विकासन्युज

रसुवागढी हाइड्रोपावरले १ अर्ब ७१ करोडको तेस्रो आईपीओ ल्याउदै

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले पौने २ अर्ब रुपैयाँ बराबरको तेस्रो साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । तेस्रो आईपीओ निष्कासनको काम अघि बढाउन लागेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । उनले वित्तीय विवरण अद्यावधिक र रेटिङको काम सकेर धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने जानकारी दिए । सबै प्रक्रिया पुरा गर्दा ढिलोमा ५ महिनाभित्र तेस्रो आईपीओ निष्कासन गर्ने कोइरालाको भनाई छ । रसुवागढीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड रुपैयाँ बराबरको १ करोड ६४ लाख कित्ता निष्कासन गरेको थियो । जसअनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्तालाई निष्कासन गरेको थियो । दोस्रो चरणमा संस्थागत लगानीकर्ता अन्र्तगत नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता संचय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरेको हो । पहिलो र दोस्रो आईपीओ आइतबार बाँडफाँट भइसकेको छ । रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ । आयोजनाको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको अनुमानित लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । ३ वटै आईपीओबाट गरी ३ अर्ब ३५ करोड रुपैयाँ उठाउनले लक्ष्य रसुवागढीको छ । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधरणको हुने गरी लगानी संरचना तयार पारिएको छ । निर्माण अगावै आईपीओ निष्कासन गर्दा आयोजनाको ब्याज कम हुने कोइरालाको भनाई छ ।    

सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्न बोलायो विशेष सभा

  काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।  बैंकको क्षेत्र विस्तारको प्रस्ताव पारित गर्न वैशाख १५ गते विशेष साधारणसभा बोलाइएको छ । विराटनगरमा हुने सभाले कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावका अधिरित्त प्रवन्धपत्र तथा नियमावली पनि संशोधन गर्ने छ ।

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्री नभएपछि पुनः लिलामीमा

काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि रिलायन्स फाइनान्स लिमिटेडले पुनः लिलामी गर्ने भएको छ  । फाइनान्सले चैत २६ गतेदेखि ५ लाख ३५ हजार ३१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख ३ गतेलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । सो भन्दा बढी आवेदनका हद नलाग्ने सनराइजले जानकारी दिएको छ । १० लाख रुपैयाँ भन्दा बढीको सेयर किन्नेले अनिवार्य रुपमा प्यान नम्बर हुनुपर्ने छ । यसअघि गत चैत १ देखि ८ गतेसम्म संस्थापक सेयर बिक्री खुला गरेकोमा ७ हजार कित्ताका लागि मात्र आवेदन परेपछि पुनः बोलपत्र आब्हन गरेको सनलाईजले जानकारी दिएको छ ।  

सिद्धार्थ बैंकले इलामको गोर्खे, लक्ष्मीपुर र गोदकमा सुरु गर्यो शाखारहित बैंकिङ सेवा

काठमाडौं । सिद्धार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको छ । बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोकसहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु गरेको हो । गोर्खे बजार शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राजकुमार सेराङ, लक्ष्मीपुर शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धनबहादुर राई र गोदक शाखारहित बैंकिङ सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेकबहादुर घिमिरेले गरेको बैंकले जनाएको छ । उक्त शाखारहित सेवाबाट ती क्षेत्रका बासिन्दालाई स्थानीय स्थरमै सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ । उक्त ३ वटा शाखारहित बैंकिङ सेवासहित बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १०८ एटीएम र ६८७ पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरिरहेको बैंकको भनाइ छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रू ८७ अर्ब ५७ करोड र कर्जा लगानी रू ७९ अर्ब २९ करोड गरेको जानकारी दिएको छ । साथै सोही अवधीमा बैंकले रू १ अर्ब १३ करोड खुद मुनाफा समेत आर्जन गर्न गरेको छ ।  

एसईई परीक्षार्थीको लागि एनसेलको योजना, १ रुपैयाँमा सिमदेखि हरेक रिचार्जमा बोनस डेटा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रू १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । यसका साथैपरीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् । कम्पनीको अनुसार उक्त अफर सोमबारदेखि लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्। योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कल गर्दा प्रतिमिनेट कर बाहेक रू ०.९९ मात्र शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्ने जनाइएको छ । साथै एक वर्षसम्म रू ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्तगर्ने छन् । डेटा योजना एसईई परीक्र्र्षाीका लगि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र रू २० मा ३०० एमबि डेटाको मजा लिन सक्ने बताइएको छ । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने कर सहित मात्र रु २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागिमान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि सो अफर अन्र्तगतको डेटाको लिन कम्पनीको भनाइ छ ।

वैशाख दोस्रो सातादेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, २५० स्टल रहने

