षिक उत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा १ लाख पचास हजार रुपैयाँको चेक विद्यालयका प्राचार्य एसके नेपाललाई हस्तान्तरण गरेको जनाइएको छ । बिद्यालयका प्राचार्य नेपालले उक्त रकम फर्निचर खरिदमा खर्च गर्ने कार्यक्रमको अवसरमा जानकारी गराए ।
लगानीकर्ताको रोजाइमा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स, हेर्नुस यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सोमबार बजार ३ अंकले गिरावट आएका बेला यी दुई कम्पनीको बढी सेयर किनबेच भएको छ । लगानीकर्ता दुई कम्पनीको सेयर किन्न झुम्मिएका छन् । स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ घटेर ८२० रुपैयाँमा कारोबार भएको छ । सोमबार स्ट्याण्डर्डको १ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफको पनि सेयर मूल्य ६ रुपैयाँ घटेर प्रतिकित्ता १ हजार ५० रुपैयाँ कायम भएको छ । सोमबार नेपाल लाइफको १ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटेदै गएपछि कुल कारोबार रकम पनि कम हुदै गई २० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दुबै कम्पनीको सेयर मूल्य सस्तो हुदै गएको छ । दुबैं कम्पनीको सेयर मूल्य २ हजार रुपैयाँ माथि थियो । स्ट्याण्डर्डले लगानीकर्तालाई १०० प्रतिशत बोनस सेयर दिइसकेको छ । यस्तै नेपाल लाइफले साढे ७० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । दुबैंको सेयर मुल्य सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । वित्तीय अवस्था राम्रो हुनुका साथै आगामी वर्षमा पनि राम्रो प्रतिफल दिने लोभमा लगानीकर्ताले सेयर किनेको ती ब्रोकरको विश्लेषण छ । सोमबार वित्त समूहको सेयर सामान्य बढेको छ भने अन्य समूहको घटेको छ । नेप्से परिसुचक १ हजार १९२ रुपैयाँमा झरेको छ ।
३ अर्ब लगानीमा विर्तामोडमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बन्दै, असोजदेखि सञ्चालनमा आउने
काठमाडौं । क्यान्सर रोगको उपचारलाई लक्षित गरी निजी लगानीमा पुर्वाञ्चल क्यान्सर हस्पिटल निर्माण सुरु भएको छ । स्थानीय व्यवसायी दुर्गा प्रसाइको लगानीमा झापाको विर्तामोड नगरपालिका ५ मा क्यान्सर हस्पिटल निर्माण सुरु भएको हो । अस्पतालको निर्माण गत माघदेखि सुरु भएको छ । हस्पिटल निर्माणमा ३ अर्ब रुपैयाँ लगानी हुने भएको छ । आउदो असोजदेखि सञ्चालनमा आउने हस्पिटलका जनशक्ती प्रमुख प्रमिस गिरीले बताए । उनकाअनुसार हस्पिटल निर्माण दुत गतिमा अघि बढेको छ । यो पूर्वाञ्चलकै पहिलो क्यान्सर हस्पिटल हो । क्यान्सर रोगबाट पीडितलाई स्थानीय क्षेत्रमै उपचार गर्ने लक्ष्यकासाथ सम्पूर्ण सरकारी मापदण्ड पूरा गरी हस्पिटलको निर्माण गरिएको उनले बताए । हस्पिटल निर्माणसँगै पूर्वाञ्चलका क्यान्सर पीडितहरु उपचारका लागि भारत जाने गरेकोमा अब स्वदेशमै उपचार गरिने उनले जानकारी दिए । हस्पिटलको निर्माण कार्य गएको माघदेखि शुरु भएको हो । अहिले हस्पिटलको वातावरणी प्रभाव मूल्यांकन (इआइए) अध्ययन कार्यका लागि क्षेत्र निर्धारण तथा कार्यसूची तयारीको अध्ययन कार्य अघि बढेको छ । ‘हालसम्म २० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ आगामी असोजसभित्र हस्पिटल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।’ निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ । कम्पनीका जनशक्ती प्रमुख गिरीका अनुसार अस्पतालमा ३ सय वेड संख्या रहने छन् । हस्पिटलमा चिकित्सकलगायत अन्य प्राविधिक गरी ७ सय जनाले रोजगारी पाउने छन् । ओपीटीमा मात्रै दैनिक हजार जना सेवाग्राहीलाई सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य छ । हस्पिटलबाट क्यान्स उपचारका लागि रेडिएसन, केमो लगायत क्यान्सर सम्बन्धित सम्पूर्ण उपचार हुने गिरीले बताए । नेपाल इन्भारोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टले परामर्शदाताको रुपमा काम गर्दै आएको छ ।
भैरहवामा पोखरा फाइनान्सको शाखा
काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार एवं ग्राहकलार्इ सेवा पुर्याउने उद्देश्यले शाखा खाेलिएकाे हो । शाखाकाे नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले उद्घाटन गरेकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । सो शाखाबाट निक्षेप एवं कर्जा तथा सि–आश्वा लगायतका सेवा प्रदान गर्ने फाइनान्सको भनाइ छ । सो अवसरमा आयोजना गरिएको कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्णिमा विकास बैंकका कार्यकारी प्रमुख प्रकाश गुरुङले लगायतले आफ्नो धारणा राखेको जनाइएको छ । फाइनान्सको हाल जारी पूँजी रू ७५ अर्ब ४१ करोड रहेको छ । निक्षेप रू ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड रहेको जनाएको छ । त्यस्तै जगेडा कोषमा रू ४१ करोड ७४ लाख रहेको छ । आब २०७३/७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पूँजी रू ८० करोड पुर्याउने लक्ष्याका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।