विकासन्युज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यशोदा ग्रुपको ३ करोड ५१ लाख सहयोग

काठमाडौं । यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो । उक्त रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यसका साथै कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउ समेत सहयोग गरेको जनाएको छ । अति प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा आवश्यक राहत सामग्रीका रूपमा चाउचाउ पठाएर सम्बन्धित निकायमार्फत प्रभावित नागरिकलाई वितरण गरिएको कम्पनीले जनाएको छ । आवश्यकता परेमा थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको कम्पनीले जनाएको छ । यशोदा ग्रुपले विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य सहयोगका लागि समेत पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

बाढीपीडितको राहतमा भ्यालुयर्स एशोसिएशनले दियो १० लाख

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल भ्यालुयर्स एशोसिएशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । एशोसिएशनका अध्यक्ष इन्जिनियर संजयकुमार महतोको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले एशोसिएशनले आर्थिक सहयोग गरेको जनाएको छ । एशोसिएशनले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट योगदान गरेको जनाएको छ ।

इरानले कब्जा ग‍र्यो अमेरिकी पनडुब्बी, अमेरिकालाई किन चिन्ता ?

काठमाडौं । इरानले अमेरिकाको एक सैन्य मानवरहित पनडुब्बी कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त पनडुब्बीको रिभर्स इन्जिनियरिङमार्फत इरानले अमेरिकी प्रविधिबारे महत्त्वपूर्ण जानकारी हासिल गर्न सक्ने जोखिम रहेको छ । रिपोर्टमा विशेषज्ञहरूलाई उद्धृत गर्दै इरानले उक्त पनडुब्बीलाई आफ्नो सैन्य कार्यक्रमका लागि प्रयोग गर्न सक्ने सम्भावना औंल्याइएको छ । इरानले सन् २०११ मा कब्जा गरेको अमेरिकी आरक्यू- १७० ड्रोनमा पनि यस्तै गरेको दाबी गरेको थियो । उक्त पनडुब्बीको नाम ‘डाइभ-एलडी’ हो । यो मानिसरहित मानवरहित पानीमुनि सवारीसाधन (अन्डरवाटर भेहिकल) हो ।  यसलाई लामो दूरीसम्म निगरानी गर्न, समुद्रको तल्लो सतहको नक्साङ्कन गर्न, समुद्री माइन्स पत्ता लगाउन तथा निष्क्रिय पार्नेलगायतका कामका लागि प्रयोग गर्न सकिन्छ ।  यो मानवीय सहयोगबिना पनि लगातार धेरै दिनसम्म सञ्चालन हुन सक्छ । यसअघि सन् २०११ मा इरानले अमेरिकाको आरक्यू-१७० स्टिल्थ ड्रोन कब्जा गरेको थियो । त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले तेहरानसँग उक्त ड्रोन फिर्ता गर्न माग गरेका थिए ।  पछि इरानले आफूले उक्त ड्रोनको रिभर्स इन्जिनियरिङ गरेको र त्यसको डिजाइनमा आधारित भएर आफ्नै ड्रोन निर्माण गरेको दाबी गरेको थियो। रोयटर्सको रिपोर्टमा अमेरिकाले यसपटकको पनडुब्बी कब्जाको घटनालाई ठूलो विषयका रूपमा प्रस्तुत गर्न नचाहेको पनि उल्लेख गरिएको छ ।  अमेरिकी पक्षले उक्त ड्रोन पुरानो मोडलको रहेको तथा त्यसमा संवेदनशील वा गोप्य उपकरण तथा सूचना नरहेको बताएको छ ।

विपद् व्यवस्थापनका लागि तत्काल संसदीय विशेष समिति गठन गर्न विपक्षी दलहरूको माग

काठमाडौं । रसुवा र भोटेकोशीसहितका क्षेत्रमा गएको विनाशकारी बाढी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले विपद् व्यवस्थापनका लागि तत्काल संसदीय विशेष समिति गठन गर्न सरकारसँग माग गरेको छ । बैठकमा सहभागी विपक्षी दलहरूले विपद्को अवस्था गम्भीर रहेको दलहरूको बैठकले ठहर गरेको छ । दलहरूको बैठकले राजनीतिक मतभेद र दलगत स्वार्थलाई तत्कालका लागि पन्छाएर उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ । बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम प्रभावकारी बनाउन सरकारमाथि आवश्यक दबाब सिर्जना गर्ने र संसद्लाई समेत सक्रिय बनाउनुपर्ने दलहरूले ठहर गरेका छन् । विपद् व्यवस्थापनमा देखिएका कमजोरी तथा सरकारको तयारीबारे संसदीय निगरानी आवश्यक रहेको भन्दै विशेष समिति गठनको माग अघि सारिएको एक नेताले जानकारी दिए । बैठकमा रसुवा, भोटेकोशीलगायत बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतको प्रगति र प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो । विपद्को समयमा राजनीतिक विवादलाई प्राथमिकता दिनुभन्दा राष्ट्रिय संकटको सामना गर्न दलहरूबीच सहकार्य आवश्यक रहेको विपक्षी दलहरूको निष्कर्ष छ । बैठकले प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।

