विकासन्युज

५ नमूना कानून ७ वटै प्रदेशमा पठाइयो

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक पाँच नमूना कानून आज सातै प्रदेशमा पठाएको छ ।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री शेरबहादुर तामाङले विद्युतीय माध्यमबाट सात वटै प्रदेशलाई नमूना कानून पठाएका हुन् । यसरी पठाइएका नमूना कानूनका आधारमा प्रदेश तहले कानून बनाउने छन् । मन्त्री तामाङले आज पठाएका नमूना कानूनमा प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । उनले प्रदेश तहलाई आवश्यक बाँकी १२ नमूना कानून यसै हप्ता बनाएर पठाइने जानकारी दिँदै संघीय संरचनानुसार ४१ विषयका ११० कानूनको मस्यौदा बनाउने काम धमाधम भइरहेको बताए । उनका अनुसार कानूनी सहायतासम्बन्धी नीतिलाई पनि परिमार्जन गर्न थालिएको छ । उनले सन् २०१६ को प्रतिवेदनअनुसार रु चार अर्ब २० करोड कानूनी सहायताका लागि वैदेशिक सहयोग आए पनि उल्लेखनीय काम हुन नसकेको बताए । उनले रु ४० हजारभन्दा कम आय भएका व्यक्तिलाई कानून सहायता दिन थालिएको पनि जानकारी दिए । उनले न्याय परिषद् ऐन, २०७३ संशोधन गरी न्यायालयलाई छिटोछरितो, थप स्वतन्त्र र निष्पक्ष बनाउन थालिएको बताउँदै ठूला कर छलीका मुद्दामा अन्तरिम आदेश दिएर क्षणिक समयमा उन्मुक्ति दिइए पनि ती मुद्दालाई ब्यूँताइने स्पष्ट पारे ।रासस

नागरिक लगानी कोषको लाभांशले लगानीकर्तालाई लोभ्यायो, सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । नागरिक लगानी कोष लाभांशले लगानीकर्ता लोभ्याएको छ । २३ प्रतिशत लाभांश पाउने आशामा लगानीकर्ता कोषमा झुम्मिएका हुन् । मंगलबार कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आउदो बैशाख ७ गते हुने २२ औं वार्षिक साधारणसभाले २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । मंगलबार प्रतिकित्ता २ हजार २ हजार ६५० मा १ करोड २५ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ यस्तै कोषको वित्तीय अवस्था सबल रहेको र राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ता कोषमा आर्कर्षित भएका हुन् । पछिल्लो समयमा कोषको सेयर मूल्य पनि घट्दै गएपछि किन्नेको घुइचो लागेको छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रतिकित्ता ८२२ रुपैयाँमा १ करोड ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंकको ९४९ रुपैयाँमा १ करोड ५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । स्ट्याण्डर्ड र नविलको सेयर मूल्य सस्तो भएपछि लगानीकर्ता भुम्मिएका हुन् । दुबै बैंकको वित्तीय अवस्था सबल भएको, आगामी वर्ष पनि राम्रो प्रतिफल दिने र सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताको आकर्षण बढेको ब्रोकरको भनाई छ ।  

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चैत २३ देखि २५ सम्म हुने

  काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका हुन्। बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी प्रतिस्थापन गर्ने विधेयक आजै संसद्मा टेबल गर्ने निर्णय समेत गरेको छ । भुक्तानी प्रणाली व्यवस्थित गर्न आवश्यक भुक्तानी तथा फछ्र्योट विधेयकबारे सैद्धान्तिक अवधारणाको अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको छ । विधेयक तयारी सहजीकरण समितिमा पूर्वकानून सचिव कमलशाली घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको छ । खानेपानी परियोजनाका लागि एशियाली विकास बैंकको रु १ अर्बको अनुदान रकम स्वीकार गर्ने निर्णय बैठकले गरेको छ । नेपालको संविधानअनुसार जिल्ला शिक्षा कार्यालयहरु यही चैत २८ गतेदेखि नरहने व्यवस्था भएकामा मन्त्रिपरिषद् बैठकले हाल परीक्षा चलिरहेको हुँदा अन्तरिम व्यवस्थाका रुपमा जिल्ला समन्वय एकाइ स्थापना नभएसम्म २०७५ साल असार समान्तसम्म स्वीकृत बजेट कार्यक्रमभित्र रहेर कार्यालय रहने व्यवस्था गर्ने निर्णय गरेको छ । दिगो विकासको लक्ष्यअनुरुप अमेरिकी सरकारको करीब ५० करोड डलरको सहयोगमा सडक, यातायात सञ्चालन र विद्युत्को ट्रान्समिसन लाइनसम्बन्धी काम गर्न नेपाल विकास समिति गठन गरिने निर्णय भएको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी गराएका छन् । रासस  

सेयर बजार घटनबाट रोकियो, ६ अंकले बढ्यो

काठमाडौं । सेयर बजार मंगलबार ओरालो लाग्नबाट रोकिएको छ । बजार ६ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय नजिक पुगेको छ । मंगलबार वित्त बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार २१ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । युनिलिभरको सेयर मूल्य ९९४ रुपैयाँ बढेर २५ हजार ६३७ रुपैयाँ पुगेको छ ।

