गोगो फाउण्डेसनले गर्यो यातायात निर्देशिकाको स्वागत
काठमाडौँ । गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ । फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आज विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध जनाएको छ । सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित सात वटा निर्देशिका मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी विल्डिङ मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४० कार्यान्वयनमा ल्याएको छ । केही वर्षअघि सर्वोच्च अदालतले उपभोक्ताको प्रतिस्पिर्धी सेवा छनोट गर्ने अवसरबाट वञ्चित गर्ने उद्देश्यले यातायात क्षेत्रमा लादिएको एकाधिकार अन्त्य गर्न सरकारका नाउँमा निर्देशात्मक आदेश दिएको थियो । अब सबै यातायात व्यवसायीले कानूनी सर्वोच्चताको सम्मान गर्दै सरकारले ल्याएका निर्देशिकाअनुसार व्यवसाय सञ्चालन गर्न गराउन गोगो फाउन्डेशनले आह्वान गरेको छ । रासस
स्वीकृती नलिइ सेयर निष्कासन नगर्न संगठित संस्थालाई बोर्डको चेतावनी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति विना निष्कासन भएका कुनै पनि सेयरमा लगानी नगर्न लगानीकर्तालाई सचेत गराएको छ । केही जलविद्युत कम्पनीले अग्राधिकरण सेयरको रुपमा सर्वसाधारणबाट लगानी उठाएको गुनासो आएपछि बोर्डले सोमबार सार्वजनिक सूचना प्रकाशित बोर्डको स्वीकृति विना निष्कासन गरिएको सेयर अवैद्यानिक हुने भन्दै यस्ता काम नगर्न जलविद्युत कम्पनीलाई सचेत गराएको छ । युनिभर्सल पावर कम्पनी लिमिटेड, साहस ऊर्जा लिमिटेड, दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडलगायतले सूचना प्रकाशित गरी सेयर बिक्री गरेपछि बोर्डले अंकुस लगाएको हो । बोर्डले केही जलविद्युत कम्पनीले सेयर निष्कासन गरेकोमा गम्भिर ध्यानकर्षण भएको जनाउदै त्यसो नगर्न निर्देशन दिएको हो । बोर्डले कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको भन्दै आपत्ति जनाएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था गरेको जानकारी दिएको छ । धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारणलाई सेयर बिक्रि गर्नु गैरकानुनी भएको जानकारी दिदै स्वीकृति लिएर दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र सेयर निष्कासन गर्न सबै कम्पनीलाई निर्देशन दिएको हो ।
कर्मचारीको पेन्सन मात्र वार्षिक ३ खर्ब पुग्दै, थेग्ला त मुलुकले ?
काठमाडौं । आउदो एक दशकमा राष्ट्रसेवक कर्मचारीका लागि निवृतिभरण (पेन्सन) र अवकास गरी सरकारले वार्षिक ३ खर्ब रुपैयाँ बढी लगानी गर्नुपर्ने देखिएको छ । वर्षेनी पेन्सन र अवकास कोषका लागि अर्बौ रुपैयाँ दायित्व थपिदै गएकाले १० वर्षभित्रै यसमा ३ खर्ब रुपैयाँ खर्च हुने अनुमान अर्थ मन्त्रालयको छ ।५ वर्षको अवधिमा पेन्सन र अवकास खर्च मात्रै १५६ प्रतिशत बढेको छ । सरकारले चालु आर्थिक वर्षमा पेन्सन र अवकास गरी ६४ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । चालु आवमा पेन्सन मात्रै ४५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ७ वर्षको अवधिमा पेन्सन र अवकास गरी साढे ५५ अर्ब रुपैयाँ दाइत्व बढेको देखिन्छ । आव ०६७/०६८ मा सरकारले ६ अर्ब ८२ करोड ४० लाख रुपैयाँ खर्च गरेको थियो । त्यसपछि बढ्दै दायित्व बढ्दै गएको सरकारी तथ्याँकले देखाउछ । वर्षेनी बढ्दो क्रममा रहेकाले एक दशकमा ३ खर्ब रुपैयाँ नाघने अनुमान अर्थ मन्त्रालयको छ । सरकारले निजामति कर्मचारी, सेना, प्रहरी र सामुदायिक विद्यालयका शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीको निवृतिभरण र अवकासमा ठुलो लगानी गर्दै आएको छ । कर्मचारीको अवकास उमेरमा पुनरावलोकन नगरिएका कारण कम उमेरमै अवकास हुदा पेन्सन