बाढीपीडितका लागि सङ्कलित राहत सामग्रीमै लापरवाही, म्याद गुज्रिएका खाद्यान्न भेटिए

काठमाडौं । विपत्तिको समयमा बाढीपीडितका लागि सङ्कलन गरिएका राहत सामग्रीमै ठूलो लापरवाही र गैरजिम्मेवारीपन देखिएको छ । 

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पठाउन लागिएका खाद्यान्न न्यून गुणस्तरका तथा म्याद नाघेका भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौंले राहत सङ्कलन तथा भण्डारण केन्द्रमा कडाइ गरेको छ ।

विभाग र डिभिजन कार्यालयको टोलीले राजधानीका पाँच मुख्य राहत सङ्कलन तथा भण्डारण स्थलमा आकस्मिक अनुगमन गर्दा केही स्थापित निकायमा समेत उपभोग्य मिति सकिएका खाद्य सामग्री भेटिएका हुन् ।

अनुगमनका क्रममा बुटवलस्थित गिरिधारी फुड प्रोडक्टको २१ बोरा भुजाको म्याद गुज्रिएको भेटिएपछि त्यसको बिक्री तथा वितरण रोक्दै छुट्टै ‘एक्सपायर्ड जोन’मा राख्न लगाइएको विभागले जनाएको छ ।

त्यस्तै, प्रहरी तालिम केन्द्र सामाखुसीमा राहतका लागि राखिएका चोकोफन र पाँच केजीका चक्की आटासमेत म्याद नाघेको अवस्थामा भेटिएको थियो। दुई दिन मात्र म्याद बाँकी रहेका ५९ प्याकेट दालमोठ पनि प्रभावित क्षेत्रमा नपठाउन निर्देशन दिइएको छ ।

राधास्वामी सत्सङ्ग केन्द्र, सामाखुसीमा राखिएको २५ केजीको उसिना चामलको उपभोग्य मिति सकिएको पाइएपछि तत्काल हटाइएको छ । यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा राखिएका फोर्टिफाइड चामल, मुसुरो दाल र सूर्यमुखी तेलको लेबल तथा उपभोग्य मिति भने सही र दुरुस्त अवस्थामा पाइएको विभागले जनाएको छ ।

त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट राहतस्वरूप प्राप्त चक्की आटा, चिया, चिनी, चामल, चना, चिउरा, नुन, तेल तथा मसलाको अवस्था पनि सन्तोषजनक पाइएको छ । विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा।बालकुमारी शर्माका अनुसार बाढीपीडितको स्वास्थ्यमा थप जोखिम नहोस् भन्ने उद्देश्यले राहत सङ्कलन केन्द्रमै पुगेर खाद्य सामग्रीको सूक्ष्म अनुगमन गरिएको हो ।

विभागले विपत्तिको संवेदनशील समयमा राहतको नाममा गुणस्तरहीन, अस्वस्थकर तथा म्याद गुज्रिएका खाद्य सामग्री वितरण नगर्न सबै सरोकारवालालाई सचेत गराएको छ । साथै, राहत सामग्रीको सङ्कलन, भण्डारण र वितरणमा ‘असल वितरण अभ्यास’का न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नसमेत विभागले निर्देशन दिएको छ । 

Share News