काठमाडौं । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ । वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले कार्यक्रममा बताए । मेलालाई बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव लगायत कार्यक्रमले थप आकर्षण बनाउने मेला संयोजक मोहन कटुवालले बताए । नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई मेलामा समावेश गरिन उनको भनाइ छ । प्रदर्शनीकै बीच वैशाख १५ गते नेपाल चाइना कार्यकारी परिषदको सहकार्यमा नेपालमा चाइनिज लगानी प्रवर्धन गर्न चाइनिज लगानीकर्ता सम्मिलित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को सन्दर्भ पारेर बीटुबी कार्यक्रम आयोजना गरिने महासंघको भनाइ छ । त्यसैगरी, सार्क मूलुकका लघु घरेलु तथा साना उद्योगहरुको पारिस्परीक हित प्रवद्र्धन गर्न र सार्क स्तरिय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाहरुको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको तेस्रो सम्मेलन समेत वैशाख १६ गते हुने आयोजकले जनाएकाे छ । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । २५० वटा स्टल रहने उक्त मेलामा २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाबाट ७ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष भने १० करोड रुपैयाँ अप्रत्यक्ष कारोवार हुने प्रक्षेपण गरिएकाे छ ।  

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने, आर्थिक विकास मुख्य कार्यसूची

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट पारेकाे छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले बताएका छन् । कूटनीतिक मामिलाका समाचार सम्प्रेषणमा सक्रिय केही चुनिएका पत्रकारहरुसँग आज अपराह्न अनौपचारिक कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्ने जानकारी दिए । “नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीज्यूको भारत भ्रमण केन्द्रित हुनेछ । भारतले सद्भाव प्रकटीकरणस्वरुप कुनै ‘उल्लेख्य घोषणा’ गर्नसक्नेछ,” उहाँले भने । नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी परराष्ट्रमन्त्रीले दिए । “भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो,” नेपाल र भारतमा लामो समयपछि स्थिर एवं सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रुपान्तरण गर्न सहज हुने सन्दर्भ जोड्दै उनले भने । एक पृथक प्रसंगमा उहाँले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुसार चीनसँग भएका सम्झौता कार्यान्वयनमा सरकार दृढ रहेको परराष्ट्रमन्त्रीले स्पष्ट पारे । उनले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल सरकार अटल एवं दृढनिश्चयी छ भने। रासस

मुलुकमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुदै, वैशाखदेखि शुरु

काठमाडौं । मुलुकमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुने भएको छ । संघ, प्रदेश तथा स्थानीय तह प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायीक क्रियाकलाप सम्बन्धि वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङक निकाली नीति निर्माणका साथै देशको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त गणना गर्न लागिएको हो । केन्द्रिय तथ्याङ्क विभागका अनुसार आर्थिक गणना भनेको देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यवसायिक प्रकृतिका आर्थिक एकाइहरु (वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान/व्यवसायहरु)मा पुगी गणनाको निर्धारित प्रकृयाअनुसार तोकिएको समयभित्र विभिन्न आर्थिक एकाइहरुको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने प्रक्रिया हो । केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले मुलुकमा ११० वर्षअघिदेखि जनगणना शुरु गरिएको बताए । यद्यपि राष्ट्रिय आर्थिक गणना भने पहिलो पल्ट हुन लागेको उनको भनाइ छ । ‘सरकारले अहिलेसम्म जनसंख्यालाई प्रथमिकतामा राखेर जन गणना गरेको छ,’ उनले भने ‘तर सिंगो मुलुकको आर्थिक गणना भने गरेको छैन ।’ जबसम्म मुलुकको जनगणना जस्तै वास्तविक आर्थिक गणना हुन सक्दैन तबसम्म मुलुको दिगो विकास गर्न कठिनाइ हुने भएकोले उक्त आर्थिक गणनाको अवश्यकता महशुस गरेको बताए । वास्तविका तथ्याङक नभएसम्म विदेशी लगानीकर्ताहरु तथा स्वदेशी लगानी कर्तालाई समेत नेपलामा लगानी गर्न कठिनाइ भइरहेको उनको बुझाइ छ । ‘त्यसैले २ वर्षसम्मको तयारीले अब आर्थिक गणना गर्ने अन्तिम चरणमा आइपुगेका छौं,’ उनले भने ‘आगामी वैशाख १ गतेदेखि गणना शुरु गर्ने छौं ।’ त्यस्तै आर्थिक गणना अधिकृत जिल्ला आर्थिक गणना कार्यालय, काठमाडौंका निर्देशक रामबन्धु रेग्मीले काठमाडौं महानगरपालिकामा अनलाइन सर्वेक्षणको माध्यमबाट आर्थिक गणना गर्ने बताए । यसबाहेकका स्थानहरुमा कागजी प्रश्नावली, ट्याव्लेट गणना गर्ने विधि अपनाउने उनको भनाइ छ । कागमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एंव जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले अर्थिक गणना गर्नको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य हुने बताएका छन् । निजी क्षेत्रको सहयोगले मात्रै उक्त गणना सफल हुने भन्दै उद्योगी, व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् । मुलुकको ७७ वटै जिल्लामा सञ्चालन हुने उक्त गणना गर्न करिब ५० करोड रुपैयाँ लगानी लाग्ने विभागको भनाइ । जसको लागि तत्काल ३ हजार ५ सय जनशक्ती खटिन्दै छन् । काठमाडौंमा मात्रै ३२८ जना खटिनेछन् । आइतबार मात्रै राजधानीमा नेपाल चेम्बर अफ कमर्श र जिल्ला आर्थिक गणना कार्यालय काठमाडौंद्धारा संयुक्त रुपमा उक्त जनगणना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।