दायित्व बढ्दै गएको अर्थमन्त्री डा. युवराज खतिवडाको निष्कर्श रहेको छ । २० वर्ष सेवा गरेपछि पेन्सन पाउने, ५८ वर्षमै अवकास हुने र अवकास पाएको दिनदेखि नै पेन्सन पाउने, कर्मचारीको परिवारले पनि आजीवन पेन्सनपाउने र वहालवाला कर्मचारीको तलव बढ्दा पेन्सन पनि दुई तिहाइले बढ्ने व्यवस्था भएकाले दायित्व बढी रहेको उनको भनाई छ । यस्तै सेवा करार भन्दा व्यक्तिगत करार गरी नियुत्त गरेर कर्मचारी सरह सेवासुविधा दिइएको छ । हाल करारमा नियुक्त भएका कम्प्युटर अपरेटर, सवारीचालक र कार्यालय सहयोगीलगायतको संख्या ३२ हजार बढी रहेको अर्थले जानकारी दिएको छ । यी कर्मचारीका लागि सरकारले वार्षिक ५ अर्ब ५६करोड रुपैयाँ खर्च गरेको उनले बताए ।
ज्योति विकास बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, बैंकको जुनसुकै शाखाबाट विमा गर्न सकिने
काठमाडौं । सोमबार ज्योति विकास बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो, भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीे र इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने छ । बैंकका अनुसार हाल ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा बैंकले १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराइरहेको जनाएको छ ।
कुमारी बैंकले हकप्रद सेयर निष्कासन गर्न पायो बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । बैंकको चुक्तापूँजी ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ छ ।
रहेनन् उद्योगी रमेश गुप्ता
काठमाडौं । उद्योगी व्यवसायी रमेश गुप्ताको अल्पायुमै निधन भएकाे छ। टाउकोको समस्या झेलिरहेकाे उनकाे भारतको दिल्लीमा उपचारको क्रममा सोमबार दिउसो देहवसान भएको नेपाल परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । उनी परिसंघका राष्ट्रिय परिषद सदस्य थिए । लक्की ग्रुपका उपाध्यक्ष रहेका उनको शिवम् सिमेन्ट, होङ्सी सिमेन्ट, लुम्बीनी विद्युत, विभिन्न बैंक तथा विमा कम्पनीहरुमा लगानी रहेको जनाइएको छ । व्यापार व्यवसायबाट आफ्नो क्यारियर शुरु गरेको युवा उद्यमी गुप्ताको निधनले परिसंघ स्तब्ध भएको अध्यक्ष शर्माले बताए । ‘मुलुकले उद्योग क्षेत्रमा राम्रो सम्भावना बोकेको युवा उद्यमीलाई गुमाएको छ,’ उनले भने ।
‘सम्पती कर व्यवस्थापन कार्यविधि २०७४’ कार्यन्वयनमा, स्थानीय तहको आम्दानी बढ्ने
काठमाडौं । सरकारले एकिकृत कर व्यवस्थापन कार्यविधी २०७४ अाजबाट कार्यन्वयनमा ल्याएको छ । मन्त्रिपरिषदको निर्णयले कार्यविधि पास गरी स्थानीय तहमा पठाएको हो । अब स्थानीय तहले चालु आर्थिक वर्षको साउनदेखि मालपोत लगायत सम्पत्ती सम्बन्धीको कर स्थानीय तहले उठाउनेछ । साथै कर निर्धारणको पनि अधिकार प्राप्त गर्नेछ । प्रस्तुत नमुना कार्यविधिमा सम्पती मुल्यांकन समिती गठन, सम्पतीको विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण, कर असुली, दण्ड र पुरस्कार सम्बन्धी उल्लेख गरिएको छ । सम्पुर्ण स्थानीय तहलाई कार्यविधीको अभिलम्ब कार्यन्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डोमेस्टिक उडान अलग गर्नुपर्छ: पुर्व क्याप्टेन वाइ के भट्टराई
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानलाई अलग राख्नुपर्ने पुर्व क्याप्टेन युवराज कुमार भट्टराईले बताएका छन् ।