श्वेतपत्र अतिरञ्जनापूर्ण

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए । नेकपा (एमाले)का मोहन बानियाँले दुर्गम क्षेत्र विकास समिति खारेज गर्न नहुने बताए । नेकपा (माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटाले भूकम्प एवं अन्य प्राकृतिक प्रकोपपीडित जनता हालसम्म पूर्ववत् जीवनमा फर्कन नसकेको बताउँदै चीनसँगको तातोपानी नाका तत्काल खुलाउन आग्रह गरे । संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा सडक विस्तारका क्रममा स्थानीयवासीले पाउनुपर्ने क्षतिपूर्ति र सर्वोच्च अदालतले गरेको फैसलासमेत कार्यान्वयन नभएको गुनासो गरेका छन् । अहिले जारी बैठकमा केहीबेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणबारेको सार्वजनिक महत्वको विषयबारे सदनमा जानकारी दिने कार्यक्रम छ । रासस

एसईई सकियो, अब जाने हैन त ब्रिजकोर्स पढ्न ?

काठमाडौ । चितवको स्मल हेवन स्कुलबाट एसईईको परीक्षा सकिएको केही दिन मै राउल शाह ब्रिजकोर्समा भर्ना भए । कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने योजना बनाएका उनको पहिलो उद्देश्य प्रवेश परीक्षामा राम्रो अंक ल्याएर छात्रवृत्ति प्राप्त गर्नु हो । उनीसँगै उनका सहपाठीे साथीहरु पनि ब्रिजकोर्सका लागि इन्स्टिच्युटमा भर्ना भएका छन् । परीक्षा र नतिजाबीचको तीन महिना समयको सदुपयोग पनि हुने र कक्षा ११ मा भर्ना हुनका लागि पनि सहज हुने भएकाले आफूहरु ब्रिजकोर्समा भर्ना भएको उनीहरुको भनाइ छ । राउल शाहा र उनका साथीहरु जस्तै यती बेला ४ लाख ८५ हजार परीक्षार्थी फुर्सदिला बनेका छन् । उनीहरु धेरैका लागि ब्रिजकोर्स समय सदुपयोग गर्ने उपयुक्त विकल्प बनेको छ । इन्टिच्युटहरुले विद्यार्थि तान्नका लागि धमाधम ब्रिज कोर्सका लागि कक्षा खुला गरेका छन् । पुतलिसडकमा रहेको क्यामरिज इन्स्टिच्युटका सञ्चालक श्री बास्तव ब्रिजकोर्सले कक्षा १० र ११ लाई जोड्ने पुलको रुपमा काम गर्ने बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “पाठ्यक्रमको हिसाबले कक्षा १० सम्म र प्लस टुको पाठ्यक्रम फरक छ, त्यसमाथि ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि छन् । यस्तोमा ब्रिजकोर्स विद्यार्थीका लागि सहयोगी बनेको छ ।” ब्रिजकोर्सको कक्षाकोठामा पाठ्यक्रमका साथै व्यक्तित्व विकासका कक्षाहरु साथै अतिरिक्त क्रियापकलाका कक्षा समेत सञ्चालन गरिने बास्तवले जानकारी दिए । दैनिक ३ घण्टाको कक्षामा आधा घण्टा ब्रेक दिइने गरेको छ । प्रत्येक साता जाँच पनि लिइने गरेको उनले सुनाए । इन्टिच्युटहरुले १० हप्ताका लागि ७ देखि ८ हजार शुल्क लिने गरेका छन् । यसमा आवश्यक पुस्तक पनि सोही शुल्कमा उपलब्ध गराउँदै आएको सञ्चालकहरुले बताएका छन् । इन्स्टिच्युटले विद्यार्थीको सेन्ड अप परीक्षाको नतिजाका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । राजधानी काठमाडौंमा मात्रै होइन, देशका सबै जसो ठाउँमा ब्रिजकोर्स अध्यापन गराउने इन्स्टिच्युटहरु खुलेका छन् । जहाँ कक्षा १० पछि विज्ञान, व्यवस्थापन, ए लेभल तथा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रि–क्लास उपलब्ध गराइन्छ । देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाइन्छ । एसईईपछिको खाली समयमा घुमघाम गर्नेमात्र नभई कम्प्युटर सिकेर वा सीपमूलक तालिम लिएर आफ्नो क्षमता बृद्धि गर्नुको साथै आत्माविश्वास पनि बढाउन सकिने भएकाले अहिले धेरैका लागि पहिलो विकल्प ब्रिजकोर्स नै बनेको छ । ब्रीज कोर्स किन ? ब्रिजकोर्स विद्यार्थीहरुका लागि एउटा राम्रो मौका पनि हो । एसईईपछिको खाली समयलाई विद्यार्थीहरुले घुमेर र खेलेर कटाइरहेका हुन्छन् । त्यही समयलाई विद्यार्थीहरुले सदुपयोग गर्न सके उनीहरुको भविष्यमा धेरै ठूलो परिवर्तन आउन सक्छ । ब्रिजकोर्सले विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराउँछ । विद्यार्थीहरुलाई हुने फाइदा विद्यार्थीहरुले पछि पढ्ने विषयको सामान्य ज्ञान ब्रिजकोर्स पढ्दा पाइन्छ । उनीहरुले उच्च शिक्षा हासिल गर्ने क्रममा कक्षामा पढ्ने विभिन्न विषयका बारेमा पहिले नै जानकारी दिइने हुनाले उनीहरुका लागि सजिलो हुन्छ । त्यस्तै, ब्रिजकोर्स अध्ययन गर्ने धेरैको उद्देश्य प्रवेश परीक्षाको तयारी नै हो । राम्रा कलेजमा भर्ना पाउनका लागि वा छात्रवृत्ति पाउनका लागि प्रवेश परीक्षामा ल्याउने अंक महत्वपूर्ण हुन्छ । बाग बजारमा रहेको ड्रिम हाई एजुकेशन एकेडेमीका संचालक महेन्द्र मिजारका अनुसार एसईई परीक्षापछि विद्यार्थीहरु पूर्णरुपमा तनाव मुक्त हुन्छन् । केही दिनपछि विद्यार्थीहरु आफै ब्रिज कोर्सका लागि कन्सलटेन्सीसम्म आउने गर्छन । विषेशगरी गणित, विज्ञान, व्यवस्थापन र नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको लागि ब्रिजकोर्स निकै सहयोग गरेको मिजारको भनाई छ ।  