मोबाइल फोन आयातकर्ता संघले बाढीपीडितका लागि दियो ३१ लाख

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)ले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संघले आफ्ना सदस्य संस्थाबाट रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संघले जनाएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । सहयोग रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका काममा प्रयोग हुने विश्वास संघले व्यक्त गरेको छ । संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले सहयोगका लागि संघका सदस्य संस्थाहरूप्रति धन्यवादसमेत व्यक्त गरे ।

साउनमा जीवन बीमकको व्यापारमा ३३.३४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले एक महिनामा ३ लाख ८५ हजार ९२१ वटा बीमालेख जारी गर्दा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आव २०८२/८३ को साउनमा कम्पनीहरूले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा कम्पनीहरूको व्यापार ३३.४४ प्रतिशतले बढेको छ । साउनमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ग्रोथको हिसाबले भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ । एक महिनामा नेपाल लाइफले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यापार भित्र्याउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले एक महिनामा ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ८२०.१६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनमा २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यापार २०.६५ प्रतिशतले बढेको छ । चालु आवको एक महिनामा हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ, सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार १३.११ प्रतिशत, एलआईसी नेपालको ४.९८ प्रतिशत, सूर्यज्योति लाइफको २१.९० प्रतिशत, एसियन लाइफको १७.१४ प्रतिशत, सिटिजन लाइफको १२.११ प्रतिशत, आइएमई लाइफको ३६.६३ प्रतिशत र सानिमा रिलायन्स लाइफको १८.७३ प्रतिशतले व्यापार वृद्धि भएको छ । एक महिनामा प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेटलाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको २३.३९ प्रतिशत, रिलायबल नेपाल लाइफको २१.४६ प्रतिशत, मेट लाइफको ११.६४ प्रतिशत र सन नेपाल लाइफको २७.८५ प्रतिशतले व्यापार बढेको छ ।

बाढीपीडितका लागि इनड्राइभले दियो ७ करोड ५० लाख

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । करिब ५ लाख अमेरिकी डलर बराबरको उक्त रकम इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा सेप्टेम्बर ९, २०२६ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै आएको हिम तथा चट्टानी पहिरोपछि आएको भोटेकोशी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । बाढीका कारण घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको छ । प्रभावित क्षेत्रमा अहिले पनि खोज, उद्धार तथा राहतका काम भइरहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजी जारी छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै इनड्राइभले प्रभावित समुदायमा प्रत्यक्ष राहतसमेत वितरण गरेको जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ । इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टोम्स्कीले बाढीबाट प्रभावित परिवार र समुदायप्रति दुःख व्यक्त गर्दै कठिन समयमा नेपाली जनताको साथमा उभिन चाहेको बताए । उनले इनड्राइभको सहयोगले तत्काल सहायता आवश्यक रहेका परिवारलाई राहत पुर्‍याउनुका साथै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । इनड्राइभले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अझै बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन समयमा आफूहरू साथमा रहेको जनाएको छ । कम्पनीले आफ्नो सहयोग तत्काल राहतमा मात्र सीमित नराखी प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्काउन आवश्यक पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुर्‍याउने जनाएको छ ।

रास्वपाका सांसद भन्छन्– चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्रबाट चिसो हावा र आवाज आएको छ

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका क्रममा आशा जगाउने संकेत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको उद्धार टोलीबाट भर्खरै प्राप्त जानकारी भन्दै सुरुङभित्रबाट चिसो हावा बाहिरतर्फ आएको बताएका छन् । उनका अनुसार सुरुङभित्र करिब १०५ मिटरभित्रबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव देखिएको छ । त्यस्तै, उद्धार टोलीले सुरुङभित्र आवाज पठाउँदा इको आएको जानकारी प्राप्त भएको न्यौपानेले उल्लेख गरेका छन् । नेपाली सेनाको टोलीले सुरुङभित्रको अवस्थाबारे थप खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ । न्यौपानेले नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त पछिल्लो अवस्थाबारे जानकारी दिँदै फेसबुकमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।