म्यानेजमेन्ट एशोसियसन अफ नेपालले गरेको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई दुर्घटना’ नामक अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । काठमाडौंको बुढानिलकण्ठ वा काभ्रे धुलिखेलमा आन्तरिक उडानका लागि विमानस्थल बनाउन सकिने भएकाले सम्बन्धित पक्षको ध्यान जानु पर्ने कुरामा उनले जोड दिएका हुन् । एउटा मात्र अन्र्तराष्ट्रिय विमानस्थलमा ६० प्रतिशत भन्दा बढी हिस्सा आन्तरिक उडानले ओगट्दा यसले प्रत्यक्ष रुपमा अन्तर्राष्ट्रिय उडानलाई प्रभाव पारेको छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले एक घण्टासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ । ‘पोखराबाट २५ मिनेटमा काठमाडौं आइपुग्छ तर ल्यान्डिङको लागि १ घण्टासम्म पालो कुर्नपर्ने अवस्था रहेको छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ,’ भट्टराईले भने । काठमाडौं वरिपरि डाडाहरुले घेरेको छ । विशेसगरी कुहिरो र तुवालोले गर्दा पाइलटलाई समस्या पर्ने गर्छ । अन्य देशहरुमा जस्तै आन्तरिक उडान गर्ने छुट्टै विमानस्थल बनाउन सकिएको खण्डमा नेपाली हवाई सुरक्षामा थप टेवा पुग्नेछ । पाइलटले रनवे देख्न नसकेकै कारण बंगलादेशी विमान दुर्घटना भयो दुई जिरोमा ल्यान्डिङ गर्न जो कोहि पाइलटकको लागि चुनौतिपुर्ण हुनेछ । यसको लागि उच्च अनुभव आवश्यक हुन्छ । त्यो दक्षता बंगलादेशी पाइलटमा देखिएन । दुई जिरोमा ल्यान्डिङ गर्दा राम्ररी रनवे देख्न गाह्रो हुन्छ । त्यसैले मलाई जहाँसम्म लाग्छ पाइलटले राम्ररी रनवे देख्न नसकेकै कारण सन्तुलन गुमाउन पुगे र दुर्घटना निम्त्यायो । जहाज दुर्घटना भएपछि ९० सेकेण्डसम्म आगो लाग्दैन त्यसपछि भयानक आगलागी हुन्छ । यो आगो नियन्त्रण गर्न चुनौती पुर्ण हुन्छ । एटीसीको कुनै गल्ती छैन जहाज ल्यान्डिङ गर्ने सबै कुरा पाइलटको हातमा रहेको हुन्छ । कुनै पनि पाइलटले उडान गर्नुअघि एयरपोटको अवस्थाबारे अध्ययन गरेका हुन्छन् । एटिसीमा बस्ने व्यक्तिले अंग्रेजी बुझेन, राम्रोसँग कुरा गर्न सकेन भन्नु हल्ला मात्र हो, यो सबै कुरा पाइलटले ध्यान दिनुपर्ने कुरा हो । विमानस्थल व्यावसस्थापनसँग पाइलटले राम्ररी कुरा गरेको देखिदैंन । एटीएको रुमबाट तपाइलाई जुनमा सजिलो हुन्छ त्यहिबाट ल्यान्डिङ गर्नुस् भन्ने कुरा गलत हो । यदि एटिसी रुमबाट यस्तो कुरा आएको भएपनि जहाज पाइलटले नै सुरक्षि अवतरण गर्नुपर्छ । सबै कुरा पाइलटकै हातमा हुन्छ । को पाइलट अनुभवी छैनन अधिकांश जहजजमा को पाइलटको अनुभव कम रहेको देखिन्छ । क्याप्टेन पाइलटले जहाजलाई सन्तुलनमा राख्न नसकेपछि को पाइलटले यसलाई नियन्त्रणमा लिन सक्नुपर्छ । एक महिनाको अनुभवले को पाइलट बन्नु भनेको राम्रो पक्ष होइन । को पाइलटको अनुभवी नहुँदा दुर्घटना बढेको देखिन्छ । विमानस्थल असुरक्षित होइन त्रिभुवन विमानस्थल असुरक्षित भन्नु गलत हो । संसारमा कुनै यस्तो विमानस्थल हुदैंन जुन यो सुरक्षित भन्ने । जहाज उडाउने आफैंमा जोखिमको काम हो चाहे त्यो विश्वको जुनकुनै कुनामा उडोस् । जहाजको प्राविधिक खराबी बाहेक कुनैपनि अवस्थामा पाइलट नै सजग हुने हो । कुनैपनि उडान भर्न भन्दा पहिले विमानस्थलको सम्पुर्ण पक्षको अभ्यस्त भैसकेको हुनेछ । तर कहिलेकाही सानो प्राविधिक गल्तीले पाइलटलाई अपठ्यरो हुने गर्दछ । पाइलटमा मानसिक असर साधरणतय पाइलट सम्पुर्ण किसिमको मानसिक अवस्थाबाट मुक्त भई फ्रेस मुडमा जहाज उडाउनु पर्छ । आर्थिक रुपमा असुरक्षित नहोस भनेर प्राय सबै एयरलाइन्सहरुले पाइलटलाई राम्रो पारिश्रमिकको व्यवस्था गरेको हुन्छ । घर परिवार र सबै क्षेत्रबाट पाइलटलाई सकारात्मक व्यावहार गर्नुपर्छ । पाइलटमा पनि जस्तो सुकै अवस्थामा जहाज सन्तुलन गर्न सक्ने दृढ स्वभाव हुनुपर्छ । ५१ जनाको मृत्यु हुनु दुखद विमान स्थलमै दुर्घटना भएर ५१ जनाको मृत्यु हुनु दुखद कुरा हो । लाखौं खर्चिएका भविस्यका डाक्टर लगायत महत्वपुर्ण व्यक्तिको मृत्युले ठुलो क्षति पुर्याएको छ । संसारमा भएका विमान दुर्घटनाका घटनाहरु बाहिर आउन सक्दैन । यसले मृतकका आफन्तहरुमा थप पिडा दिने गरेको छ । ढिलो गरी आउने प्रतिवेदनहरुमा प्राय पाइलटलाई नै दोषी देखाउने प्रचलन रहेको छ ।