ढल्केबर सवस्टेशनमा ३१५ एमभीएको ट्रान्सफरमरको ठेक्का भारतको टीबीईएले पायो, मूल्य २५ करोड

काठमाडौं । ढल्केबर सवस्टेशनमा ३१५ एमभीए क्षमताको २ वटा विद्युतीय ट्रान्सफरम आपूर्ति र जडानको ठेक्का एक भारतीय कम्पनीले पाएको छ । टीबीइए इनर्जी इण्डिया प्राइभेट लिमिटेडले साढे २५ करोड रुपैयाँमा २ वटा ठुला ट्रान्सफरमर आपूर्ति र जडानको जिम्मा पाएको हो । ग्लोबल टेण्डर गर्दा कम दर प्रस्ताव गरेपछि उसले ठेक्का पाएको हो । जसअनुसार प्राधिकरणले टीबीईएलाई २१ लाख ५८ हजार डलरमा र २ करोड २६ लाख ३९ हजार नेपाल रुपैयाँमा भुत्तानी दिने छ । नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौताका लागि टीबीइएलाई बोलाएको छ । भारतबाट बिजुली आदनप्रदान गर्नका लागि मज्जफपुर–ढल्केबर ४०० केभी क्षमताको प्रसारणलाइन भएपनि हाल १३२÷२२० केभीमा सञ्चालनमा ल्याउन लागिएको छ । यस्तै आउदो २ वर्षमा सवस्टेशनको क्षमता बढाएर ४०० केभी पुर्याउने प्राधिकरणले जनाएको छ । हाल सवस्टेशन निर्माणको काम जारी छ ।

नेपाली बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने, एनएमबी र एनआईसी एसियालाई बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपाली बैंकलाई विदेशबाट ऋण लिन पाउने निर्णय गरेको हो । ऋण लिन पाउने नीति केही दिनभित्र सार्वजनिक हुनेछ । सञ्चालक समितिले पास गरेको तर माइन्युट साइन भएर बाहिर नआएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । माइन्युटमा सही भएर आएपछि यसको खाका बनाएर कार्यन्वयनमा ल्याउने उनले जानकारी दिए । एनएमबी बैंक र एनआईसी एसिया बैंकले ऋण लिन स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको पौडेलले जानकारी दिए । “बैंकले विदेशी वित्तीय संस्थाबाट ल्याउन पाउने ऋणको सीमा, ब्याजदर, हेजिङफण्ड, र लगानीको क्षेत्र र कर्जाको अवधि तोकिने गरी अर्को निर्णय आउने छ” पौडेलले भने । लगानीयोग्य पुँजी बढाउन विदेशबाट ऋण लिन पाउने व्यवस्था गरिएको उनको भनाई छ । एनएमबी बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ल्याउन लागेको १ अर्ब ५० करोड रुपैयाँ ऋण ल्याउन बाटो खुलेको छ ।अघिल्लो साता आइतबार एनएमबीले आईएफसीसंग ऋण लिने सम्झौता गरेको थियो । आईएफसीबाट ऋण लिनका लागि प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । उनले ऋण लिन अनुमतिका लागि राष्ट्र बैंकमा निवेदन दिने जानकारी गराए । यस्तै एनआईसी एसिया बैंकले पनि विदेशबाट ऋण लिने तयारी गरेको छ । गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण ल्याउन पाउने छन् । यो व्यवस्थाअनुसार ७५ अर्ब रुपैयाँसम्म ल्याउन सक्ने देखिएको पौडेल बताउछन् ।